दसैंका देवी: अनेक रुप
प्राचीनता
पूवर्-सिन्धु घाटी, सिन्धु घाटी सभ्यताहरूमा मानवरूपी प्रतिमाको पूजा गरिन्थ्यो । त्यति बेला नग्न पृथ्वी देवीको पूजा माता स्वरूपमा गरिएको पाइन्छ । जनावर, रूख, नदी, पर्वतहरू पनि दैव रूपमा बुझिएर पूजा गरिएको पाइन्छ । देवीको रूप नभए पनि, मोहेन्जोदरोको काँस मूर्तिको नर्तक केटी नारी र कलाको २५०० इसापूर्वका उदाहरण हुन् । लौरियानन्दनग (नर्कतियागन्ज, बिहार)मा पाइएको कोमाताको मूर्ति देवी परम्पराको प्राचीन नमुना हो ।
मलाई यी दुइटा मूर्तिकलाले अचम्म पार्छन् । मैले देवीको अध्ययन यस्ता कलाहरू हेर्दै सुरु गरेको हुँ । देवीको महाविद्या रूपको अध्ययन काठमाडौंका मन्दिरहरू हेर्दै गर्न थालेँ । देवीको रूप नृत्यदेखि जनावरको विविधतामा पाइन्छ । डरलाग्दो रूप मातृतुल्य हुन्छ भने कामुक र ज्ञानरूपी पनि पाइन्छन् । देवीप्रथा बुद्ध धर्ममा नेपाल, भारतदेखि, जापान र फिलिपिन्ससम्म प्रचलित छ । १४औं शताब्दीका हेनारी सुसोले त क्राइस्टलाई पनि क्रिस्चियन देवीको रूप मान्न थालेका थिए ।
देवी शब्द प्राकृतिक चमत्कारको सांकेतिकता हो । प्रकृतिमा जति शक्ति छन्, देवीका रूपहरू त्यस्तै शक्तिबाट जन्मेका देखिन्छन् । देवीदेवता प्राकृतिक शक्ति, विशेषता लाक्षणिक मूर्तिका रूपक चित्र हुन् । सुमेरिया, सिन्धु घाटी, मि श्र, ग्रिस यस्ता परम्पराका प्राचीन थलो हुन् ।
देवीको दार्शनिकता
देवीको कथा, उनको पूजा र संस्कृतिसँग धेरै विचार जोडिएका छन् । धार्मिक र दार्शनिक पक्षलगायत पर्यावरणबोध, नारीवादी चिन्तन, मास्कुलिनिटी, उपनिवेशवादजस्ता विचारहरू मन्थन गर्न सकिन्छ देवी रूपमा । तर, देवीदेवता, उनका मूर्ति पूजा विश्वासका विरोधीहरू पनि छन् । कोही विरोध गर्छन् त कोही बुझ्दैनन् । कोही त बुझ्न सक्दैनन् ।
विन्स्टन चर्चिलले हिन्दु धर्मको रीतिरिवाजलाई पाशविक धर्म नै भनेका थिए । देवता त एउटा छन्, हिन्दुहरूले कति देवी-देउताका पूजा गर्छन् भन्ने विकारात्मक प्रतिक्रिया पनि सुनिन्छ । तर, कोही त रमाइलो मानेर अचम्म पनि पर्छन् । यस्ता विचारहरू स्वाभविक हुन् किनभने हामीमा आआफ्नो दष्टिकोणबाट अरूलाई हेर्ने बानी छ । एथ्नोसेन्ट्रिज्म अथवा आफ्नो सांस्कृतिक दृष्टिकोण नै परिस्कृत हेराइ हुने धारणाबाट निस्कन गाह्रो छ ।
एउटा परालौकिक अस्तित्व छ भन्ने मान्ने नै हो भने दस, बीस अथवा लाखौं हुन सक्दैनन् । प्रकृतिमा अनन्त शक्ति छन् । तिनीहरूका अनन्त नाम पनि छन् । त्यस्ता शक्तिलाई सम्मान दिँदै कथा निर्माण गर्नु, पूजा गर्नु, बुझ्नु र व्याख्या गर्नु हाम्रो चिन्तनशीलता हो । व्याख्या र चिन्तन गरिएन भने हजारौं वर्षको इतिहास बोकेको केही अर्थ छैन ।
महिषासुरलाई मार्दै गर्दा पनि दुर्गा रिसाएको देखिँदैन । उनको अनुहारमा चिन्तनको आभा छ । अचेलका संहार-मूर्तिहरूमा कलाकारले यो विरोधाभास ल्याउन सकेका छैनन् । महाकालीका प्राचीन मूर्तिमा क्रोध पाइँदैन ।
हाम्रो संस्कृति हजारौं वर्षको छ तर चिन्तन गर्दा दुई शब्दमा टुंग्याउने परम्पराले ‘हजारौं वर्ष’को दाबीलाई कमजोर बनाउँछ । इतिहास बोकेको कला र संस्कृतिमा गहन चिन्तन हुन्छ । जस्तै— धुमावती देवीलाई हेर्दा देवी स्वरूप देखिँदैन तर उनी ज्ञान र अपूर्णताको प्रतीक हुन् । धुमावती दस महाविद्यामध्ये एउटी देवी हुन् । प्रतीकात्मक समझदारी धर्म र कलाले दिएको लक्षण हो । एउटा संस्कृतिको दृष्टिकोण अर्को संस्कृतिबारे त्यही रूपमा लागू हुन्न । इस्लाम, इसाई, सिख धर्मबारे हिन्दु, बुद्ध, अथवा कुनै आस्थाले दुई शब्दमा विचार गर्न सक्दैन । कार्ल माक्र्सले धर्मबारे टिप्पणी गर्न निकै हतार गरेका हुन् । हुन त उनका अरू विचारहरू गहन छन् । धर्मको मामिलामा भने उनले यसको केही पक्षमात्र हेरे । ती पक्षहरूको कुरा गर्दा अनन्त देवीहरूको प्रसंग आउँछ ।
रूप अनेक
दसैं देवी दुर्गाको पर्व हो । उनले महिसासुरलाई दैव अस्तित्वमा आत्मसात् गरिन् । देवीले उनलाई मारेको होइन । दैवी भावनाको कोही शत्रु हुँदैन । महिषसुरको बध हुनु एउटा ठूलो शक्तिले सानो शक्तिलाई ओगट्नु पनि हो । देवीले राक्षसी दुष्टतालाई निष्प्रभाव गरिन् । त्यसैले हो, अन्तिम क्षणमा उनको दृष्टि क्षितिजतिर छ । उनको ओठमा मुस्कान देखिन्छ । शास्त्रीय मूर्तिमा देवी रिसाएको देखिँदैन । यो पनि एउटा व्याख्या नै हो जसले असल र दुष्ट, देवता र सैतान बीचको सम्बन्धको मिथकीय (दार्शनिक) पक्ष भन्न खोजेको छ ।
देवी दुर्गाको रूपहरू भन्दा उनको चरित्रको विरोधाभास, असंगति, विविधताको गतिशीलताको वर्णन गर्नु मेरो लागि महत्वपूर्ण हुन्छ । देवी महात्म्यको प्रसिद्ध प्रार्थना ‘या देवी सभर्स भुतेसु’ अचम्मको कविता हो । यसले देवीको विशेषता विष्णुमाया, चेतना, बुद्धि, निद्रा, छुधा, छाया, शक्ति, तृष्णा, शान्ति, जाति, लज्जा, श्रद्धा, कान्ति, लक्ष्मी, वृत्ति, स्मृति, दया, तुष्टि, मातृ, भ्रान्ति चरित्रको गतिशीलता वर्णन गर्छ ।
‘या देवी सर्वभूतेषु विष्णुमायेति शब्दिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।१४-१६।।
या देवी सर्वभूतेषु चेतनेत्यभिधीयते ।
नमस्तस्यै नमस्तस्यै नमो नमः ।।१७-१९।।
...
या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमो नमः ।।७१-७३।।
या देवी सर्वभूतेषु भ्रान्तिरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमो नमः ।।७४-७६।।’ (देवी माहात्म्यम् वा दुर्गासप्तशती)
प्रकृतिलाई कविता र कलाको माध्यमबाट व्यक्त गर्नु हाम्रो सिर्जनशीलता हो । यो कविताले प्रकृतिको शक्ति र व्यापकता मानवीय भाषामा व्यक्त गर्न खोजेको हो । यस्ता विचार र बोधहरू नेपाली कलाहरूमा प्रशस्त पाइन्छन् ।
मूर्तिको अर्थ
नेपाली कलामा मिथकको अनुभूति नेपाली मनोविज्ञानका तत्व हुन् । हस्तलिखित कला ग्रन्थहरूले धार्मिक विविधताको प्रतिनिधित्व गर्छन् । यस्ता ग्रन्थहरूले दृश्य निर्माण गर्दै अमूर्त विचार सिर्जना गर्छन् । दृश्यरूपी बुझाइको परम्परालाई दर्शन भनिन्छ । देखिएपछि विचार स्पष्ट हुन्छ । त्यसैले देवीदेउताहरू चारैतिर देखिन्छन्, कलादेखि कथाका रूपमा । यही हो मूर्ति पूजा परम्पराको महत्व ।
मूर्तिहरू सांकेतिक कला हुन् । देवी अथवा देवताको यथार्थ चित्र हुन् यी । क्रिस्चियन विद्वान् सन्त अगस्ताइनको विचारमा सांकेतिक भाषा नभई विज्ञान बुझ्न गाह्रो हुन्छ । यथार्थवादले परालौकिक र प्रकृतिको गहिराइमा गतिशीलताको गम्भीरता बुझ्न दिँदैन ।
प्रकृतिको विविधताको मात्रै चर्चा गरौं । कलाले मात्रै यस्तो विविधता हाम्रो सामुन्ने ल्याउन सक्छ । यसबारे मैले आफ्नो किताब ‘गडेसेस अफ् काठमान्डु’मा व्याख्या गर्ने प्रयास पनि गरेको छु । मैले आफ्ना विद्यार्थीलाई काठमाडौंमा डुल्न भन्छु, अभि सरको फ्लानरजस्तो । मेरो साथी सञ्जीव उप्रेतीको यस्तै डुल्ने बानी छ अथवा थियो, हामी विद्यार्थी छँदा । म त काठमाडौंका गल्ली-गल्ली धेरै डुलेको छु ।
दसैंमा पारिवारिक घनचक्करमा मात्रै नपरेर बिस्तारै डुल्नु हाम्रो गाउँ र सहरको कलात्मकता बुझ्नु हो । हिँड्ने समय छैन भने दसैं के मनाउनु जस्तो लाग्छ । दसैं र मोटरसाइलको सम्बन्ध छैन । पाटन होस् वा जनकपुर, प्रकृतिको सांकेतिक भाषा बुझ्न र बुद्धको पाइलाको इतिहास सिक्न मन लाग्छ ।
एकजना हेर्दाहेर्दै नालीमा खसे । घर आएर आमाको गाली खाँदै भने, धेरैजना नालीमा खस्छन् तर तारा हेर्ने बिरलै हुन्छन् । ओस्कार वाइल्डको समझमा आयो, पर्वको समय त हिँड्ने समय हो । कलाले धर्मको चित्रण गरेको हुन्छ । अनेकौं मूर्ति, देवीका अनेकौं रूपहरूको बुझाइ हिँडाइबाट नै सम्भव हुन्छ ।
देवीहरूका कलात्मक चित्रणसम्बन्धी ग्रन्थहरू काठमाडौं उपत्यकाका विशिष्टता हुन् । अस्तशहरसृक, परमार्थनम संगीत, प्रज्ञापारमिता, पञ्चराक्षस, गनदवुयाकारी एघारौं शताब्दीको चित्र-कृति दार्शनिक र अनुष्ठानिक ग्रन्थहरूमा देवीहरूको वर्णन पाइन्छ । सन् १२५० को पञ्चराक्षसमा चित्रण गरेका देवीहरू रक्षक देवीहरू हुन् । रक्षा गर्ने देवीहरू हिन्दु र बुद्ध कला र मिथकमा चारैतिर व्याप्त देखिन्छन् ।
दसैंको ऋतुसम्बन्ध
बंगालको अगमनी विजया गीतले देवीलाई उमा, पार्वती अथवा गौरीको रूपमा आह्वान गर्छ । यी हिमालय र मेनकाकी छोरी हुन् । देवी पर्वमा छोरी आफ्नो हिम-घरमा फर्केकी हुन् । प्रतिमा विसर्जनको परम्परा भनेको छोरी लोग्नेको घर फर्केकी हुन् । अगमनी गीतको प्रथम दुई पंक्ति यस्ता छन् ः
‘तिम्रो प्रकाशको बाँसुरी बज्यो,
तिम्रो प्रकाशले भुवन अभिभूत भयो ।’
यो गीत ऋतु परिवर्तनको स्वागत गीत हो । ऋतु र दसैंको सम्बन्ध आद्य रूप हुन् । छोरीको आगमनको केही दिनको खुसी पछिको हिउँदको एक्लोपनको प्रतीक पनि हो यो ।
सन् २००९ मा नेवारी वास्तुकलाको प्रतिविम्बमा कलकत्तामा दुर्गा पूजाको मण्डप बनाइएको थियो । हिन्दु नेवार संस्कृति शक्ति पूजाको आस्थाको कलात्मक थलो हो भन्ने बंगाल र आसाममा व्यापक अध्ययन गरिएको छ । यसै सन्दर्भमा माथि उद्धृत गरिएको पञ्चराक्षसको हस्तकृति, कलकत्ताको आशुतोष पुस्तकालयमा पाइन्छ । यो कृति महायान देवीको विविधता बुझ्नका निम्ति उत्तम ग्रन्थ हो।
देवीको ज्ञानस्वरूप
देवीहरूको विविधताको चर्चा गर्दा ज्ञानका देवीहरूबारे चर्चा गरिएन भने अधुरो हुन्छ । ज्ञानका देवीहरू दक्षिण एसियाको मिथक र धार्मिक परम्पराका विशेषता हुन् । महाविद्या परम्परामा देवीहरूले स्थान लिएका छन् । डेभिड किंग्सले महाविद्या देवीहरूको विस्तृत व्याख्या गरेका छन् । काली समयको गति हुन्, भैरवी अस्तित्वको अनन्तता र विनाशको शक्ति हुन् । तारा पुनर्निर्माण गर्ने क्षमता हुन् । छिन्नमस्ता जीवनका शक्तिको वितरण गर्छिन् । त्रिपुरासुन्दरी इच्छा र पूर्णताकी देवी हुन् । भुवनेश्वरी सर्वव्यापी अस्तित्वलाई सहारा दिन्छिन् । कमला पुनर्संगठित एकता हुन् । बगलामुखीले नकारात्मक शक्तिलाई नाश गर्छिन् । महाकालीले आसुरी शक्तिलाई नियन्त्रणमा राख्छिन् । ज्ञानका विविध देवी रूप हुन्छन् । यो हिन्दु परम्पराको विशेष दार्शनिक देन हो ।
कलामा विरोधाभास
देवी र दसैंको विविधता गहिरो हुँदाहुँदै यसका रमाइला पक्ष धेरै छन् । दार्शनिक दृष्टिकोण कुनै टाढाको तथ्य होइन । नेपालमा चारैतिर कला छन् । त्यसैले दृष्टिकोण हामीसँगै छ । दार्शनिक दृष्टिकोणले हामीलाई धार्मिक कुरीतिहरू स्पष्ट पार्न सक्छ । तन्त्र दर्शन र योग दर्शनको दृष्टिकोणबाट हेर्दा कालीको विकराल रूपमा मातृत्व देखिने भक्ति-दृष्टि र दार्शनिक बुझाइको संयोजन पाइन्छ । यो दार्शनिक बुझाइ हो जसलाई हामीजस्तो हजारौं वर्षको इतिहास बोकेकाले बुझ्छन् ।
तन्त्र र योग दर्शनले नेपाल र भारतीय कलाका विरोधाभासहरूलाई पूर्णता दिन्छ जसले गर्दा विरोधाभासले पनि एकरूपता प्रदान गर्नसक्छ । कालीको भयानक रूपमा मातृत्वको आस्था विरोधाभास हुनसक्छ । तर, विरोधाभासको बीचमा पनि ‘भयावहमा आमा’ एकरूपता प्रदान गरेको कालीको रूप हो । यस्ता विरोधाभासहरूले हामीलाई हिन्दु र बुद्ध मिथक र कला नबुझ्ने बनाउन सक्छ । विशाल र कलात्मक मन्दिरको गर्भगृहमा एउटा सानो ढुंगा किन राखिन्छ ? बाहिरी मन्दिर बनाउने कलाकारले भित्र पनि त सुन्दर मूर्ति बनाउन सक्थ्यो तर एउटा ढुंगा स्थापित गरेर आफ्नो काम पूर्ण गरेको देखिन्छ । यो कलात्मक विरोधाभास हो ।
माथिको देवी महात्म्यको दुर्गाको चरित्रको वर्णनमा उल्लेख छ— देवी चेतनशील छन् भने भ्रान्तीको रूप पनि हुन् उनी । छिन्नमस्ता आफ्नो शिर काटेर अरूलाई रक्तजीवन प्रदान गर्छिन् । देवीदेवता मानिसको रूपमा देखिन्छन् भने जनावरको प्रकारमा पनि पाइन्छ । मातृका देवीको कथा सुन्दा एउटा विशेष विरोधाभास देखिन्छ । यी देवीहरू दुर्गाका नकारात्मक शक्तिहरू पनि हुन् । तर, यी देवीहरूलाई नाटक र कलाका देवीहरूका रूपमा पनि लिइन्छ ।
यस्तै विरोधाभासको प्रतिरूप दुर्गा र महिषासुरको लडाइँमा छ । उनी महिषासुरलाई मार्दै गर्दा पनि रिसाएको देखिँदैन । उनको अनुहारमा चिन्तनको आभा छ । अचेलका संहार-मूर्तिहरूमा कलाकारले यो विरोधाभास ल्याउन नसकेको पाइन्छ । महाकालीका प्राचीन मूर्तिहरूमा यस्तो क्रोध पाइँदैन । त्यहाँ चिन्तनको आभा नै झल्किन्छ ।
संयोजन धर्म र उपभोक्तावाद
दसैंको स्वास्थ्यसम्बन्धी पक्षबाट यो चर्चा टुंग्याउँछु । दसैंपछि डाक्टरहरूको भनाइमा धेरैजनाको कोलेस्ट्रोल बढेर आउँछ । खसीको मासु धेरै खाइन्छ र स्वास्थ्य बिग्रन्छ । यसमा कुनै विरोधाभास छैन । मेरो कपिलवस्तुको गाउँमा अर्को गतिशीलता छ । दसहरामा अनेकौं लाउडस्पिकर उच्च आवाजमा बज्छन् । ध्वनि प्रदूषणको पराकाष्ठा सुनिन्छ । मासु र ध्वनिको सम्बन्ध बुझिएको छैन भने दसैं अर्थात् दसहरा पनि थाहा हुँदैन । काठमाडौंमा दसैंको अर्को पक्ष छ ।
यो पर्व भनेको पारिवारिक पर्व हो जुन बेला तेलमा बनाएको परिकारले थप समस्या ल्याउँछ । पूजा-पर्वका यस्ता कुराहरू रमाइला हुन्छन् । स्वास्थ्यको कुरा गर्ने मन थिएन तर यो लेख लेख्दै गर्दा एकजना साथीले फोन गरेर भन्यो, ‘काठमाडौंमा छौ भने यसपालि तिमीलाई ६ प्रकारका मासु खुवाउँछु ।’ मलाई अलमल छ, ध्वनितिर जाने कि मासुतिर !
मेरो एउटा साथी भर्खरै शाकाहारी भएको छ । उसको गति दुःखलाग्दो छ । धर्मकर्मको कुरा मान्दैन तर अब वैष्णव धर्मतिर लाग्छु भन्दै फोन राखेको थियो । बिहान बाख्रा कराएको आवाज आउँछ । बिहानै अगमानी गीत सुनिरहेको हुन्छु, बाख्रा कराउँछ । धर्मको विरोधाभास उपभोक्ता संस्कृतिको उत्सव हो । हामी दुवैसँग बस्नुपर्छ । मैले कुनै संस्कृतिको आलोचना गरेको होइन, विरोधाभास व्यक्त मात्र गरेको हुँ ।
(दक्षिण एसियाका देवीहरूबारे गहिरो अध्ययन गरेका प्राध्यापक गुप्तोको काठमाडौं उपत्यकाका देवीहरूमाथि लेखिएको किताब ‘गडेसेस् अफ् काठमान्डु भ्याली’ प्रकाशित छ ।)