वृद्धाश्रममा रहेकी आमालार्इ छोराको यस्तो सम्बोधन
आमा तिमी......
मेरो उत्तरोत्तर प्रगतिको
सुस्वास्थ्य र दिर्घायुको
कामना गरी रहन्थ्यौं अरे,
मैले तिमीलाई थन्क्याएको
वृद्धाश्रमबाट !!
काखमा तिम्रा लडीबुडी गरेका मेरा
बाल्यावस्थाका क्रीडा स्मरणहरू
बखान गरी रहन्थ्यौ अरे,
मैले तिमीलाई थन्क्याएको
वृद्धाश्रमबाट !
जसोतसो छाक टार्न तिमीले
निस्तो ढिंडो पानी सित निल्दा
गाँस मेरो सम्झी रहन्थ्यौ अरे,
मैले तिमीलाई थन्क्याएको
वृद्धाश्रमबाट !!
ठसक्क पर्दा म आशय बुझेर मेरो
मेरा सामु दुधको गिलाँस खुसुक्क
सारेर दिने गरेको सम्झी रहन्छ्यौ अरे,
मैले तिमीलाई थन्क्याएको
वृद्धाश्रमबाट !!
पौंठेजोरी खेलीरहँदा थाङ्नाहरूले
पुस-माघको सिरेटो सित तिम्रा
पच्छ्यौरीले मलाई जोगाएको
क्षण हरक्षण सम्झी रहन्थ्यौ अरे,
मैले तिमीलाई थन्क्याएको
वृद्धाश्रमबाट !!
भेट्न आउँथे बेलाबखत म तर
ममतारुपी अन्त:करणले सदैव
तिमी नियाली रहन्थ्यौ अरे,
मैले तिमीलाई थन्क्याएको
वृद्धाश्रमबाट !!
ईच्छा आकाँक्षाहरू सदैव मेरा
प्राथमिकतामा राखी तिमीले
आफ्ना चाहिँ बली चढाई रहन्थ्यौ अरे,
मैले तिमीलाई थन्क्याएको
वृद्धाश्रमबाट !!