विश्वसम्पदा क्षेत्रमा मापदण्डविपरीत भवन
काठमाडौं : पुरातत्व विभागले वसन्तपुर दरबार क्षेत्रमा मापदण्डविपरीत बनिरहेको भवन रोक्न पटक-पटक निर्देशन दिए पनि महर्जन बिजनेस एसोसिएट्स प्रालिले अटेर गरेर निर्माण गरिरहेको छ । विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई उजुरी गरेपछि समितिले तत्काल रोक्नुपर्ने भनी प्रतिवेदन दिए पनि अझै काम रोकिएको छैन ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको संयोजकत्वमा बसेको बैठकले पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारी र काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत धनीराम शर्माको उक्त तीन सदस्यीय समितिले प्राविधिक परीक्षण गरी भदौ २१ गते प्रतिवेदन बुझाएको थियो । चार पृष्ठको विस्तृत प्रतिवेदन बुझेपछि भदौ २८ गते सीडीओ शर्माको संयोजकत्वमा बसेको बैठकले प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा ९ बमोजिम स्वीकृत मापदण्डविपरीत बनेको उक्त भवन भत्काउने आदेश दिने अधिकार काठमाडौं उपत्यका विकास प्राधिकरणलाई मात्र भएकाले आवश्यक कारबाहीका लागि भन्दै विभागलाई बोधार्थ दिएर प्राधिकरणलाई पत्र पठाएको थियो ।
मापदण्डअनुसार सो क्षेत्रमा ३५ फिट उचाइभन्दा अग्लो भवन बनाउन नपाउने प्रावधान छ । सो क्षेत्रमा बेसमेन्टसमेत बनाउन ऐनले प्रतिबन्ध लगाएको छ । ‘प्रालिले महानगरपालिकाबाट पुरातत्व विभागको मापदण्डअनुसार ३५ फिट उचाइ रहने गरी चारतले भवनको नक्सा पास गराएको छ तर प्रत्येक तला ७ फिट ७ इन्च हुनुपर्नेमा १० फिट ७ इन्चको दरले भवनको तीनवटा तला निर्माण भइसकेको छ', सम्पदा बचाऊ अभियान काठमाडौंका संयोजक गणपतिलाल श्रेष्ठले अन्नपूर्णसँग भने, ‘सो भवनमा झन्डै १४ फिट गहिरो बेसमेन्ट बनाइएको छ ।'
प्राविधिक समितिले तयार पारेको चार पृष्ठको प्रतिवेदनमा सो भवनको बेसमेन्ट १३ फिट ७ इन्च रहेको, प्रत्येक तला ७ फिट ७ इन्च हुनुपर्नेमा १० फिट ७ इन्च रहेको र जम्मा ३५ फिट उचाइको नक्सा स्वीकृत भएकोमा फुटपाथदेखि दोस्रो ढलान भएको तलामाथिको स्ल्याबसम्म ३२ फिट ९ इन्च भएको लेखिएको छ । समितिको प्रत्यक्ष निर्देशन र सुझावमा इन्जिनियरत्रय हिक्मतसिंह कठायत (महानगरपालिका), रवि शर्मा (प्राधिकरण) र शोभा महर्जन (विभाग) ले पेस गरेको उक्त प्रतिवेदनमा लेखिएको विभागको संरक्षित स्मारक क्षेत्रभित्र भवन निर्माणका लागि लागू हुने मापदण्ड ०६४ को अनुसार बेसमेन्ट राख्न नपाइने प्रावधान भएको पनि उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ, ‘विभागबाट स्वीकृतिका लागि सिफारिस भई गएको र सोही नक्सा महानगरपालिकाबाट स्वीकृत भएको देखिन्छ तर भवन निर्माण क्रममा स्वीकृत नक्सामा नभएको बेसमेन्ट निर्माण गरिएको देखिन्छ ।' अभियानका संयोजक श्रेष्ठले समितिको इन्जिनियरत्रयको टोली पुग्दा सडकबाट देखिने भागको पिलरका डन्डी केही काटेजस्तो गरे पनि टोली फर्किएपछि तेस्रो तलाको ढलान गर्ने तयारी भएको जानकारी दिए ।
मापदण्डअनुसार उक्त क्षेत्रमा ३५ फिट उचाइभन्दा अग्लो भवन बनाउन नपाउने प्रावधान छ ।
निर्माणाधीन भवनबाट वसन्तपुर क्षेत्रमा रहेको नेपाली सेनाले सुरक्षा दिँदै आएको मल्लकालीन खरखजाना (ढुकुटी घर) बढीमा १४ फिट मात्र दूरीमा छ । बेसमेन्ट बनाउने क्रममा ढुकुटी घरसँगैको सेनाको टहरासमेत भासिएर भत्किएको थियो । प्रालिले क्षतिपूर्तिबापत उक्त टहरा निर्माण गरिदिएको छ । सँगैको टहरा भत्किएपछि खरखजाना रहेको ढुकुटी घर पनि भत्किन सक्ने भन्दै स्थानीय बासिन्दा र सरोकारवालाले व्यापक गुनासो गर्दै आएका छन् । प्रालिका प्रोप्राइटर कृष्ण महर्जनले संशोधन गरी राजस्व तिरेर महानगरपालिकाबाट बेसमेन्ट बनाउन पाउने गरी स्वीकृत भएकाले बनाएको बताए ।
‘बेसमेन्टसहित चार तलाको स्वीकृत गरेको तर भूकम्प गएपछि प्राविधिकको टोलीले मानवीय क्षति जोगाउन मजबुत बनाउनुपर्छ भनेकाले स्लाबसहित ४२ फिट अग्लो चारतले भवन हुने भएको हो', उनले भने, ‘अहिले तीन तलाको ढलानमा पुग्दा ३१.५ फिटमा छौं, तीन तलाभित्रै फिनिसिङको काम गरिरहेका छौं । डन्डी उठाउँदा स्थानीय बासिन्दाको आवाज आएको हो ।' सोबारे व्यावहारिक कठिनाइ बुझिदिन विभाग, प्राधिकरण, महानगरपालिका र जिल्ला प्रशासनको संयुक्त बैठकमा अनुरोध गरेको उनको भनाइ छ । प्रोप्राइटर महर्जनले प्राचीन संरक्षण ऐनकै अर्को दफाअनुसार सो क्षेत्रमा यसअघि ०२४ सालमा आठ तले भवन निर्माणका लागि ५३.३ फिट उचाइको नक्सा पास भएको जानकारी दिए ।
उनले भने, ‘यो क्षेत्रमा पुराना सबैजसो घर मापदण्डविपरीत छन्, अहिले मेरोसँगै यही क्षेत्रमा बनिरहेका सात घर पनि सात÷आठ तलाका छन् तर मेरोलाई मात्र निशाना बनाइएको छ ।' अभियानका संयोजक श्रेष्ठले भने, ‘हामीले सम्पदा बचाउन लागिपर्दा प्रालि पक्षबाट झन्डै सयजनाले कसैले यसविरुद्ध नजान भनेका छन्, कसैले धम्कीको भाषासमेत प्रयोग गरेका छन् । तर, हामी ऐनभित्रै रहेर काम गर्नुपर्छ भन्ने पक्षमा मात्रै छौं ।' वसन्तपुर रहेको हनुमानढोका दरबार क्षेत्र ०३६ सालमा विश्वसम्पदा सूचीकृत भएको हो ।
ऐनको दफा ४.४.१ मा घरको उचाइ ३५ फिट हुनुपर्ने र नयाँ निर्माण हुने घरसँग कुनै ऐतिहासिक वा वास्तुकलाको दृष्टिले महत्वपूर्ण स्मारक रहेछ वा सो ठाउँमा ३५ फिट उचाइमा घर निर्माण गर्दा सो स्मारकलाई प्रतिकूल असर पर्ने देखिए स्मारकको उचाइभन्दा होचो र स्मारकलाई उचाइ २८ फिटभन्दा कम भएको अवस्थामा पनि त्यससँग बन्ने घरलाई स्मारक आसपासको वातावरणलाई प्रतिकूल असर नपर्ने गरी भवन निर्माण गर्नुपर्ने उल्लेख छ ।