न्यानो

न्यानो

आफ्नै पिसाब गोडामा परेपछि मननारायण कुसवाहाले बाथरुमको भित्तोबाट सुस्तरी झरिरहेको तातोपानीको सावर बन्द गर्‍यो । सावरबाट मन्द गतिमा झरिरहेको तातोपानीबाट प्राप्त आनन्दभन्दा कैयौं गुणा बढी आनन्द पिसाबको न्यानोले दिएको उसलाई अनुभूति भयो । ऊ पिसाब कहिले दायाँ त कहिले बायाँ गोडामा पार्न थाल्यो ।

नुहाउनका लागि बाथरुम पस्नुभन्दा केही मिनेटअघि उसले झन्डै एक लिटर पानी पिएको थियो । त्यसैले पिसाब अलि लामो समयसम्म आइरह्यो निरन्तर । केही बेरमा पिसाब बन्द भयो । सर्वांग नांगो उसलाई पुनः सावर खोलेर तातोपानीमा नुहाउन पटक्कै मन लागेन । स्याम्पु लगाइनसकेका कारण पखाल्ने काम पनि गर्नु परेन ।

 

मननारायणका आँखा बाथरुमको ऐनामा गएर टक्क अडिए ।बयालीस वर्ष पुगेको ऊ फर्किएर बाह्र वर्षमा गएर अड्कियो ।मोटाएर बयानब्बे किलोग्राम भएको ऊ फेरि बाइस किलोमा झर्‍यो । ललितपुर उपमहानगरपालिकाको पुल्चोकस्थित मन्त्री क्वार्टरबाट फर्किएर ऊ धनुषाको बुहारीगाउँमा गयो ।गुलाफी सुगन्धले मग्मगाएको सय वर्गफिटको बाथरुमबाट बाहिरिएर ऊ बुहारीगाउँको धुले सडकमा पुग्यो ।

सधैं वरिपरि रहने सेनाको सुरक्षा छाडेर ऊ तीनजना बालसखाबाट घेरियो ।चारैजना भैंसीको पीठबाट तल भुइँमा ओर्लिए । शीतले लफ्रक्कै भिजेका कारण जमिनबाट धुलो उड्न सकिरहेको थिएन । बुहारीगाउँमा शीतलहर नचले पनि कात्तिक महिनामै जाडो बढ्ने क्रम सुरु भएको थियो । पातला लुगामा रहेका मननारायण कुसवाहा र उसका साथीहरू न्यानोको खोजीमा थिए । बाटोका ठाउँठाउँमा घुर ताप्नेहरू एकत्र भएर बसेका थिए । मननारायण र उसका साथीहरूलाई भैंसी पनि चराउनुपर्ने थियो, त्यसैले उनीहरू जहाँ घुर देख्यो त्यहीँ बसेर जाडो भगाउन पाउँदैनथे ।

बालकहरू लस्करै उभिएर पिसाब फेरिरहेका थिए । र, तिनले पिसाब आआफ्ना गोडामा पारिरहेका थिए- कहिले देब्रे त कहिले दाहिने गोडामा । मननारायणले जिपको ब्रेक दबायो ।

जाडो बढेका कारण भैंसीहरू चर्न उतिसारो मन गरिरहेका थिएनन् । मननारायण र उसका साथी मिलेर अलि परको जंगलछेउबाट झिक्रा खोजेर ल्याए र बाल्न थाले । आगो बल्यो, सबै मिलेर तापे । चिसोबाट केही राहत मिले पनि दिगो न्यानो त्यो थिएन ।

अघिल्लो दिन पनि घाम राम्ररी लागेको थिएन । एक साता अघिदेखि नै घाम झल्याकझुलुकमात्र देखिएको थियो, त्यसैले कतिपय किसानले भैंसी बाहिर निकाल्नै छाडेका थिए । मननारायण र उसका केही साथी स्कुल जाँदैनथे । हुनेखाने घरका बालबालिका स्कुल गएको टोलाएर हेर्थे मात्रै ती । घर बसेर पनि केही काम नहुने भएकाले तिनलाई भैंसी चराउन बाहिर लैजानु नै ठीक लाग्थ्यो । तिनका आमाबाबु पनि यही चाहन्थे ।

मननारायणकी आमा थिइनन् । उसकी आमाले यो संसार त्याग्दा ऊ केवल तीन वर्षको थियो । घरमा आमाको कुनै फोटो छैन । त्यसैले उसलाई आमा कस्ती थिइन्, कुन रूपकी थिइन् केही पत्तो छैन । गएको वर्ष उसले आफ्ना बाबुलाई सोधेको थियो— माईलाई के भएको थियो बाबु ? किन माई मरिन् ?

'शीतलहरले खायो तेरी माईलाई मने', उसका बाबुले उत्तर दिएका थिए ।त्यस दिनदेखि मननारायणलाई जाडो महिना आयो कि डर लाग्छ । आमालाई जस्तै कतै बाबुलाई पनि शीतलहरले नखाओस् ! बाबु भएनन् भने त मननारायण कसरी बाँच्छ ? ऊ एक्लो हुनेछ । एक्लै भैंसी कसरी पाल्नु ? दूध दुहुनु कसरी ? दुहेको दूध कहाँ लगेर बेच्नु ? खपरैल छाप्रोमा एक्लै राति सुत्नु कसरी ? उसको मन अमिलो हुन्छ कल्पना गर्दा पनि ।

उसका बाबुले अर्को बिहे गरेनन्, युवा उमेरमै पत्नी गुमाए पनि । मननारायणकै रेखदेखमा बिताए । मननारायणले पढोस् भन्ने पनि चाहन्थे उसका बाबु । तर, स्कुल अलि पर थियो, फेरि दिनभरि मालिकको घरमा काम गर्न जानु पनि पथ्र्यो । मननारायणलाई पढ्न पठाउँदा भैंसी पाल्न सकिन्नथ्यो।

गाउँकै एकजना साहूको घरमा काम गर्दागर्दै मननारायणकी माईलाई जाडोले समातेछ । त्यो वर्ष बुहारीगाउँमा एक महिनादेखि घाम लागेको थिएन । थुप्रै बूढापाका र बालबालिकालाई उक्त सालको शीतलहरले आफ्नो पन्जामा पारेको थियो । मननारायणलाई जसोतसो उसका बाबुले जोगाएका थिए । त्यो सालजस्तो चिसो त जीवनमा कहिल्यै नभोगेको भुक्तभोगीहरू बताउँथे ।
आफ्नो घरमा काम गर्दागर्दै मृत्यु भएकाले मननारायणका बाबुलाई साहूले क्षतिपूर्तिस्वरूप एउटा भैंसी र अलि परतिरको एउटा खपरैल छाप्रो दिएका थिए । त्यही भैंसीको कमाइले मननारायण र उसका बाबुको दैनन्दिनी चल्दै आएको थियो । दिनहुँ भैंसी चराउन लैजानु, नजिकैको पैनीमा भैंसीलाई नुहाइदिनु मननारायणको जिम्मेवारी थियो । ऊ आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आइरहेको थियो ।

मननारायण र उसका साथीले सल्लाह गरे, भैंसी घर फर्काउने । जाडो बढेर शीतलहर चल्ने संकेत दिइरहेको थियो । त्यसमाथि मन्द हावा पनि चल्न थाल्यो ।
मननारायणलाई पिसाबले च्याप्यो । उसले साथीहरूलाई भन्यो— म पिसाब गरेर आउँछु अनि भैंसी लैजाऊँला ।

पिसाब फेर्न मननारायणमात्रै गएन, ऊसँगै अन्य तीनजना पनि गए । जसले पिसाब फेर्ने प्रस्ताव पहिला गरे पनि ती पिसाब फेर्ने कर्म भने एकैपटक गर्थे । एकजनालाई पिसाब आएपछि सबैलाई आउँथ्यो ।

मननारायणले पिसाबको पहिलो थोपोदेखि अन्तिम थोपोसम्मै आफ्ना दुवै गोडामा पार्‍यो । उसका साथीहरूले पनि त्यसै गरे । मननारायण पिसाब फेरिसकेर गोडा रगड्न थाल्यो । कहिले देब्रेले दाहिनेमा त कहिले दाहिनेले देब्रे गोडा रगड्न थाल्यो । उसका साथीहरू पनि त्यसै गर्न थाले । 
तिनका गोडाबाट मयलका पत्रपत्र भुइँमा झरे । गोडाका माथ्लापट्टिका भाग सफा देखिए ।
चिसोले कठ्यांग्रिएर जमिनको स्पर्श पनि अनुभूत गर्न नसकेका तिनका गोडाले पिसाबको न्यानोबाट केही क्षण भए पनि राहत महसुस गरे ।

जाडो महिनामा पिसाब गोडामा नपारी त्यसै फाल्नुपर्दा तिनले ठूलो कुरो गुमेको ठान्थे ।
कसैले तिनलाई सिकाइदिएको थियो, जाडो महिनामा धेरै पानी पिएपछि पिसाब आइरहन्छ । चिसो पानी सकिनसकी खुबै पिउँथे चारैजना । जाडो महिनामा पिसाबको न्यानोले गोडा भिजाउनु तिनको मीठो दैनिकी बनिसकेको थियो । यही मीठो दैनिकीले तिनको आदतको रूप लिएको थियो ।

मननारायणलाई हेक्का छैन, उसले कहिले र कुन उमेरदेखि पिसाबको न्यानोले आफ्ना गोडा जोगाउन छाड्यो । उसका गोठाला साथीहरूले पनि पिसाबको न्यानो बिर्से वा सम्झिरहेका छन् ? उसलाई यो पनि थाहा छैन । त्यति मात्र होइन, गोठाला साथीहरूको हालखबर के छ पनि उसलाई पत्तो छैन । तिनलाई गाउँ गएर भेट्ने फुर्सद पनि छैन उसलाई ।

चौध वर्ष टेकेको मात्र थियो मननारायण त्यस बखत । उसलाई अचानक क्रान्तिकारीहरूले आफूसँग लिएर गएका थिए । चारजना सँगै भएका बखत किन क्रान्तिकारी जत्थाले उसलाई मात्र तानेर लग्यो ? के देखेका थिए मननारायणमा तिनले र उसलाई भैंसी चराउँदै गरेको अवस्थामै पक्रेर कतै अन्जान क्षेत्रतिर लिएर गए ? ऊ स्वयंलाई थाहा छैन उसले १० वर्ष बिताएको स्थान । त्यो नेपालै थियो वा अन्त कतै ? त्यो पनि पत्तो भएन उसलाई ।

कहिल्यै गाउँ छाडेर टाढा नगएको चौध वर्षको बालकलाई थाहा होस् पनि कसरी ! उसलाई सावँला अक्षर भने घरमै बाबुले सिकाएका थिए । पढ्न खुबै मन गर्ने उसले विद्यालयको अनुहार पनि देख्न पाएन । तर, उसले अक्षर भने कहिल्यै भुलेन । बाटोमा फालिएका पत्रपत्रिका ऊ टपक्क टिपेर पढ्ने गथ्र्याे ।

मननारायणलाई राखिएको घर निकै ठूलो र अग्लो थियो । दोस्रो तलामा ऊ र अन्य क्रान्तिकारीहरू बस्ने गर्थे । तिनका एकजना प्रमुख थिए । उनलाई सबैले कमरेड चट्याङ भन्थे । मननारायणले पनि त्यसै भन्न थाल्यो । उसलाई भने अन्य साथीहरूले कमरेड मनु भन्थे । मननारायणलाई कमरेड भनेको के हो थाहा पाउन धेरै समय लागेको थियो ।

मननारायणको निश्छलता, इमानदारी, वाकपटुताबाट चट्याङ निकै प्रभावित थियो । प्रायः साँझपख बाहिर निस्कने चट्याङ फर्केर आउँदा थुप्रै पत्रपत्रिका बोकेर ल्याउँथ्यो । मननारायण ती पत्रपत्रिका सबै पढ्थ्यो, राति अबेरसम्म लगाएर । आफू र आफ्नो आन्दोलनको विरुद्ध लेखिएका समाचारमा चट्याङ रातो चिह्न लगाउँथ्यो । र, ती समाचार मननारायणलाई राम्ररी पढ्न भन्थ्यो ।
एक दिन कसैले मननारायणलाई उसका बाबु बितेको बताइदियो । त्यो पनि जाडोको महिना नै थियो । मननारायणलाई लाग्यो, बाबुलाई पनि शीतलहरले लग्यो । उसको बेचैनी निकै बढ्न थाल्यो । उसले चट्याङसँग घर जाने अनुमति माग्यो ।

'कमरेड मनु तपाईं के कुरा गर्दै हुनुहुन्छ ? तपाईं होशमा त हुनुहुन्छ ? मुलुकमा अहिले सशस्त्र द्वन्द्व चरमोत्कर्षमा पुगेको छ । राजाका सिपाहीहरू हामीलाई खोजिरहेका छन् । तिनले हामीलाई पाए भने सीधै गोली ठोकेर मारिदिने छन् । यस्तो अवस्थामा तपाईं गाउँ जाने कुरा गर्दै हुनुहुन्छ ! तपाईंको पिताजीको निधनको खबरले म पनि दुःखी छु । तर, यो मुलुकमा हाम्रा थुप्रै पिता छन्, तिनको सुखका दिन ल्याउन हामी यो महायुद्ध लडिरहेका छौं', चट्याङले श्वास नरोकीकनै भन्यो ।

समय बित्दै जाँदा मननारायणको दैनिकी अज्ञात स्थलको कोठामा बस्नु, आक्रमणका योजना सुन्नु, पत्रपत्रिका पढ्नुमा मात्रै सीमित रहेन । उसलाई कडा खालका शारीरिक व्यायाम, बन्दुक हान्ने, बम पड्काउने तथा लट्ठी चलाउने तरिकाजस्ता कुरा पनि सिकाउन थालियो । तर, कहिल्यै कसैसँग पनि उसले लड्नु परेन । सकेसम्म चट्याङले उसलाई बाहिर पठाएन, सधैं आफूसँगै राख्यो । आफ्नो सहयोगीजसरी काम लगाइरह्यो । चट्याङका लुगा धुनु, खाना बनाउनु र संसारमा चलेका ठूलाठूला युद्धका बारेमा बखान सुन्नु मननारायणको जिम्मेवारीजस्तै भएको थियो । मननारायणले यसलाई आफ्नो सौभाग्य ठानेको छ किनकि, उसले कसैलाई मार्नु वा कुट्नुपिट्नु परेको छैन । जोखिम मोल्नु परेको छैन ।

राजधानी र देशका विभिन्न भेगका सशस्त्र द्वन्द्वका सारा खबर त्यहाँ रहेका सबै क्रान्तिकारीलाई एउटै कोठामा राखेर चट्याङले सुनाउँथ्यो । राति सुत्ने बेलामा पनि चट्याङले आफूछेउमै सुत्न दिन्थ्यो मननारायणलाई । सुत्ने बेलामा ओछ्यानमा पल्टेर मननारायणलाई धेरै कुरा सुनाउँथ्यो चट्याङ । यसकारण पनि मननारायण मुलुकमा चलेको क्रान्ति, त्यसको सफलताबाट गरिब निमुखा जनतालाई हुने फाइदा, राजनीतिक परिवर्तन, राजामहाराजाका निरंकुशता, संसारका क्रान्तिकारी नेतालगायतका विषयमा अन्य साथीहरूभन्दा बढी जान्ने हुन पाएको थियो ।

पार्टीमा चट्याङ निकै माथ्लो स्तरको नेता रहेको उसले थाहा पायो । देशका विभिन्न स्थानमा रहेका पार्टीका ठूला नेतासँग उसले निरन्तर कुरा गरिरहेको सुनेको थियो मननारायणले ।
'यो आन्दोलन सफल भयो भने त कमरेड चट्याङ निकै ठूलो मान्छे बन्नुहुन्छ होला', मननारायण यति सोच्न सक्ने भइसकेको थियो ।

उमेरले पनि चौबीस टेकिसकेको थियो उसको ।एक साँझ चट्याङले कोठामा सबैलाई हाजिर हुन आदेश दियो । त्यसको जिम्मा मननारायणलाई दियो । मननारायणले सबैलाई तत्कालै कमरेड चट्याङको कोठामा भेला पार्‍यो ।

चट्याङको अनुहारमा त्यस दिन अनौठो मुस्कान थियो । उसको नामजस्तै कहिल्यै नहाँस्ने उसको मुहारमा किन अचानक त्यो कान्ति देखा पर्‍यो, मननारायण छक्क परिरहेको थियो । अन्य साथीहरू पनि चट्याङमा देखा परेको आकस्मिक र अकल्पनीय परिवर्तनप्रति आश्चर्यचकित भइरहेका थिए ।
चट्याङले हर्षित मुद्रामा एकपटक सबैजनासँग हात मिलायो र भन्यो— साथीहरू हामी सफल भयौं । पुरानो सत्ताले हामीसँग घुँडा टेक्यो । अब हामी चाँडै नै मुलुक चलाउने जिम्मेवारीमा पुग्नेछौं । हामी भोलि बिहानै राजधानीतर्फ प्रस्थान गर्नेछौं । तपाईंहरूलाई लिन बस आउनेछ, म र कमरेड मनु भने प्लेनमा जानेछौं ।

मननारायण थप आश्चर्यचकित भएको थियो, चट्याङले आफूलाई सँगै प्लेनमा काठमाडौं लैजाने कुरा गरेपछि ।कहिल्यै प्लेन नचढेको र काठमाडौंको कल्पना पनि नगरेको मननारायण सुरुमा त आत्तियो । तर, विस्तारै सब थोक सामान्य बन्दै गए ।राजधानी पुगेको केही दिनमै विद्रोही र अन्य संसद्वादी दल मिलेर नयाँ सरकार बन्यो । चट्याङले गरिबी निवारण मन्त्रीको जिम्मेवारी पायो । मननारायणलाई उसले पार्टीको स्वीकृतिमा सल्लाहकार नियुक्त गर्‍यो ।

'मलाई के थाहा छ र कमरेड तपाईंलाई मैले सल्लाह दिनु ? म राजधानी त भर्खर टेक्दैछु । न मैले राम्ररी पढेको नै छु न त अन्य पार्टीको कोही मान्छे नै चिनेको छु', मननारायणले आफ्नो निश्छलता छताछुल्ल पोख्यो ।

'तपाईंले केही पनि गर्नु पर्दैन कमरेड मनु । सधैं मेरो अफिस आउने, मलाई भेट्न आउनेलाई छानेर अनि मेरो समय सोधेर मसँग भेट गराइदिने । यस्तैउस्तै हो तपाईंको काम, विस्तारै सब थोक सिकिन्छ । चिन्ता नलिनुस्, म छँदैछु नि', चट्याङले सान्त्वना दियो ।मननारायणमा एकप्रकारको डर र उत्साह दुवै थियो । उसले चुपचाप चट्याङका कुरामा सहमति जनायो ।

'किन चट्याङले मेरा लागि यी सब गरिरहेका छन् ? ' मननारायणले आफैसँग प्रश्न गर्‍यो ।
मननारायणले आफूमा आएको परिवर्तनलाई विश्वासै गर्न सकिरहेको थिएन । आफूले भोगेको सुखसयललाई उसले सपना ठानेर धेरैपटक आफैंलाई चिमोटेको थियो । उसलाई अनौठो लागिरहेको थियो ।

सरकार बन्ने र ढल्ने क्रम नियमित चलिरहेको थियो । उसको पार्टीसँग अन्य पार्टी डराउँथे । त्यसैले उसको पार्टी पटकपटक सत्तासयर गर्न सफल भइसकेको थियो । परिवर्तनको अठाह्र वर्षको अवधिमा उसको पार्टीले पाँचपटक सत्तारोहण गरेको थियो ।

र, पाँचौं पटकमा स्वयं मननारायण गरिबी निवारण मन्त्री हुन पुगेको थियो । ऊ तराई–मधेसको कोटामा समानुपातिक सांसद बनेको थियो । उसलाई सांसद र मन्त्री बनाउन पनि चट्याङकै मुख्य भूमिका थियो ।

पुल्चोकस्थित मन्त्री क्वार्टर छान्ने क्रममा मननारायणले ठूलो बाथरुम भएको घर छानेको थियो । विस्तारै ऊ राजधानीको सभ्यता, राजनीति, कूटनीतिमा अभ्यस्त हुन थालिसकेको थियो ।
मननारायणलाई पुसको काठमाडौंको चिसोले झस्काइदियो । बाथरुममा निर्वस्त्र ठिंग उभिएको पनि एक घन्टा हुन लागिसकेको थियो । उसका गोडा भुइँको स्पर्श नै थाहा नपाउने अवस्थामा पुगेका थिए ।

उसले हत्तपत्त लुगा लगायो र बाथरुमबाट कोठामा पस्यो । कोठाको एअरकन्डिसन अन गर्‍यो ।
विस्तारै कोठा तात्दै गयो । तर, उसको मन भने तात्न सकेन । उसको मन फर्किएर पुनः बुहारीगाउँमा डुल्न थाल्यो ।

मननारायणले त्यो रात निकै कष्टका साथ बितायो । मुस्किलले ऊ एक घन्टा निदायो ।
ऊ गरिबी निवारण मन्त्री भएको तीन महिना नाघिसकेको थियो । तर, गाउँ जाने समय नै मिलेको थिएन ।भित्ताको घडीले बिहानको ६ बजाउँदै थियो । उसले मोबाइलको घडी पनि हेर्‍यो— ५ बजेर ४३ मिनेट गएको थियो ।

मननारायणले ग्यारेजबाट ल्यान्डक्रुजर जिप निकाल्यो । पार्टी, सरकार, सुरक्षा गार्ड कसैलाई पनि नभनी ऊ त्यहाँबाट बाहिरिएयो । मन्त्रीक्वार्टरको गेटमा बस्ने सुरक्षाकर्मीलाई भने उसले आफू गाउँ जान लागेको बतायो ।बिहानको ११ बज्नै लाग्दा ऊ बुहारीगाउँको सीमा प्रवेश गर्‍यो । गाउँ उस्तै थियो, मननारायण भैंसी गोठालो गर्ने समयकै जस्तो ।शीतलहरले बुहारीगाउँ आक्रान्त थियो । काठमाडौंको भन्दा धेरै गुणा बढी चिसो त्यो देहातमा थियो ।

उसले जिपको सिसा उघार्‍यो । चिसोको मुस्लो ह्वात्तै जिपभित्र प्रवेश गर्‍यो, साथमा जिपले नै उडाएको एक भारी धूलो पनि पस्यो ।मननारायणलाई त्यो धूलो सुगन्धित लाग्यो । उसले विस्तारै जिप हिँडायो ।केही पर त्यो चिसोमा पनि चारजना बालक भैंसी चराइरहेका थिए । 'यो शीतलहरमा किन भैंसी बाहिर निकाल्या होला !' मननारायणले आफैंसित प्रश्न गर्‍यो ।मननारायणको जिप गोठाला बालकहरू भएतिरै गुडिरहेको थियो ।

उसले देख्यो— बालकहरू लस्करै उभिएर पिसाब फेरिरहेका थिए । र, तिनले पिसाब आआफ्ना गोडामा पारिरहेका थिए— कहिले देब्रे त कहिले दाहिने गोडामा । मननारायणले जिपको ब्रेक दबायो । बालकहरू पिसाब फेरिसकेर आफ्ना गोडा रगड्न थाले । तिनका गोडाबाट मयलका पत्रपत्र निस्किरहेका थिए ।

ती चारजना बालकमध्ये एउटा आफू नै भएको महसुस भयो मननारायणलाई ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.