अन्नपूर्ण समाचार प्रभाव : अपाङ्ग परिवारले पाए ६५ हजार
बुंकोट (गोरखा) : पूर्ण अपाङ्गता भएका बुङ्कोट कोटथोक निबासी एकाघरका तीन दिदीभाइका लागि सहयोग जुटेकोछ । बुङ्कोटकै लाखेडाँडा घरभई हाल काठमाडौं निबासी गौतम खनालबाट ५० हजार रुपियाँ, गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतबाट पाँच हजार र झापाको दमक घर भई हाल लेबनानमा रहेकी चन्द्रकला श्रेष्ठले १० हजार रुपियाँ सहयोग गरेका हुन् ।
संकलित रकम प्रमुख जिल्ला अधिकारी बस्नेतले सोमबार कोटथोकस्थित उनीहरुको घरमै पुगेर हस्तान्तरण गरे । तीन अपांग सन्तानको लालनपालन गरिरहेकी आमा पोषकुमारी श्रेष्ठलाई एकमुष्ठ ६५ हजार रुपियाँ प्रजिअ बस्नेतले हस्तान्तरण गरेका हुन् ।
यो पनि पढ्नाेस्
दुःखै दुःखले घेरिएको घर
कोटथोक निबासी अपांग १६ वर्षीय राजिव श्रेष्ठ र दिदीहरु २५ वर्षीय शिला र ३० वर्षीय लीलाको जीवनकथा बारे अन्नपूर्णपोष्ट पत्रिका र अन्नपूर्ण पोष्ट अनलाइनमा समाचार प्रकाशन भएको थियो । उनीहरुको अवस्था पढ्दा अत्यन्तै दयनीय भएर सहयोग गरेको सहयोगी खनाल र श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।
रकम हस्तान्तरण गर्दै बस्नेतले सो रकम तीन सन्तानको लालनपालनमा सदुपयोग गर्न आग्रह गरे । साथै उनले अपांगता भएकाकाहरुलाई टाढाटाढादेखि सहयोग गर्ने सहयोगीहरुप्रति आभार व्यक्त गरे गरे । प्रजिअ बस्नेतले थप सहयोगका लागि अपांगता भएकालाई सहयोग गर्ने संघसंस्थाको ध्यानाकर्षण गराउने पनि जनाएका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी भएका पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले उठबस गर्नै नसक्ने तीन दिदीभाइको समाचार पढेर सहयोग गर्ने प्रजिअ बस्नेत, खनाल र श्रेष्ठप्रति कृतज्ञता प्रकट गर्दै अपांगताको क्षेत्रमा काम गर्ने संघसंस्थाले बास्तबिक अपांगता भएकाहरुलाई सहयोग गर्न कोटथोक पुग्नुपर्ने बताए ।
सहयोगी खनाल राजधानी काठमाडौंमा बिभिन्न वैंक तथा इन्स्योरेन्स कम्पनीका बोर्ड डाइरेक्टर हुन् । यसअघि पनि बिभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको उनले बताए । लेबनानमा रहेकी श्रेष्ठ लेखिका हुन् । उनको ऋतु उपन्यास बजारमा आएको छ । ‘उपन्यास बिमोचन गर्दा खर्च हुने रकम यस्तै दुखमा परेकालाई सहयोग गर्ने गरेको’ उनले बताइन् । सहयोगीबाट जुटेको रकम हस्तान्तरण गर्न पुगेका प्रमुख जिल्ला अधिकारी बस्नेतले अपांगहरुको अवस्था दर्दनाक रहेकाले थप सहयोग गरेको बताए ।
दिदीभाइ तीनै जना उठबस गर्न नसक्ने अबस्थामा छन् । उनीहरुलाई बुबा र आमाले ओछ्यानमै ओल्टाइपल्टाइ गरिदिनु पर्ने, खुवाइदिने, दिसापिसाब गराइदिने गरेर लालनपालन गरिरहेका छन् ।