अशोभनीय अभिव्यक्ति

अशोभनीय अभिव्यक्ति

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा अपेक्षाकृत जित हासिल गर्न नसकेपछि राजपा अध्यक्ष महन्थ ठाकुरले संविधान नस्विकार्ने पुरानै रटान दोहोर्‍याएका छन् । संविधानतः चुनावमा सहभागी भएर अपेक्षाकृत विजय प्राप्त नभइसकेपछि यसखाले अभिव्यक्ति आउनु शोभनीय होइन ।

मधेसकेन्द्रित दलको मागलाई सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव दर्ता गरिएको र संसद्को आवश्यक मत नपुगेपछि उक्त प्रस्ताव पारित नभएको तथ्य जगजाहेरै छ । प्रक्रिया अघि बढेपछि राजपा चुनावमा जान राजी भएको थियो । चुनावी नतिजा निराशाजनक देखिएपछि संविधानकै मुद्दालाई लिएर विवाद निम्त्याउनु जायज होइन ।

 

राजपाले संविधानमा रहेका असन्तुष्टिलाई मुद्दाका रूपमा फेरि पनि प्रदेश र केन्द्रका चुनावमा लैजान सक्छ । संघीय समाजवादी फोरम र जनअधिकार फोरम लोकतान्त्रिकले पहिलो चरणदेखि नै चुनावमा सहभागी हुँदै संविधान संशोधनका माग पूरा हुनुपर्ने अडान लिँदै छन् । तीन चरणमा सम्पन्न स्थानीय चुनावले दिएको महत्वपूर्ण सन्देश संविधान पूर्ण कार्यान्वयन हो ।

प्रदेशसभा र प्रतिनिधिसभाको चुनावपछि मात्र संविधानको स्थायित्वतर्फको यात्रा बढ्नेछ । यसले प्राप्त पछिल्ला उपलब्धिलाई संस्थागत गर्नेछ । राजनीतिक उपलब्धि संस्थागत हुने यात्रा बढिरहँदा संविधान मान्दिनँ भन्नु शोभनीय होइन । यस अर्थमा महन्थका अभिव्यक्ति राजनीतिक संस्कारअनुरूप छैन ।

स्थानीय चुनाव र त्यसपछि हँदै गरेका चुनावले संविधानको स्वीकार्यता बढाउँछन् । चुनावी नतिजालाई विश्लेषण गर्दा त्यो प्रस्ट हुन्छन् । स्थानीय निर्वाचनमा गणतन्त्रको आन्दोलन र संविधान निर्माणमा संलग्न दलले ८८ प्रतिशतभन्दा बढी स्थानमा जितेका छन् । प्रदेश २ मा भएको स्थानीय तह निर्वाचनको केही मतपरिणाम आउन बाँकी रहँदासम्म ७ सय ५३ मध्ये संविधान पक्षधर दलले ६ सय ६४ स्थानीय तहमा विजय हासिल गरिसकेका छन् ।

यो सन्दर्भमा राजपा नेपाललगायत संविधान अस्वीकार गर्छौं भन्ने शक्तिले बुझ्नुपर्छ, लोकतन्त्र बहुमतको शासन हो । निश्चय पनि अल्पमतका कुरा सुनिनुपर्छ । तिनलाई सम्बोधन गर्दै लैजाने दायित्व बहुमतको शासन सञ्चालन गर्नेहरूको हो । यद्यपि, विधिसम्मत ढंगबाट प्रक्रिया टुंगो लागेपछि पनि अल्पमतले ढिपी गरिरहनु स्वीकार्य हँदैन ।

हामी लोकतान्त्रिक पद्धतिको अभ्यास र अनुसरण गरिरहेका छौं र यहाँ आफ्ना माग र असन्तुष्टि प्रकट गर्ने मञ्च छन् । स्थानीय तहका र त्यसपछिका चुनाव दलहरूका लागि आफ्ना मुद्दा अघि सार्ने र जनताद्वारा अनुमोदित गराउने उपयुक्त अवसर हुन् । त्यसलाई उपयोग गर्नेतर्फ उनीहरू केन्द्रित हुनुपर्छ । पराजयपछिको आवेगपूर्ण अभिव्यक्तिले अन्ततः राजपालाई नै राजनीतिक बेफाइदा हुनेछ भन्ने हेक्का राख्नु जरुरी छ ।

प्रदेश २ को स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यो सँगै संविधान कार्यान्वयनको एक महत्वपूर्ण अध्याय सफलतापूर्वक सम्पन्न भएको छ । मंसिर १० र २१ का लागि तय भएका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले संविधान र संघीयता कार्यान्वयनको अर्को महत्वपूर्ण चरण पूरा गर्नेछन् । मधेसमा पटक-पटक आन्दोलन गरेका मधेसकेन्द्रित शक्तिले प्राप्त उपलब्धि जोगाउने विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्छ । त्यसकारण पनि ठाकुरका अभिव्यक्ति उचित लाग्दैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.