बन्दीपुरमा मुरली तिरिरी
दमौली : एक समयका चर्चित लोकगायक प्रेमराजा महतले आफू कला र संस्कृतिबाट टाढा छैन भन्ने पुष्टि गरेका छन् । अमेरिकामा व्यावसायिक जीवन विताइरहेका उनी गृहजिल्ला तनहुँ फर्केर आफ्ना चर्चित लोक प्रस्तुति पस्कँदा यही पाखा पखेरामा गरेको संघर्ष स्मरण गरे । तनहुँ ढोरफिर्दीमा जन्मेका गायक महत एकताका लोकगीत संगीतमा चर्चित प्रस्तुति दिनेमध्ये अग्रपंक्तिमा पर्थे । विसं २०५० को दशकतिर उनले गाएको बाँझो खेतमा, सालैको पातैलेजस्ता गीत अझै पनि लोकगीत पारखीको मनमस्तिष्कमा जीवितै छन् । सायद त्यही बुझेर होला, प्रथम रोटर्याक्ट युनेस्को साँझमा बन्दीपुर निम्त्याइएका महतले आफ्ना फ्यानको अपेक्षाअनुरूप गीत पस्किए ।
देशैभरका कला र संस्कृति एकै ठाउँमा पस्कन रोटर्याक्ट क्लब अफ दमौली र बन्दीपुर युनेस्को क्लबको संयुक्त आयोजनामा भएको कार्यक्रमका प्रेमराजाले मनकुमारी वाइबासँग मिलेर 'पानको पात' गाउँदा उनमा पुरानै जोश देखिन्थ्यो । महतले गाएको गीतमा दर्शक गाएर नाचेर उनलाई साथ दिँदा प्राचीन सांस्कृतिक नगरी बन्दीपुरमा छुट्टै रमाइलो भएको थियो । गायक महतले बाँझो खेतमा सँगै बन्दीपुरलाई केन्द्रित गरेर गाएको तिरिरी मुरली, ओरालीमा को झर्यो लगायतका गीत गाएका थिए ।
प्राचीन भक्तपुरे नेवारी शैलीका घरहरूले घेरिएको बन्दीपुर उपत्यकामा एकपछि अर्को लोक प्रस्तुति अनि सांस्कृतिक नृत्यले कार्यक्रम उत्सवझैं देखिन्थ्यो । कार्यक्रममा तनहुँको नेवारे लाखे नाच, मगरको कौराहा, ब्राह्मणको बालन, गुरुङको सोरठी तथा थारू समुदाय र सुदूरपश्चिमेली नाच प्रस्तुत गरिएका थिए । अमेरिकादेखि कार्यक्रमका लागि नेपाल आएका गायक महतले आफूलाई निकै रोमाञ्चक अनुभूति भएको बताए ।
पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका निर्देशक उदय लम्सालले पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्यटकीय नगरीमा आयोजित कार्यक्रमले विदेशी पर्यटकको ध्यान खिचेको बताए । युनेस्को संस्थाहरूको महासंघका अध्यक्ष आनन्दराज त्रिपाठीले कला र संस्कृतिको संरक्षण र प्रचारका लागि आयोजित कार्यक्रम उदाहरणीय भएको बताए ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सांस्कृतिक सम्पदाले धनी बन्दीपुरको पहिचान र प्रवद्र्धनका लागि कार्यक्रम उपयोगी भएको बताए । बन्दीपुर नगर विकास समितिका अध्यक्ष बैस गुरुङले कार्यक्रम बन्दीपुरको प्रचारका लागि उत्कृष्ट भएको बताए । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षसमेत रहेका उनले आगामी वर्ष समितिले कार्यक्रम आयोजनामा नेतृत्व लिने घोषणा गरे ।
आयोजक रोटर्याक्ट क्लब अफ दमौलीका अध्यक्ष शिखरलाल डोटेलले प्राचीन सांस्कृतिक नगरीको प्रवद्र्धन र देशैभरका कला र संस्कृति एकै ठाउँमा देखाएर सांस्कृतिक विविधताको सन्देश दिन कार्यक्रम गरिएको बताए । अर्को आयोजक बन्दीपुर युनेस्को क्लबका अध्यक्ष टीकाराम पनेरूले कार्यक्रम उद्देश्य पूरा गर्न सफल भएको प्रतिक्रिया दिए ।