कामरेड बा !

कामरेड बा !

 

बा अहिले हुनुहुन्न । बित्नु भएको २० वर्ष भइसक्यो । तर, सम्झनामा अक्सर आउनुहुन्छ । उहाँलाई सम्झिँदा कहिलेकाहीँ म धेरैबेर समयका ती खण्डहरूमा पुग्छु जहाँ मैले मेरा शैशव, कैशोर्य र बैँस बिताएँ- उतारचढावहरू भोगेँ । अनि सम्झनाका लहराहरूलाई पछ्याउन थाल्छ मन र स्मृतिको घनघोर जंगलमा विचरण गर्न थाल्छ । भावविह्वल हुन्छु कहिले र कहिले विरहले भिज्छु ।

भीमसेनथानको ढुंगेधाराको उत्तरमा डेरा थियो बाको । धोबीधारास्थित पुख्र्यौली घर बन्धकीबाट उकास्न नसकेपछि त्यहाँ सर्नुभएको होला । एकदिनको कुरा हो, कोठाभित्र बा पस्नुभयो ।

एउटा सानो पोकामा 'चिनियाम्ह किसिचाः' थियो । तिहारको छेको पारेर असनका हलुवाई पसलमा रंगविरंगी गणेश र हात्ती बनोटको चिनीको मिठाई बनाएर बेच्न राखिएको हुन्थ्यो, जसलाई नेवार भाषामा चिनियाम्ह किसिचाः भन्छन् । उहाँले चिनियाम्ह किसिचाःलाई धागोमा बाँधेर दलिनको काँटीमा झुन्ड्याउनुभयो । र, म उफ्री-उफ्री त्यसलाई जिब्रोमा छुवाउन थालेँ । एकछिनपछि बाले धागोबाट चिनियाम्ह किसिचाःलाई छुट्याउनुभयो र मेरो हातमा थमाइदिनुभयो । मेरो खुसीले सिमाना नाघेको थियो त्यतिखेर । बासँग मेरो पहिलो मुलाकात सम्झिँदै जाँदा मेरो सम्झनाको क्यानभासमा आउने दृश्य नै यही हो, भलै छविहरू धमिला होलान्, भलै बाको अनुहार यो सम्झनामा प्रष्ट नदेखुँला । त्यतिखेर मेरो उमेर तीन या चार वर्ष हुनुपर्छ ।

 

मेरो तोतेबोली फुट्न थालेपछि बाले मलाई कामरेड भन्न सिकाउनुभएछ- बा, बुवा, बाबा, ड्याडी, पापाको सट्टा । मचाहिँ कामरेड भन्न जान्दो रहेनछु, र कामी भन्दोरहेछु, बा दंग पर्नुहुँदो रहेछ । आमाले सुनाउनुभएको, 'तेरा बा तैँले कामीभन्दा दंग पर्थे । उनका साथी आउँदा तँलाई कामरेड भन्न नलगाएको दिन हुँदैनथ्यो ।' बा कट्टर हुनुहुन्थ्यो आफ्नो आस्था र प्रतिबद्धतामा । मस्जिद, मन्दिर, गुम्बा, गुरुद्वारा कहिल्यै जानुभएन । घरमा कुनै पनि धार्मिक÷सांस्कृतिक उत्सव मानिएन । कोठामा कहिले पनि कुनै देवी-देउताका तस्बिर झुन्डिएनन् ।

बुझ्ने भएपछि थाहा पाएँ- राजनीतिमा लागेको कारण उहाँमाथि सरकारी वक्रदृष्टि परेको रहेछ । त्यसैले उहाँलाई काठमाडौंमा जागिर खाने अवसर मिलेनछ । अनि कहिले पलाञ्चोक, कहिले खोपासी त कहिले धादिङतिर मास्टरी गर्न उहाँ पुग्नुहुन्थ्यो । उहाँ बेलाबखत काठमाडौँ फर्किनु त हुन्थ्यो, तर उहाँसँग बसउठ भने म सात वर्ष पुगेपछि मात्रै सुरु भयो । अनि उहाँको त्यतिखेरको अनुहार अहिले पनि प्रष्टसँग सम्झिन्छु म ।

बेलुकीपख बा घर फर्किनुभयो, सधैंका लागि, गाउँतिर नजाने निश्चय गरेर । यो घर पनि डेरै थियो, सिफलमा । आमाले बा आउनुभयो भनेर भन्नुभयो । मैले सात वर्षको उमेरमा पहिलोपल्ट बाको अनुहार चिन्न पाएँ । हेरेँ, बाको व्यक्तित्वले म प्रभावित भएँ । बाको महत्व बुझिसक्ने दिमाग भइसकेको थिएन मेरो । तैपनि बा भनेको अन्तरङ्ग मान्छे हुन् भन्ने लाग्यो मलाई । म बासँगै टाँसिएर बसेँ । बाको शरीरबाट एक प्रकारको आड, स्नेह र आफ्नोपनको तरंग मेरो शरीरभित्र प्रवेश गर्न थाल्यो ।

बा छानो चुहिने पुरानो घरमा बस्नुहुन्थ्यो । म सिमेन्टीले बनाएको डेरामा बस्थेँ । जहिले मनसुन आउँथ्यो, बा घरमा पुरिए कि भनेर बडो चिन्तित हुन्थेँ । भोलिपल्टै बुझ्न जान्थेँ, सकुशल देखेपछि मात्रै ढुक्क हुन्थ्यो मन ।

तिनताक सुतेपछि हरेक रात ओछ्यानमै पिसाब खुस्किन्थ्यो मेरो । बेलुकी पानी खान नदिएर, हप्काएर, पिटेर, राति पिसाब फेर्न उठाएर के मात्रै गर्नुभएको थिएन आमाले, मेरो ओछ्यान भिजाउने नित्यकर्मबाट निजात पाउन । त्यसैले त होला खाना खाइसकेपछि आमाले बालाई कुरा लगाइदिनुभयो, 'मामा यसले सधैं ओछ्यान मुतेर हैरान पारिसक्यो ।' बाले पुलुक्क मतिर हेर्नुभयो । म लाजले भुतुक्क भएँ । बाले भन्नुभयो, 'आज पनि मुत्छस् ? ' मैले जोडजोडले टाउको हल्लाएर संकेतले 'अहँ' भनेँ ।

भोलिपल्ट बिहानै म चौरतिर खेल्न कुदेँ । साथीहरूसँग कुदाकुद गरेर रमाइलो मानेर खेलिरहेको बेला अचानक कसैले पछाडिबाट च्याप्प अँठ्यायो । बा हुनुहुन्थ्यो, त्यसो गर्ने । गुटुटु कुदाएर मलाई ओछ्यानसम्म पुर्‍याउनुभयो र सिरानीनेर घोप्टो पारेर ओछ्यान सुँघाउनु भयो । अनि मलाई आघात नपर्ने गरी करिब एक मिनेटसम्म ङ्याकेर राख्नुभयो । निस्सासिन लागेको थाहा पाएपछि सोध्नुभयो, 'फेरि मुत्छस् ? ' र, जवाफ सुन्नका लागि छाडिदिनुभयो । 'मुत्दिन,' मैले ओछ्यानमा पैलेँटी मारेर भनेँ । कुन सड्को सिरानी भिजाउन पुगेछु राति । तर, त्यसपछिको रातमात्रै होइन, त्यसपछि मैले कहिल्यै ओछ्यान भिजाइनँ । बडो प्रेमले सम्झिन्छु म अहिले ।
बा जब मेरो जीवनमा आउनुभयो, जीवन्तता आयो । या भनुँ एकनास बगिरहेको कहानीमा 'ट्विस्ट' आयो ।

२०२७ सालमा बाले देवपत्तनमा घर किन्ने हुनुभयो । हामी सर्‍यौँ त्यहाँ । जन्मदिन मनाइन्छ भन्ने थाहा थिएन मलाई । बाले मेरो जन्मदिन मनाइदिनुभयो । जन्मदिनमा बाका साथी पनि आउनुभएको थियो- मलाई पढाउने माधुरीप्रसाद यादव सर । यादव सरले उपहारमा तीनवटा पुस्तक ल्याइदिनुभएको थियो । ती पुस्तक मेरो हृदयमा आज पनि कुँदिएर रहेका छन् ।

उहिले बाइस्कोप भन्थे सिनेमालाई । बाले मलाई बाइस्कोप पनि देखाउन लग्नुभएको थियो । बासँग हेरेका 'बालक', 'दोस्ती', 'हिमालय की गोद में' र कुनै एउटा धार्मिक सिनेमा थियो । धार्मिक सिनेमा रामायणमा आधारित थियो । पर्दामा रावण आउनेबित्तिकै म लुक्थेँ । सिनेमामा रावणकै भूमिका ज्यादा रहेछ । म छिनछिनमा लुक्न थालेँ । बाले ठट्टा गर्नुभयो, 'तँ पैसा तिरेर लुक्न आएको ? ' त्यसपछि बालाई प्रसन्न पार्न म कुर्सीबाट झरिनँ । अक्किल लगाएँ र रावण आउनेबित्तिकै आँखा चिम्लिन सुरु गरेँ ।

बाका केही ठट्टाहरू याद आउँछन् मलाई । एकदिन स्कुलबाट घर फर्किँदा बा सुकेको भटमास छोडाएर खाँदै हुनुहुन्थ्यो । मैले बोक्राको भित्री पत्रमा मुख्य तत्व हुन्छ भन्ने भर्खर पढेर आएको थिएँ । जान्ने भएर प्वाक्क बोलेँ, 'ए बा, त्यसमा त भिटामिन हुन्छ । बोक्रा फ्याल्नुहुन्न, खानुपर्छ ।' बाले गम्भीर भएर भन्नुभो, 'ए हो र ? ल त्यसोभए यो बोक्रा तँ खा, तँलाई तागत चाहिन्छ,
मचाहिँ भटमास खान्छु ।' नाइँ भन्ने कुरै आएन, बोक्रामा भिटामिन छ भन्ने मै थिएँ । एक मुठ्ठी बोक्रा टिपेर मुखमा हालेँ । बोक्राले मुख बिग्रियो र कुदेँ बगैँचातिर । अनि कसैले नदेख्ने गरी सबै बोक्रा उकेलिदिएँ । धेरै वर्षपछि यही कुरा सम्झिँदा म मुसुक्क हाँसेको मलाई याद छ ।

केही वर्षको पछिको कुरा हो । मैले बालाई 'बा मलाई साइकल किन्दिनु' भनेँ । बाको आर्थिक अवस्था मलाई के अनुमान ? बासँग पैसा थिएन शायद । तर, भन्नुभो, 'ठीक छ केही दिन पर्खी, तँलाई म काठको साइकल किन्दिन्छु ।' पछि साइकलको चस्का हरायो, बाले दिएको वचन पनि बिर्सिएँ । यही कुरा पछि सम्झिँदा म फिस्स हाँसेको मलाई हेक्का छ । एउटा अर्को पनि सम्झना छ मलाई । 'बाँदरको चाक किन रातो आमा ? ' मैले आमालाई सोधेँ । आमाले भन्नुभो, 'जातै जमदार ।' मैले कुरा बुझिनँ । अनि सोधेँ बालाई । बाले भन्नुभो, 'तैँले यही कुरो सोध्लास् कि भनेर ।' यो पनि मैले बुझिनँ । पछि बुझ्ने भएपछि यो जवाफले पनि मेरो ओठमा मुस्कान ल्याएरै छाड्यो ।
मेरो जीवनको ३० वर्षसम्म बा हुनुहुन्थ्यो । तर, बासँग सँगै बस्न आठ वर्ष मात्रै लेखिएको रहेछ । आठ वर्षको उमेरदेखि सोह्र वर्षको उमेरसम्म । थोरै वर्ष बासँग गुजारे पनि बा किनकिन अति प्रिय हुनुहुन्थ्यो मेरा लागि । मेरा नायक हुनुहुन्थ्यो । बासँग हुँदा बाले दसैँमा लुगा पनि किनिदिनुहुन्थ्यो । उहाँले पहिलोपल्ट किनिदिनुभएको कमिजको रङ अहिले पनि सम्झिन्छु, निख्खर पहेँलो एउटा र अर्को कालो ।

देवानन्दको सिनेमाको प्रभावमा म पर्दा हरेराम हरेकृष्ण छापिएको कमिज र पाइजामाको सेट सिलाइदिनुभएको थियो बाले मलाई । सन् १९७७ मा म तत्कालीन सोभियत संघ जाँदा दुई जोर सुट सिलाइदिने पनि बा नै हुनुहुन्थ्यो । कहाँबाट पैसा आयो कुन्नि ? सोभियत संघतर्फ उड्ने दिन एअरपोर्टमा बिदाइ गर्दा हर्षविभोर हुँदै भिजिटर्स डेकबाट लडिएलाझैं आधा जीउ बाहिर निकालेर मलाई हात हल्लाएर बिदा गर्ने पनि बा नै हुनुहुन्थ्यो । बा रुसी दूतावासको पार्टीमा जाँदा खल्तीमा मेरो लागि एक मुठ्ठी काजु र किसमिस ल्याइदिनुहुन्थ्यो । फर्मायसी गर्ने पैसा भएको बेला केही न केही मिठाई नबिराई ल्याइदिनुहुन्थ्यो । यो कुरा बेग्लै हो कि बाको त्यस्तो अवस्था आक्कलझुक्कल मात्रै हुने गथ्र्यो ।

एकदिनको कुरा हो । म र बासँगै भात खाँदैथियौँ, पहिलोपल्ट । मैले भात खाँदा केही सिता भात भुइँमा पोख्न पुगेको रहेछु । बाले भन्नुभयो, 'प्रचण्ड घाममा सेकिएर काला भएका हातले उमारेका सेता चामल पोख्नु हुँदैन बौवा ।' मैले त्यसपछि आजसम्म कहिले पनि थालमा भात छाडेको छैन, पोख्नुको कुरा त परै जाओस् ।

बा-आमाबीच पारपाचुके भइसकेपछि केही महिना म बासँगै बसेँ । एकदिनको कुरा हो, म साथी गंगारामको बिहेमा गएँ, जहाँ दुई गिलास जति रक्सी खाएँ । मलाई घ्याम्पै पिएजत्तिकै भयो । त्यो रात घर जान सकिनँ । भोलिपल्ट बिहान घर पुग्दा डुङ्डुङ् गन्हाइरहेको थिएँ क्यार । पुग्नेबित्तिकै ओछ्यानमा घुप्लुक्क सुतेँ । बाले ११ बजेतिर उठाउनुभयो । राँगाको मासुको छिप्छिपे झोल र भात तयार थियो । खाएँ । अंगुर ल्याउनुभएको रहेछ । मलाई एक झुप्पा खान दिनुभयो । खाएर म फेरि सुतेँ । साँझपख बाले मलाई भन्नुभो, 'रक्सी खान मन लाग्छ भने खा, चुरोट पनि खा । तर, जबसम्म आफैँले कमाउन सक्दैनस्, तबसम्म नखा । मेरो पैसामा तँलाई दालभात-तरकारी मात्रै ।' बाको कुरा भित्रसम्म गढ्यो । जबसम्म कमाइनँ, तबसम्म हात हालिनँ । तर, मेरो दुर्भाग्य भनुँ या सौभाग्य म ६ महिनापछि नै जागिरे भएँ ।

पारपाचुकेको ६ महिनापछि बाले एकजना हिसी परेकी लिम्बुनी युवतीसँग बिहे गर्नुभयो । उहाँकै मिल्ने साथी तिलबहादुर लोकसमले लमीको भूमिका खेल्नुभएको थियो । म सबैसँग मिल्ने खालको मान्छे भए पनि किनकिन सहज भइनँ, त्यसपछि घरमा बस्न । एकैनासको खाना धेरै वर्षसम्म खाएको मान्छे, नयाँ आमाको नौलो हात भएकोले होला मलाई खाना खान मनै हुँदैनथ्यो । मैले खाना नखाएको नयाँ आमालाई चित्त दुखेछ । एक रात साढे एघार बजेतिर बा मेरो कोठामा आउनुभयो र भन्नुभयो, 'म मेरो नवविवाहिताको आँखामा आँसु देख्न सक्दिनँ ।'
'त्यसो भए तपाईं के चाहनुहुन्छ ? के म निस्किउँ घरबाट ? ' खै किन कुन्नि मैले यसो भन्न पुगेछु 
'तेरो मर्जी,' बाले भन्नुभयो ।

म घरबाट तत्काल राति नै निस्किएँ । बाको मनमा के गुज्रियो होला, विप्लवी उमेरमा थिएँ म, त्यतिखेर के बुझ्थेँ ? कति रोयो होला बाको मन । पछि जति सम्झिन्थेँ, त्यति नै कोक्किन्थ्यो मन । तर, मलाई एकदमै खुसी बनाउने कुरा के थियो भने त्यस घटनापछि पनि बाप्रति मेरो सम्मान र माया सधैं अत्यधिक रहिरह्यो ।

बा छानो चुहिने पुरानो घरमा बस्नुहुन्थ्यो । म सिमेन्टीले बनाएको डेरामा बस्थेँ । जहिले मनसुन आउँथ्यो, बा घरमा पुरिए कि भनेर बडो चिन्तित हुन्थेँ । भोलिपल्टै बुझ्न जान्थेँ, सकुशल देखेपछि मात्रै ढुक्क हुन्थ्यो मन । 'हर रात सपनीमा ऐँठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि' भन्ने गीत बाको त्यही मायाले जन्मिएको हो ।

बासँग छुट्टिएर बस्न थालेदेखि म थुप्रै ठाउँमा डेरा सरेँ । बत्तीसपुतली, रामशाहपथ, मञ्जु श्री टोल, पाको पोखल्ड्याङ्, पुल्चोक हुँदै म घट्टेकुलामा आइपुगेँ । निजी घर बनिसकेको थियो । एकदिनको कुरा हो, बाका साथी काका भवानी घिमिरेले मेरो रोहवरमा बालाई भन्नुभो, 'यो घर बेचिदिनुस्, र छोराहरूलाई पैसा बाँडिदिनुहोस् । विप्लवको केही गर्ने बेला छ । उसको काममा सहयोग हुन्छ ।' बाले सहर्ष स्वीकार गर्नुभो । तीन भाग लगाउने, दुई भाग छोराहरूलाई बाँडिदिने र एक भाग आफैंले राख्ने अनि चाबहिलतिर कतै भाडामा बस्ने । मैले भनेँ, 'आफ्नो भाग राख्नुहोस् । तर, भाडामा बस्नुपर्दैन । आफ्नै घर छ नि अब त ।' यही तय भयो ।

केही दिनपछि शनिबारको कुरा हो । साथी शिशिर सुब्बालाई बिहान खान बोलाएको थिएँ । खाना सिद्धिनै लाग्दा फोन आयो- 'बा सिकिस्त हुनुहुन्छ, आउनुपर्‍यो ।' बाटोमा मिनरल वाटरको बोटल किनेँ, ग्लुकोज एक प्याकेट किनेँ । मलाई कताकता बालाई डिहाइड्रेसन भएको हो कि भन्ने लाग्यो । घर पुगेँ, ग्लुकोज-पानी खान दिएँ । अलि तंग्रिनुभयो बा । डा. अञ्जनीकुमार शर्मा बाका निकट थिए । उहाँलाई गुहारेँ, उहाँले एम्बुलेन्स पठाइदिनुभयो । वीर हस्पिटल पुग्यौं हामी । एम्बुलेन्सबाट कसैको सहारा नलिइकन बा ओर्लिनुभयो । हामी इमर्जेन्सी गयौँ । डाक्टरले चेकअपपछि पानी ज्यादा ख्वाउनु र चिल्लो-पीरो नभएको सादा खाना ख्वाउनू, ठीक हुन्छ भने ।

चेकअपपछि हामी निस्कियौँ । बाले बस चढेर घर जान्छु भन्नुभयो । मैले 'त्यस्तो कहाँ हुन्छ' भनेर बालाई ट्याक्सीमा हालेर घट्टेकुलो ल्याएँ । मेरो बेडरुम बाको भयो अब । बाको स्याहारमा मेरी पूर्वपत्नी र म जुट्यौँ । एक दिन, दुई दिन हुँदै राम्रो हुँदै थियो । मंगलवारको दिन बा आएको बारले चौथो दिन थियो । म खाना खाएर बासँग गफिँदै थिएँ । कुरैकुरामा निको भइसकेपछि कहिले पनि रक्सी नखाने कुरा बाले मलाई सुनाउनुभयो । मैले बालाई भनेँ, 'निको हुनको लागि आफूले पनि प्रयत्न लगाउनुपर्छ । सुत्ने बेलामा निख्खर नीलो आकाश सम्झिनुस्, सेता राजहाँस उडेको कल्पना गर्नुस्, तलाउछेउको हरियो चौरमा रंगबिरंगी फूलहरूमाझ तपाईं स्वस्थ भएर पल्टिरहेको कल्पना गर्नुस् । तन्तुहरूले सुन्छन् र चाँडै बिसेक हुन्छ ।' केहीबेर पछि म सुत्न गएँ ।

बुधवार बिहान ४ बजेतिर हो बाले चर्को स्वरमा बोलाउनु भयो । बा घ्याघ्यार गरिरहनुभएको थियो । मैले बालाई कफ सिरप ख्वाइदिएँ । अनि सुत्न आएँ । बिहान ६ बजेतिर म बाको कोठामा गएँ । सिरानीतिर नभई गोडातिर थियो, बाको शिर । मैले छामेँ । ढुंगाभन्दा कठोर थियो निधार । र, बडो चिसो । अघिको घ्यारघ्यार सायद प्राण जाने बेलाको थियो । म काबुबाहिर गएँ । विरलै आँसु झर्ने मेरा आँखाबाट बलिन्द्र धारा छुटे ।

घाटसम्म खाली खुट्टा जानुपर्छ भने सबैले । म बाको लागि जे पनि गर्न तयार थिएँ । लगाएको लुगा उतै फ्याल्नुपर्छ झुत्रो लगाउनू भने सबैले । मैले मेरो सबैभन्दा राम्रो टिसर्ट लगाएँ । बाको लागि जे पनि त्याग्न तयार थिएँ म ।आर्यघाट पुगेको होस भएन । कहाँ जलाउने ? तल जलाए सस्तो र माथि जलाए महँगो भने । बाको लागि म जे पनि लुटाउन तयार थिएँ ।
मैले माथि भनेँ । राजा महेन्द्रलाई २०२८ सालमा त्यहीँ जलाइएको थियो । बहुदल आएपछि जनताको लागि पनि खुलेको थियो त्यो शाही चिता ।

बा कट्टर नास्तिक हुनुहुन्थ्यो । उहाँले मृत्युपछिको संस्कार गरेको पक्कै कडा विरोध गर्नुहुने थियो । तर, मैले मृत्यु संस्कार नगरी बस्न सकिनँ । यो मेरो उहाँप्रतिको माया र सम्मान थियो, यति नगरे मलाई पछुतो हुने पूर्वाभास थियो मलाई । मृत्यु संस्कार सिद्धिएपछि म बाको घर गएँ । बाले कहिलेकाहीँ टाटमुनि पैसा राख्नुहुन्थ्यो । यसो पल्टाएर हेरेको तीन हजार रहेछ । मैले खल्तीमा हालेँ । त्यसताका मेरो नियमित आम्दानी थिएन । बाको मृत्यु संस्कारपछि म अलि बेखर्चीजस्तो थिएँ । बालाई थाहा रहेछ । पैसा छाडेर जानुभएको रहेछ, आफ्नो मृत्यु खर्चको व्यवस्था आफैं गर्नुभएको रहेछ । त्यसबखत तीन हजार जेबमा घुसार्दा मेरो गोजी गरम भएन, मन चिसो भयो ।

बा नभएको वर्षौं भइसकेको छ । तर, बाको सम्झना नभएको दिन हुँदैन । म उम्किनै सकेको छैन, बाको सम्झनाको कैदबाट । फरक यत्ति हो, केही वर्ष अघिसम्म निकै भावुक हुन्थेँ, अहिले अलि कम भएको छ । तर, सम्झना फिक्का भएको छैन । र, हुने पनि छैन- म रहुञ्जेल मेरा बा हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.