राजपा र माओवादीको विजयी सुरुवात, कांग्रेस, फोरम र एमाले अगाडि

राजपा र माओवादीको विजयी सुरुवात, कांग्रेस, फोरम र एमाले अगाडि

काठमाडौं : प्रदेश नम्बर २ को मतपरिणाम आउने क्रम सुरु भएको छ। बुधबार रातिसम्मको परिणामअनुसार धनुषाको हंसपुर नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा राजपाका रामज्ञान मण्डल र रेणु झा विजयी भएका छन्।

त्यसैगरी, सिरहाको कर्जन्हा नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका गंगा पासवान र ज्ञानु परियार विजयी भएका छन्। मतगणना जारी रहेका स्थानीय तहमध्ये कांग्रेस ४१, संघीय समाजवादी फोरम २८ र एमाले २३ वटा स्थानीय तहमा अग्रस्थानमा छन्। मतगणना सुस्त भएकाले पूरै परिणाम आउन भने अझै केही दिन लाग्ने देखिएको छ।

सप्तरीमा फोरमको अग्रता

सप्तरीमा संघीय समाजवादी फोरमको अग्रता देखिएको छ। राजविराज नगरपालिकाबाहेक १७ वटा स्थानीय तहमध्ये फोरम नेपालले ६ स्थानमा अग्रता लिएको छ। बोदे बर्साइन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका, बलान बिहुल गाउँपालिका, विष्णुपुर गाउँपालिका र महादेवा गाउँपालिकामा फोरमले अग्रता लिएको हो। कांग्रेसले पाँच स्थानमा अग्रता लिएको छ। कञ्चनरुप नगरपालिका, खड्ग नगरपालिका, अग्निसाइर कृष्णसवरन गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र बेल्ही चपेना गाउँपालिकामा अग्रता लिएको हो। एमालेले सप्तकोसी नगरपालिका, सुरुंगा नगरपालिका र शम्भुनाथ नगरपालिका गरी तीन तहमा अग्रता कायम राखेको छ।

आठवटा वडाको गणना सकिँदा सप्तकोसी नगरपालिका प्रमुखमा एमालेका उत्तम शर्माले तथा उपप्रमुखमा आशा चौधरीले अग्रता कायम राखेका छन्।
राजपाले डाक्नेश्वरी नगरपालिका र रुपनी गाउँपालिकामा तथा नयाँ शक्तिले छिन्नमस्ता गाउँपालिकामा अग्रता लिएको छ। उनलाई कांग्रेसका नारायण यादवले पछ्याइरहेका छन्। एमालेका रामलखन मलाहा तेस्रो स्थानमा छन्।

हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा फोरमका वीरेन्द्र माझीलाई राजपाका शैलेशकुमार साहले पछ्याइरहेका छन्। छिन्नमस्ता गाउँपालिकामा भने नयाँ शक्तिका सूर्यनारायण मण्डलले अग्रता लिएका छन्। फोरम नेपालका केदार यादव दोस्रो र फोरम लोकतान्त्रिकका निर्मल यादव तेस्रो स्थानमा छन्। घोषित विभिन्न २५ वडाको परिणामअनुसार एमाले र कांग्रेसले सात, माओवादीले ४, राजपाले तीन, फोरम नेपाल र लोकतान्त्रिक फोरमले दुई÷दुई वडामा जितेका छन्।

मतगणनामा अवरोध नहोस् भनेर तारजाली र फलामे बार लगाएर गणना भइरहेको छ। राजविराजमा भने वडा नम्बर १५ को स्थगित निर्वाचन बिहीबार सम्पन्न भएलगत्तै गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए।

सर्लाहीमा कांग्रेस र राजपाबीच प्रतिस्पर्धा

सर्लाहीका अधिकांश स्थानमा कांग्रेस र राजपा अगाडि छन्। ४८ वटा वडाको नतिजा सार्वजनिक हुँदा राजपा र माओवादी केन्द्र अग्रस्थानमा देखिएका छन्। राजपा १४, माओवादी १२, कांग्रेस ११, एमाले ७, संघीय समाजवादी फोरम ५ र स्वतन्त्र उम्मेदवार दुई स्थानमा विजयी भएका छन्। कौडेना गाउँपालिकामा राजपा नेपाल अगाडि देखिएको छ। कांग्रेस दोस्रो स्थान छ। ब्रह्मपुरी गाउँपालिकामा राजपा नेपाल अग्रस्थानमा छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले उसलाई पछ्याइरहेको छ। बलरा नगरपालिकामा राजपा नै अगाडि छ। कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा छ।

धनुषाको हंसपुर नगरपालिकामा राजपा र सिरहाको कर्जन्हा नगरपालिकामा माओवादीले प्रमुख-उपप्रमुख जितेका छन्।

चन्द्रनगर गाउँपालिकामा राजपा अग्रस्थानमा छ भने माओवादी दोस्रो स्थानमा छ। चक्रघट्टा गाउँपालिकामा माओवादी केन्द्र अगाडि छ भने कांग्रेस दोस्रो स्थानमा छ। हरिवन नगरपालिकामा माओवादी केन्द्र अगाडि छ। एमाले दोस्रो स्थानमा छ। ईश्वरपुरमा एमाले अगाडि छ। माओवादीले एमालेलाई पच्छ्याइरहेको छ। बसबरिया गाउँपालिकामा माओवादी केन्द्र अगाडि छ भने राजपा दोस्रो स्थानमा छ। हरिपूर्वा नगरपालिकामा कांग्रेस पहिलो स्थानमा छ भने माओवादी दोस्रो छ। गोडैता नगरपालिकामा कांग्रेसलाई राजपाले पछ्याइरहेको छ। धनकौल गाउँपालिकामा कांग्रेसको पछिपछि माओवादी केन्द्र छ।
मलंगवा नगरपालिकामा पनि कांग्रेस नै अगाडि देखिएको छ। लालबन्दी नगरपालिकामा एमाले पहिलो र माओवादी दोस्रोमा छन्। राजमार्ग छेउछाउमा माओवादी र एमाले अगाडि छन् भने दक्षिणी क्षेत्रमा कांग्रेस र राजपाबीच कडा प्रतिस्पर्धा छ।

रौतहटमा कांग्रेस अगाडि

रौतहटमा कांग्रेसले अग्रता लिएको छ। गरुडा नगरपालिकाको मतगणना बुधबार बिहानदेखि माओवादी केन्द्रको अवरोधका कारण रोकिएको छ। वडा ३ मा १ मतले कांग्रेसका कृष्णकुमार सहनी विजयी भएको घोषणासँगै माओवादी केन्द्रले पुनः मतगणना माग गरेको हो। सहनीको ३ सय ८ र माओवादी केन्द्रका सैलदेवी सहनीको ३ सय ७ मत आएको थियो। सो नगरको १ नम्बर वडामा संघीय समाजवादी फोरमका सरोजकुमार यादव र २ नम्बर वडामा कांग्रेसका विष्णु दयाल सहनी विजयी भएका छन्।

रौतहटमा कांग्रेसको अग्रता छ। कांग्रेसले प्रमुख पदमा ६ तहमा माओवादी केन्द्रले ५ तहमा, राजपा र संघीय समाजवादी फोरम ३÷३ तहमा र एमाले एक तहमा अगाडि छन्। गरुडा र चन्द्रपुरमा एमालेले कांग्रेसलाई पछ्याइरहेको छ भने गौरमा राजपालाई पछ्याएको छ। गौरको १ नम्बर वडामा लोकतान्त्रिक फोरमका भरत साह र २ मा राजपा नेपालका राकेश झा वडाध्यक्षमा विजयी भएका छन्। चन्द्रपुर नगरपालिकामा कांग्रेसको अग्रता छ, एमालेका उद्धव रेग्मी दोस्रो स्थानमा छन्

जनकपुरमा राजपा अगाडि

जनकपुर उपमहानगरमा राजपाको अग्रता छ। १८ वटा स्थानीय तहमा एउटा नगरपालिकामा राजपाले मेयर र उपमेयरमा जित हासिल गरेको छ भने अरूको मतगणना जारी छ। जनकपुर उपमहानगरपालिकामा राजपाको अग्रता कायमै छ। राजपालाई कांग्रेसले पछ्याएको छ। क्षिरेश्वरनाथ नगरपालिकामा कांग्रेसको अग्रता छ भने संघीय समाजवादी फोरम पछिपछि देखिएको छ। विदेह नगरपालिकामा माओवादी केन्द्र र एमालेबीच प्रतिस्पर्धा छ।

लक्ष्मीनिया गाउँपालिकामा संघीय समाजवादी फोरम उकालो लागेको छ। जिल्लाको सबैला नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ भने एमालेका राजकिशोर यादव दोस्रो स्थानमा छन्। कांग्रेस नेता विमलेन्द्र निधिको गृहगाउँ नगराइन नगरपालिकामा मेयरमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा छ।

गणेशमान चारनाथ नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका कैलाश मल्लले अग्रता लिइरहेका छन्। उनलाई संघीय समाजवादी फोरमका रामबाबु यादवले पछ्याइराखेका छन्।

वीरगन्जमा राजपाको अग्रता

निर्वाचनमा सबैभन्दा बढी चासो रहेको प्रदेश दुईको एक मात्र महानगरपालिका वीरगन्जको मेयर र उपमेयर दुवै पदमा राष्ट्रिय जनता पार्टी (राजपा) ले अग्रता कायम राखेको छ। मंगलबार दिउँसोदेखि भएको मतगणनामा दुवै पदमा कांग्रेसले अग्रता लिएको थियो तर मंगलबार रातिदेखि भने दुवै पदमा राजपाले अग्रता लिएको छ। बुधबार रातिसम्म राजपाकै अग्रता छ।

मेयरमा राजपाका उम्मेदवार राजेशमान सिंह अग्रस्थानमा छन्। उनलाई कांग्रेसका उम्मेदवार अजय द्विवेदीले पछ्याइरहेका छन्। मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगी तेस्रो स्थानमा छन्। माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी चौथो, एमालेका बसरुद्दिन अन्सारी पाँचौं स्थानमा र लोकतान्त्रिक फोरमका उम्मेदवार विमल श्रीवास्तव छैटौं स्थानमा छन्।

पोखरिया नगरपालिकामा भने नेपाली जनता दलले अग्रता लिएको छ। दोस्रो स्थानमा फोरम नेपाल छ। बहुदरमाई नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ। फोरम नेपाल दोस्रो र राजपा तेस्रो स्थानमा छन्। पर्सागढी नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ। त्यहाँ कांग्रेस र फोरम नेपालले पछ्याइरहेका छन्।

कर्जन्हामा माओवादी विजयी

सिरहाको कर्जन्हा नगरपालिका प्रमुखमा माओवादी केन्द्रका गंगा पासवान विजयी भएका छन्। उनले ४३ सय ९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका रामदयाल महतोले ३ हजार १ सय ९० मत पाए। उपमेयरमा पनि माओवादी केन्द्रकै ज्ञानु परियार विजयी भएकी छन्। उनले ४३ सय १३ मत पाएकी छन्। ११ वडा रहेका कर्जन्हामा ९ वडामा माओवादी केन्द्रले कब्जा जमायो भने एमाले दुईवटा वडाध्यक्ष जित्न सफल भएको छ।
कल्याणपुर नगरपालिका राष्ट्रिय जनता पार्टी (राजपा) अगाडि छ। कांग्रेसले पछ्याइरहेको छ। कल्याणपुरबाहेक अन्य स्थानीय तहमा राजपा कमजोर देखिएको छ। समाचार तयार पार्दासम्मको परिणामअनुसार माओवादी केन्द्रले ५ स्थानीय तहमा अग्रता लिएको छ। गोलबजार, धनगढी र मिर्चैया नगरपालिका, औरही गाउँपालिका र अर्नमा गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको हो।

यस्तै, संघीय समाजवादी फोरम नेपालले चार स्थानीय तह सुखीपुर नगरपालिका, बरियारपट्टी, लक्ष्मीपुर पतारी र भगवानपुर गाउँपालिकामा अग्रता लिएका छन्। कांग्रेसले सिरहा नगरपालिका, नवराजपुर गाउँपालिका र नरहा गाउँपालिकामा अग्रता लिएको हो। एमालेले भने लहान नगरपालिका, विष्णुपुर गाउँपालिका र सखुवा ननकारकट्टी गाउँपालिकामा अग्रता कायम राख्न सकेको छ।

बारामा त्रिपक्षीय प्रतिस्पर्धा

दुई उपमहानगरसहित १६ स्थानीय तह रहेको बारामा पछिल्लो मत परिणामअनुसार एमाले, कांग्रेस र संघीय समाजवादी फोरम अगाडि देखिएका छन्। एमालेले दुई उपमहानगरमध्ये जितपुर-सिमरामा सुरुदेखि नै अग्रता लिँदै आएको छ। एमालेका डा. कृष्ण पौडेललाई माओवादीका राजन पौडेलले पछ्याइरहेका छन्।

जितपुर-सिमरासहित एमाले कोल्हवी नगरपालिका र आदर्श कोतवाल गाउँपालिकामा अघि देखिएको छ। कोल्हवीमा कांग्रेसलाई पछि पार्दै एमाले अघि आएको हो। समाचार तयार पार्दासम्म निजगढ नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ। माओवादी केन्द्रसँग गठबन्धन गर्दै चुनावमा होमिएको कांग्रेसका सुरेश खनाल बुधबार साँझदेखि अघि देखिएका हुन्। यसअघि एमालेका नारायण खड्का अगाडि थिए। निजगढसहित कांग्रेसले महागढीमाई नगरपालिका, बारागढी र प्रसौनी गाउँपालिकामा अग्रता लिएको छ।

जिल्ला उत्तरी क्षेत्रमा प्रमुख ठूला दल अघि देखिए पनि दक्षिणी भेगमा भने मधेसवादी दलले अग्रता लिएका छन्। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले कलैया उपमहानगरपालिका र करैयामाई गाउँपालिकामा सुरुदेखि नै अग्रता लिएको छ। संघीय समाजवादी फोरमले करैयामाईको दुई वडामा जित हात पारेको छ। राजपाले सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका र परवानीपुर गाउँपालिकामा अग्रता लिएको छ। नेपाल लोकतान्त्रिक फोरमले फेटा गाउँपालिकामा सुरुदेखि नै अग्रता लिइरहेको छ। फेटामा कांग्रेसले फोरम लोकतान्त्रिकलाई पछ्याइरहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.