सीमामा लुटिन्छन् दसैं मनाउन भारतबाट फर्कनेहरू
धनगढी : दसैंका लागि मुग्लानबाट घर फर्किरहेका नेपालीमाथि यसपालि पनि सीमा क्षेत्रमा रकम असुली र दुव्र्यवहार हुन थालेको छ । भारतमा रोजगारी गर्दै आएका नेपाली दसैं मनाउन घर फर्किने क्रम सुरु भएसँगै सीमा क्षेत्रमा भारतीय भन्सारकर्मी, भारतीय वन कर्मचारी र नेपाल प्रहरीले समेत रकम असुली सुरु गरेका हुन् ।
दसैं मनाउन घर फर्किरहेका नेपालीबाट भारतीय सीमा अधिकारीहरूले रकम असुली गरिरहेको भारतको राजधानी दिल्लीबाट दसैंका लागि घर फर्किरहेका बाजुरा ब्रह्मतोलाका गोरखबहादुर थापाले बताए ।'मैले गौरीफन्टा नाकामा बसबाट झरेपछि नेपाल प्रहरीको बिट पार गर्दासम्म पाँच सय रुपैयाँ भारु तिरें', उनले भने । भारतको रोडवेज बसबाट झर्नेबित्तिकै नेपाली र भारतीय रिक्सा चालकहरूले ५० मिटरसम्म रिक्सामा सामान र मान्छे ओसारेको पाँच सय लिने गरेका छन् । उनीहरूले भारतीय सुरक्षाकर्मीसँग मिलेर रकम असुल गर्ने थापाले बताए ।
भारतको गौरीफन्टा बसपार्कबाट नेपालतिरको बस र रिक्सा पाउने ठाउँसम्मको दूरी ५०÷६० मिटर छ । घर फर्किनेहरू हिँडेरै आउन सक्ने भए पनि ल्याएको सामान सवारीसाधन पाउने स्थानसम्म पुर्याएको रिक्सा चालकहरूले मोटो रकम लिइररहेका थापाले बताए ।
भारतबाट रेल र बस हुँदै गौरीफन्टा नाकामा पुगेका नेपालीबाट दुवै देशका सुरक्षाकर्मीहरूले पनि रकम असुली गरिरहेका छन् । शनिबार बिहान ५ बजेदेखि ८ बजेसम्मको तीन घन्टाको सीमा आसपासको बसाइमा भारतीय कस्टकर्मी, वनकर्मी र नेपाल प्रहरीले रकम लिइरहेको दृश्य खुलमखुल्ला देख्न सकिन्थ्यो ।
'मैले भारतीय कस्टकका कर्मचारीलाई तीन सय बुझाएँ, त्यहीँनेर दुधवा नेसनल पार्कको वनकर्मीले पनि सय रुयैयाँ भारु माग्यो, अनि त्यहाँबाट सामान ओसारेको पाँच सय तिरें, नेपाल प्रहरीले पनि सामान हेरेर सय रुपैयाँ नेपाली माग्यो', भारतको हैदराबादमा मजदुरी गरी अछाम मंगलसेन नगरपालिका १३ स्थित घर फर्किरहेका मनिराम विकले भने । 'हामीले भारतको बसमा, रेलमा अनि सीमा क्षेत्रमा यस्तो नियति कहिलेसम्म भोग्ने ? ' उनको प्रश्न थियो ।
हुन त हरेक सीमा बैठकहरूमा सीमा क्षेत्रमा नेपाली मजदुरमाथि हुने दुव्र्यवहार र लुटपाटका घटनाबारे कुरा उठ्ने गर्छ तर यो समस्या समाधान कहिल्यै हुँदैन । अझ दुवै देशका अधिकारीहरूले यस्तो अवैध असुली रोक्न र अपराध न्यूनीकरणका लागि सीमा क्षेत्रमा सीसी क्यामेरा पनि जडान गरेका छन् तर भारतीय कस्टमकर्मीहरूले सीसी क्यमेराको कभरेजभन्दा अलि टाढा गएर नेपालीलाई उतै बोलाएर रकम लिइरहेका छन् ।
'भारतीय कस्टमकर्मीले सीसी क्यामेराको कभरेजभन्द अलि टाढा बसेर रकम असुल गरिरहेका छन्', गौरीफन्टादेखि धनगढीको बसपार्कसम्म रिक्सा चालाउने हरिसिंह विष्टले भने ।भारतमा नेपाली लुटिँदा, संरक्षण गर्नुपर्ने ठाउँमा उल्टै नेपाल प्रहरीले नै रकम लिन थालपछि सीमा क्षेत्रको आवागमन कष्टकर भएको छ । यस्तो रकम असुली हरेक दसैंमा हुने गरेकाले भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्न नसकिए पनि नेपाली सुरक्षाकर्मीलाई भने नछोडिने कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । उनले प्रहरी उपरीक्षक अर्जुन चन्दलाई नेपाल प्रहरीले रकम असुली गरेको भए कारबाही गर्न निर्देशन दिइसकेको बताए ।