फोहोर व्यवस्थापन
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य युरोपका सफा सहरहरू घुमिरहँदा राजधानीवासी फोहोरका डंगुर हुँदै नाक थुनेर हिँड्न बाध्य छन् । केहीअघि मात्रै राजधानी फोहोरमय भएपछि मेयर शाक्यलगायत महानगरको नयाँ नेतृत्वको आलोचना भएको थियो । आमनागरिक दसैं उत्सवको तयारी गरिरहँदा काठमाडौंका चोक, गल्ली फोहोरले आक्रान्त हुँदा महानगर नेतृत्व उदासीन देखिनु विडम्बना हो ।
सुन्दर÷सफा सहर बनाउने, राजधानीवासीका यावत् समस्या समाधान गर्ने वाचा गरेर नेतृत्वमा पुगेका मेयरलगायत जनप्रतिनिधि सर्वसाधारणको स्वास्थ्यसँग सिधा जोडिएको विषयमा संवेदनशील नदेखिनु निन्दनीय कुरा हो । सयदिने कार्यकाल बिताइसकेका मेयरसँग काठमाडौंलाई सफा र सुन्दर बनाउने योजना के छ ? फोहोरको दीर्घकालीन व्यवस्थापनको उनको सोच के हो ? महानगरवासीका दैनन्दिनसँग जोडिएका यी र यस्ता यावत् विषयको योजनासहित तत्काल कार्यान्वयनतर्फ बढ्न नसके महानगर नेतृत्वको सक्षमतामाथि थप प्रश्न उठ्नेछ ।
अहिले फोहोरको समस्या निम्तिनुमा स्थानीयको अवरोध हो । जो १३ वर्षदेखि दर्जनांैपटक भएको छ । सरकारले स्थानीयसँग वाचा गर्ने र त्यसअनुरूप सम्बोधन नगर्ने प्रवृत्तिका कारण स्थानीय अवरोध दोहोरिने गरेको दृष्टान्त छ । अहिलेको अवरोधका पछाडिचाहिँ फोहोर खन्याउने ठाउँको अभाव हुँदै जानु हो । तीन वर्षका लागि भनेर ०६२ मा सिसडोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न थालिएको हो ।
१३ वर्ष पुगिसक्दा पनि उही क्रम जारी रहेपछि विभिन्न माग राख्दै स्थानीय अवरोधमा उत्रिएका हुन् । काठमाडौंको फोहोर यहाँको दीर्घकालीन समस्या हो । यसको दीर्घकालीन समाधान खोजिनुपर्छ । राजनीतिक दल फोहोर व्यवस्थापनलाई मुद्दा मात्रै बनाउने होइन, आफू जिम्मेवारीमा पुगेपछि त्यो समस्याको दीर्घकालीन समाधान खोज्नेतर्फ उद्यत हुनुपर्छ । तीन वर्षका लागि भनेर लिइएको सिसडोल ल्यान्डफिल साइटको अझै विकल्प नखोजिनु नै समस्याको कारक हो । यसको दीर्घकालीन व्यवस्थापनतर्फ नयाँ नेतृत्वले उत्तिकै प्राथमिकतामा राख्नुपर्छ ।
फोहोर व्यवस्थापन मानव स्वास्थ्यसँग मात्र नभई देशको इज्जतसँग जोडिएको सवाल हो । यसले रोग र संक्रमण त निम्त्याउँछ नै, सहर कुरूप हुन्छ र पर्यटनमा असर पार्छ । प्रत्यक्ष परोक्ष राष्ट्रिय आम्दानीमै असर पार्ने यो समस्याप्रति सरकार वा महानगर नेतृत्वको संवेदनशीलता महसुस हुने स्तरको छैन । फोहोर व्यवस्थापनको प्रभावकारिता निजी क्षेत्रलाई जिम्मा लगाउँदा हुन्छ ? विगतमा यो चर्चा चले पनि अहिले सेलाएको छ ।
सहरको फोहोर गाउँपाखामा लगेर फ्याँक्नु मात्रै जायज र दीर्घकालीन समाधान होइन । काठमाडौं उति ठूलो सहर पनि होइन । यहाँ उत्पादन हुने फोहोरमध्ये ६० प्रतिशत जैविक छ । त्यसो हुँदा सरकार या स्थानीय निकायले नै जैविक फोहोरलाई कम्पोस्ट प्लान्ट बनाएर या स्थानीय उपभोक्ताले बनाएको कम्पोस्ट मल किन्ने व्यवस्था गरिदिने हो भने आधाभन्दा बढी फोहोर स्वतः व्यवस्थापन हुन सक्छ । बाँकी ४० प्रतिशत फोहोर अजैविक भए पनि त्यसमा प्लास्टिक, फलाम र धातुजन्य फोहोर हुन्छन् र त्यसमध्ये पनि कति त 'रिसाइकल' गर्न सकिन्छ । फोहोरलाई कम्पोस्ट मल बनाएर मोहर बनाउने तरिका अवलम्बन गर्न सके विदेशबाट ठूलो मात्रामा रसायनिक मल भित्याउने हामीलाई त्यसरी उत्पादित कम्पोस्ट मल वरदान सावित हुन सक्छ ।
फोहोरको समस्याबाट निस्कन दीर्घकालीन समाधान निकाल्न सक्नुपर्छ । अहिलेका लागि सिसडोलका स्थानीयलाई मनाउँदै नयाँ ठाउँको खोजी आवश्यक छ । सिसडोल नजिकैको बन्चरेडाँडालाई ल्यान्डफिल साइट बनाउन २०६५ सालमै आवश्यक जग्गा खरिद गरिसकेको छ । ईआईए गरी डाइभर्सन र पुल निर्माणसमेत भइसकेको सन्दर्भमा अब त्यसलाई पूर्णता दिनतिर लाग्नुपर्छ । आमजनताले पनि फोहोर व्यवस्थापन मेरो पनि जिम्मेवारी हो भन्ने बुझ्नु जरुरी छ ।