दाङमा पनि खाद्यका खसीबोका
लमही : नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुर दाङले दसैंका लागि खसीबोका खरिद गर्न सुरु गरेको छ । दसैंमा खसी किन्ने उपभोक्तालाई सहज गराउन संस्थानले दाङमा पनि खरिद गर्न सुरु गरेको हो । अञ्चल कार्यालय तुलसीपुरले यस वर्षको दसैंका लागि जिल्लामा पाँच सय ८० बोका खरिद गर्ने योजना बनाएको निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद चौधरीले बताए ।
केन्द्रीय निर्देशनअनुसार जिल्लाबाट दसैंलाई खाद्य सस्थान केन्द्रमा पठाउन पाँच सय खसीबोका किन्दै छ । सोहीअनुसार संस्थानले दाङमा खसीबोका खरिद गर्न सुरु गरेको हो । यसैबीच संस्थालाई जिल्लाको सामाजिक सहकारी संस्थाले एक सय ६० खसीबोका उपलब्ध गराएको छन् । यस वर्षको दसैंमा मात्रै यहाँ रहेका चारवटा सामाजिक उद्यमी महिला सहकारी संस्थाले पाँच सय खसीबोका किसानबाट खरिद गरी त्यसको बजारीकरण गर्ने लक्ष्य राखेका छन् । अहिलेसम्म एक सय ६० वटा खसीबोका नेपाल खाद्य संस्थान तुलसीपुरलाई बिक्री गरेका ती संस्थाले बताएका छन् ।
ती खसीबोका खाद्य संस्थानमा लगिएको छ । कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले त्यसको समन्वय गरेको छ । सहकारी संस्थाले किसानबाट खसीबोका खरिद गरी बजारीकरणको काम गरेपछि किसानले सजिलो भएको बताएका छन् । घुमन्ते व्यापारीबाट ठगिँदै आएका किसान अहिले सहकारी संस्थाले खसीबोका खरिद गरी बजारीकरणको काम गरेपछि ठगिने समस्याबाट समेत मुक्त भएको बताए । दाङको लमही नगरपालिकाभित्रका साविक सतवरीया गाविसमा रहेको दिपन र कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था, साविक सोनपुर गाविसमा रहेको निलकमल र समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैंलाई लक्षित गरी खसीबोका किसानबाट खरिद गरी नेपाल खाद्य संस्थानलाई बिक्री गरेका हुन् ।
किसानलाई विचौलियाको मारबाट बचाउन सहकारीले किसानसँग समन्यय गरेर खसी संस्थानसम्म पुर्याउने वातावरण मिलाइदिएको लमही नगरपालिकाको तेलियाका किसान गणेश कुमालले बताए । सहकारीमार्फत संस्थानलाई दसैंका लागि पाँचवटा खसीबिक्री गरेको कुमालले बताए । यसअघि गाउँमा आउने घुमन्ते व्यापारीलाई खसी बिक्री गर्दै आएका कुमालले यसवर्ष गाउँमा खुलेको सहकारीमार्फत खसी बिक्री गरेका छन् । ‘सहकारीमा आबद्ध हुँदा बाख्रापालन सम्बन्धी सीप पनि सिकेका छौं, त्यहि तालिमको सीपबाट बाख्रापालन फस्टाएको छ', उनले भने,‘बजारीकरण पनि सहकारीले गरिदिएको छ ।'
‘बाख्रापालेर पनि के हुन्छ र भन्ने सोचेका हामी अहिले बितेको चार वर्षमा नै किसानको आम्दानीको स्रोत नै बाख्रा बनेको देखेको छु', कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था रिहारकी अध्यक्ष देवीमायाँ थापाले भनिन्,‘ किसानलाई बजारको सहजताका लागि बिक्रीको समन्वय हामीले गरेका हौं ।' दसैंलाई लक्षित गरी सहकारीले किसानबाट १७ लाख ५२ हजार रुपैयाँको खसी वोका किनेर संस्थानलाई उपलब्ध गराएका छ । दाङमा चाड पर्वमा भारतीय खसीबोका आयात गर्ने प्रचलन छ । बाह्य देशवाट आयात हुने खसीबोकाको बजारलाई घटाउन मासुमा आत्मनिर्भर गराउने उद्देश्यले सहकारीले किसान र संस्थानबीच सहकार्य गरेको बताएको छ ।