अमेरिकीको आत्मानुशासन
इ.सं. २००९ जुलाई ४ तारिख । आजैको दिन १७७६ जुलाई ४ तारिखमा अमेरिकीहरू ब्रिटिस सत्ताको अधीनमा बस्नु नपरेर स्वाधीन भएका थिए र आफ्नै खुट्टामा उभिएका थिए । आफ्नो खुट्टामा आफैं उभिन सक्नु नै स्वाधीनता र स्वतन्त्रताको पहिलो र प्रमुख आधार हो । परनिर्भर व्यक्ति, समाज र देश कहिल्यै पनि कदापि स्वतन्त्र हुन सक्तैन । राजनैतिक रूपबाट, आर्थिक रूपबाट, सांस्कृतिक रूपबाट आत्मनिर्भर हुन सक्न्नु नै स्वतन्त्र हुनु हो । त्यसै हुनाले स्वतन्त्रता दिवस अथवा स्वाधीनता दिवसलाई अंग्रेजीमा र अमेरिकामा 'आत्मनिर्भरता दिवस' अर्थात् 'इन्डेपेन्डेस डे' भन्दछन् ।
स्वतन्त्र देशको स्वाधीन नागरिक आत्मनिर्भरमात्र होइन आत्मानुशासित पनि हुन्छ । अधिकारमात्रै खोज्दैन कर्तव्य गर्न पनि सदैव तत्पर रहन्छ ।म झ्यालमा बसेर यो सबै हेर्दैछुः संयुक्त राज्य अमेरिकाको, कोलोराडो राज्यको, डेनवर महानगरको, वेस्टन्सिटर उपनगरको, हार्मोनी पार्क टोलको एउटा घरको झ्यालमा । अमेरिकी आत्मनिर्भरता दिवस अर्थात् स्वाधीनता दिवस । वरपरका सबै घरहरू अमेरिकी राष्ट्रियध्वजाले सजिएका छन् । इष्टमित्र र छरछिमेकीहरू आपसमा शुभकामना आदानप्रदान गर्दैछन् ।
म बसेको अघिल्तिरको घरबाट केही केटाकेटीहरू सडकमा निस्किए । सडकको दुवै किनारमा अगाडि केही भाग खुला आँगनका रूपमा छोडेर आवासीय घरहरू बनेका छन् । झन्डै १५÷२० हात चाक्लो र फराकिलो सडक जसलाई यहाँ लेन अथवा गल्ली भन्छन्, अत्यन्त सफा सुग्घर छ । त्यहीँ ती केटाकेटीहरूले आफ्नो स्वाधीनता दिवसको उपलक्ष्यमा पटका पड्काउन र फुलझडी बाल्न थाले।
यस क्रियालाई हिन्दी र उर्दु भाषामा आतिशबाजी भन्छन् भने अंग्रेजीमा 'फायर वक्र्स' भन्दा रहेछन् । धेरै बेरसम्म होइन, मात्र आधा घण्टासम्म तिनीहरूले सडकमा बसेर 'फायर वक्र्स' को रमाइलो गर । फुच्चेहरूको आतिशाजी अर्थात् फायर वक्र्स सकिएपछि त्यस घरबाट एकजना वयस्क व्यक्ति, सम्भवतः तिनका अभिभावक, हातमा लामो कुचो लिएर निस्किए । तिनले आफ्ना केटाकेटीहरूले पड्काएका पटका र बालेका फुलझडीका ठुटाहरू कुचोले बढारेर साथमा ल्याएको सेतो पोलिथिन ब्यागमा हाले । अनि आफ्ना केटाकेटी, कुचो र फोहोर बटुलेको पोलिथिन झोला बोकेर भित्र पसे, त्यहीँ सडकमा त्यो फोहोरको झोला फ्याँकेनन् ।
पक्कै ती सुयोग्य अमेरिकी नागरिकले आफूले गरेको फोहोर सार्वजनिक सडकबाट बढारेर घरभित्रको आफ्नै फोहोर फाल्ने भाँडोमा फ्याँके होलान् । म बसेको हार्मोनी पार्क टोलमा प्रत्येक शुक्रबार फोहोर बटुल्ने ट्रक आउँथ्यो र सबै घरसामु राखिएका फोहोरका प्लास्टिक ड्रम रित्याएर लैजान्थ्यो । त्यसरी लाँदा फोहोरको एक टुक्रा र एक पित्को पनि सडकमा नझारी लैजान्थ्यो । अनि घरधनीले आ-आफ्ना खाली फोहोरका ड्रम घरभित्र यथास्थानमा लैजान्थे ।अनि किन नहोस् त सडक सफा सुग्घर !
हामीले भने बाजा झैं बजाउनका लागि हर्न पाएका छौं । अतः सडकमा बसेर यही बाजा बजाउँछौं, पसलकी श्रीमतीलाई बोलाउन पनि, फुटपाटमा हिँड्दै गरेकी केटी जिस्क्याउन पनि । ध्वनि प्रदूषण भए भइरहोस् ।
यहाँ फोहोर खुलारूपमा राखेको कतै देखिँदैन, न त फोहोर लैजाने ट्रकको कन्टेन्टर नै खुला हुन्छ ।
हामी कहाँ बल्लबल्ल लोकतन्त्र आएको हुनाले हो कि सबै कुरा पारदर्शी र खुला छ, ऐतिहासिक फोहोरदेखि वर्तमानको फोहोरसम्म यत्रतत्र सर्वत्र खुला र उदांगो छ, नांगो छ ।
अमेरिकीहरूको कर्तव्य, भावना र आत्मानुशासनको अर्को उदाहरण पनि देखा पर्यो । म ज्वाइँ-छोरीको घर वेस्टमिन्सटरबाट छोरीले चलाएको कारमा बसेर अर्को उपनगरीय क्षेत्र ब्रुमफिल्डतिर जाँदै थिएँ ।
ब्रुमफिल्डको निकेल स्ट्रिटमा छोरी अर्पणाले एउटा रेस्टुरेन्ट सञ्चालन गरेकी छे । कारबाटै एउटा दृश्य देखेँ-एउटी भद्र महिलाले आफ्नो कुकुर डोर्याइरहेकी, तर देब्रे हातमा पहेँलो रबडको पञ्जा लगाएकी, पञ्जा लगाएकै हातमा एउटा सेतो पोलिथिन पनि झुन्डिएको । दृश्य अलि नौलो लागेर मैले छोरीसित यसबारे जिज्ञासा प्रकट गरेँ । छोरीको जवाफबाट मैले के बुझेँ भने आफूले डुलाउन लगेको कुकुरले फुटपाथमा अथवा सडक र फुटपाथबीचको ग्रिनबेल्टमा अथवा अन्य कतै दिशा गर्यो भने पञ्जा लगाएको हातले टिपेर सेतो पोलिथिनमा हाल्ने र सो पोलिथिन ब्याग आफ्नो घरकै फोहोर फाल्ने ड्रममा छोपेर राख्ने । यस प्रकार सार्वजनिक ठाउँसमेत सफासुग्घर बनाइराख्ने । यस्तो लोकतान्त्रिक आत्मानुशासन र कर्तव्यचेत जहाँका नागरिकहरूमा हुन्छ, त्यहाँ फोहोर मैला र रोगव्याधि नहुनु स्वाभाविक हो ।
ब्रुमफिल्ड जान हामी हार्मोनी पार्क होलबाट मिडले भन्ने मुख्य सडकमा निस्कियौं । गल्ली, यहाँको लेन भनिने सडकबाट मिड वेमा आउँदा मिड वे त झन् चालीस हात चाक्लो र फराकिलो सडक रहेछ । यसको मध्यभागमा चार हातको ग्रिनबेल्ट बनेको थियो । जसमा अहिले समर सिजन हुनाले ढकमक्क फूलहरू फुलेका र द-दस हात टाढा स-साना वृक्षहरू रोपिएका थिए । यसै ग्रिनबेल्टको एकातिरबाट मोटरहरू आउने र अर्कोतिरबाट जाने गर्थे ।
सडक सफासुग्घर, चिल्ला र समथर हुनाले हाम्रो कार निकै वेगले कुद्दै थियो । कारको ड्राइभिङ सिटनेर बसेको हुनाले मैले स्पिडोमिटरमा हेरेँ । ठूला अंक आँखाले पढ्न भ्याएको हुँदा देखेँ मिटरको सियो पचासमा रहेछ । मैले ड्राइभ गरिरहेकी छोरीलाई अचम्मित हुँदै भनेँ, 'अमेरिकामा सडकहरू चिल्ला र समथर हुनाले गाडी ५० किलोमिटर प्रतिघण्टाको गतिमा पनि निकै बेतोडले हुइँकिदो रहेछ ।'
छोरी अपर्णाले हाँस्दै भनी, - 'आऽ बुबा पनि, काँको ५० किलोमिटर हुनु ? ५० माइल प्रतिघण्टाको गति हो यो ।'
के बुझेर हो कुन्नि पछाडि बसेकी मेरी श्रीमती पनि छोरीसँग हाँसिन् । अमेरिका आउनासाथ छोरीका अगाडि बेकुफ भइएछ कि क्या हो भनेर हत्तनपत्त गोजीबाट चस्मा झिकेर लगाएँ र ध्यानपूर्वक स्पिडोमिटर पढ्न थालेँ । साँच्ची नै किलोमिटरको होइन माइलको स्पिडोमिटर पो रहेछ । यस हिसाबले हाम्रो कार प्रतिघण्टा ८० किलोमिटरको दरले हुँइकिदैरहेछ ।
यो मिडवे (नेपाली भाषामा मध्यमार्ग) ले डेनवर महागनर र यस वरिपरिका सबै उपनगरीय क्षेत्रहरूलाई आपस्तमा जोड्दोरहेछ । अनि पूर्वको एटलान्टिक महासागरलाई पश्चिमको प्यासिफिक महासागरसित जोर्ने राजमार्ग (हाइवे) पनि कोलोराडो (राज्य), डेनवर (कोलोराडो राज्यको राजधानी) र रकी माउन्टेन पर्वत शृंखलालाई छिचोल्दै प्रशान्त महासागर छेउ पुग्दोरहेछ । यो पूर्व÷पश्चिम राजमार्ग (हाइवे) को चक्लाई झन्डै सय हातभन्दा बढी होला, जसको मध्यमागमा दस हात जति ग्रिनबेल्ट (हरित पाटो) छोडिएको छ ।
यसमा एकातिरबाट आउनेमात्रै र अर्कोतिरबाट जाने गाडीहरूको ताँती नै लागेको हुन्छ । आउनेतर्फका बाटोमा चार लेन बनेका छन् भने जानेतर्फको बाटोमा पनि चारवटै लेन बनेका छन् । अर्थात्, एउटा लेनबाट एउटा कारमात्रै होइन अठारपाङ्ग्रे ठूला ट्रकहरू पनि आनन्दसाथ गुड्न सक्छन् । एकपटक त मैले चौबीस पाङ्ग्रे विशालकाय ट्रक पनि गुडिरहेको देखेँ । यो ट्रक विशेष प्रयोजनको लागि बनाइएको होला ।
यहाँ कसैले कसैलाई उछिन्÷पाछिन् गरेको देखिएन । सबै थरीका वाहनहरू आ-आफ्नो लेनमा, आ-आफ्नो ट्र्याकमा ट्र्याफिक नियमबमोजिम कुदिरहेछन् - पटक्कै हर्न नबजाइकन । हर्नको कान खाने र कर्कश ध्वनि बेगर सडक भरी द्रुत गतिमा वाहनहरू कुदेको देख्दा लाग्थ्यो साइलेन्ट मुभी हेर्दैछु । बजाउनैका लागि बनाइएको हर्नलाई यहाँ अति आवश्यक र संकटापन्न अवस्थाबाहेक अरू बेला नबजाउनुलाई नै सभ्यता र शिष्टाचार मानिँदोरहेछ ।
अनि सडकमा पनि होहल्ला अर्थात् ध्वनि प्रदूषण नहुनु स्वाभाविक हो । बाघलाई प्रकृतिले टोक्नैका लागि दाँत बनाइदिएको छ तर उसले आफूलाई आफैंले टोक्दैन । हामीले भने बाजाझैं बजाउनका लागि हर्न पाएका छौं । अतः सडकमा बसेर यही बाजा बजाउँछौं, पसलकी श्रीमतीलाई बोलाउन पनि, फुटपाटमा हिँड्दै गरेकी केटी जिस्क्याउन पनि । ध्वनि प्रदूषण भए भइरहोस् ।
बाघ जतिसुकै पशु भए तापनि आफूले आफैंलाई टोक्दैन, तर मान्छे जतिसुकै मान्छे भए तापनि आफूले आफैंलाई टोक्न तत्पर रहन्छ । यो बुद्धिमानीकै फल हो ।हर्न बजाउनैपर्ने समस्याहरू पनि छन् हामीसँग । ती अपरिहार्य समस्याहरू हुन् गाइमाताहरू उग्राउँदै सडकमै सुत्छन्, कुकु भ्राताहरू पुच्छर ठड्याउँदै सडकमै मुत्छन् र हामी नागरिक भनाउँदाहरू ज्यानको वास्ता नगरी वीरतापूर्वक आकाशे पुलको सट्टा सडकबाटै बाटो काट्छौं, डुल्छौं, हल्लिन्छौं । यो आत्मानुशासनको अभाव र स्वतन्त्रतालाई छाडापन ठान्ने, लोकतन्त्रलाई मनपरीतन्त्र मान्ने मनोवृत्तिको उदाहरण हो ।
नेताहरूले सरल र सोझा जनतालाई अधिकार खोस्न सिकाउँछन् तर कर्तव्य गर्न सिकाउँदैनन् । नियम तोड्न सिकाउँछन् तर नियम मान्न सिकाउँदैनन् । भत्काउन सिकाउँछन् तर बनाउन सिकाउँदैनन् । मार्न सिकाउँछन् तर बचाउन सिकाउँदैनन् । मर्न सिकाउँछन् तर बाँच्न सिकाउँदैनन् । र, यसैलाई स्वतन्त्रता, स्वाधीनता, प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र भनेर मक्ख पर्छन् ।
अनि देश र समाजको अवस्था त्यस्तै हुन्छ जस्तो अवस्थामा अहिले हामी छौं । अनि यस्तो अवस्थाबाट मुक्ति कसरी पाउने? त्यो पनि नेताहरूले नै तत्परता साथ सिकाउँछन्- 'अब कडा शासन चाहियो ।' कडा शासनको नाममा प्रजातन्त्र, लोकतन्त्र र जनतन्त्रले हावा खान्छ र अधिननायकतन्त्र आइपुग्छ । अर्थात्, एउटा खोरबाट मुक्त भएर अर्को खोरभित्र पस्नै पर्यो ।स्वाधीन र आत्मनिर्भर हुने तीनवटा मन्त्र छन्-आत्मानुशासित हुने, अरूको अधिकारको सम्मान गर्ने, आफ्नो कर्तव्यको पालना गर्ने ।
यी तीनवटा मन्त्रको पालना सर्वप्रथम नेता, तिनका चेला-चपाटी र पार्टीले गर्ने अनि जनतालाई पालन गर्न सिकाउने । यति गरेपछि ठूला-ठूला राजनैतिक सिद्धान्तका गफ नगरे पनि हुन्छ । अन्यथा जतिसुकै गफ हाँके पनि, भाषण छाँटे पनि त्यस्ता ठूलाठूला राजनीतिक सिद्धान्त कि त पुस्तकालयमा थन्किएर बस्छन् कि त भजन÷कीर्तन गाउनमै सीमित रहन्छन् ।
नेपाली राजनीतिका परिदृश्यबाट राजतन्त्र विलिन भएर गयो । तर, सामन्तवादी संस्कार, व्यवहार र विचारको तुस अझै बाँकी छ । सबै जाति, प्रजाति, समूह, समुदाय र व्यक्तिसमेतको आकांक्षा ह्वात्त बढेर गएको छ । आकांक्षा पनि कस्तो भने, हिजोका शासक वर्गले जे जस्ता हुकुमी र हैकमी अधिकार प्रयोग गरेका थिए आज त्यस्तै अकुण्ठित अधिकार उनीहरूलाई पनि चाहियो । यस्तो खालको अधिकारको चाहनामात्रै गर्नु भनेको त्यही सामन्तवादी संस्कार र विचारको तुस हो जसले समता, सद्भाव सहयोग र बन्धुत्वको कर्तव्य गर्नदेखि विमुख पार्दछ ।
एउटा सानो वर्ग र वर्गसमूहले सयौं वर्षसम्म निष्कष्टक सामन्तवादी र हैकमवादी हुकुमी शासन चलाउँदै आएकाले नेपाली समाज, संस्कृति र संस्कारमा हजारौं थरीका नितान्त व्यक्तिवादी र जनविरोधी विकृतिहरूको डंगुर लागेको छ । हिजोका सामन्ती शासकहरूले प्रयोग गरेका हैकम र हुकुम आज हामीले पनि प्रयोग गर्न पाउनुपर्छ भन्नु नै तिनै विकृतिका डंगुरको एउटा फोहोरी अंश हो।