गायकको रूपमा जंगम 

गायकको रूपमा जंगम 

काठमाडौं : सबैले उनलाई संगीतकारका रुपमा चिन्छन् । अनि केहीले गीतकार । बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा थोरैलाई मात्र थाहा भएको उनको प्रतिभा पोखियो । संगीतकार दीपक जंगम गायकको रूपमा प्रस्तुत भए । त्यसो त उनले थुप्रै गीत रेकर्ड गरेका छन् । तर संगीतकारको रूपमा जुन परिचय स्थापित भयो, गायकको रूपमा त्यो बन्न सकेन । ‘द हिडन ट्रेजर' ले आयोजना गरेको अविरल यात्रा २०७४ मा उनले संगीत भरेका गीतहरू प्रस्तुत भए ।

 कार्यक्रमको सुरुवात उनकै आवाजबाट भयो । गीत थियो, ‘यति धेरै माया दिई' । कसले गाउँछ भन्ने रहस्यले दर्शक श्रोतालाई खुलदुल भइरहेको थियो । केहीले अनुमान गरेका थिए । उनले संगीत भरेका सैयौं गीतहरूको भीडमा सबैको मनमा बसेको एउटा गीत हो यो । स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यले गाएको यस गीतलाई दीपकले गाउँदा दर्शक श्रोताले फरक स्वाद चाख्न पाए । जंगमको गायन क्षमता संगीतभन्दा कम रहेनछ ।

कार्यक्रमको दोस्रो प्रस्तुतिस्वरूप सुमनकुमार श्रेष्ठले ‘टोपी लाए पनि हुन्छ' सुनाए । लताकी फ्यान गायिका तारा थापाले ‘हजार चोटी जन्मुला' सुनाइन् । आफ्नै शैलीमा प्रस्तुत भए, गायक आनन्द कार्की । उनलाई चिनाउने गीत ‘यी हल्लाहरू हुन्' गाए । कार्यक्रमको लागि राम्रा गायकगायिका छानिएका थिए । त्यसमध्येको आकर्षण कर्णदास । उनको आफ्नै गीत ‘कसले पो देख्छ र' गाएपछि उनको दोस्रो प्रस्तुतिले माहोल फेरिदियो । यसै पनि गहकिलो संगीतको त्यो माहोललाई अझ गह्रौँ बनाइदियो ।

गुलाम अलीको स्वर रहेको गजल ‘गाजलु ती ठूलाठूला आँखा' गाएर कर्णदासले सबैलाई मन्त्रमुग्ध पारे । गुलाम अलीले गाएर मात्र यो गजल ओझिलो भएको होला भन्ने सोच फेरिदिए उनले । नेपाली शैलीमा ‘ठूल्ठूला आँखा' भनेर गाउँदा गीतमा नौलो मिठास सुनियो । अरुणा लामाको स्वरमा रहेको गीत ‘विरहले रोएको रातमा' लाई बानिका प्रधानले न्याय गरिन् । दीपककै छोरा अजर जंगमले ‘लोलाएका ती ठूला' बोलको गजलमा सास जोडे । शब्दशब्दको भावमा चुर्लुम्म डुबेर उनले मिठास भरे । उनको आफ्नै गीत ‘जिन्दगीले हिसाब माग्छ' कार्यक्रमको सुन्दर प्रस्तुतिहरूमध्येको एक थियो ।

रामकृष्ण ढकालले ‘मीठा मीठा कुरा सबै' र ‘एउटा मान्छेको मायाले कति' गीत सुनाए । संगीता प्रधानले ‘लहरेबर घुमाउने चौतारी', निशा देशारले ‘जीवन र यदि गीत हो भने', शैलेश सिंहले ‘तिम्रो र मेरो बीचको' र ‘तिमीलाई म के भनुँ' सुनाए । कार्यक्रमको आकर्षणको रूपमा रहेका दुई गायक दीप श्रेष्ठ र दीपक खरेल अन्तिम चरणमा प्रस्तुत भए । दीपले ‘तिम्रो यादमा' र ‘दोधार भयो' सुनाए । दीपक खरेलले ‘आँखामा राख्न खोज्छु' र ‘गरुँ की मीठो भूल' सुनाएर कार्यक्रम अन्त्य गरे ।

जंगमले आधा शताब्दी लामो संगीत यात्रामा संगीत भरेका गीतमध्येबाट १९ वटा गीत कार्यक्रममा प्रस्तुत गरिएको थियो । द हिडन ट्रेजरले गत वर्षदेखि अग्रज स्रष्टाको सम्मानमा ‘अविरल यात्रा' कार्यक्रम सुरु गरेको हो । योसँगै मञ्चको कार्यक्रमबापत स्रष्टालाई रोयल्टी दिने कार्यको पनि थालनी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.