मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइयो
काठमाडौँ : आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइएको छ।
आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ। जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य बैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ। असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दशैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा दिउँसो दुई बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिइन भने प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो चार बजेपछि सर्वसाधारणलाई प्रधानमन्त्री निवास बालुवाटारमा टीका लगाइदिएका थिए।