जिसस काठमाडाैँमा खाता रोक्का हुँदा रोकिए काम

जिसस काठमाडाैँमा खाता रोक्का हुँदा रोकिए काम

काठमाडौं : जिल्ला समन्वय समिति काठमाडौंले बैंक खाता सञ्चालन गर्न नपाउँदा धेरै काम प्रभावित भएका छन् । खाता सञ्चालनमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले रोक लगाएकाले करिब आधा दर्जन कारोबार रोकिएको समितिले जनाएको छ । समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत घनश्याम तिमिल्सिनाले गत आर्थिक वर्षको घरजग्ग्गा र रजिस्ट्रेसनको रकम सम्बन्धित नगरपालिकामा पठाउन नसकिएको जानकारी दिए । उक्त कामबापतको रकम मालपोत कार्यालयले समितिलाई पठाउँछ । उनले भने, ‘चन्द्रागिरि केबुलकारबाट प्राप्त हुने रकम बाँडफाँट गर्न पनि सकेका छैनौं ।'

 

उक्त केबुलकारको प्रतिटिकट २ प्रतिशतबाट हुन आउने कुल रकम जिल्ला समन्वय समिति काठमाडौंको कोष खातामा जम्मा हुँदै आएको छ । गत आवमा केबुलकारबाट ६५ लाख २० हजार रुपैयाँ प्राप्त भएको थियो । सो रकमको ६० प्रतिशत काठमाडौं र ४० प्रतिशत मकवानपुरले लैजान्छ । काठमाडौंमा समिति र चन्द्रागिरि नगरपालिकाले ६० प्रतिशतको आधा-आधा पाउँछन् भने मकवानपुरले समिति, सोही क्षेत्रको एउटा गाउँपालिका र एउटा नगरपालिकालाई समानुपातिक वितरण गर्छ ।

समिति काठमाडौंको आव ०७३÷७४ को वार्षिक प्रगति समीक्षामा सोमबार तिमिल्सिनाले भने, ‘कतिसम्म समस्या भएको छ भने समितिको भवनमा सामाजिक सुरक्षा कोष, जलविद्युत् कोष, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) र काठमाडौं महानगरपालिकाको केही शाखालाई भाडामा दिए पनि पानी, बिजुली, सरसफाइ र सुरक्षा गार्डको खर्चसमेत भुक्तानी गर्न सकेका छैनौं ।' उनका अनुसार गत आवको अन्तिम समयमा पर्न आएको कार्यबोझ र कार्यचापका कारण भुक्तानी हुन बाँकी रहेको आन्तरिक कोषतर्फको भुक्तानी दिन पनि सकिएको छैन । गत आवमा निर्माण भई सामान्य काम बाँकी रहेर सञ्चालनमा आउन नसकेका खानेपानी आयोजनाको भुक्तानी तथा पुल संरक्षण गर्नसमेत समस्या भएको उनको भनाइ छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले असारभित्रै सबै काम नसक्दा समस्या आएको जानकारी दिए । ‘अब खर्च गर्ने अधिकार जिल्ला समन्वय समितिलाई छैन, केन्द्रीय सरकारले कानुन बनाएर गर्नेछ', उनले भने, ‘बजेट छुट्याउने व्यवस्थापकीय अधिकार संविधानमा संघीय र प्रदेश सरकारका अतिरिक्त गाउँ र नगरसभालाई मात्र छ ।'

स्थानीय विकास अधिकारी गोपाल अधिकारीले समीक्षामा भूकम्प आवास अनुदान वितरणका लागि लाभग्राहीले प्राप्त गर्ने बजेट रकम प्राप्त भए पनि सोको सञ्चालन र व्यवस्थापन गर्न चाहिने प्रशासनिक बजेट नपाउँदा सहजीकरणमा समस्या भएको जानकारी दिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट समितिलाई १ अर्ब २० करोड रुपैयाँ प्राप्त भएको हो । काठमाडौं जिल्लाभित्र बूढानीलकण्ठ, चन्द्रागिरि, दक्षिणकाली, गोकर्णेश्वर, कागेश्वरी, काठमाडौं, कीर्तिपुर, नागार्जुन, शंखरापुर, तारकेश्वर र टोखा गरी ११ नगरपालिका छन् । अधिकारीका अनुसार निजी आवास पुनर्निर्माणका लागि ११ नगरपालिकाका ३५ हजार ८ सय ५१ भूकम्पपीडितलाई असारसम्म वितरित पहिलो किस्तामा १ अर्ब ७९ करोड २५ लाख ५० हजार छ भने दोस्रो किस्तामा ९ करोड ९१ लाख ५० हजार वितरण गरिएको छ ।

समितिका वरिष्ठ आन्तरिक लेखा परीक्षक गोपालप्रसाद पोखरेलले गत आवमा ६ करोड ५० लाख ५ हजार ४ सय ७१ रुपैयाँ (६४.९४ प्रतिशत) बेरुजु फर्स्यौट गरिएको जानकारी दिए । समिति न्यूनतम कार्यसम्पादन तथा मूल्यांकन (एमसीपीएम) मा ७५ जिल्लामध्ये काठमाडौं ७८ अंक ल्याएर १० औं स्थानमा पर्न सफल भएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.