भट्टीपसलमा उमिरहेकी बूढी
एक
गल्पकार त्यहाँ पुग्दा भट्टीपसल सुनसान थियो र बम्बैबूढी स्टुलमा बसेर उमिरहेकी थिई । उसका दुवै आँखा बन्द थिए । उसको टाउको पुरानो जमानाको घडीको लंगुरझैं लगातार हल्लिरहेको थियो । उसको स्थिति हेर्दा लाग्थ्यो, ऊ कुनै बेला पनि लडेर भुइँमा पछारिन्छे ।
बम्बैबूढीको फुक्क फुलेको कालो अनुहारको अगाडि एउटा झिँगा वर्तुलाकार परिधिमा उडिरहेको थियो । झिँगा उसको थेप्चो नाकको टुप्पामा बस्न खोजिरहेझैं लाग्थ्यो । तर, उसको हल्लिरहेको टाउकोले झिँगाको मुराद सम्भव भएको थिएन ।
त्यस बिहानसम्ममा बम्बैबूढीले चौंसट्ठी वर्ष, केही महिना र केही दिन पार गरिसकेकी थिई । बुढ्यौली जनाउने उसको सेतो कपाल फूलमायाले भर्खरै उसिनेको चाउमिनजस्तो देखिएको थियो, जो पसलको टेबुलमाथि थियो । चाउमिन र उसको कपालमा अरू पनि समानता थिए । चाउमिन जसरी गुजुल्टिएको थियो उसको कपाल पनि त्यस्तै थियो । र, लम्बाइ पनि झन्डै समरूप थियो । उसका हात खस्रा न खस्रा थिए । खुट्टा पटपटी चिरिएका र नांगा थिए ।
बम्बैबूढीले रङ खुइलिएको मैलो फरिया र चोलो लगाएकी थिई । नाकमा सेतो सुनको फुली थियो । कान बुच्चै थिए । कानको लोतीमा पहिले छेडेका प्वालका डोबहरू स्पष्ट देखिन्थे ।
बम्बैबूढी र उसको मुहारवरिपरि रिङिरहेको झिँगा देखेर गल्पकारको मन हल्लियो । ऊभित्र एक किसिमको ऐंठनको भूत पस्यो । त्यसपछि उसले बम्बैबूढी र झिँगालाई हेर्न सकेन । ऊ स्वच्छन्दतावादी-प्रकृतिप्रेमी कविझैं पसलअगाडिको दृश्यतर्फ एकोहोरियो ।
भट्टीपसल गाउँको पुछारमा थियो । त्यसपछि गाउँ सकिएर फाँट सुरु भएको थियो । गाउँ केही मात्रामा भिरालो धरातलमा बसेको थियो । उत्तरदेखि दक्षिणसम्म पसारिएको । पुरानो गाउँ केही माथि थियो भने बस्ती बढ्दै गएपछि बनेको नयाँ गाउँ तलतिर विस्तार भएको थियो । अहिलेसम्म पनि घर र टहराहरू बनिरहेको नयाँ गाउँको जमिन एक दशक अघिसम्म खुला खेत र बारी थियो । केही वर्षयता हुँदो पसलभन्दा दक्षिणको जमिनमा किनबेच चलिरहे पनि त्यहाँ अझै धानैधानको हरियो फाँट थियो ।
पसलको दुई किलोमिटर पर पूर्व मनोहरा नदी थियो । तर, अचेल गाउँको कुनै पनि भागबाट नदी दृष्टिगोचर हुँदैनथ्यो । नदीको गर्भ निचोरेर अन्धाधुन्ध बालुवा चोरिएका कारण त्यसको फैलावट खुम्चिँदै गएको र गहिराइ पनि बढ्दै गएको थियो ।
बस्ती बढेर खेतीयोग्य जमिन घट्दै गए पनि बाँकी बचेको फाँट अझै फराकिलो थियो । फाँटको ठीक बीचबाट नदीले बनाएको डोबजस्तो नागबेली परेको कच्ची सडक थियो । त्यो सडकमा हिउँदमा मात्र सवारीसाधन चल्थे । वर्षायाममा सडक सुनसान रहन्थ्यो । त्यस अवधिभरि त्यहाँबाट मानिस र बस्तुभाउ मात्र आवतजावत गर्थे ।
खेतमा काम गर्न आएकाहरू, बिहानको भ्रमणमा निस्केकाहरू र गाउँको तल्लो भेगका बासिन्दा भट्टीपसलका ग्राहक हुन्थे । पसल अझै त्यति जमेर चलिसकेको थिएन । त्यो केही महिनाअघि मात्र खुलेको थियो । पसलकी मालिक्नी फूलमायाको लोग्ने कतारतिर गएको थियो । उसले त्यहाँ काम गरेर कमाएको पैसा फूलमायालाई महिनैपिच्छे पठाउँथ्यो । लोग्नेले कतारबाट पठाएको पैसा जम्मा पारेर उसले तीन आना जमिन किनी र त्यहाँ टहरोरूपी स्थापत्य उभ्याई ।
यसरी भट्टीपसल सम्पूर्णमा एउटा जस्ताले छाएको छाप्रो थियो, जसमा जम्मा दुई कोठा थिए । पसलखण्ड र भित्रको भाग । भित्री भागमा फूलमाया र उसका ससाना दुई छोरा बस्थे । उसका छोराहरू अझै सुतिरहेका थिए ।
टहरोको नयाँपन त्यहाँ पुग्ने ग्राहकले चाल पाइहाल्थ्यो, भित्तामा लगाइएको सिमेन्टको ओस र गन्धले । तर, गल्पकारचाहिँ सिमेन्टको गन्धले भन्दा पनि पेन्डुलमझैं लगातार झुलिरहेकी बम्बैबूढी र महाकालझैं उसको मुहारमा घुमिरहेको झिँगाले बढी आक्रान्त थियो ।
‘यी बूढी बज्यै लड्छिन् कि कसो ? ' आत्तिएको भावमा गल्पकारले फूलमायालाई भन्यो । पसलको भित्तामा टाँसिएको टेबुलमाथिको ग्यास चुलोमा आलु उसिन्न कुकर बसाल्दै गरेकी फूलमायाले पुलुक्क गल्पकारतिर हेरी । ऊ विकासे नश्लको सुँगुरझैँ थलथल मोटी र हाँडीको पिँधझैं काली थिई । उसले लगाएको पाइन्ट र टीसर्ट उसको शरीरमा टिमिक्क टाँसिएका थिए । खासगरी उसका छाती र नितम्ब सामान्यभन्दा भद्दा र धेरै ठूला देखिन्थे ।
बूढी लड्छे कि भन्ने गल्पकारको डरको जवाफ फूलमायाले दिइन ।
‘यिनी लडिन् भने त टाउको फुट्न पनि सक्छ ।' गल्पकार फेरि करायो ।
‘आऽ के लड्थी अंकल ! यो त चुम्बक पो, चुम्बक ! देश खार शेष भकी चुम्बक ! नामै बम्बैबूढी !'
थसुल्ली फूलमायाको जवाफ गल्पकारलाई मन परेन क्यारे ! उसले नाक खुम्च्यायो तर केही भनेन ।
गल्पकार बम्बैबूढी सामुन्ने तर विपरीत दिशाको स्टुलमा बस्यो र फूलमायालाई चिनीबिनाको एक कप चिया बनाउन भन्यो । ऊ आम-मध्यमवर्गको मानिसझैं चिनीको रोगी थियो ।
‘साह्रै हरिप पो त छे यो बूढी ! रातभर खोलाको बालुवा चोर्छे । अनि दिनभर चाहिँ यस्तै हो, यहाँ आएर उमिरहन्छे । अब त दिक्क पारिसकी अंकल यो राक्षेसनीले ।' फ्रिजबाट तुलसा डेरीको दूधको पोको झिक्दै काली थसुल्लीले भनी । त्यसपछि ऊ चिया पकाउने डेक्ची लिन भनी भाँडा माझ्ने चौकीतिर लागी ।
‘राति मात्र चोर्ने ? दिउँसो मिल्दैन ? '
‘दिउँसो त पुलिसले समात्छ नि अंकल !'
‘पुलिसले दिउँसो मात्र किन समात्छ ? राति छुट दिन्छ ? '
‘त्यत्ति पनि था छैन अंकललाई ? खोलाको बालुवा सर्खारको सम्पत्ति हो रे नि त !'
‘त्यो त सरकारको सम्पत्ति हो । तर, सरकारको सम्पत्ति दिउँसो चोर्न रोक लगाउने र राति चोर्नलाई चाहिँ छुट दिने हुन्छ र ? '
‘पुलिसहरू राति सुत्छन्, त्यस बेला यो चोर्न जान्छे । अनि दिउँसो यो सुत्छे, पुलिसहरू आफ्नो डिप्टी गर्छन् । यो एक किसिमको लुकामारी खेलजस्तै त हो अंकल ।'
‘ए तेसो पो ? सत्य सेवा सुरक्षणं !'
गल्पकार र फूलमायाबीचको संवादले बम्बैबूढीको उम्ने क्रममा कुनै व्यवधान आएको थिएन । लाग्थ्यो, ऊ अर्कै संसारमा थिई । ऊ लगातार उही सुस्त रफ्तार र उपक्रममा हल्लिइरहेकी थिई ।
दुई
बिहान छिप्पिँदै थियो तर आकाशमा धुम्मिएको बाक्लो बादल अझै चुपचाप थियो, मानौं उसको आवाज कसैले लुटेको थियो । जहरसिंपौवाको थाप्लोमाथिबाट आउने सूर्य पनि बादलको सिमाना नाघेर यता आउन सकेको थिएन । कच्ची सडकको दुवैपट्टि खेतमा तीन फिट जति अग्ला धानका बोट गत रातको निद्राबाट अझै ब्यूँझेका थिएनन् । मटमैलो उज्यालोमा तिनीहरू अझै लट्ठ र स्थिर देखिन्थे ।
अल्छी धानका बोटहरू हुँदै गल्पकारले झन्डै एक किलोमिटर परसम्मको सडकमा हेर्यो जहाँ एउटा चरोमुसोसम्म देखिएन । खासमा गल्पकार बोडेतिरबाट आउने कुनै एक खर्पनेलाई कुरिरहेको थियो । यो मौसममा खर्पनेहरू साग र अन्य तरकारीको बीउ बेच्न त्यही बाटो भएर यता आउँथे र माथितिरको बस्तीमा जान्थे ।
‘आज यताबाट खर्पनेहरू गए नानी ? ' गल्पकारले थसुल्लीको छातीमा हल्लिरहेका दुई भद्दा स्तनतर्फ आँखा गाडेर सोध्यो ।
‘था भएन त अंकल ।'
‘मलाई काउलीका बेर्ना चाहिया थ्यो ।'
‘काउली रोप्ने बेला भो र अंकल ? '
‘भदौको दोस्रो हप्ता भइसक्यो, अब पनि अल्छी गरेपछि के खानु !'
‘अझै मुसलधारे पानी पर्न रोक्या छैन । हिजो राति खहरेमा आको बाढीले उताको तरकारी फाराम बगाएछ । रायोको बेर्ना राखेको ब्याड पनि पुरेछ । टनेलभित्र लगाको गोलभेँडा पनि चुर्लुम्मै डुबेछ । हिँउदे तरकारी त अलि पानी पर्न कम भएपछि लाउने हैन र अंकल ? '
गल्पकारले फूलमाया थसुल्लीको प्रश्नको जवाफ नदिँदै भट्टीपसलमा एउटा सत्तरी वर्ष नाघेको बूढो मानिस पाइलट चुरोट फुसफुस फुक्दै आइपुग्यो र सामुन्ने उमिरहेकी बम्बैबूढीलाई एकपल्ट क्रूरतापूर्वक घुर्दै अर्को छेउमा गएर बस्यो । ऊ गल्पकारभन्दा लगभग बीस वर्ष जति जेठो थियो । उसले खैरा कमिज-सुरुवाल र कालो इस्टकोट लगाएको थियो । टाउकोमा खजमजिएको पुरानो ढाकाटोपी थियो । खुट्टामा तलुवा खिइएको चप्पल थियो । उसको अनुहारमा चाउरीका अनेक राजमार्ग देखिन्थे । नियमितजसो रक्सी खानाले उसका चिम्से आँखाका दुवै डिल सुन्निएका थिए ।
उसले खाइरहेको चुरोटको गन्ध ह्वास्सै गल्पकारको नाकभित्र पस्यो ।
‘ए बाजे ! यो उमेरमा अब चुरोट छोड्नोस् ! दमको रोगी हुनुभयो भने ? ' गल्पकारले ठालु पोजमा उपदेश दिन खोज्यो ।
‘होस् हाइ सार, चुरटको पिर नागार ! आबा काति नै बाँच्नु छा रा यो ज्यानले ? दुईचार वार्षा ता बाँचिएला हुइ !'
‘जे भए पनि बाँचुन्जेल जीउलाई तकलिफ नभए राम्रो हैन र ? दमको रोग लाग्यो भने त बाँच्न पनि साह्रै सकस पो हुन्छ त बाजे ! बरु खान जान्यो भने चुरोटभन्दा त रक्सी जाती हुन्छ भन्छन् ।'
‘यो ता पच्चीसै आना ठीक हो सार ।'
त्यसपछि ऊ थसुल्लीतिर फर्कियो र भन्यो, ‘लौ हाउ फूलमाई ! यी सारको सल्ला आच्छा छाइना ता ? '
थसुल्लीले कुरा बुझी र मुसुक्क हाँसी । उसले पसलको कुनामा राखेको टेबुलमाथिको प्लास्टिकको जगबाट स्टिलको गिलासमा रक्सी खन्याई र बूढोको अगाडि राखिदिई । हावामा रहेको चुरोटको धुवाँसित रक्सीको गन्ध थपियो । गल्पकारले फेरि नाक खुम्च्यायो ।
त्यसपछि गल्पकारको चिया आइपुग्यो । उता बम्बैबूढी उस्तै हालतमा थिई, लगातार उमिरहेकी र हल्लिइरहेकी ।
तीन
एक गिलास रक्सी पेटमा हुलेर बूढो उठ्यो । यसपल्ट उसले निदाइरहेकी बम्बैबूढीलाई एक आँखाले पनि हेरेन । उल्टै अर्कोतिर फर्केर खोक्यो र सडकमा पुग्ने गरी थुक्यो ।
‘लु है फूलमाई आइराकको पइसा मेरो खातामा लेख्देऊ ! लु ता सार बिदा पाम् । यहाँ बासेर फिरी कस्ले खाना दिन्छ रा !'
‘आज कहाँ काम छ नि मंगलेबाजे ? ' फूलमायाले सोधी ।
‘उइ ता हो ठिक्दारको नुन । आजा ढालान्को काम् छा भान्थ्यो क्यारे ।'
त्यसपछि फूलमायाले केही भनिन । बूढो अर्को पाइलट चुरोट सल्काउँदै माथि गाउँतिर लाग्यो ।
मंगले बूढो गएपछि पण्डितकाजी आयो ।
‘नमस्कार है नारानसर ! आरामै हुनुहुन्छ ? ' मुसुमुसु हाँस्दै सोध्यो ।
‘नमस्कार पण्डितकाजी ! आरामै छु । अनि तपाईं नि ? '
‘म पनि आरामै छु सर । यहाँ फूलमायाको चप्पलमार्का चिसोचिया एक गिलास भुँडीमा हुलौं भनेर ।'
‘हो हो काजीसाप हुल्नुपर्छ ।'
‘ज्यान छन्जेल न यस्तो तिर्सना बाँच्ने हो । मरेपछि त तिर्सना भन्ने राक्षेस पनि शरीरसँगै खरानी भइहाल्छ त !'
‘हो त नि, भष्मिभूतश्य देहश्य पुनरागमनं कुत ? '
‘हो हो । तब न नारान सर ! बुद्धिजीवीको छाँटै बेग्लै !'
पण्डितकाजी जोडजोडले हाँस्न थाल्यो । हाँस्दा उसको थोते मुख साह्रै कुरूप देखियो ।
बाँसजस्तो पातलो ज्यान भएको पण्डितकाजी बितेको बीस वर्षदेखि त्यो गाउँमा थियो । ऊ खानेपानी संस्थानको पिउन थियो । बीस वर्षअघि विश्व बैंकको आर्थिक सहायतामा पानी रिचार्ज गर्ने परियोजना गाउँमा आयो । परियोजनाको निम्ति जग्गा अधिग्रहण गरियो । सुरक्षक र पालोपहरामा बस्ने कर्मचारीका निम्ति भवन निर्माण गरियो । नदीबाट पानी तान्न यन्त्रहरूसहित पाइप ल्याएर जडान गरिए । भूमिगत जलसतहसम्म पानी पुर्याउन आठ इन्च गोलाइका पाइप गाडिए । यसरी करौडौं रुपैयाँ खर्च भयो ।
खानेपानी संस्थानको मान्यता थियो, उपत्यकाको भूमिगत जलसतहको पानी रित्तिँदै गएकोले भविष्यमा जमिन नभासियोस् भनेर यो परियोजना आएको हो । विश्व बैंकले पनि यो मान्यतालाई अनुमोदन गर्दै आर्थिक सहायतासहित वैतनिक कल्सल्ट्यान्सी सेवा प्रदान गरेको थियो । तर, परियोजना निर्माण पूर्ण भएपछि रिचार्ज सफल भएन । हुनसक्छ, परियोजना विफल हुन्छ भन्ने कुरा संस्थान र विश्व बैंकलाई पहिल्यै थाहा थियो । जे होस्, परियोजना नचले पनि पण्डितकाजीचाहिँ संस्थानको सम्पत्ति कुर्ने कार्यमा त्यहाँ रहिरह्यो ।
पण्डितकाजीको घर नुवाकोट जिल्लाको खरानीटार गाउँमा थियो । त्यहाँ उसका स्वास्नी र छोराछोरी थिए । गाउँमा रहँदा ऊ चौबीसै घन्टा रक्सीको नशामा लट्ठ रहन्थ्यो । केही काम गर्दैनथ्यो । घरपरिवारका कसैले पनि उसलाई मन पराउँदैनथे । गाउँलेको आँखामा पनि ऊ साह्रै बदनाम थियो । उसको कमाइ-धमाइ केही थिएन, बरु उल्टै ऊ घरका सामान र स्वास्नीको गरगहना चोर्ने गथ्र्यो । घर र समाजले धेरै घृणा गरेपछि ऊ गाउँ त्यागेर राजधानी आयो । सुरुमा उसले यहाँ झन् दुःख पायो । कयौं रात सडकमा यात्रुहरूलाई बाटो काट्न बनाएका आकासे पुलमुनि सुत्यो ।
कयौं दिन भोकभोकै रह्यो । तर, एक दिन उसको भाग्यको ढोका उघ्रियो मानौं भाग्य उसलाई खोज्दै आएको थियो । महाबौद्धको गुरुवाचार्यको भट्टीमा रक्सी खान पसेको दिन नैकापको धुम्बे सार्कीसित उसको चिनजान र आत्मीयता बढ्यो । रक्सीको प्रेम कति धेरै बलियो हुन्छ भन्ने भनाइ चरितार्थ भएको थियो । त्यसको भोलिपल्ट उसैले खानेपानी संस्थानमा लगेर पिउनको जागिर मिलाइदियो । धुम्बे सार्की पहिलेदेखि त्यहाँ पिउन थियो । यी कुरा यसअघि पण्डितकाजीले गल्पकारलाई रिठ्ठो नबिराई सुनाइसकेको थियो ।
पण्डितकाजी हरबखत रक्सीमा डुबे पनि उच्चकोटिको भलाद्मी थियो । चाँडै नै ऊ हाकिमहरूले मन पराउने पिउनहरूको सूचीमा अग्रस्थानमा दरियो । त्यस गाउँमा छ्यालब्याल पैसासहित विश्व बैंकको परियोजना आएपछि ऊ यता खटियो । उसलाई गाउँ खुबै मन पर्यो । आफ्नो गाउँमा जस्तो उसलाई घृणा गर्ने यहाँ कोही निक्लेनन् । त्यसपछि ऊ कतै गएन ।
संस्थानमा जागिरे भएपछि ऊ एकपटक पनि घर गएन न त उसलाई खोज्दै घरकाहरू यता आए । यसरी ऊ आफ्नो ठाउँबाट चंगाझैं काटिए पनि यता अर्को चंगामा राम्ररी जोडियो । उसलाई गाउँका सबैले पण्डितकाजी भनेर स्नेह गर्थे । घरमा मीठोमसिनु पाकेको बेला उसलाई सम्झिन्थे । बिग्रेको जँड्याहा भनेर कसैले हेप्दैनथ्यो ।
मंगलेबूढो अलि टाढा पुगेपछि गल्पकारले पण्डितकाजीलाई सोध्यो, ‘यी बूढा यता नयाँ आ जस्ता छन् नि हैन त काजी ? '
‘काँ नयाँ हुनु ! ती यै बम्बैबूढीका लोग्ने त हुन् नि ! यिनीहरू १० वर्षदेखि यहाँ छन् ।'
‘यिनका लोग्ने रे ! तर अघि उनले बूढीलाई बालमत्लब गरेनन् त ? '
‘पन्ध्र दिन जति भो छुट्टाछुट्टै बस्न थालेका । एक दिन दिनभरि झगडा गर्या थे, हाम्रै अपिस अगाडिको चौरमा लडाइँ भाथ्यो । मैले त छुट्याउनै सकिनँ । बूढाले लात्तैलात्ताले भकुरे । उनी लोग्नेमान्छे हुनुको घमण्डले चूर देखिन्थे । तर, यी बूढी पनि के कमकी थिन् र ! जवाफमा उनले पनि लात्तैलात्ताले अनारीमा हान्दिइन् । बूढा थचक्कै बसे र आधा घन्टासम्म उठ्नै सकेनन् । त्यसपछि छुट्टिएका हुन् । अहिले एकअर्कालाई देख्नै सक्दैनन् । बूढी निदाएकोले, नत्र यहीँ अघि हानाहान परिसक्थ्यो । अब यिनीहरू जोडिएलान् जस्तो छैन नारानसर ! तपाईं त कवि र लेखक, लौ भन्नोस्त यो मानिस भन्ने जनावर किन यति कठोर र निष्ठुरी हुन्छ ? '
के जवाफ दियो भने पण्डितकाजीभित्रको दार्शनिक सन्तुष्ट हुन्छ होला ? गल्पकार सोच्न थाल्यो । दुविधाले ऊ छटपटियो ।
‘बुढेसकालमा के रमिता गरेका त यस्तो ? के निउँमा झगडा भएछ ? ' गल्पकारले पण्डितकाजीको प्रश्न छलेर उल्टै प्रश्न गर्यो ।
‘बूढा भन्थे, बूढी हल्दारसित सुती, अब यस्ती रन्डीसित बस्न सक्दिनँ ! अनि यिनी भन्थिन्, बालुवा झिक्न सजिलो पर्छ भनेर पहिले सुत्न पठाम्ने अनि उल्टै निउँ खोज्ने ? खोइ कुरो के थ्यो भगवान् जानून् नारानसर !'
‘पुलिससित लफडा पर्या थ्यो र ? '
‘पुलिस भन्दैमा सबै एकै हुन्नन् सर । एउटा जँड्या हल्दार सरुवा भर याँ आ छ । त्यो आएसि यस्ता काण्ड मच्च्याछन् । हुन त म पनि दिनमा १२ घन्टा रक्सी खान्छु तर मैले अहिलेसम्म यो गाउँका कुनै आइमाईलाई नराम्रो आँखाले हेर्या छैन । छ भन्नोस् त नारानसर, तपाईं त याँको रैथाने ? '
फेरि गल्पकार पण्डितकाजीको अर्को प्रश्नले अलमलियो ।
‘अचेल यी बूढीलाई कसैले काम्मा बोलाउन्नन् । हल्दारसित सुतेको काण्डपछि गाउँमा यिनलाई समर्थन गर्ने कोइ छैनन् । अचेल यिनको काम बालुवा चोर्नु र डनहरूलाई बेच्नु हो । ती बालुवाका अवैध व्यापारीहरूलाई त केइ कारबाई हुन्न । कारबाई त यस्तै निमुखालाई हुने न हो । आ-आफ्नु भाग्गेको कुरा ! यी बूढीले जति कसले दुःख पायो होला र जिन्दगीमा ! यिनको घर पनि नुवाकोट हो । मेरोभन्दा एक बिहानको बाटो टाढा पर्छ । लेकतिरकी हुन् । जवान छँदा यिनी आफ्नै इच्छाले बम्बैमा कोठीमा बस्न गकी रे भन्थे ।
त्यसैले यिनको नाम बम्बैकुमारी बनेछ । सायद बम्बै जानुअघि अर्कै नाम हुँदो हो । हामी केटकेटी हुँदा हाम्रो गाउँभन्दा माथितिर त्यस्तो चलन थियो, आफ्नै इच्छाले बम्बै जाने । यिनीहरू ज्यादै गरिब थिए । गरिबीमा पिठो गिलो भन्छन् नि । आमाबाबु रोगी । घरमा अर्को भनेको सानो पिलन्धरे एउटा भाइ मात्र थ्यो । यिनलाई गाउँकै अर्की भुक्तभोगी बूढीले बम्बै लेर गइछ । बीस वर्षसम्म कोठीमा बसेर पैसा कमाएर घरमा पठाइछन् । भाइ ठूलो भएछ । स्वास्नी ल्याएछ । साउको रिन तिरेछ । घरमा जस्ता हालेछ । खेत किनेछ । यिनी बूढी हुन लागेपछि घर फर्किछन् । याँ आउँदा बाआमा मरिसकेका थिए । यता केही दिन त भाइले पालेछ । पछिपछि बुहारीले हेला गर्न थालिछ ।
भाइ पनि उनको निम्ति नबोल्ने भएछ । ल हेर्नोस्त सर कस्तो स्वार्थी संसार ? उनकै दुःखले भाइ धनी भयो तर गुन देखेन । बुहारीले खाने बेलामा भाग लाउनै छोडिछ । केइ बोल्यो कि, ए बेस्से बोल्छेस् भनेर थर्काउन थालिछ ! यता फर्कंदा पनि बेस्से, उता फर्कंदा पनि बेस्से । त्यसपछि उनी आफ्नो थलो त्यागेर यता आइछन् । अघिका मंगलेबूढालाई यैं आर भेटेकी हुन् यिन्ले ।'
पण्डितकाजी एकछिन रोकियो । गल्पकार उसको कथावाचन शैलीमा मन्त्रमुग्ध थियो ।
पण्डितकाजीले फेरि भन्यो, ‘बूढाको कथा पनि त्यस्तै । छोराबुहारीले निकालेका । यहाँ आएर भेट भएपछि पैलापैला त खुप मिलेर बस्या थे । परेबाका जोडीझै सधैं सँगसँगै हुन्थे । काम पाए काम गर्थे, नपाए खोलाबाट बालुवा झिक्थे । बूढाबूढीको जीवन दुःखसुख चल्या थ्यो तर गाउँको अस्थायी चौकीमा जँड्याहा हल्दार आएसि त यिनेरुको बिजोगै पो भो त सर ।'
‘जँड्याहा हल्दार ? '
‘फिलिममा झैं जीवनमा पनि त्यस्ता खलनायक हुँदा रहेछन् नारानसर । भो अब त्यो सैतानको कुरा नगरम् । हाम्रो व्यवस्था पनि कस्तो ? बद्मासलाई मात्र ठाउँ मिल्छ ।'
‘कथा त गज्जबैको रहेछ । अनि पण्डितकाजीको कथावाचन शैली पनि अद्भुत रहेछ !' गल्पकारले भन्यो ।
‘हत्तेरी नारानसर ! अब मलाई जिस्क्याउन पो थाल्नु भो ! ल म पनि कस्तो लठुवा रेछु ? बेफ्वाँकमा अर्काको कुरा काटेर बस्ने ! यसले के फैदा ? ए फूलमाया ! मेरो चिसोचिया ख्वै त ? '
त्यसपछि पण्डितकाजीले एक सासमा दुई गिलास ठर्रा सुइँक्यायो र अमिलो मुख पार्दै त्यहाबाट हिँड्यो । सायद मंगलेबूढा र बम्बैबूढीको विषयमा यत्रो लामो गफ दिएकोमा उसलाई पश्चात्तापको आगोले पोल्न थालेको थियो ।
चार
त्यस बेलासम्म भट्टीपसलको बाटो भएर एउटा पनि खर्पने आएन । अरू केही बेर खर्पनेलाई कुर्ने नाममा गल्पकारले अर्को एक कप चिया थप्ने सोच बनायो र फूलमाया थसुल्लीलाई भन्यो, ‘यसपटक कालो र थोरै चिनी हालेको है नानी !'
उसले मुन्टो हल्लाई ।
‘आज कुनै चाडबाड त परेन ? नत्र यस बेलासम्म त एउटा न एउटा आइसक्थ्यो ।' आफूभित्रको हतास भावलाई जित्न गल्पकार करायो ।
फूलमाया गल्पकारको तनावमा तटस्थ देखिई । ऊ चियाको भाँडो बसालेर जुठा भाँडा पखाल्न चौकीतिर लागी । त्यसै बेला कतारमा काम गर्न गएको उसको लोग्नेले फेसबुकको म्यासेन्जरबाट भिडियो च्याट गर्यो । ऊ उभिई-उभिई च्याटमा व्यस्त भई ।
खर्पने नआएकाले गल्पकार साह्रै रन्थनियो । ऊ त्यहाँबाट उठ्यो । पाइन्टको पछिल्लो खल्तीबाट वालेट निकाल्यो । अनि दुई कप चियाको पच्चीस रुपैयाँ फूलमायाको हातमा थमायो र अँध्यारो मुख लाउँदै कच्ची सडकमा निस्कियो ।
बिहानको सूर्य अझै पूर्वी आकाशको बादलपारि थियो । यता भट्टीपसलको स्टुलमा बसेकी बम्बैबूढी पनि अद्यापि उही गति र लयमा उमिरहेकी थिई ।