नीलो गुलाब

नीलो गुलाब

वास्तवमा उसलाई गुलाबको फूल दिने मेरो रहर थियो । भन्नुहोला- यो रहर त सबैको हुन्छ । रातो गुलाबको फूल त सबैले दिन्छन् नि ! म अलि फरक रङको दिन चाहन्थेँ । साथीभाइको सल्लाहअनुसार, मैले नीलो गुलाब दिने मनशाय बनाएको थिएँ । हो, यो मेरो अचम्मको रहरचाहिँ अवश्य थियो ।

नीलो गुलाब मेरो छिमेकीको घरमा थियो । घरको तेस्रो तलाको बार्दलीमा फुलेको देखिन्थ्यो । यति जतन गरेर फूल उमारिएको थियो कि त्यसको व्याख्या नगरौं । तर, गुलाबको बोटमा दुईचार फूलभन्दा बढी हुँदैनथ्यो । त्यसैले पनि ती फूल अझै रहरलाग्दा थिए ।

घर हाम्रै नगरको डीआईजीको थियो । म त्यही घर अघिल्तिरको घरमा दुई वर्षपहिले कोठा भाडामा लिएर बस्दै आइरहेको थिएँ । जब मैले उसलाई नीलो गुलाब दिने निर्णय गरेँ, त्यसपछि मैले त्यस घरलाई सधैं नियाल्न थालेँ । साथीहरू भन्थे- किनेर वा मागेर दिएको फूल के फूल ? किनेर, मागेर दिने भए रातो गुलाब नै दिए भइहाल्यो नि !
मेरो प्रेममा केही नयाँ होस् म यही चाहन्थेँ ।

 

मेरो छनोट कस्तो अजिबको थियो भने नीलो गुलाब चोर्ने, त्यो पनि नगरको डीआईजीको घरबाट । मभित्र यो आँटले कसरी प्रवेश गर्‍यो ? मलाई पत्तै भएन । यो आँटलाई पूर्णता दिन भने बाँकी नै थियो । अब म दिनहुँ त्यो बार्दलीमा नजर पुर्‍याउन थाल्ने भएको थिएँ । चिया वा कफीको चुस्की लिँदै मैले धेरैपटक त्यता नियालेको थिएँ ।

धेरै दिन लगाएर मैले केही सूचनाहरू बटुलेँ । जस्तो कि डीआईजी धेरैजसो त घरै आउँदैनन् । घरमा नोकरचाकर छन् । सेक्युरिटी गार्ड छ । यी त हुन्- पहिलेदेखि नै थाहा भएका कुरा । नयाँ कुराचाहिँ नोकरचाकर राति थाकेर नजिकै रहेको अर्काे एकतले घरमा सुत्थे । गार्ड पनि राति १ बजेदेखि २ बजेसम्म घुर्न थाल्थ्यो । घरमा बाँधिराखेको कुकुर पनि ठीक त्यही समयमा निदाउँथ्यो, जुन समयमा चकमन्नता छाएको हुन्थ्यो ।

यसरी सूचना संकलन गरेर म ढुक्कचाहिँ हुन सकिनँ । किनकि निदाएको कुकुर जुन बेला पनि उठ्न सक्थ्यो । भुकेर घरभरिकालाई जगाउन सक्थ्यो । गार्डको निद्रा जति बेला पनि खलबलिन के बेर ? डीआईजीकी श्रीमती ब्यूँझेकी पनि हुन सक्थी । यस्ता प्रश्न भने मेरो मनमा घरिघरि नआएका होइनन् । त्यसैले पनि म अलमलमा थिएँ ।

तर, मभित्र आँट प्रबल भइरहेको थियो । मैले गुलाब जसरी पनि चोर्नु थियो । त्यही गुलाब मैले उसलाई दिनु थियो । एक दिन कामलाई पूर्णता दिने सोच बनाएँ । जे पर्लापर्ला । दिनभरि कोठामै बसेँ । झ्यालबाट पारि डीआईजीको घरतिर एकोहोरो हेर्दै योजना बनाएँ ।
त्यो रात मैले काम फत्ते गरेँ ।

ऊ अचानक गायब भएकी थिई । त्यसैले नीलो गुलाब दिन पाएको थिइनँ । गुलाब टेबलमा उस्सै लम्पसार थियो । म भने अनलाइन खबर हेर्दै थिएँ । एउटा समाचारले निकै अचम्ममा परेँ । जति पढ्दै गएँ, डराउँदै गएँ । हत्याको समाचार थियो । मृतकको तस्बिरले म झन्झन् त्रसित हुँदै गएको थिएँ । हत्यापछि फालिएको लासलाई मैले एक हप्ताअघि जिउँदै देखेको थिएँ । त्यो बलिष्ठ ज्यान भएको व्यक्तिको हत्याको समाचारले मेरो मुटु काँप्न थालेको थियो ।

म सम्झन्छु । बडो कस्टसाथ म त्यो घरको आँगनसम्म पुग्न सकेको थिएँ । लुक्दै, छल्दै म घरको तेस्रो तल्ला पुगेँ । कोठाभित्रको आवाजले म डराएँ । डीआईजी आज घर आएका थिएनन् । तर, यो पुरुष आवाज कसको हो ? म सतर्क हुन पुगेँ । आफूलाई जोगाउन एकछिन लुकेँ ।

कुन अज्ञात शक्तिले हो म आवाज आइरहेको झ्यालतिर गएछु । झ्यालमा छलिएर चुपचाप भित्र हेर्न पुगेँ । भित्रको दृश्यले म अक्क न बक्क भइगएँ । डीआईजीकी स्वास्नी परपुरुषसँगको संसर्गमा लीन थिइन् । मैले त्यो पुरुषलाई यसभन्दा पहिले कतै देखेको थिइनँ । यो घरको वरिपरि त झन् देखेकै छैन । त्यसको अनुहार प्रस्टै देखिन्थ्यो । अहँ मैले त्यसलाई कुनै हालतमा पनि चिन्न सकिनँ ।
म नीलो गुलाबको फूल लिन गएको थिएँ । त्यो रतिराग हेरेर बसेछु । कस्तो अचम्म भने म श्वास लिन बिर्सेर हेरिरहेको रहेछु । उनीहरूको काम सकियो । बल्ल आफू आउनुको कारण सम्झिन पुगेँ । म आफ्नो काम सकेर फर्किएँ ।

हो, त्यही व्यक्तिको हत्या भएको थियो । आखिर कसले गर्‍यो उसको हत्या ?
म केही सोच्न सकिरहेको थिइनँ । मेरो आँखामा त्यो अनुहार नाच्न थालेको थियो । आखिर को थियो त्यो ? यस्ता प्रश्न मेरासामु आउने-जाने गरिरहे । म दिनभरि कोठाबाट निस्किनँ । मन त्यसैत्यसै उदास भइदियो । साँझतिर अनलाइनले उसको बारेमा लेखेको देखेँ । झटपट लिंकमा क्लिक गरेँ ।

रामेछाप साँघुटारमा जन्मिएको जवान भवलाल । गाउँको स्कुल सकेर कलेज पढ्न काठमाडौं आएको थियो । गाउँबाट सहर आउँदा ऊसँग धेरै सपना थिए । कलेज राम्रोसँग पढ्यो । उसको सपनाले चाहिँ कहिल्यै सहरमा ल्यान्डिङ गर्न पाएन । सपनाको पहाडले ऊ दिनानुदिन थिचिँदै गयो । सहरको महँगीले पेलिँदै गयो । बल्लतल्ल पाएको काम पनि महिना दिन नपुग्दै फुत्किन्थ्यो । अन्ततः उसले देशबाट पलायन हुने विचार गर्‍यो ।

गाउँको पाखो जग्गा बन्धकी राखेर रिन लियो । जापान जान भनी लिएको रिन म्यानपावरको एजेन्टलाई बुझायो । गर्नुपर्ने प्रक्रिया गरेर ऊ ढुक्क भएर बस्यो । भारत हुँदै जानुपर्ने भएपछि ऊ उतै लाग्यो । एयअरपोर्ट पुगेपछि नक्कली भिसाको कागज भएकाले उसलाई फर्काइयो । ऊ छाँगाबाट खसेझैं भयो । आफूलाई धोका भएको बुझ्यो । काठमाडौं आएर एजेन्ट र म्यानपावरको अफिस खोज्यो । कोही फेला परेन । सबै फरार थिए । महिनौंसम्म खोजी गर्‍यो । कोही नभेटिएकाले ऊ निराश भयो । घरजग्गा बन्धकी परेको थियो । विदेश गएर कमाउने आधार पनि भत्कियो । उसले काठमाडौंमा काम खोज्न थाल्यो । बन्धकी राखेको घर छुटाउने उपायमा उसले अर्कै बाटो रोज्यो । ऊ पुरुष वेश्या भयो ।

यसभन्दा उता पढ्न सकिनँ । दिगमिग लागेर आयो । त्यो रातको घटना आँखैमा झलझली आयो । आखिर कसले गर्‍यो हत्या ? प्रश्न बनेर मसामु तेर्सियो ।केही दिन त्यसै बित्यो । मैले उसलाई दिन चाहेको गुलाब पनि ओइलाउन थालेको थियो । विडम्बना के थियो भने ऊ त्यस घटनाको अघिल्लो दिनदेखि सम्पर्कविहीन थिई । अबचाहिँ म उसको खोजीमा निस्किने योजनामा थिएँ । योजना बन्नासाथ म निस्किएँ भन्दा हुन्छ ।

धेरैजसो त ऊ मन्दिर धाउँथी । त्यसैले मैले सहरको धेरै मन्दिर चाहारेँ । ऊ त कहीँ फेला परिनँ । दिनभरिको हिँडाइले थाक्थेँ । थकानले गर्दा म कोठामा नगई होटलमै बास बस्थेँ । सधैं यस्तै हुन्थ्यो । दिनहँ नयाँनयाँ कपडा किन्न थालेको थिएँ । नयाँ रूपमा बजार र सहरको गल्ली चाहार्थेँ । मन्दिरको वरिपरि घुम्थेँ । मेरो खोजी सधैं जारी रहन्थ्यो । अचम्म कस्तो भइदियो भने मेरो अवस्थामा दिनहँ परिवर्तन आइरहेको हुन्थ्यो । महँगा होटलमा खान थालेको थिएँ । होटलमै बास बस्न थालेको थिएँ । उसको खोजीमा म खर्चिलो भइरहेको थिएँ ।

गुलाब ओइलाइसकेको थियो । मेरो खोजी भने जारी थियो । म यसरी भौंतारिइरहेको थिएँ, मानौं म युगौंदेखिको कुनै नौलो वस्तुको खोजीमा छु, जसको अस्तित्व कहाँ छ भन्ने कसैलाई थाहै छैन ।
एक दिन म मन्दिरको बाटो हुँदै, टोलाउँदै हिँडिरहेको थिएँ । कसैले मलाई बोलाएको सुनेँ । धेरै पछि मेरो नाम कसैले बोलाएको थियो । म ऊतिरै फर्किएँ । सन्देश पो रहेछ ।
'दाइ, तपाईं यहाँ ? के छ हाल खबर ? ', उसले उभिँदै सोध्यो । उसले झोला भिरेको थियो । पातलो ज्यानमा झोला ठूलो अनि नसुहाएको देखिन्थ्यो ।
'ठीक छ भाइ । यसो घुम्दै गरेको । तिम्रो खबरचाहिँ के छ नि ? ', मैले जवाफ दिँदै उसलाई सोधेँ ।

उसले पनि आफ्नो सबै राम्रो भएको जानकारी गरायो । एक कप कफी खाऔं भन्ने हाम्रो सल्लाह भयो । नजिकैको कफी सपमा हामी गयौं । सन्देशले आफू पत्रकारितामा लागेको कुरा सुनायो । वास्तवमा ऊसँग भेट नभएको पनि एक वर्ष भएको थियो । हामी गफिँदै गर्दा कफी आइपुग्यो ।
'पत्रकारिता नै किन रोजेको नि ? ', अनायासै सोधिदिएँ ।'यसै दाइ, रुचि भएकोले', उसले भन्यो ।

'साँच्चै त्यो भवलालको हत्यारा पत्ता लाग्यो ? ', झल्याँस्स सम्झेर सोधेँ ।उसले पत्ता लागेको छैन भनेर टाउको हल्लायो । त्यसपछि कफी पिउन थाल्यो । म पनि हातमा कफी लिएर कफी सपको यताउति हेर्न थालेँ । कफी सप भर्खरै खोलिएको हुनुपर्छ । रङरोगन र फर्निचर सबै नयाँ थिए, चिटिक्कको सुहाउँदिलो थियो । उसले चुरोट सल्काइसकेछ । चुरोटको धूँवा फैलियो । उसले चुरोट मतिर तेस्र्यायो । मैले नखाने भनी मुन्टो हल्लाएँ । उसले तनतनी चुरोट तान्यो ।

धेरै बेर उसले मेरो झोलामा हेर्‍यो । झोलाको खल्तीबाट गुलाब चियाइरहेको थियो । उसले त्यही गुलाब हेरिरहेको हो भन्ने लाग्यो । मैले झोलाबाट गुलाब झिकेर उसलाई देखाएँ । गुलाब पूरै ओइलाइसकेको थियो । ओइलाएको गुलाब किन बोकेको भन्ने उसले जिज्ञासा राख्यो । मैले आफ्नो कुरा भन्नैपर्ने भयो ।

'वास्तवमा म आफूले मन पराएकी केटीलाई गुलाब दिन चाहन्थेँ । त्यो पनि नीलो गुलाब । जसलाई मैले मन पराउँथेँ, उसलाई मैले कहिल्यै प्रेम प्रस्ताव राख्नचाहिँ सकिनँ । म चाहन्थेँ यही नीलो गुलाब दिएर प्रेम प्रस्ताव राखूँ । तर, जुन दिनदेखि यो गुलाब मेरो हात पर्‍यो । त्यसै दिनदेखि ऊ गायब छे', मैले आफ्नो कुरा सविस्तार बताएँ ।

'वाउ, तपाईंको चाहनाचाहिँ गज्जब लाग्यो । तपाईंलाई शुभकामना छ', उसले हौसला थप्यो ।
म मक्ख भइगएँ । त्यसपछि म भौंतारिएको कुरा पनि उसलाई सुनाएँ । महिनौं भएको थियो उसको खोजी गर्दै हिँडेको । मेरो खोजीमा सहयोग गरिदिन उसलाई अनुरोध गरेँ । उसले हुन्छ भन्यो ।
'दाजु, मैले उहाँलाई कसरी चिन्नू ? तपाईंसँग उहाँको कुनै तस्बिर छ ? ', उसले मलाई सोध्यो ।
वास्तवमा मसँग उसको एउटा मात्रै फोटो थियो । त्यो यति बेला कहाँ छ ? मैले सम्झिन खोजेँ । झोला खोतलखातल गरेँ । एउटा किताबबाट उसको फोटो फुत्त झर्‍यो । मैले जतनसाथ उठाएँ । उसलाई दिएँ । सन्देशले फोटोलाई राम्रोसँग नियाल्यो । फोटोमा आँखा पर्नासाथ उसका आँखा विस्फारित भएका थिए । उसको मुखाकृतिमा परिवर्तन आएको थियो । म उसैलाई हेरिरहेको थिएँ।

'दाइ, यिनको नाम अदृश्या हो ? अदृश्या शाक्य ? ', उसले प्रश्नवाचक दृष्टिले मलाई हेर्‍यो ।
'हो', मैले हतारिँदै भनेँ ।ऊ एकछिन मौन बस्यो । मलाई पनि हेरेन । फोटोमा एकोहोरो हेरिरह्यो । मलाई भने शंकाका बादलले घेर्न थाल्यो । कतै सन्देशको आफन्त त होइन भन्ने लाग्यो । अदृश्याको नाम उसलाई कसरी थाहा थियो ? उसले राम्रोसँग चिनेको हुनुपर्छ । म उसको बोली फुट्ने पर्खाइमा थिएँ ।

'तिमी उसलाई चिन्छौ ? ', आखिर मैले नै बोल्नुपर्ने भयो र सोधेँ ।
'उहाँ मैले काम गर्ने पत्रिकामै काम गर्नुहुन्थ्यो', उसले मसिनो स्वरमा भन्यो ।
'काम गर्नुहुन्थ्यो !? के अहिले काम छोडेकी हो ? ', मैले हतारिँदै सोधेँ ।
'तपाईंलाई थाहा छैन ? ', उसले मेरो आँखामा आँखा जुधाउँदै सोध्यो । उसको कुराले मलाई झन् शंकाले घेर्‍यो । मैले केही थाहा नभएको कुरा बताएँ । ऊ फोटोमा एकोहोरो हेरिरहेको थियो । त्यसपछि मलाई नियाल्यो । बल्ल बोल्यो ।

'दाइ, अदृश्या अब यो संसारमा हुनुहुन्न । हाम्रो पत्रिकाका लागि उहाँले एउटा गोप्य अनुसन्धान गरिरहनुभएको थियो । सहरका भ्रष्ट पुलिसहरूको कालो कमाइबारे । उहाँले त्यो रिपोर्ट पत्रिकामा बुझाउनु पनि भयो तर प्रकाशित भएन । त्यही रात उहाँको हत्या भएको थियो । विडम्बना भनौं त्यो हत्या, आत्महत्याजस्तो थियो । त्यसैले कुनै पत्रिकाले समाचार बनाएन', मलाई उसको कुराले टेन्सन भयो ।'यो घटना चैत १२ गते भएको थियो', उसले कुराको अन्त्य गर्न खोज्यो । यो त्यही रात थियो, जुन रात म नीलो गुलाब चोर्न सफल भएको थिएँ ।

म चुपचाप भुइँ नियालिरहेको थिएँ । सन्देशले मलाई कतिपटक बोलायो भन्ने पनि भेउ पाइनँ । एकछिनपछि जुरुक्क उठेँ । उसलाई जान्छु भनेर म बाहिरिएँ । ऊ मेरो पछिपछि आइरहेको थियो । म आफैं जानसक्छु भन्ने विश्वास दिलाएपछि उसले मलाई एक्लै जान दियो । नत्र ऊ मलाई पुर्‍याइदिने ढिपि गरिरहेको थियो । सन्देशसँग छुटिएपछि पो मेरा आँखाबाट वर्षा भइदियो । म बाटोमै एक्लै आँसुले रुझेर बसेछु ।
होटलमा गएर त्यसै निदाएछु ।

भोलिपल्ट अबेला उठेँ । अल्छी लागिरहेको थियो । होटल छोड्न मन लाग्यो । अब यहाँ बसेर पनि के हुने हो र ! धेरैपछि मलाई आफ्नो कोठा फर्किन मन लागेर आयो । त्यसैले नुहाइधुवाइ गरेर आफ्नो सामान प्याक गरेँ । रिसेप्सनमा गएर मेरोे हिसाब गरिदिन भनेँ । रिसेप्सनिस्ट हिसाब गर्दै थियो । म उभिँदै टीभीमा दिइरहेको समाचार हेर्न थालेँ । समाचारमा एउटा हत्याबारे जानकारी गराइएको थियो । समाचारले म रन्थनिएँ ।

मेरो छिमेकीको हत्या भएको समाचार थियो । हत्यापछि जंगलको बाटोमा लास फालिएको रहेछ । कस्तो अचम्म भने म त्यो समाचार हेरिरहेको थिएँ तर मेरा आँखामा भने डीआईजीकी श्रीमतीको अनुहार र त्यो रात झलझली आइरहेको थियो । वास्तवमा समाचारमा त्यही डीआईजीकी श्रीमतीको हत्या भएको बताइएको थियो । हिजो भएको भनिएको घटनाले म अक्क न बक्क भइगएँ ।
बिल मेरो अघिल्तिर तेस्र्याएर रिसेप्सनिस्ट अघिदेखि प्रतीक्षामा रहेछ । ऊ घरि मलाई त घरि समाचार दिइरहेको टीभीलाई हेर्दै रहेछ । धेरैबेर पछि मैले उसको बिललाई ध्यान दिएँ । त्यसपछि पैसा तिरेँ ।

बाटोभरि मलाई त्यो रात अनि भवलाल र ती महिलाको हत्याको घटनाले पछ्याइरह्यो । यसरी त्यो रात देखिएकाहरूकै हत्याले मचाहिँ रन्थनिनु कति जायज थियो मलाई थाहा भएन । तर, सोची ल्याउँदा यो कुनै तानाबानाले भएको हत्या हो भन्ने लाग्यो । कुनै षड्यन्त्रको गन्ध छ झैं लागेर आयो । मभित्र भने एउटा अनौठो किसिमको डरले प्रवेश गरेको थियो ।
कोठामा पुग्दा साँझै पर्‍यो । कोठा डुङ्डुङ्ती गन्हाएको थियो । झ्याल खोलेँ । झ्याल हुँदै हावा छिर्‍यो । विस्तारै कोठामा नयाँ हावाले स्थान लियो अनि कोठा अलि गन्हाउन छोड्यो । त्यस्सै थाकिएछ । म ओछ्यानमा पल्टिएँ ।

ब्यूँझिनासाथ चिया पिउन मन लाग्यो । कालो चिया बनाएँ । चिया पिउँदै झ्यालबाट बाहिर हेर्न थालेको मात्र थिएँ त्यही घरमा आँखा पुग्यो, जहाँ मैले धेरै दिनदेखि नजर पुर्‍याएको थिएँ, जहाँबाट मेरो रहरको गुलाब चोरेको थिएँ । जब मूलढोकामा नजर पुग्यो, टक्क अडिएँ । एउटा परिचित झैं अनुहार थियो, जसलाई मैले यसभन्दा अघि पनि कतै देखेको थिएँ । किन उसलाई हिजो-अस्ति देखेको हुँ भन्ने भ्रम भइरहेको छ मलाई ?

वास्तवमै हो नि ! केही दिनदेखि जब म अदृश्याको खोजीमा थिएँ, यो अनुहार मेरो वरिपरि कुनै बेला देखा पथ्र्याे । कुनै बेला अलि परै हुन्थ्यो । कतिपटक त मैले देखेर पनि बेवास्ता गरेको थिएँ । ऊ के-के गरिरहेको हुन्थ्यो । के यसले मेरो पिछा गरिरहेको थियो ? प्रश्न दिमागमा आउनासाथ म उभिएको धरातल भासिएझैं भयो । म कुनै चक्रव्यूहमा फसिसकेको अनुभव गर्दै थिएँ । अचानक थरथर काप्न थालेँ ।

नीलो गुलाब चोर्न त्यस रात जब म तेस्रो तलामा पुगेँ, पुरुषको आवाज सुनेर म एकछिन अलमलिएको थिएँ । डीआईजी आज आएका थिएनन् । के डीआईजी आएको हो ? मेरो मनमा ढ्यांग्रो बज्यो । मुटु बेतोडले हल्लिरहेको थियो । त्यही बेला डीआईजीकी स्वास्नी कोठाबाट बाहिर निस्किइन् । त्यो थाहा पाएर म नजिकैको अर्काे कोठामा लुसुक्क पसेँ, जुन पुराना सामान राख्ने भण्डार कोठाजस्तै लाग्थ्यो । म केही बेर त्यहीँ चाल मारेर बसेँ । म जहाँ बसेको थिएँ त्यहाँ पुराना थोत्रा झोलाहरू थिए, छामेँ । थोत्रा झोलाभित्रको बस्तुले मलाई लोभ्याएझैं भयो ।

झोलाभित्र पैसाका गड्डीहरू थिए । यस्ता थोत्रा झोलामा पैसा ? म अचम्म मान्दै थिएँ । यो कालो धन हुनुपर्छ । मेरो मनले यसै भन्यो । अनायासै एउटा झोला बोकेछु । ढोकाबाट बाहिरको आवाज सुनेँ । फेरि त्यही कोठाभित्र अनौठो आवाज आइरहेको थियो । म खुसुक्क बाहिरिएँ । चाल मार्दै त्यो कोठाको झ्यालमा पुगेँ जहाँ ती दुई थिए । उनीहरूको रतिराग हेरेपछि, नीलो गुलाब चोरेर म लुसुक्क बाहिरिएको थिएँ ।

साँच्चै भन्नुपर्दा त्यो झोलाको पैसा खर्च गर्दै अदृश्याको खोजीमा लागेको थिएँ । मैले त्यही झोलाको रुपैयाँ खर्च गरेको थिएँ । अहिले सम्झिँदा पो एउटा सम्भावित भयले डेरा जमायो । म साँच्चै नै फसिसकेको पक्कापक्की भयो । के त्यो कालो धन हराएपछिको कुनै खोज थियो यो ? मेरो पिछा हुँदै रहेछ यो सहरमा, जुन कुराको मैले भेउसम्म पाएको थिइनँ । हे भगवान ! यो के भयो ? म आत्तिएँ।

अदृश्याले कुन प्रहरीको अनुसन्धान गरेकी थिई ? उसको अनुसन्धान कालो धन कमाउने प्रहरीबारे थियो रे ! के उसले त्यो धनबारे थाहा पाएकी थिई ? जसलाई मैले पनि चोरेको थिएँ भन्दा हुन्छ । हे दैव ! मैले पनि त त्यो कालो धनलाई उडाएको थिएँ । यस्ता विचार आउँदा नआउँदै गेटपालेमा मेरो नजर पुग्यो । ऊ त्यही थियो, घरिघरि उसले मेरो झ्यालतिर नजर पुर्‍याएको म चाल पाउथेँ । अबचाहिँ मैले आफूलाई सुरक्षित नरहेको पक्का गरेँ ।

अचानक म आफूलाई असुरक्षित मानिरहेको थिएँ । झटपट झ्यालको पर्दा लगाएँ । कोठाबाट भाग्न मन लाग्यो । तर, कहाँ जाऊँ ? म छटपटिन थालेँ । साँच्चै आफूलाई सम्हाल्न नसकेरै म कोठाबाट त्यसै भागेछु । निस्किने बेलाचाहिँ टेबलमा त्यसै पल्टिरहेको ओइलाएको त्यो नीलो गुलाबमा आँखा पर्‍यो । त्यो नीलो गुलाब त्यहीँ अलपत्र छाडेर म बाहिँरिएँ ।
(यो कथा तपाईं जुन पत्रिकामा पढिरहनुभएको छ, त्यही पत्रिकामा कृपया हेर्नुहोला, मेरो हत्या भएको समाचार पक्कै छापिएको हुनुपर्छ ।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.