उपत्यकामा दैनिक ४ करोडका राँगाभैंसी खपत

उपत्यकामा दैनिक ४ करोडका राँगाभैंसी खपत

 

काठमाडौं : उपत्यकामा पछिल्लो समय राँगाभैंसीको मासु खपत बढेको छ । काठमाडौं उपत्यकामा खपत हुने मासुमध्ये करिब ६० प्रतिशत राँगाभैंसीको छ । मासु उपभोगप्रति बढ्दो रुचिका कारण मासुजन्य पशुपन्छीको आयात पनि त्यही हाराहारीमा वृद्धि भएको छ ।

राँगाभैंसीको मासुबाट विभिन्न प्रकारका नेवारी परिकारका साथै अत्याधुनिक परिकार तयार हुने भएकाले बढी खपत हुने गरेकोे छ । व्यवसायीका अनुसार उपत्यकामा दैनिक एक हजार वटा राँगाभंैसी खपत हुने गरेका छन् । उपत्यका भित्रिनेमध्ये ९५ प्रतिशत भारतीय राँगाभैंसी छन् । बाँकी पाँच प्रतिशत मात्रै आन्तरिक जिल्लाबाट उपत्यका भित्रिने गरेको छ ।

व्यवसायी बुद्ध शाहीका अनुसार उपत्यकामा साना पाडापाडी, वयस्क राँगा र थारो भैंसी मासुका लागि प्रयोग गरिन्छ । उनका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर र कीर्तिपुरमा गरी दैनिक एक हजार ओटा राँगाभैंसी खपत हुन्छ । काठमाडौंमा मात्रै दैनिक ६ सय वटा खपत हुन्छ । ‘बाँकी चार सय भक्तपुर, ललितपुर र कीर्तिपुरमा खपत हुन्छ’, शाहीले भने ।

 

व्यवसायीका अनुसार एउटा राँगाभैंसीको औसत मूल्य ४० हजार रुपैयाँ पर्छ । यसरी हेर्दा एक हजार राँगाभैंसीको खरिद मूल्य चार करोड रुपैयाँ पर्छ । मासुका राँगाभैंसी कारोबार गर्ने अर्का व्यवसायी दिनेश शाहीका अनुसार साना पाडापाडीको खरिद मूल्य ३५ हजार, व्यस्कको मूल्य ६० हजार र थारो भंैसीको खरिद मूल्य ४५ हजार रुपैयाँ पर्छ । ‘औसतमा एउटा राँगाभंैसीको खरिद मूल्य ४० हजार पर्छ’, दिनेश शाहीले भने,‘यसरी हेर्ने हो भने उपत्यकामा मात्रै दैनिक चार करोड मूल्य बराबरको राँगाभंैसी आयात हुने गरेको छ ।’

व्यवसायीको आँकडालाई विश्लेषण गर्दा वार्षिक १४ अर्ब ६० करोड रुपैयाँ मूल्य बराबरका तीन लाख ६५ हजार ओटा राँगाभैंसी उपत्यकामा खपत हुन्छन् । केन्द्रीय पशु क्वारेन्टाइन कार्यालयले भने पछिल्ला केही वर्ष यता वार्षिक ६० हजारदेखि ८० हजार हाराहारीमा मात्रै नेपालमा राँगाभैंसी खपत भएको जनाएको छ ।

उपत्यकामा खपत हुने मासुमध्ये करिब ६० प्रतिशत राँगाभैंसीको छ

क्वारेन्टाइन कार्यालय प्रमुख डा. मोदनाथ गौतमले सबैभन्दा बढी आर्थिक वर्ष २०५५÷५६ मा तीन लाख ५० हजार ६ सय ११ वटा राँगाभैंसी भारतबाट आयात भएको जानकारी दिए । त्यसपछि २०७०÷७१ मा एक लाख तीन हजार नौ सय २७ राँगाभंैसी आयात भएको क्वारेन्टाइन कार्यालयको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७३÷७४ मा ६१ हजार पाँच सय ८२ वटा राँगाभैंसी भित्रिएको क्वारेन्टाइन कार्यालयले जनाएको छ । राँगाभैंसीको मासुको अतिरिक्त हाडबाट टाँक, विद्युत्को इन्सुलेटर, छालाबाट जुक्ता, ज्याकेट, वेल्ट तयार हुन्छ ।

दैनिक साढे ४९ करोडको मासु खपत

उपत्यकाबासीले दैनिक १५ लाख किलो राँगाभैंसीको मासु प्रयोग गर्दै आएका छन् । एक राँगाभैंसीबाट औसत एक सय ५० किलो मासु तयार हुन्छ । एक किलो मासुलाई उपभोक्ता औसत मूल्य तीन सय ३० रुपैयाँ पर्छ । यसरी हेर्ने हो भने एक हजार वटा राँगाभैंसीबाट दैनिक १५ लाख किलो मासु तयार हुन्छ । यसरी तयार भएको राँगाभैंसीको मासु खुद्रा व्यवसायीमार्फत ४९ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुन्छ ।

बद्यशाला अव्यवस्थित

उपत्यकामा करिब दुई सयको हाराहारीमा रहेका वद्यशालामा राँगा काटिन्छ । सबैभन्दा बढी टंकेश्वर र डल्लु नजिकका बद्यशालामा काटिने गरेको छ । यी दुई स्थानमा मात्रै करिब सयको संख्यामा बद्यशाला छन् । त्यसपछि बौद्ध र तीनचुलिमा पनि करिब ३७ को संख्यामा बद्यशाला छन् । यस्तै विष्णुमती किनारमा सय, पाटन वरिपरी १२, भक्तपुर १०,कीर्तिपुरको चौगालमा आठ, मध्यपुर थिमीमा सात, टोखामा ६, लगनखेलको इटीमा पाँच, चापागाउँमा पाँच, सातदोबाटोमा तीन, तापाहिटीमा तीन, थोंचे र गोंगबुमा दुई÷दुई ठाउँमा बद्यशाला छन् ।

पशुपन्छी मन्त्रालयकाका प्रवक्ता श्याम पौडेलका अनुसार सञ्चालनमा रहेका अधिकांश बद्यशाला परम्परागत छन् । परम्परागत शैलीका भएका कारण त्यस्ता बद्यशालाबाट काटिने र तयार पारिने मासु स्वस्थ्यकर छैन ।

यसरी हुन्छ आयात

क्वारेन्टाइन कार्यालयका अनुसार नेपालमा वारा, रौतहट, जटही, भिट्टामोड, मलंगवा र भैरहवा जिल्लाको नाका भएर भारतीय राँगाभैंसी आयात हुने गरेको छ । बुद्ध शाहीले भारतबाट थोरै बैद्य रूपमा र झण्डै दोब्बरको परिमाणमा अबैद्य रूपमा राँगाभैंसी आयात भइरहेको जानकारी दिए । उनका अनुसार नेपाल भारतको सीमा खटिने भारतीय सुरक्षाकर्मीले रकम लेनदेनको आधारमा रात्रिकालीन समयमा चोरी निकासी माध्यमबाट राँगाभंैसी आयात गर्ने सुविधा उपलब्ध गराउँदै आएका छन् ।
भारतको उत्तर प्रदेश विहारसँगै जोडिएको नेपालको नवलपरासीको परासी र जमुनियामा, जनकपुरको संखुवा र वयलवास, मकवानपुरको जितपुर, कपिलवस्तुको चनौटा र नेपालगन्जमा बैद्य र अबैध रूपमा ल्याइएका राँगाभैसी संकलन गरी राखिन्छ । यस्ता स्थानमा साताको एकदेखि दुई पटक राँगाभंैसीकै हाट बजार लाग्ने गर्छ ।

दुई सय ५६ परिकार

व्यवसायीका अनुसार राँगाभैंसीको मासुबाट दुई सय ५६ प्रकारको स्वादिलो परिकार तयार हुन्छ । मासुबाट सेकुवा, छोयला, सुकुटी, बफ चिल्ली, कचिला, भुटन, चटामरीलगायतका खाद्य पदार्थ तयार हुन्छ । अहिले चोक चोकमा बफबाट तयार हुने दर्जनौंको संख्यामा सानो टहरादेखि अत्याधुनिक रेस्टुरेन्टसम्म सञ्चालनमा छन् । ००

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.