चीनले उत्तर कोरियातर्फ इन्धन निर्यात घटाउने
बेइजिङ : चीनले उत्तर कोरियातर्फ गर्ने गरेको पेट्रोलियम पदार्थ आपूर्तिलाई आगामी अक्टोबर १ देखि नियन्त्रण गर्ने भएको चिनियाँ वाणिज्य मन्त्रालयले शनिबार जनाएको छ ।संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियाद्वारा निरन्तर रूपमा गर्दै आएका आणविक अस्त्र परीक्षणलाई लिएर आर्थिक प्रतिबन्ध लगाउने विषयप्रति लक्षित गर्दै चीनले यस्तो निर्णय गरेको हो । चीनले उत्तर कोरियामाथि प्रतिबन्ध कडा पार्दै उक्त मुलुकबाट आफूले गर्ने कपडाको आयातलाई शनिबार (सेप्टम्बर २३) बाट नै बन्द गर्ने घोषणा गरेको छ ।
राष्ट्रसंघले तयार पारेको चीन तथा उत्तर कोरियाबीचको भन्सार तथ्यांकअनुसार सन् २०१६ मा चीनबाट प्रतिदिन ६ हजार ब्यारेल इन्धन उत्तर कोरिया निर्यात गरिएको थियो । तर चीनले सन् २०१४ पछि उत्तर कोरियालाई दिने गरेको इन्धनको तथ्यांक सार्वजनिक नगरेका कारण इन्धन निर्यातको वास्तविक तथ्यांक भने सार्वजनिक हुन नसकेको बताइएको छ ।
राष्ट्रसंघले ११ दिनअघि पहिले पारित गरेको नयाँ प्रतिबन्ध अनुसार पछिल्लो चिनियाँ घोषणा आए पनि यस विषयमा विश्व समुदायलाई विश्वस्त पार्न खुला नाकाको फाइदा लिँदै हुनसक्ने चोरी निकासीमा नियन्त्रण गरेको सुनिश्चित गर्नुपर्नेछ । चीनको उत्तर कोरियामाथिको प्रतिबन्धपछि कपडाको व्यापारबाट गर्ने प्रमुख आम्दानीमा ठूलो घाटा हुने देखिएको छ । किनकि उत्तर कोरियाको आम्दानीको दोस्रो प्रमुख आधार कपडाको विक्री हो ।
चीनको प्रतिबन्धपछि प्योङयाङले वार्षिक ७० करोड डलर बराबरको आम्दानीको स्रोत भने गुमाउने अनुमान गरिएको छ । शुरुमा वासिङटनले उत्तर कोरियामाथि पूर्ण प्रतिबन्ध लगाउन आग्रह गरे पनि चीन र रूसको समर्थन लिएपछि उक्त अडानमा अमेरिका केही लचिलो बनेको हो । चीन उत्तर कोरियाको एकमात्र र प्रमुख व्यापार सहयोगी रहेको र उत्तर चीनमाथि करिब ९० प्रतिशत आर्थिक क्रियाकलापमा जिम्मेवार रहँदै आएको छ ।
ट्रम्प र किमको युद्ध 'बच्चाहरूको झगडाजस्तै'
संयुक्त राष्ट्रसंघ : रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच पछिल्लो समय भइरहेका भनाभन 'बच्चाहरूको झगडा जस्तै' भएको बताएका छन् । ट्रम्प र किमबीच एक अर्कालाई होच्याउने वा नजरअन्दाज गर्नेखालका अभिव्यक्तिको आदान प्रदानलाई लिएर रूसी विदेशमन्त्री लाभरोभले उक्त प्रतिक्रिया दिएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन पहिले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा उत्तर कोरियालाई पूरै ध्वस्त पारिदिने धम्की दिएका थिए । उनले उत्तर कोरियालाई पूर्ण सखाप पार्न अमेरिका सक्षम रहेको बताएका थिए । त्यसको प्रतिउत्तरमा नेता किमले ट्रम्पलाई 'दिमागी हालत ठीक नभएको गुण्डा' भनेर सम्बोधन गरेका थिए । योसँगै ट्रम्पले उनलाई रकेट म्यानको संज्ञा दिँदै उत्तरको कदम आत्मघाती सिद्ध हुने भन्दै व्यंग्य गरेका थिए । यसको प्रतिक्रियामा ट्रम्पले उत्तर कोरियाली नेता किमलाई शुक्रबार 'एकजना पागल मानिस जसलाई अहिलेसम्म नगरिएको जाँच गरिनेछ' भनी ट्विट गरेका थिए ।
उत्तर कोरियाले ट्रम्पको भाषणलाई 'कुकुरको भुकाइ' को संज्ञा दिएको विषय नसेलाउँदै थप वाक्युद्धको अवस्था देखिएपछि लाभरोभको भनाइ आएको छ । राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका भ्रमणमा रहेका रूसी विदशमन्त्री लाभरोभले दुई नेताबीचको 'तनाव शान्त पार्न' जरुरी रहेको शनिबार एक पत्रकार सम्मेलन गरी बताएका छन् ।
लाभरोभले भने, 'न त कोरियाली प्रायद्वीपमा युद्ध थाल्नु हामीलाई स्वीकार्य कुरा हुन सक्छ न उत्तर कोरियाको परमाणु अस्त्र विकासलाई चुपचाप हेरेर बस्न नै ।' उनले कोरियाली प्रायद्वीपमा देखिएको समस्याको समाधान राजनीतिक प्रक्रियाबाट खोज्नुपर्नेमा जोड दिए । यो संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को जिम्मेवारी भएको चर्चा गर्दै लाभरोभले अमेरिका र उत्तर कोरिया दुवैका गतिविधि भड्काउपूर्ण रहेको बताए ।