अपहरण गरि हत्या गरिएका श्रेष्ठको बीमा रकम हस्तान्तरण
तुलसीपुर : जेठ २९ गते अपराधिक समूहबाट अपहरण गरि हत्या गरिएका दाङ तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको मृत्यु पछिको बीमा रकम नेपाल लाइफ इन्सोरेन्सले परिवारलाई हस्तान्तरण गरेको छ । नेपाल लाइफ इन्सोरेन्सले श्रेष्ठले गरेको जीवन बीमाको रकम श्रेष्ठको परिवारलाई हस्तान्तरण गरेको हो ।
इन्सोरेन्सका दाङ शाखा प्रमुख बसन्त अधिकारीले श्रेष्ठकी श्रीमती निर्मला श्रेष्ठलाई बीमा रकम ५४ लाख ८७ हजार ५ सय रुपैया बराबरको चेक हस्तान्तरण गरेका हुन । यो जिल्लामा अहिलेसम्म प्रदान गरेको बीमा रकम सबै भन्दा धेरै हो । यति रकमको बीमा भुक्तानी अरु कसैले पनि नपाएको इन्सोरेन्सले वताएको छ ।
राजकुमार श्रेष्ठले २५ लाखको जीवन बीमा गरेको र परिवारको दावी भुक्तानी भएपछि मृत्यु पछि शनिवार ५४ लाख ८७ हजार ५ सय रुपैयाको विमा रकम श्रेष्ठकी श्रीमती श्रेष्ठलाई हस्तान्तरण गरिएको प्रमुख अधिकारीले वताए । उनले श्रेष्ठले २५ लाख बीमा गरेको र त्यस वाफत २५ लाख, दोहोरो दुर्घटना मुत्यु लाभ २५ लाख र बीमालेखको आर्जित बोनस ४ लाख ८७ हजार ५ सय रुपैया गरेर ५४ लाख ८७ हजार ५०० रुपैया विमा रकम घरमै पुगेर उपलब्ध गराएको वताए । श्रेष्ठले आफनो बीमाको किस्ता वार्षिक २ लाख ८५ हजार ५ सय ६४ रुपैयाका दरले तेस्रो किस्तासम्म गरेर कम्पनीलाई ८ लाख ५६ हजार ६ सय ९२ रुपैया बुझाएको प्रमुख अधिकारीले वताए ।
जीवन बीमा रकम बुझदै परिवारले श्रेष्ठको हत्यामा संलग्न सबैलाई हदै सम्मको कारवाही गरिनु पर्ने माग गरेका छन । केहि अपराधीहरु प्रहरी नियन्त्रणमा रहेको मुद्दा चलिरहेको भन्दै कुनै पनि बहानामा अपराधीहरुलाई छोडन नहुने वताए । श्रेष्ठको हत्याको अभियोगमा प्रहरीले ११ जनालाई समातेर सल्यानमा मुद्धा चलाएको छ । श्रेष्ठको फिरौतीको लागि अपहरण गरेको अपराधिक समूहले सल्यानको झिम्पे जंगलमा विभत्स तरिकाले जेठ २९ गते हत्या गरेको थियो ।