अमेरिकी लोग्ने मान्छे

अमेरिकी लोग्ने मान्छे

स्विस युवकसँगको प्रेम छुटाउन छोरीलाई लिएर अमेरिकी महिला अमेरिका फर्किन्छिन् । अमेरिकी पुरुष मात्र सर्व श्रेष्ठ पति हुन सक्छ भन्ने उनको धारणा कति ठीक होला ? जतिन मोहन्तीद्वारा सम्पादित तथा युनिभर्सिटिज प्रेस हैदराबादबाट प्रकाशित ‘टेन सर्ट स्टोरिज'बाट नोबेल पुरस्कार विजेता अर्नेस्ट हेमिङ्वेको अंग्रेजी कथा ‘अ क्यानरी फर वन'को साभार अनुवाद:

बगैंचा र चारवटा आरुबखडाको ठूला बोट अनि तिनका छायामुनि टेबुलहरू राखिएको रातो ढुंगे घर हुँदै रेल अगाडि हुइँकियो। अर्कोतिर समुद्र थियो। त्यसपछि रातो चट्टानको छोटो बाटो । समुद्र अब यदाकदा मात्र देखिन्थ्यो। धेरै तल चट्टान थियो।

‘मैले यो चरा पालेर्मोमा किनँे', अमेरिकी महिलाले भनी, ‘त्यो आइतबारको बिहान थियो र समुद्र किनारमा टहलिन हामीसँग एक घन्टा मात्र समय थियो। बेच्ने मान्छे डलरमै तिरियोस् भन्ने चाहन्थ्यो । अनि मैले उसलाई डेढ डलर दिएँ। यो चरो कम्ता राम्रो गाउँदैन त!'

रेलमा असाध्यै गर्मी थियो। लिट स्यालोन कम्पार्टमेन्टभित्र त गर्मीको कुरै नगरौं । खुला झ्यालबाट पनि हावा आइरहेको थिएन। अमेरिकी महिलाले झ्याल पूरै खोली । अब कतै र यदाकदा पनि समुद्र देखिन्नथ्यो । अर्कोतिर सिसा, करिडोर र खुला झ्याल थियो। झ्यालबाहिर चाहिँ धुलैधूलोले ढाकिएको रूख, तेल पोतेजस्तो चिल्लो सडक, अंगुरका फराकिलो खेत र तिनका पृष्ठभूमिमा खैरो ढुंगे पहाड थियो।

मार्सेई आइपुग्दा अग्ला चिम्नीहरूबाट धूवाँको मुस्लो उडिरहेको थियो । रेलको गति धीमा भयो र ट्र्याक बदल्दै स्टेसनभित्र छिर्‍यो। रेल मार्सेईमा २५ मिनेट रोकियो । अमेरिकी महिलाले डेली मेल अखबार र आधा बोतल इभिएन वाटर किनी। स्टेसनको प्लेटफर्म हुँदै ऊ अलि अगाडि गई र कार रोक्ने ठाउँनिर गएर रोकिई । किनभने कान्स सहरमा १२ मिनेट रोकिँदा कुनै संकेत नगरी रेल अघि बढेको थियो। एकै मिनेटले मात्र ऊ रेलभित्र छिर्न पाएकी थिई। ऊ अलिअलि बहिरी थिई र उसलाई लाग्यो, छुट्ने संकेत रेलले दिएको हुँदो हो तर उसले सुनिन।

रेल मार्सेईबाट पनि अगाडि बढ्यो । अब स्विचयार्ड र कारखानाको धूवाँ मात्र देखिन्नथे, पछाडि फर्केर हेर्दा मार्सेई सहर, ढुंगे पहाड भएको बन्दरगाह र समुद्रमा छिर्ने अन्तिम घडीमा रहेको सूर्य पनि देखिन्थ्यो । अँध्यारो बढ्दै गर्दा खेतको बीचमा जलिरहेको एउटा फार्महाउस देखियो । मोटर, कारहरू सडकको छेउमा रोकिएका थिए । फार्महाउस भित्रका ओछ्यानलगायत अन्य सामान खेतमा फिँजाइएका थिए ।

अँध्यारै भइसकेपछि रेल एभिनो पुग्यो । यात्रुहरू चढ्ने र ओर्लने गरिरहे । पेरिस फर्कंदै गरेको फ्रान्सेलीले त्यस दिनका फ्रान्सेली अखबारहरू किन्यो । स्टेसनको प्लेटफर्ममा खैरो युनिफर्म लगाएका अग्ला काला सिपाहीहरू देखिए । बत्तीमुनि तिनका अनुहार चम्किरहेका थिए । तिनीहरू असाध्यै काला थिए र यति अग्ला थिए कि तिनलाई पूरै हेर्न पनि मुस्किल पथ्र्यो । उभिरहेका हब्सी सिपाहीलाई त्यहीँ छाडेर रेल एभिनोनबाट पनि अगाडि बढ्यो । एकजना होचो–गोरो सर्जेन्ट उनीहरूसँगै उभिरहेको थियो ।

लिट स्यालोन कम्पार्टमेन्टमा भरियाले भित्ताबाट तीनवटा ओछ्यान तानेर फिँजायो र सुत्नलाई तयार पार्‍यो । अमेरिकी महिला नसुतीकन ढल्किरही किनभने रेलको गति अघिभन्दा अझ बढी थियो । रातको समयमा यस्तो चर्को गतिसँग ऊ डराउँथी । उसको ओछ्यान झ्यालको अर्कोपट्टि थियो । पालेर्मोबाट ल्याइएको जुरेलीको पिँजराबाहिर कपडा बेरिएको थियो । पिँजडा प्यासेजको बाहिरी भागमा थियो जहाँबाट सोझै कम्पार्टमेन्टको नुहाउने कोठा पुग्न सकिन्थ्यो । कम्पार्टमेन्ट बाहिर हल्का नीलो प्रकाश फैलिएको थियो । रेल रातैभरि अत्यन्त दु्रत गतिमा दौडियो । अनि अमेरिकी महिला दुर्घटना होला कि भनेर रातैभरि ढल्केर जागाराम भइरही ।

रेल बिहानपख पेरिस नजिकै पुग्यो । अमेरिकी महिला बाथरुमबाट बाहिर निस्किई । रातभरि नसुते पनि मध्यम उमेरकी ऊ तरोताजा र पक्का अमेरिकी देखिन्थी । पिँजरामा बेरिएको कपडा हटाएर उसले त्यसलाई घाममा राखिदिई र बे्रकफास्टका लागि रेस्टुराँ कारभित्र छिरी । ऊ फर्केर आउँदा ओछ्यान उठाएर भित्तामा राखी बस्ने ठाउँ बनाइएको थियो । जुरेलीले झ्यालबाट भित्र छिरेको घामको किरणमा प्वाँख हल्लायो । अब रेल पेरिसको निकै नजिक आइसकेको थियो ।

‘यसलाई घाम खुब मन पर्छ', जुरेलीतिर संकेत गर्दै अमेरिकी महिलाले भनी, ‘हेर्नुस् है त, एकै छिनमा यसले गाउन सुरु गर्छ ।'
जुरेलीले प्वाँख हल्लायो र त्यहाँ ठुङ्न थाल्यो । ‘मलाई चरा खुब मन पर्छ', अमेरिकी महिलाले भनी, ‘मैले यसलाई मेरी सानी छोरीका लागि लैजान लागेकी हुँ । लौ सुन्नुस्, यसले गाउन थाल्यो ।'

जुरेली चिर्बिरायो । त्यसका घाँटीका प्वाँखहरू ठाडा भए । उसले आफ्नो ठुँड तलतिर लग्यो र फेरि प्वाँखमा ठुङ्न थाल्यो । रेलले एउटा नदी पार गर्‍यो र गजबले रखवारी गरिएको वनबाट अगाडि बढ्यो । अनि पेरिस सहरको बाहिरी भागहरूमा प्रवेश गर्‍यो ।
सहरमा ट्राम कारहरू देखिन्थे । भित्तामा बेल जार्डिनेर, डुबोनेट र पर्नोडका ठूल्ठूला विज्ञापनका होर्डिङ बोर्डहरू थिए । रेलले छाड्दै गएका ठाउँ यस्ता देखिन्थे मानौं त्यो समय ब्रेकफास्टअघिको हो । निकै बेरदेखि मैले अमेरिकी महिला बोलेको सुनिरहेको थिइनँ जो मेरी पत्नीसँग कुरा गरिरहेकी थिई ।
‘तपाईंको बूढो पनि अमेरिकी नै हो त ? ' उसले सोधी ।

‘हो, हामी दुवै अमेरिकी हौं', मेरी पत्नीले भनी ।
‘ए म त तपाईंहरू बेलायती पो भन्ठानेको', उसले भनी ।
‘ए, होइन नि !'

‘सायद मैले ब्रासेज लगाएकोले होला', मैले भनेँ । पाइन्टका दुइटा लोती काँधमा झुन्ड्याउने सस्पेन्डरलाई बेलायती चरित्र प्रदर्शन गर्न मैले ब्रासेज भन्न थालेको थिएँ । अमेरिकी महिलाले सुनिन । ऊ साँच्चिकै बहिरी थिई । ऊ ओठहरूमा ध्यानपूर्वक हेर्थी । म झ्यालबाहिर हेरिरहेको थिएँ । उसले मेरी पत्नीसँग बात मार्ने क्रम जारी राखी ।

‘मलाई क्या खुसी लाग्यो भने तपाईंहरू अमेरिकी नै हुनुहुँदो रहेछ । अमेरिकी पुरुष सर्व श्रेष्ठ श्रीमान् हुन्', अमेरिकी महिलाले भनी । ‘बुझ्नुभो, त्यसैले त मैले यो महादेश छाडेँ ! भेभेमा मेरी छोरी एउटा केटोको मायाजालमा फसेकी थिई', ऊ एकछिन रोकिई । ‘तिनीहरू प्रेममा पागलै भएका थिए', ऊ फेरि एकछिन चुप लागी । ‘अनि मैले उसलाई त्यहाँबाट लिएर हिँडेँ ।'

‘अनि छोरीले उसलाई बिर्सन सकिन् त ? ' मेरी पत्नीले सोधी ।
‘सायद अझै सकेकी छैन', अमेरिकी महिलाले भनी, ‘ऊ खाँदै नखाने र सुत्दै नसुत्ने भएकी थिई । मैले कति प्रयास गरेँ तर उसले कुनै पनि कुरामा रुचि देखाउन छाडी । कुनै पनि कुरालाई उसले वास्ता गर्न छाडी । तर, म उसले विदेशीसँग बिहे गरेको सहन सक्दिनँ', ऊ फेरि एकछिन मौन भई । ‘एकजना मेरी असल साथीले भनेकी थिई, ‘अमेरिकी केटीका लागि कुनै पनि विदेशी असल लोग्ने हुनै सक्दैन ।'
‘अहँ', मेरी पत्नीले भनी, ‘मलाई त त्यस्तो लाग्दैन ।'

अमेरिकी महिलाले मेरी पत्नीले यात्रामा लगाउने कोटको प्रशंसा गरी र आफूले बीस वर्षदेखि अहिलेसम्म रुई सेन्ट ओनरको मेसोँ डी कोटुरबाटै लुगा किन्ने गरेको बताई । तिनीहरूलाई उसको नापो थाहा थियो । उसलाई चिन्ने र उसको रुचि थाहा पाएको एउटा व्यापारी उसका लागि कपडा छुट्याउँथ्यो र अमेरिका पठाइदिन्थ्यो ।

ती लुगा न्युयोर्कको एउटा पोस्ट् अफिसमा आउँथे जहाँबाट सेखैमाथि उनीहरू बस्थे । यो काम कहिल्यै उच्चाटलाग्दो भएन किनभने लुगाको त्यो पोको उनीहरू पोस्ट् अफिसमै खोल्थे । ती लुगा अत्यन्त सामान्य देखिन्थे । पोकामा सुनको तुना वा अन्य गरगहना केही हुन्नथ्यो जसले गर्दा त्यो अत्यन्त महँगो देखियोस् । उसलाई कपडा पठाउने यसअघिको व्यापारीको नाम थियो थेरेस । अहिलेको चाहिँ एमिल । बीस वर्षदेखि जम्मा यिनै दुई, बस ! सधैं त्यही कुरियर । यो बेग्लै कुरा हो, मूल्य बढेको छ । तैपनि, विनिमय दरले त्यसलाई धानेकै छ । अब त तिनीहरूसँग उसकी छोरीको समेत नापो छ । ऊ तरुनी भइसकेकी थिई र नापोमा परिवर्तन हुने सम्भावना अब धेरै थिएन ।

रेल पेरिस आइपुग्नै लागेको थियो । घरहरू समतलमा थिए । घाँस धेरै बढ्न पाएका थिएनन् । ट्र्याकमा थुप्रै कार थिए । इटाली जाने ५ बजेको रेल छुटेको खण्डमा पेरिस–रोम लेखिएका खैरो काठले बनेको रेस्टुराँ कार र त्यही रङको स्लिपिङ कार ५ बजे छुट्नेवाला थिए । छतमा सिट भएका कार भने खचाखच भरिएर सेता पर्खाल अनि घरका झ्यालहरूलाई स्पर्श गर्दै निश्चित घन्टामा साना सहरहरूतिर ओहोरदोहोर गरिरहन्थे ।
‘अमेरिकी पुरुष नै सर्वोत्तम पति हुन सक्छन्', अमेरिकी महिलाले मेरी पत्नीलाई भनी, ‘अमेरिकी पुरुष मात्र संसारमा बिहे गर्न लायक हुन्छन् ।'

‘तपाईंहरूले भेभेको बसाइ कहिले छाड्नुभएको ? ', मेरी पत्नीले सोधी ।
‘यो शरदमा दुई वर्ष हुन्छ । अनि यो चरा मैले छोरीकै लागि ल्याएकी हुँ, बुझ्नु भो नि ? '
‘तपाईंकी छोरीको प्रेमी स्विस थियो ? '

‘हो', अमेरिकी महिलाले भनी, ‘ऊ भेभेको धेरै असल परिवारको केटो थियो । उनीहरूको भेट त्यहीँ भयो । उनीहरू हिँड्दै टाढाटाढासम्म पुग्थे ।'
‘भेभेको बारे मलाई पनि थाहा छ', मेरी पत्नीले भनी, ‘हामीले मधुमास त्यहीँ मनाएका थियौं ।'
‘ए हो ? गजब भयो होला, होइन ? साँच्चै, मैले अनुमानै गर्न सकेकी थिइनँ कि मेरी छोरी त्यो केटोको मायाजालमा पर्ली भनेर ।'
‘त्यो धेरै प्रेमिल ठाउँ थियो', मेरी पत्नीले भनी ।

‘हो', अमेरिकी महिलाले भनी, ‘त्यो ठाउँ साँच्चै प्रेमिल हो, होइन त ? त्यहाँ कहाँ बस्नुभएको थियो ? '
‘ट्रोइस कुरोँसमा', मेरी पत्नीले भनी ।
‘ए, गज्जबको होटल हो त्यो त', अमेरिकी महिलाले भनी ।

‘हो', मेरी पत्नीले भनी, ‘हाम्रो कोठा खुबै राम्रो थियो र शरदको बेला गाउँको दृश्य असाध्यै लोभलाग्दो देखिन्थ्यो ।'
‘ए, शरदमा जानुभएको ? '
‘हो', मेरी पत्नीले भनी ।

हामी तीनवटा कार दुर्घटना भएको ठाउँ पार गर्दै थियौं । कारहरू टुक्राटुक्रा भएका थिए र छानाहरू भुइँमा मुख जोतेर बसेका थिए ।
‘हेर्नुस् त', मैले भनेँ, ‘त्यहाँ दुर्घटना भएछ ।'

अमेरिकी महिलाले अन्तिम कारलाई हेरी । ‘रातभरि म यही कुराले छेरभालु भइरहेकी थिएँ', उसले भनी, ‘कहिलेकाहीँ मलाई घटनाहरूको डरलाग्दो पूर्वाभास हुन्छ । म यो दु्रत गतिको रेल आयन्दा कहिल्यै चढ्दिनँ । त्यति छिटो नदौडने अरू आरामदायी रेल त होलान् नि !'
रेल गेर डी ल्योँको अँध्यारोमा प्रवेश गर्‍यो र रोकियो । भरियाहरू झ्यालतिर आए । मैलै झ्यालबाटै सामान दिएँ । हामी प्लेटफर्मको मधुरो प्रकाशमा हिँड्न थाल्यौं । अमेरिकी महिलाले आफूलाई कुकबाट आएका तीनजनामध्ये एउटाको शरणमा छाडिदिई जो भनिरहेको थियो, ‘महोदया, एकैछिन पर्खनुस्, म तपाईंको नाम खोज्दैछु ।'

भरियाले ट्रक ल्यायो र सामानहरू चाङ लगायो । मेरी पत्नी र मैले अमेरिकी महिलासँग बिदा माग्यौं । उसको नाम कुकबाट आएको मान्छेले टाइप गरिएको पृष्ठको एउटा कागजमा भेट्यो जुन उसले आफ्नो बगलीमा घुसार्‍यो ।

हामी रेलकै साइडको लामो सिमेन्टेड प्लेटफर्म हुँदै गइरहेको ट्रकसँगै भरियाको पछि लाग्यौं । अन्त्यमा ढोका आइपुग्यो । एउटा मान्छेले हाम्रो टिकट लियो ।
हामी बेग्लाबेग्लै बसोबास गर्न पेरिस फर्कंदै थियौं ।
अनुवाद: अभय श्रेष्ठ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.