पहिरोले बुटवल-तानसेन सडक अवरुद्ध
बुटवल : पहिरोका कारण बुटवल-तानसेन सडक खण्ड अवरुद्ध भएको छ । तीन दिनदेखि खसिरहेको पहिरोले सडक पूर्ण रुपमा पुरिएपछि गयरातिदेखि पुन : अवरुद्ध भएको हो । शुक्रबारदेखि अवरुद्ध सडक शनिबार दिउँसो एकतर्फी रुपमा सञ्चालनमा आएको थियो । राति ठूलै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र दिउँसोसम्म खुल्न सक्ने अनुमान गरिएको छ । सडक अवरुद्ध हुँदा बुटवलबाट उत्तरतर्फ हिडेका यातायातका साधनहरु अलपत्र परेका छन् । दसैंमा मान्यजनको हातबाट टीका लगाउन हिडेकाहरु शनिबारदेखि नै पाल्पा क्षेत्रमा अलपत्र परेका छन् ।
सडक अवरुद्ध भएका कारण बुटवलबाट लामो दूरीका यातायातका साधनहरु सञ्चालन नुहँदा कतिपयले टीका ग्रहण गर्न समेत पाएनन् । केही दिनअघि मात्रै सिद्धवावामा खसेको पहिरोले ट्रक र कार पुरिदा तीन जनाको ज्यान गएको थियो । सोही स्थानमै पहिरो खसेको हो । ठूलै चट्टानहरु सडकमा खसेकाले सडक सञ्चालनमा समय लाग्ने बताइएको छ ।
यस्तै गुल्मीको तम्घास-रिडी सडक अवरुद्ध बन्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ । रेसुंगा नगरपालिकाको दुबिचौर भगारीमा खसेको धुले पहिरोले पाँचदिनदेखि सडक अवरुद्ध हुदै आएको छ । सडक अवरुद्ध हुँदा दसैंका लागि घर हिडेकाहरु वैकल्पिक रुट प्रयोग गरेर गन्तव्यमा पुगेका थिए । सो सडक केही-केही समयमात्रै एकतर्फी रुपमा सञ्चालनमा आउने प्रहरीले जनाएको छ । सडकमाथिबाट पहाड नै खसेपछि सडक थुनिएको हो ।