जेरी-स्वारी

जेरी-स्वारी

‘मलाई पनि एउटा पोलेको मकै दिनुहोस् त दिदी', सडकपेटीको एउटा कुनोमा बसेर मकै पोल्दै गरेकी एउटा अधबैंसे महिलाको अघि उभिएर मैले भनेँ ।
‘एकछिन पर्खनु पर्छ । पैले यी चारवटा मकै पोलेर ऊ त्यो पर्तिरको साहुलाई दिउँ अनि तपाईंको लागि पोलौंला है ।', उनले आगोमा राखेको मकै घुमाउँदै भनिन् ।

‘म यो मुडामा बसुम् ? ', मैले उनको अघिल्तिर भएको एउटा पुरानो थोत्रिइसकेको मुडातिर देखाउँदै सोधेँ ।
‘हुन्छ बस्नुस् न । त्यो बस्नैका लागि हो ।', त्यति भनेपछि उनी फु फु गर्दै त्यसबाट खरानी झार्न थालिन् ।
मैले हातमा झुन्ड्याएको झोला त्यहीँ भुइँमा राखेँ र काँधमा भएको ब्यागलाई काखमा राखेर मुडामा बसेँ ।

“मकै त सकिइसकेको जस्तो छ नि त ? ” उनको छेउमा राखिएका बोरामाथि केही हरिया मकै देखेर मैले प्रश्न गरेकी थिएँ ।
“अँ आज बिहानदेखि अहिलेसम्ममा सानो बोराको एक बोरा मकै सिद्धिसकियो भने पनि भो ।” उनले भरभराउँदो आगोबाट मकै निकालेर छेउमा राखिन् र खोस्टा सँगैको चार ओटा हरिया मकै फेरि आगोमाथि राखिन् ।

त्यति नै खेर एउटा १२, १३ वर्षको केटो आएर उनको अघि फ्यात्त सय रुपैयाँको नोट फालेर भन्यो, ‘ल ल चाँडो दिनु अरे मकै । साहुलाई भोक लागिसक्यो रे ।'

‘तिम्रा साहुलाई पनि जहिल्यै हतार मात्र परेको हुन्छ । आगो लिन पठाएका जस्तो पेटभरि भात खाएर आउँदैनन् कि क्या हो ? ', पोलेको मकै जति नपोलेको मकैको हरिया खोस्टामा राखेर थोरै नुन र हरियो खुर्सानी पिसेको धुलोसमेत भिन्दै खोस्टोमा थोरै राखेर उसलाई दिँदै भनिन् तिनले ।
‘उनको कुरा सुनेर केटो हाँस्यो । म पनि हाँसे । उनी पनि मलाई हेरेर हाँसिन् ।'

उनले फेरि मकै पोल्दासम्म मैले उनलाई हेरिरहेँ । उनको उमेरले ४० नाघेको छैन होला जस्तो लाग्यो मलाई ।
गहुँगोरो भएकी भए तापनि कसिलो जीउडाल भएकी र अनुहारमा एउटा भिन्दै प्रकारको लालित्य थियो उनीमा ।

तरुनी छँदा निकै राम्री थिइन् होलिन् यिनी । उनको बाक्लो कपाल र आगोको रापले गर्दा राता भएका गालातिर नजर डुलाउँदै मनमनै सोचेकी थिएँ मैले ।
त्यति नै खेर एउटा अधबैंसे अग्लो मानिस आएर उनको आडैमा झोलाभरिको मकै राखिदिँदै भन्यो ।

‘ल यो मकै राख यतिमात्र पाएँ । अरू त छिप्पिएको जस्तो लाग्यो र ल्याइनँ । भोलि बिहान सबेरै मकै भाँचेर राखिदिउँला भनेका छन् उताकाले आज उता जान भ्याइनँ । भरै फेरि छोरीलाई लिएर बजार जानु परेको छ । उसलाई नयाँ जुत्ता र झोला चाहियो अरे ।'
बोल्ने मानिसको अनुहारतिर नहेरेर एकनाससँग चुपचाप मकै पोल्नमा तल्लिन थिइन् उनी ।
‘ए.. ! ज्या मैले त त्यो ल्याउन बिर्सिएँछु ।'

नीलो जिनको सुकिलो पाइन्ट र कालो टिसर्ट लाएको त्यो मानिस त्यति भनेपछि हतारहतार बाटो काटेर पारिपट्टि गयो ।
र, त्यहाँ राखिएको एउटा ठेलागाडाबाट केही सामान राखेको झोला लिएर उस्तै हतारका साथ बाटो काटेर फेरि आयो ।
‘ल यो राख ।'

उसले दुवै खुट्टा पसारेर मकै पोल्दै गरेकी आइमाईको काखमै पर्ने गरी त्यो सामान भएको झोलाको सानो पोको हुत्यायो ।
‘के हो यो ? ', अब भने त्यो आइमाइले झर्को मानेको झैँ गरेर त्यो मानिसको अनुहारमा दृष्टि गाडेर सोधी ।
कुनै बिठ्याइँ गरेपछि आँखाभरि अनुनयपूर्ण निर्दोषपन र ओठमा कोमल मुस्कान लिएको बालकझैं देख्छु म त्यो क्षणमा त्यो मानिसको अनुहार ।
‘मैले भन्याकी थिएँ र यो ल्याउनु ? ', उसको बोलीको कठोरता अथवा विरक्तिपन मैले ठम्याउन सकिनँ ।

‘तिम्लाई जेरी र स्वारी मनपर्छ भनेर ल्याइदेको नि । एउटा फ्रुटी पनि छ ।'
आफ्नो कुरा सिद्धिनासाथ त्यो मान्छे तुरुन्तै त्यहाँबाट हिँड्यो ।
म चुपचापै त्यो मानिस गएतिर हेरिरहेँ । ऊ फूर्तिसाथ बाटो काट्छ र पारि पुगेपछि यतातिर हेर्दै नहेरी गाडा धकेल्दै पूर्वतिर लाग्यो ऊ ।
त्यो मानिस अलि टाढै पुगेपछि मैले उनलाई हेरेकी थिएँ । उनी एकोहोरिएर उतै ऊ गएतिरै हेरिरहेकी थिइन् ।

‘दिदी मकै त डढ्न पो लाग्यो त ।', भन्दै म आफैंले आगोमा राखिएको मकै समात्न पुगेँ ।
‘ए...ज्या... म त.....।'
उनले यतिमात्र भनिन् । र फेरि मकै पोल्नमा तल्लिन भइन् ।
‘यति माया गर्दा रहेछन् तपाईंको श्रीमानले तपाईंलाई त', मैले उनीतिर हेरेर भनेँ ।
‘के को मेरो श्रीमान् हुनु त्यो । कोही होइन ऊ मेरो । न त घरतिरको न त माइततिरको नै ।', उनले मतिर नहेरेरै भनिन्, ‘हाम्रै गाउँको घर्ती बाको छोरा हो ।'

‘ए म त तपाईंको श्रीमान् पो होला भन्ने सोचेकी थिएँ', मैले भनेँ ।
‘ श्रीमान् भनाउँदाले त उहिल्यै अर्की तरुनी च्यापेर हिँडिसक्यो नि मुग्लानतिर । यो कृष्णे नभएको भए म हर नचल्ने आइमाईको कस्तो दशा हुन्थ्यो होला । उही बाटोमा कपडा फिँजाएर भीख माग्दै पेट पाल्नुपर्नै हुने थियो ।', हरियो खोस्टामा पोलेको मकै र नुन खोर्सानीको धुलो राखेर मतिर बढाउँदै भनिन् उनले ।

‘हर चल्दैन ? के भयो र तपाईंलाई मैले त दिनभरि एकै ठाउँमा बस्दाबस्दा थाकेर पो खुट्टा तन्काएर बस्नु भएको होला भन्ने ठानेकी थिएँ ।', मैले उनको शरीरतिर हेर्दै भनेँ ।
‘जंगलमा दाउरा खोज्न गएको बेला रूखको हाँगो भाँच्चिएर बजारिन पुगेकी थिएँ अक्करे भीरबाट तल भुइँमा ।' भुंग्रोमा दुई, चार मकै राख्दै भनिन् उनले, ‘पैले त गाउँमै ठीक होला भनेर त्यहीँ नै झारफुक गरियो त्यतिले नभएपछि महिनादिन जति त बाँसको काम्रो बाँधेर राखेका थिए । तर दुखाइले झन्झन् दुःख दिन थालेपछि यै कृष्णे अनि त्यो लोग्ने भनाउँदो जगते सबै भएर यहीँ काठमाडांैमा ल्याएर वीर अस्पतालमा भर्ना गरिदिए । पहिल्यै आउन पाएकी भए ठीक हुनेथियो कि...डाक्टरले कम्मरको र पिँधको हड्डी पनि भाँचिएको छ, ठूलै अप्रेसन गर्नुपर्छ समय पनि धेरै लाग्छ भनेका थिए । अप्रेसन गराउनको लागि पैसा लिएर आउँछु भनेर मलाई अस्पतालमा छोडेर गाउँ गएको मान्छे उतैबाट पल्लो गाउँकी एउटी तरुनी साथ लिएर हान्निएछ मुग्लानतिर ।' त्यसपछि उनले अरू पनि हरियो मकै आगोमा राखिन् तर आगो फुकिनन् ।

‘ए उसो भए तपाईंको त बिचल्ली नै पो भएछ त होइन ? ', मैले भनेँ ।
‘बिचल्ली नै हुने थियो तर यो कृष्णेले ज्याला मजदुरीको काम गरेर पनि मेरो हेरविचार गर्‍यो । लगेर आफ्नै कटेरोमा राख्यो । बिचरो आफू पनि वागमती किनारमा एउटा सानो कटेरो बहालमा लिएर बसेको रहेछ । त्यहीँ लगेर राख्यो मलाई र पछि उसकी दिदी पर्नेलाई भनेर मेरी छोरीलाई पनि झिकायो । म यता उता हर चलाउन नसक्ने भएपछि उसैले मेरो फोहोर सफा गरिदिने, नुहाइदिने, कपडा धोइदिने, सबै गर्‍यो । छोरीको स्याहार पनि उसैले गर्‍योे ।
त्यसपछि हामी तीनैजनासँगै एउटै छानोमुनि एउटै कोठामा, एउटै कसौंडीमा पर्काका भात खाएर बस्न थाल्यौं ।

के गर्ने आफू कतै जान नसक्ने । उसैले दिनभरि गाडा चलाएर मेरो औषधिमुलो गर्‍यो र बल्ल अलि चल्न थाल्यो मेरो जिउ । अहिले पनि यसो अलिकति गह्रौँ सामान उचाल्नुपर्‍यो भने ढाड दुखेर मर्र्छु कि जस्तै हुन्छ ।', उनले भनिन् ।
‘तपाईंको घरपट्टिको र माइत पट्टिकाहरूले मद्दत गरेनन् त ? ', मैले सोधेँ ।

‘उनीहरू आफैंलाई त हात मुख जोर्न धौ धौ छ कहाँबाट मलाई मद्दत गर्न सक्थे र ? गरेनन् ।', उनले गम्भीर हुँदै भनिन् ।
‘कस्तो अचम्म तपाईंहरू लोग्नेस्वास्नी पनि होइन । र, आफ्नो पर्ने नातेदार पनि होइन । फेरि कुन नाताले तपाईंहरू यसरी एउटै छानामुनि बसेको होला ? ', मैले आफैंसँग बोलेको झँै गरेर भनेँ उनलाई ।
‘खोइ ।', उदास अनुहार बनाएर बोलिन् उनी ।

‘म हिँड्न सक्तिनँ । अनि बिहान बेलुका यहाँ ल्याउने र भरे घर पुर्‍याउने उसैले गर्दछ त्यै गाडामा राखेर । गह्रुँगो पनि केही उचाल्न सक्दिनँ । अनि यस्तैसँग उसको ....।', बोल्दाबोल्दै फिस्स हाँसिन् उनी ।
‘दिदी अर्काे एउटा कलिलो मकै पोल्नुस् त । मलाई त मीठो लाग्यो तपाईंको मकै ।', मैले भनेँ उनलाई ।

‘छोरीलाई धेरै पढाएर नर्स बनाउने हो भन्छ ऊ । छोरीको बाउ भनाउँदोलाई चाहिँ छोरीको खोजखबर गर्ने फुर्सद पनि छैन । तिमी हाम्रो लागि आफ्नो जीवन बर्बाद नपार । बिहे गर । पछि बुढेसकालमा कस्ले तिम्रो स्याहार गर्ला भनेर कति भन्छु तर मेरो कुरो सुन्ने होइन । मैले बिहे गरेँ भने तिमीहरू आमाछोरीको बिचल्ली हुन्छ भन्छ ।'

‘ए .....उसो भए उनले तपाईंलाई प्रेम गर्दा रहेछन् होइन त ? ', आँखा थोरै चञ्चल गराउँदै सोधेँ मैले ।
‘ऊ पनि यसै भन्छ । म तिमीलाई पिरेम गर्छु । पहिले पनि गर्थें अहिले पनि गर्छु र बाँचुन्जेल गरिरहन्छु भन्छ । कस्तो अबुझ लट्ठु होला ।', गालाभरि राता गुराँस फुलाउँदै भनिन् उनले ।

‘ए उसोभए मैले भनेको ठीकै रहेछ उनले तपाईंलाई प्रेम गर्दा नै रहेछन् ।', मैले हाँस्दै भनेँ ।
‘खोइ यो पिरेम भन्ने पनि बुझी नसक्नुको लाग्यो मलाई त अब त छोरीले पनि उसैलाई आफ्नै बाबा ठान्न थलिसकेकी छ । नागरिकतामा बाबुको नामको ठाउँमा मेरो नै नाम लेखाउँछु भन्छ । ऊ त लोग्ने मान्छे हो कति दिन मलाई पिरेम गरेर मन मारेर बस्न सक्छ होला र भन्ने ठान्थेँ मैले ।', उनले भनिन् ।

‘भन्ने ठान्थेँ..? ', के भन्नु भएको तपाईंले ? उनको कुरा सुनेर अधिर भएर प्रश्न गरेँ मैले ।
‘ए दिदी अरु पाँचघोघा मकै पोलेर राख है । म एकछिनपछि लिन आउँछु लिन यो पैसा राख ।', उत्ति नै खेर उही अघि केहीबेर अघि आएको केटो आयो र उनको काखमा पैसा हुर्‍याएर फर्की पनि हाल्यो ।

उनी फेरि हरियो मकै आगोमा राखेर टिनको पातोले आगो हम्किँदै मकै पोल्न थालिन् ।
मेरो मनमा उनीहरूको सम्बन्धलाई लिएर अनेक थरीका कुरा खेल्न थाल्यो । के पुरुष यस्तो पनि हुन्छ ? मात्र आफूले प्रेम गरेको भरमा स्त्री सुख नभोगीकनै त्यो स्त्रीसँग कसरी बिताउन सक्ला र आफ्नो सारा जीवन । कसरी थुमथुम्याउला र उसले आफ्नो दैहिक चाहनालाई ?
‘दिदी म तपाईंसँग एउटा प्रश्न सोध्छु है नरिसाउनु ह', मैले उनलाई भनेँ ।

‘रिसाउँदिन सोध्नु न ।', उनले भनिन् ।
‘के तपाईंलाई उनी माथि यति विश्वास छ कि उनी तपाईंलाई छोडेर अन्त कतै पनि जाँदैनन् भन्ने ? ', मैले सोधेँ ।
‘हाम्लाई छोडेर त ऊ कतै पनि जाँदैन । त्यो विश्वास छ मलाई तर कहिलेकाहीँ यसो बाहिर चर्न त गइहाल्छ नि, त्यो त मैले रोकेर रोकिने पनि त होइन ।', उनले सहज भएर भनिन् ।

चकित भएँ म । उनको यो रूप र जवाफ सुनेर ।
‘उनी बाहिर चर्न गएको कुरा तपाईंलाई थाहा छ त ? ', मैले आश्चर्य मान्दै सोधेँ ।
‘किन थाहा नहुनु त नि । हाम्रो मनपेट नै एउटै छ अनि त थाहा भइहाल्छ नि...।', उनले सजिलैसँग उत्तर दिइन् ।
‘ए...तपाईंलाई भनेर जान्छन् त', मैले प्रश्न गरेँ ।

‘अँ चर्न गएको कुरा पनि भन्छन् र लोग्ने मान्छेले ? उनले नभने पनि मलाई थाहा भने भइहाल्छ नि ।', उनले फेरि पनि ढुक्कसँग भनिन् ।
‘अनि तपाईंलाइै कसरी थाहा हुन्छ त ? ', मैले जिज्ञासा पोखेँ ।

‘ऊ अघि देख्नु भएन ? घोसे मुन्टो लाएर जेरी स्वारी लिएर आएको ? हो त्यसरी नै थाहा हुन्छ मलाई ऊ चर्न गएको रहेछ भन्ने ।', अनुहारमा बादल लागेको जस्तो कतै शून्यतातिर आँखा गाडेर फिस्स हाँसेर भनिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.