क्लाइमेक्स

क्लाइमेक्स

'कहिले आउँछस् घर ? ', फोनमा आमाले भनेपछि झल्याँस्स हुन्छु । आमालाई दिने जवाफ मस्तिष्कको कुनै पनि बगलीमा फेला पर्दैन । बस्, टोलाउँछु । 'खोइ', अन्योलको एउटा सुस्केरा फुस्किन्छ । फोन राखिदिन्छु । समयको एक झोक्का बतास मस्तिष्कका भित्ताहरूमा झटारो हानेर जान्छ । क्यालेन्डरका अंकहरूले चिथोर्न थाल्छन् । राता रङमा पोतिएका अंकहरूले भन्छन्— दसैं आइसकेछ, घर कहिले जान्छस् ?

दसैं अचेल घर जाने मौसम भएर आएको छ । सायद सपना र सहरको साइनो यस्तै हुन्छ । सायद जिन्दगीको नियम नै यस्तै बेहिसाब हुन्छ । मानिसहरू सपनाको पछि लागेर घर छोडी निस्कन्छन् । सहर सपनाको पसल राखेर बसेको हुन्छ । त्यो पसलमा आफ्नो आपूर्ति नभेटेपछि मानिसहरू देशै पनि छोडिदिन्छन् । सरकारी हाकिमहरू अंकमा गन्छन्, त्यो सपनाको लस्कर— तीस लाख, चालीस लाख । मानिसलाई संख्यामा गन्न थालेदेखि नै हो सायद सत्ता र संख्याको मेलमिलाप बढ्न थालेको । होइन भने त मान्छेको संसारमा के एक, के अनेक, सबैको हिसाब बराबर हुन्छ ।

सपनाको जूनकीरी समात्न पछि दौडँदादौडँदै घर, गाउँ, सहर र देश छोडेर जानेहरूलाई क्यालेन्डरका राता अंकहरू बल्छी हान्छन् । मानिसहरू योजनाका खेस्रा गर्न थाल्छन् । अनि बसपार्कको टिकट घरमा हल्लाहरूको लाम लाग्छ । बसको पछिल्लो सिटमा पनि ठाउँ नपाएर झुन्डिनेहरूको संख्या बढ्दै जान्छ । मानिसहरूको भेल नदी बनेर सहरबाट गाउँ जान थाल्छ । आमाका आँखाहरू आँगनबाट ओरालो झरेर मूलबाटोमा पसारिन थाल्छन् । फोनको घन्टी लगातार बज्न थाल्छ । अनि एउटै प्रश्न बारम्बार दोहोरिन्छ— घर कहिले आउँछस् ? घर कहिले आउँछस् ?

अचेल यस्तै छ । समयका गल्लीहरूमा म मौन हिँडिरहेको हुन्छु । सायद आफैंलाई बिर्सेर । अनि आफैंलाई खोज्दै । म खोजिरहेको हुन्छु, आफूलाई पत्रिकाका अक्षरहरूमा, साथीभाइको चियागफमा, सहरका बहस र छलफलमा । र, म सायद हराइरहेको हुन्छु आफैंलाई फेरि त्यतै कतै ।

क्लाइमेक्स त द्वादशीको दिन पो हुन्छ, जुन दिन तल मधेसबाट आएका 'भैया'हरूले दह छेउको चौरमा मिठाई, खेलौना, पोस्टकार्ड, कृत्रिम गहनाको बजार लगाउँछन् । जुन दिन माइकाथानबाट सुरु हुन्छ सरायँ नाच ।

मानिसको नदी सहरको गल्छेडोबाट निस्केर बग्न थालेपछि मेरो मनमा माल श्रीको धुन बज्न थाल्छ । अब सहरको हरेक बिहानले चिमोट्न थालेको छ, हरेक साँझले अत्याउन थाल्छ । म आफ्ना जराहरूतिर फर्किन थाल्छु । पोहोर सालको दसैंछेक नै हो क्यारे, काठमाडौंका गल्लीगल्लीमा देवीका आकृतिका अर्थहरू खोज्दै हिँड्ने देवी चिन्तक प्राध्यापक अरुण गुप्तोले भनेका थिए, 'चाडपर्वहरूले हाम्रा जरातिर लैजान्छन् । शताब्दियौं पुरानो स्मृतिसँग जोडिदिन्छन् ।'

त्यति बेलै त हो, प्राध्यापक अभि सुवेदीले सुनाएका, 'काठमाडौं बस्न थालेको यति धेरै भयो । अझै पनि दसैं आएपछि गाउँ जान मन लाग्छ ।' आमाको निधन नहुँदासम्म त हरेक दसैंमा गाउँ नै जान्थे रे प्राध्यापक सुवेदी । उनले पनि चाडबाडलाई स्मृतिसँगै जोडेका थिए । उनका अनुसार चाडबाडले हरेक मानिसको मनमा लुकिबसेको केटाकेटीपन ब्यूँताइदिन्छ ।

हो त, चाडबाडहरू सायद त्यस्ता ज्वालामुखी हुन् जसले समयको रसातलमा दबिबसेको अनुभूति जन्माइदिन्छ । र, हरेक मानिस आफ्नो जरातिर फर्किन थाल्छ । आफैंलाई कोट्याउन थाल्छ । जसरी म अहिले आफैंसँग भनिरहेको छु— अहँ, दसैं यस्तो हुँदैन । दसैं त अर्कै हुन्छ । दसैंको गन्ध हुन्छ, प्रवृत्ति हुन्छ । बहार र उमंग हुन्छ । दसैं यस्तो उराठ र उदास हुँदैन ।

काठमाडौंको यो निरस साँझमा म दसैं कोट्याउन थाल्छु । आखिर प्राध्यापक सुवेदीले भनेकै थिए, 'हरेकसँग लुकाएर राखेको आदिम अनुभूति हुन्छ ।' स्मृति-यानको इन्जिन चलाएर म समयरेखामा उल्टो दौडिन सुरु गर्छु- आफ्ना आदिम अनुभूतिहरूतिर ।

मेरा आदिम अनुभूतिहरूमा दसैं भिन्नै तरिकाले आउँछ । यो सबैभन्दा पहिला किताबका बीचहरूबाट छिर्छ जहाँ कसैले खुसुक्क राखिदिएको हुन्छ— पोस्टकार्ड । अगाडि कुनै हिरो वा हिरोइनको मुस्कान । पछाडि थोरै शब्द र धेरै भावना, 'विजया दशमीको शुभकामना' ।

साथमा एउटा सायरी । अहिले आएर कल्पिन्छु, के अझै पनि तिमीले जतनले राख्यौ होला त्यो पोस्टकार्ड ! अब त हेर न म्यासेन्जर बक्समा कपी-पेस्ट शुभकामना आउँछ । कसरी खोज्नु त्यसको पछाडि के भाव लुकेको हुन्छ ? हुन त ती दिन पनि कहाँ रहे र ? अब त समयको घाँटी गला खुलेको छ । पोस्टकार्डको बैसाखी टेकेर कसैले शुभकामनाका शब्दपछाडि मन खामिरहनुपर्दैन ।

दसैंको अर्को खुट्टा नयाँ कपडा भिरेर आउँछ । अमराई बजारमा सुर्जेको पसलमा कस्ता कस्ता कपडा आएका छन् ? कक्षाकोठाको मुख्य विषय बन्छ । कसैले लगाउँछ घुर्की, 'मलाई त दाइले÷बाले÷काकाले बुटवलबाटै÷काठमाडौंबाटै ल्याइदिनुहुन्छ !' हाम्रा आँखामा आगो बल्छ आरिसको । दसैंमा कसले कस्ता कपडा किन्यो थाहा पाउन द्वादशी कुनुपर्छ । त्यो दिन गाउँमा मेला लाग्छ । सरायँ हुन्छ ।

दसैं गेरु र अलकत्रा भएर आउँछ । घटस्थापनामा स्कुले छुट्टी भएपछि घरले पनि नयाँ कपडाको माग गर्छ । पँधेराबाट सकीनसकी पानी बोकेर, कसौधनको पसलबाट गेरु किनेर, अमराई बजारबाट अलकत्रा ल्याएर सुरु हुन्छ घरको कपडा फेर्ने काम । टाउकोमा गम्छा बेरेर, आँखामा चस्मा भिरेर, बाँसको भर्‍याङ चढेर कुचोले छ्यापछ्याप घरको भित्तामा गेरु हिर्काउँदै गर्दा जब एकदुई छिटा आँखामा पर्छन्, बल्ल थाहा हुन्छ— दसैं मूलबाटोबाट आँगन ओर्लिसकेको छ । अब पूजाकोठा छिर्नेछ । थालीमा थपक्क बस्नेछ । अनि माइकाथान जानेछ ।

हामी सरदार अजाको हात समाएर माइकाथान जान्छौं । त्यहीँ लुकेर बसेकी छन् दसैंकी देवी । तिनलाई फकाउनु छ । फुल्याउनु छ । मख्ख पारेर घरसम्म ल्याउनु छ । हाम्रो आदिम भाषामा दुर्गा लागेपछि

(घटस्थापनापछि) हामी नेवारहरू माइकाथान जान थाल्छौं । नेवारहरूको काम हो— माल श्री गाउने । हामी हातमा थाली बोकेर माइकाथान पुग्छौं । माइकाथानमा दुईवटा संरचना छन्— एउटा मन्दिर र मन्दिरको बगलमा लामो टहराजस्तो जसको एउटा कोठा बन्द छ । कोठाको साइड-ढोकाबाट खुल्ने खुला कोठामा थाली राखिदिएर छेउको दलानमा हामी थुप्रिन्छौं । बन्द कोठामा कालीको मूर्ति छ रे । हामीलाई हेर्ने अनुमति छैन । किन छैन, त्यो पनि थाहा छैन । हामी चलन स्वीकार गर्छौं।

केही बेरमा कटवाल दाइले कर्नाल फुक्छन् । हाम्रो आदिम शब्दकोशमा कर्नालको नाम अर्कै छ— होक्कर । होक्कर फुक्दा कटवाल दाइका गाला फुलिन्छन् । उनले चर्चर्ती पसिना काढ्छन् । अनि अरू दाइहरूले दमाहा बजाउन थालेपछि सुरु हुन्छ हाम्रो माल श्री गायन । सरदार अजाले पुरानो थोत्रो किताब निकाल्छन् । किताबको नाम हामीलाई थाहा हुँदैन किनभने त्यसमा गाता लगाइएको छ । पातलो कायाको पुन्टे किताबमा माल श्री भाकामा अनेक स्तुति छन् देवीका । त्यसको अर्थ के हो हामीलाई थाहा छैन । थाहा पाउनु परेको पनि छैन । हामीलाई त सरदार अजाको ताल समाएर गाउनु छ ।

नवमीको दिन माइकाथानको बलिवेदीमा एउटा राँगो ढालेपछि दसैं चुल्होसम्म पुग्छ । जमरा पहेँला भइसकेका हुन्छन् । टीकाको दिन नयाँ कपडा लगाएर घरका ठूलाबडाको अगाडि बसेपछि दसैं निधारमा आइपुग्छ । टीकाको दिन जसको हातको टीका थापे पनि हुन्छ । आशीर्वाद जसको लिए पनि हुन्छ । यस्तै भनिन्छ, हामी भने अड्कल काट्छौं । उसकोमा गए उसथोक खान पाइन्छ । कुराउनी खानकै लागि टीका थाप्न जान्छौं । ठूलो कोसे केराको लोभमा आशीर्वादको बहाना गर्छौं ।
तर, आधा घन्टा हिँडेर सबैभन्दा जेठी अजीको हातको टीका नलगाएसम्म कहाँ टीकाको लहरा पूरा हुन्छ र ? सबैभन्दा अन्तिममा माथि डाँडाको टुप्पामा बसेकी अजीको हातको टीका थापेर सबै बा, काकाहरूको लस्करभन्दा अलि छेउ पारेर हामी नाति खलक बस्छौं । प्रसाद दिन आएकी अजीलाई टुटेफुटेको

मातृभाषामा सोध्छौं, 'अजी, पालु मरु ? ' (बज्यै, रक्सी छैन ? )
तपाईंलाई लाग्यो होला, मेरो स्मृतिको आदिम बस्तीमा खसर्का अजीको घरबाट अलिअलि रमरम भएर हाहाहुहु गर्दै हामी ओरालो लाग्दा नै दसैं सकियो । तर, माफ गर्नुहोला । दसैंको क्लाइमेक्स त्यो होइन ।

क्लाइमेक्स त द्वादशीको दिन पो हुन्छ, जुन दिन तल मधेसबाट आएका 'भैया'हरूले दह छेउको चौरमा मिठाई, खेलौना, पोस्टकार्ड, कृत्रिम गहनाको बजार लगाउँछन् । त्यस दिन माइकाथानबाट सुरु हुन्छ सरायँ नाच । र, हामी नेवार टोली सरायँको पछाडिपछाडि माल श्री गाउँदै हिँडिरहेका हुन्छौं । क्लाइमेक्स ठ्याक्कै त्यति बेला हुन्छ जब बा-काकाहरूको आँखाबाट टाप कसेर हामी बजारको हूलमा मिसिएका हुन्छौं । तपाईंका आँखाले हामीलाई मुम्फली पड्काउँदै गरेको, हात समाउँदै गरेको, गफ चुट्दै गरेको देख्नुभयो भने सम्झिनुहोस् क्लाइमेक्स त्यही हो । किनभने, हाम्रा मुहारमा अलिकति आवेग र अलिकति लज्जा चढिरहेको हुन्छ !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.