गोल्डस्टार जुत्ता
हिउँदको चिसो ठिहीमा
नानीहरूले आँगनमा घुर ताप्नुजस्तै
उखुम गर्मीको रापमा
पीपल छहारी भेटिनुजस्तै
दोपहर उकालो चढिरहेको भरियाले
आदिम कुवाको पानी पिएजस्तै
यो सहरी आतंकभित्रै
मुस्काइरहेको सडक बालकजस्तै
भर्खरै निदाइरहेको तिम्रो अनुहारबाट
आकाश फैलिएको छ गुलाबी कान्ति ।
यो पल यस्तो प्रेमिल सुगन्धले छोइरहेछ
म सुनिरहेको छैन सहरको कोलाहल
देखिरहेको छैन यो भीडको कोलाज
मेरो आँखाको क्यानभासमा मात्र तिम्रो चित्र कोरिएको छ
देखिरहेछु परैबाट
कस्तरी धड्किरहेछ तिम्रो मुटु ?
कसरी हल्लिरहेछ सुस्तरी तिम्रो शरीर
चल्मलाइरहेछ तिमीले ओढेको पातलो च्यादर
जुन आमाको अन्तिम चिनो छ तिमीसँग
यो बजारले तिरमिराएको आँखा
यति बेला मात्र तिम्रो हलचल हेरिरहेछ
यी हल्लाहरूले थोत्रिएको कान मात्र तिम्रो निःस्वास सुनिरहेछ
लडाइँको मोर्चामा आगोजस्तो राँकिने तिम्रो अनुहार
यति बेला साँच्चै स्निग्ध देखिएको छ
सम्मोहित भएर एकोहोरिएकी छु तिमीमाथि यति बेला
तिमी विम्ब हौ सपनाहरूको
यति बेला पक्कै देखिरहेको हुनुपर्छ सपना
बिछोडिएकी प्रेमिकाले टाढैबाट हात हल्लाएको हुनुपर्छ
युद्धमा मारिएको साथीले हालखबर सोध्दै हुनुपर्छ
माग्दै हुनुपर्छ सहिदका बाले तिमीले बोकेको झोला
ए सतिसाल !
भन्दै होलाऊ, बाँकी छ लडाइँ
म थाकेर बिसाएको छैन यात्रा
अझ धेरै छिचोल्नु छ गहिरो गुफाजस्तो अँध्यारो बाटो
फाँड्दै मुखुण्डो बजार खनिरहेछु नयाँ बाटो ।
निधार चुम्दै आमाले भन्दै हुनुपर्छ
जतनले हुर्काऊ, तिम्रो आँखामा छोडिहिडेको हुँ मेरा अधुरा सपना
यो युग ब्यूँझँदै गरेको प्रहर
पारिजातको पातबाट तिम्रो शिरमा टप्किरहेछ शीतका थोपा
जूनका रेशाहरू ढल्केर हेरिरहेछन् तिम्रो अनुहार
प्रिय नायक !
सँगेल्दै सपनाको बिस्कुन
विस्तारै ब्यूँझ !
हातमा बोकेर एक जोर गोल्डस्टार जुत्ता
चौरास्तामा म तिमीलाई पर्खिरहेछु ।