त्रुटिपूर्ण निर्णय

त्रुटिपूर्ण निर्णय

 

उपचारका क्रममा त्रुटी÷लापर्बाहीका कारण बिरामीको मृत्यु हुने घट्ना बढ्न थालेपछि त्यस्तो अवस्थामा सम्बन्धित चिकित्सकलाई नै क्षतिपूर्ति भराउनुपर्ने व्यवस्थासहितको कानुन बनाउने तरखर सरकारले गरेको छ । सरकारको यस्तो तयारीको तीव्र विरोध भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले त्यस्तो कानुन बनाउन आवश्यक प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेपछि नेपाल चिकित्सक संघ आक्रोशित छ । संघले मन्त्रिपरिषद्को निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ ।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले त्यस्तो कानुन बनाउन लागिएको आफूलाई थाहा नभएको र त्यस्तो कानुन गलत भएको धारणा राखेका छन् । स्वास्थ्यमन्त्रीकै असहमति रहने कानुन बनाउने निर्णय मन्त्रिपरिषद्ले किन गर्‍यो ? के यस्तो कानुनको आवश्यकता देख्ने सरकारले उत्पन्न हुनसक्ने प्रतिक्रिया र प्रभावबारे सामान्य विमर्श पनि गरेको छ ?

स्वास्थ्यसेवा अति संवेदनशील क्षेत्र हो । योसँग आम मानिसको जीवनमरणको विषय जोडिन्छ । चिकित्सकको मूल काम नै असल नियतका साथ बिरामीको उपचार गर्ने हो । तर कतिपय घटनाक्रमले नेपालको स्वास्थ्यसेवाले आफ्नो विश्वसनीयता गुमाउँदै गएको देखाएका छन् । हरेक क्षेत्रमा हुने विकृति, विसंगति, लापर्बाहीका घटनाले ती क्षेत्रलाई प्रदुषित पारेको छ । स्वास्थ्य क्षेत्र पनि त्यसबाट अछुतो छैन । तर यसको अर्थ चिकित्सकलाई उपचार गर्ने पेसाबाटै विमुख गराउने गरी त्रास पैदा गर्ने कानुन बनाउन कति उचित होला ? नीतिनिर्माताले गम्भीरतापूर्वक सोच्ने विषय हो।

एकातिर चिकित्सकलाई व्यापारमुखी नभई पेसाप्रति प्रतिबद्ध र गम्भीर बनाउने दायित्व राज्यको छ भने अर्कोतर्फ स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्थामाथि हुने हमला र हातपात गर्ने प्रवृत्तिलाई नियन्त्रण र निरुत्साहित गर्ने जिम्मेवारी पनि उसैको हो । त्यसकारण लहडमा चिकित्सकलाई हतोत्साही र त्रस्त पार्ने कानुन ल्याउने सरकारी सोचमा खोट छ । त्यसमा पुनर्विचार आवश्यक देखिन्छ ।

यसको अर्थ स्वास्थ्य सेवा र चिकित्सकलाई खुला छुट दिइनुपर्छ भन्ने होइन । यो सेवालाई प्रभावकारी, सबैको पहुँचमा पुर्‍याउने, गुणस्तरीय र विश्वसनीय बनाउनेतर्फ चाहिँ सबै सरोकारवालाको ध्यान जानुपर्छ । यसको विश्वसनीयतामा त्यतिबेला थप प्रश्न उठ्छ, जब सामान्य उपचारका लागि देशका नाम चलेका नेता विदेश धाउँछन् । खर्च गर्न सक्ने हैसियतका नेपाली धेरैजसो भारतलगायत विश्वका विभिन्न सहरमा उपचार गर्न जाने प्रवृत्ति बढेर गएको छ । यता स्वदेशका गाउँमा सिटामोल नपाइएका खबर आउन छोडेको छैन । झन् बेलाबखत चिकित्सकको लापार्बाही र त्रुटिका कारण बिरामीको ज्यान गएका खबर आउँछन् । यसखाले घटनाक्रमले चिकित्सकीय सेवालाई गम्भीर नियमनमा राख्नु आवश्यक देखिन्छ । हरेक रोग र बिरामीको सन्दर्भ र अवस्था फरक फरक हुन्छ।

उपचारका जटिलता र सहजता पनि आ-आफ्नै प्रकृतिका हुन्छन् । यस्तो अवस्थामा कुनै रोगको उपचारका क्रममा दुखद् घटना भयो भने त्यसलाई त्रुटि वा लापर्बाही सिद्ध गर्ने आधार के हुने ? निश्चय पनि लापर्बाही गर्ने चिकित्सक कार्बाहीको भागीदार हुनुपर्छ । मेडिकल काउन्सिलको आचारसंहिता, सुरक्षा ऐन आदिमा चिकित्सकीय लापर्बाही प्रमाणित भए क्षतिपूर्ति भराउने वा आवश्यक कार्बाही गर्ने प्रावधान छन् । यी भएका प्रावधानको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । अहिले नै कुनै एक चिकित्सक विशेषलाई नै सजाय गर्ने उद्देश्यले कानुन बनाइँदा त्यसको मनोवैज्ञानिक असर यस पेसामा आवद्ध सबैमा पर्न जान्छ ।

बिरामीको मृत्यु भए डाक्टरले नै क्षतिपूर्ति भराउने भन्ने विषयले कोही पनि डाक्टर गम्भीर रोग र बिरामीको उपचार गराउन तयार हुने छैनन् । त्यसले बिरामीको उपचार तत्काल प्रभावित हुन्छ । त्यसकारण पनि सरकारले अघि सारेको सोच त्रुटिपूर्ण छ । सरकारले चिकित्सा पेसालाई मर्यादित र जिम्मेवार बनाउने विषयमा भएका समस्याको निराकरण खोज्नेतिर केन्द्रित हुन आवश्यक छ तर चिकित्सकलाई हतोत्साही बनाउने गरी हचुवाका भरमा ऐन÷कानुन बनाउन खोज्दा त्यो समग्र सेवाकै लागि प्रत्युत्पादक हुनसक्छ भन्नेतिर हेक्का राख्नु जरुरी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.