त्यो सार्कीगाउँ, यो नयाँबानेश्वर
करिब आधा शताब्दीअगाडि नयाँ बानेश्वर सार्कीगाउँमा मैले पाइला पाइला टेकेको रहेछु । सार्कीहरूको बस्ती धेरै ठूलो नभए पनि कुमाले सार्की, गोल्छे सार्कीहरूको नाम थियो त्यो बस्तीमा । मलाई सर्वप्रथम यहाँ लिएर आएका थिए- कुमुद देवकोटाले । उनी महाकवि लक्ष्मीप्रसाद देवकोटाका काइँला भाइ मधुसूदन देवकोटाका जेठा छोरा ।
मद्यपानप्रेमी र प्रजातान्त्रिक सत्संग रुचाउने अत्यन्त मिलनसार व्यक्तित्वका धनी कवि कुमुद देवकोटालाई नचिन्ने को होला र बानेश्वरमा ? त्यस बेलादेखि अहिलेसम्म उनी नयाँ बानेश्वरका प्रत्येक बौद्धिक, रसपानप्रिय जीवित नागरिकमा त्यत्तिकै जीवन्त छन् मृत्यु भएको ३० वर्षपछि पनि । उनको घुँघुरिएको कपाल, ठूलो निधार हेरेर महाकवि देवकोटालाई देख्नेहरू देवकोटाको 'डुप्लिकेट' ठान्थे उनलाई । मलाई पनि उनीसँग हिँडिरहँदा परिचयको संकट पर्दैनथ्यो । उनको संगत नै काफी थियो, कवि भनेर चिनिनलाई ।
उनका बुवा मधुसूदन देवकोटा पनि त्यत्तिकै मद्यपान र कविताप्रेमी थिए । अंग्रेजीमा विशेष दख्खल राख्ने भएकाले मान्छेहरू उनीसँग छिनभरमै प्रभावित हुन्थे । उनी अंग्रेजी पनि फर्रर बोल्नसक्ने भएकाले जीविकोपार्जनका लागि 'गाइड'को काम गर्थे र दिनभर विदेशीसँग बिताएर साँझपख लर्वरिँदै घर फर्कन्थे । कुमुदलाई उनी 'झंके' भनेर बोलाउँथे । कुमुद देवकोटाको न्वारानको नाम नै रहेछ- झंकप्रसाद । एमालेबाट प्रभावितजस्तो देखिए पनि गोल्छे सार्की जाडोमा घाम लाग्ने ठाउँमा बसेर नेफा हेर्दै जुम्रा मारेर दिन बिताउँथे । राजाको प्रत्यक्ष शासनकालमा सहायकमन्त्री भएका बेला उनले सगुनमा यति रक्सी खाएछन् कि धेरै बाँचेनन् । त्यसको केही दिनपछि नै उनको दुःखद निधन भयो । सार्कीगाउँमा सबैले उनलाई आदरपूर्वक सम्झन्छन् । जहिले वडा नं. १० को मूल सडकको पूर्व सबैलाई वडा नं. ३१ बनाइएको छ ।
बुवा जागिरको सिलसिलामा भोजपुर गएका बेला म त्यहीँ जन्मेको हुँ भन्ने 'चपाइएका अनुहारका'का लेखक उपन्यासकार दौलतविक्रम विष्टलाई पनि मैले सार्कीगाउँ नजिकै रहेको 'ब्यारेक'मा भेटेको थिएँ । नेपालीमा एमए पढ्दा उक्त उपन्यास पढ्नुपथ्र्यो । त्यसमा लडाइँको यति राम्रो वर्णन छ कि दौलत दाइ लडाइँका भुक्तभोगी अवकाशप्राप्त सिपाहीजस्तो लाग्न थाल्छन् ।
त्यो त एउटा कुरा भयो । मूलतः उनी भोजपुरमा जन्मेकोमा गर्व गर्छन् भनेर सुनेकाले मैले कुमुदलाई फ्याट्ट त्यो कुरा उठाएँ । 'लौ त हिँड तिमीलाई दौलत दाइसँग चिनजान गराइदिन्छु' भनेर उनले ठूलो ब्यारेक (अहिलेको व्यवस्थापिका संसद्) छेउको पुरानो-पुरानो घरमा लिएर गए । त्यहीँ भेट भएको थियो पहिलोपटक दौलत दाइसँग ।
दौलत दाइलाई भेट्नासाथ सोधी पनि हालेँ, 'के तपाईं भूतपूर्व सैनिक हो ? 'चपाइएका अनुहारहरू' हेर्दा त त्यस्तै लाग्छ ।' दौलत दाइले मलाई सम्झाउने पाराले ट्याप्प समातेर झ्यालमा लिएर गए र भने, 'ऊ देख्यौ म सिपाहीहरू बस्ने ब्यारेक ! यहाँ ती सिपाहीहरू उठ्नासाथ 'झूठो लडाइँ' खेलिरहन्छन् । त्यही हेर्दाहेर्दै असली लडाइँ कस्तो हुँदो रहेछ भन्ने जानकारी भयो । त्यही अनुभवको आधार र कहीँ कतै भेट हुँदा लाहुरबाट फर्केका लाहुरेहरूको कुरा सुनेको भरमा 'चपाइएका अनुहारहरू'मा लडाइँको वर्णन गरेको हुँ ।'
दौलत दाइले पछि मलाई आफू जन्मेको बेला भोजपुर कस्तो थियो भन्ने सुनाए । 'बुझ्यौ साकार, म जन्मेको ठाउँबाट भोजपुरको जेल धेरै टाढा थिएन । राति ड्युटीमा बसेको सिपाही कराएको- खबरदार- आवाजले हामीलाई दिउँसोसमेत तर्साइरहन्थ्यो । जेलमाथि डाँडा थियो र त्यहाँ केटाकेटीहरू चंगा उडाइरहन्थे ।' दौलत दाइको विस्तृत बयानबाट मलाई के कुरा प्रस्ट भयो भने उनका बुवा हाम्रै घरमा बस्नुभएको रहेछ र दौलत दाइको जन्म हाम्रै घरमा भएको रहेछ ।
नयाँ बानेश्वरबाट सहर अर्थात न्यूरोड जाने बाटो नै थिएन । एउटै मात्र बाटो थियो- थापागाउँबाट ओरोलो दौडेर धोबीखोला पार गर्ने र हनुमानथानबाट सीधै पश्चिम लागेर सिंहदरबार नाघेर धरहरा निस्कने । त्यही बाटो अहिले फराकिलो र पिच भएको छ ।
उनले चाख लिई लिई बयान गरेको डाँडा मैले नै बालककालभरि चंगा उडाउने गरेको ठाउँ रहेछ । अरू त अरूर त्यही डाँडामुन्तिर रहेको सिस्नो घारीको दमाईंगाउँको समेत चर्चा गरे उनले । त्यसपछि त दौलत दाइसँग मेरो सम्बन्ध गाढा र प्रगाढ हुँदै गयो । उनको घरमा भएको कुनै पनि धार्मिक अनुष्ठान र भोजभतेरमा समेत मेरो सहभागिता रहन थाल्यो ।
सहर (नयाँ सडक) जाने बाटो नै थिएन । एउटै मात्र बाटो थियो, थापागाउँबाट आरोलो दौडेर धोबीखोला पार गर्ने र हनुमानथानबाट सीधै पश्चिम लागेर सिंहदरबार नाघेर धरहरा निस्कने । त्यही बाटो अहिले फराकिलो र पिच भएको छ । थापागाउँ पुग्न नै अप्ठ्यारो थियो । ब्यारेकको सम्पूर्ण शौचालय उत्तरपट्टि थियो र त्यसको गन्धले सुँगुरहरू त्यो सानो गोरेटो बाटोभरि 'च्याँच्याँ र चुँचुँ' गरी दौडिरहन्थे । यति फोहर कि छिचोल्नै गाह्रो ।
हास्यकलाकार गोपालराज मैनाली, कुमुद, म, अच्युत थापा, श्याम ठकुरी नाक थुनेर दौडीदौडी त्यो ठाउँ पार गथ्र्यौं । थापागाउँबाट ओरालो लागेपछि अलिकति रात पर्यो कि किचकन्नीको डर !
एकपल्ट के भयो भने नयाँसडकबाट रोचक, रमेश विकल, भैरवहरूसँग छुट्टिएर आउनै ढिलो भएकोले म दौडीदौडी हनुमानथान आइपुगेँ । त्यहाँदेखि अगाडि बढ्नै मलाई आँट आएन । रातको करिब साढे ८÷९ बजेको थियो होला । तैपनि डेरा त आउनु नै थियो ।
कुमुदकै निर्माणाधीन घरजस्तो घरमै मेरो डेरा थियो । दौडी-दौडी धोबीखोला तरेपछि यसो अगाडि मात्र के बढेको थिएँ, एउटी स्त्री छायाले मेरो बाटो छेक्यो । स्त्री नै रहिछ त्यो । उसले मलाई सोधी, 'दाइ यति बेला कहाँबाट ? '
अब पक्कै किचकन्नीको फेला परिएछ भन्ने मलाई बोध भयो । त्यहाँबाट यस्तो दौडिएँ म, सायद ओलम्पिकमा भाग लिन सक्थेँ होला- सधैं त्यसरी नै दौडेको भए । नयाँ बानेश्वरको लक्ष्मी दिदीको त्यस बेलाको झुप्रो मासु पसलमा आइपुगेर सास फेरेँ । पछि सबैले 'धन्न बाँचेछौ' भनेपछि म ढुक्क भएँ ।
हरिबोल, राजेन्द्र खरेलहरूसँग भने अलिपछि मात्र बसउठ हुन थाल्यो । बरु सानो भाइजसरी कुमुदको पछि लागिरहने मनमोहन भट्टराईसँग धेरै नजिक भएर गाँसिएर हाम्रा दिनहरू बितिरहे । लक्ष्मी दिदीको नजिक छेउमै गुन्द्री ओछ्याएर दुई बूढी दमिनीहरू ब्यारेकेहरूका उध्रेका लुगा टालिरहन्थे । एक दिन कुमुदसँग मात्तिएर हिँडिरहेको सन्तोष भट्टराईले हामीलाई जन्मदिनको निम्तो गर्यो ।
बेलुकाको रमझम उतै गर्ने भनेर कुमुद, म, मनु ब्राजाकी नयाँ बानेश्वर नजिक रहेको सन्तोषको घरमा गयौं । उनका बुबा पुष्कर भट्टराई बीपी कोइरालका कानुनी सहायक थिए, गणेशराज शर्मा पछिका । उपहार नलिई जन्मदिनको पार्टी खान के जानु भनेर हामीले मिलेर कमिज, टाई किनेर गएका थियौं । त्यो उपहार देख्नासाथ सन्तोषले 'मकहाँ आउँदा तिमीहरूले उपहार लिएर आउनुपर्ने !' भनेर झमझम पानी परिरहेको बेला झ्यालबाट बाहिर खेतमा फालिदियो । हामी भिज्दै म डेरा र कुमुद आफ्नो घरमा आइपुग्यौं ।
धेरैपछि चिनियाँहरू बाटो बनाउने भनेर मीनशमशेरको दरबारवरिपरि देखिन थाले, जहाँ अहिले सिभिल अस्पताल छ । त्यस बेला दाइ परशु प्रधान पनि पद वर्गीकरणको तालिम लिएर अमेरिकाबाट केही पैसा कमाएर आइपुगे । उनी आफ्नो सहायक श्याम ठकुरीको जोडले जग्गा किनेर घर बनाउन सार्कीगाउँमै आए, २०२९ सालमा । त्यो घर बनेपछि त्यहाँ सुत्ने पहिलो व्यक्ति मै थिएँ । २०४२ सालमा आफ्नो घर बन्यो । त्यसपछि त नयाँ बानेश्वर आफ्नै हुँदै गयो, आफन्तहरू धेरै थपिए । आफ्नै घर भयो- हिजोको सार्कीगाउँ, आजको यो भव्य नयाँ बानेश्वर ।