बोक्सीको आरोपमा महिला अधिकारकर्मीमाथि नै कुटपिट
वीरगन्ज: बोक्सीको आरोपमा एक जना महिला अधिकारकर्मी नै कुटपीटको सिकार भएकी छन्। जिल्ला महिला अधिकार मन्च पर्साको अध्यक्ष समेत रहेकी ५५ वर्षीया राजकुमारी उपाध्यायलाई उनकै छिमेकीले बोक्सीको आरोपमा कुटपीट गरेका हुन्। बहुविवाह, लैंगिक हिंसा, महिला हिंसा र बोक्सीको आरोपमा सयौ महिलालाई उद्धार गरेकी उपाध्याय यस पटक भने आफैं कुटपीट र मानसिक यातना भोग्न बाध्य भएकी हुन्। उनी झण्डै डेढ दशकदेखि महिला अधिकारको क्षेत्रमा काम गर्दै आएकी छिन्।
वीरगन्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकी स्थित एक घरमा डेरा लिएर बस्दै आएकी उपाध्यायलाई आइतवार बिहान एक डेढ बजेतिर उनका छिमेकीहरुले बोक्सीको आरोपमा कुटपिट गर्दै कोठामा दुई तीन घण्टा थुनेर मानसिक यातना दिए।
डेरामा बस्दै आएकी उपाध्यायलाई घरमै पुगेर २० बर्षीया सरिता श्रेष्ठ, उनकी दिदी २४ बर्षीया सोनु कार्की, सोनुका पति चितवन घरभई काठमाण्डौमा कार्यरत सशस्त्र प्रहरी जवान योगेन्द्र कार्की, ३५ बर्षिया प्रीति गुरुङ , उनका पति सुनिल मगर र उनकी छोरी १५ बर्षीया जिया गुरुङले उपाध्यायलाई बोक्सीको आरोप लगाउदै कुटपिट गरेका हुन्।
१५ वर्षीया जियालाई उपाध्यायले नै बोक्सीको टुनामुना गरेर बिरामी पारेको भन्दै उनीहरुले मसासन्न हुनेगरी कुटपिट गरेका हुन्।आफू बसेको घरमै डेरा गरेर बसेका सरिता र प्रीतिका परिवारका सदस्यहरुले आफू आफनो कोठामा सुतिरहेका बेला आइतबार बिहान साढे एक बजेतिर जबरजस्ती आफनो कोठामा लगेर कुटपिट
गरेको पीडित उपाध्यायले बताइन्।
उनले भनिन्, 'ब्लड प्रेसरको औषधि खाएर राति ९ बजेतिर म सुतेको थिए, बिहान एक डेढ बजेतिर जोड जोडले ढोका ढक ढकाएको आवाज आएपछि मैले ढोका खोंले, ढोका खोल्ने बित्तिक्कै तँ बोक्सी होस् भन्दै चार पाँच जनाले मेरो कपालमा अबीर र चामलको अक्षता छर्किदिए, अनि त्यसपछि उनीहरुले लतारेर कुटपिट गर्न थाले।'
पिडित उपाध्याले छिमेकी सरिताले जर्बजस्ती हातपात गरेर कुटेको बताइन्। उनले भनिन्, ' मेरो कपाल समातेर तान्न थालिन्, कपालको चुल्ठो समातेर मेरो गालामा एक थप्पड पनि हानी अनि जरबजस्ती आफनो कोठामा लगी, कोठामा लगेपछि मेरो कानमा पनि तेल र अबीर हालिदिई।उनीहरु धेरै जना र म एक्लै भएकाले प्रतिवाद नै गर्न सकिन्।'
छिमेकीले जबरजस्ती 'म बोक्सी हुँ' भनेर कबोल गर्न आफूलाई दवाव दिएको र बाहिर निस्कन नदिएको पीडित उपाध्यायले बताइन्। यातना दिएको दुई घण्टापछिमात्रै छोरा बन्देश ढकालका साथी अफताव हवारीले उद्धार गरेको उनले बताए।
उपाध्यायकी छोरा बुहारी जयलक्ष्मी ढकालले मोबाइलबाट फोन गरेर वीरगन्ज बाहिर रहेका आफना पति बन्देशलाइ घटनाका बारेमा जानकारी गराएपछि बन्देशले आफना साथी हवारीलाई घटनास्थलमा पठाएका थिए।
हवारीले भने, 'अन्टीलाई थुनेर राखिएको कोठाको झयालबाट भित्र हेर्दा चार पाँच जना महिलाहरुले अन्टीलाई बोक्सी होस् भन्दै कपालमा अबीर अछता छर्कदै गरेको देखे,उनीहरुले अन्टीलाई जोड जोडले हप्काइरहेका पनि थिए।' उनले आफूले हप्काएपछि मात्रै अन्टीलाई बाहिर निक्लिन दिएको बताए ।
यता,पीडित उपाध्यायकी बुहारी जयलक्ष्मीले आफूलाई माथि नै घेरेर राखेर तलको कोठामा सासुमाथि बोक्सीको आरोपमा दुर्व्यवहार र कुटपिट गरेको बताइन्। उनले भनिन् ' मलाई कोठा माथि नै उनीहरुले घेरेर राखे। सासुलाई तलको कोठामा लगेर थुनेर बोक्सी भन्दै कुटपिट गरे।'
घटनापछि प्रहरीले कुटपिट गरेको आरोपमा सशस्त्र प्रहरी जवान योगेन्द्र कार्की, सरिता श्रेष्ठ,सोनु कार्की, प्रीति गुरुङ र सुनिल गुरुङलाई नियन्त्रणमा लिएको छ। पर्साका प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीकाअनुसार उक्त घटना सशस्त्र प्रहरी समेतको संलग्नता रहेकाले प्रहरीले नै दबाउन खोजेको बताए।
उपाध्यायको समर्थनमा जिल्ला प्रहरी कार्यालय पर्सामा आइतबार बिहान पुगेका महिला अधिकारकर्मी र सञ्चारकर्मीहरुलाई समेत प्रहरीले दुर्व्यवहार गरेको बताए। तर पर्साका प्रहरी उपरीक्षक सुदिप गिरीले भने घटना बारे आवश्यक छानवीन गरी कार्यवाही प्रक्रिया अगाडी बढाउने बताए।