नयाँ सपना
बालुवामा खसेको
दुई थोपा आँसुजस्तो
ऐंठनसँगै भत्किजाने
एउटा सपना छ मसँग
सपनामै देख्छु
अस्थायी जिन्दगीको
एउटा स्थायी घर
धुलो नटाँसिने गाडी
गार्डेनमा खेलिरहेका पुतलीहरू
आज बुझ्दैछु
ती सपना पूरा गर्न
मैले आफूलाई बेच्नुपर्छ
कि कसैलाई किन्नुपर्छ
सम्पन्नताको भर्याङ चढेर
अब मलाई थुक्नु छैन गल्लीमा
यो किनबेचको भागदौडमा
कुनै किनबेच गर्नु छैन
अब मान्छे बन्नु छ केवल
मलाई मान्छे बन्न नदिएर
प्रत्येक पल बेचिरहने
यो सहरको नामुद व्यापारी
कहाँनिर बस्छ ?
आफूलाई चिन्न नदिएर
आफैंसँग ढाँट्न सिकाउने
यो समयको ठेकेदार
कहाँनिर बस्छ ?
मलाई खोज्नु छ अब
आफ्नो सर्वस्व बेचिरहेछु
तर नबेचिएको बहानामा
छमछमी नाचिरहेछु मसानघाटमा
मलाई बेचिएको थाहा पाउने
अब नयाँ गीत चाहियो
धेरै अघि म मान्छे थिएँ
आज मान्छे छुटेको छ मबाट
मानवता हराएको छ मबाट
मलाई मान्छे बन्न सिकाउने
नयाँ किताब चाहियो
विकल्पहीन जिन्दगीको
यो लामो यात्रामा
सपनाको पछिपछि कुद्दा-कुद्दा
म मरिसकें पटक-पटक
अब मलाई
सपनाको विकल्प चाहियो
यो विश्वविद्यालयमा पढाउने
मान्छे हुन् कि सुगा
बेन्चमा पढ्न बस्नेहरू
मान्छे हुन् कि बुख्याचा ?
मलाई मान्छे बन्न सिकाउने
नयाँ विश्वविद्यालय चाहियो
म प्रथम हुन
अरू कसैले दोस्रो भइदिनुपर्छ
मलाई दुवैजना प्रथम हुने
नयाँ प्रतियोगिता चाहियो
म बाँच्दा-बाँच्दा थाकिसकें
थाकेर एकपल बाँच्नु छैन अब
मलाई साँच्चै बाँच्न सिकाउने
नयाँ सपना चाहियो ।