समाज पिराहा उक्तिहरू

समाज पिराहा उक्तिहरू

 

गहिरिएर नियाल्दा हामी वरपर बग्रेल्ती पिराहा उक्ति वा कथनहरू पाउँछौं । उक्तिप्रति हामी भित्रैदेखि आकर्षित हँदा रहेछौं तर थाहै नदिई उक्ति वा कोटेसनहरूले भने हामीलाई अल्मलाउँदा रहेछन् । पिरोल्दा रहेछन् । यसर्थ पिराहा । के हुन् त उक्तिहरू ? उक्तिहरू संश्लेषित विचारहरू हुन् । लामो समय लिएर बनेका । प्वाइन्ट अफ टाइममा होइन, पिरियड अफ टाइममा । लोकले नै सदर गरेकोले लोकोक्तिको तहमा उक्लेको । धेरै उक्तिले हाम्रा पूर्वजहरूका अनुभव र अन्तरदृष्टिलाई हामीसम्म ल्याइपुर्‍याउँछन् । र, बाटो पहिल्याउन सघाउँछन् । जस्तै: संगत गुणाको फल, नाच्न जाँदैन आँगन टेढो । केही उक्तिहरूले भने हामीलाई गलत बाटोतर्फ डोहोर्‍याउने रहेछ ।

उदाहरणहरू धेरै छन् । उदभव् भएको समय (उद्भव काल थाहा पाउन कठिन) र त्यसबेलाको समाज मोटामोटी नबुझी उक्तिको अर्थ लगाउन कठिन पनि छ । कन्टेक्स्ट र टेक्स्टको अन्तरक्रियामै अर्थ खुल्ने हो । तर केही उक्तिहरूको अर्थ खुल्छ पनि । यहाँ चारवटा पिराहा उक्तिबारे छोटो चर्चा गर्दैछु ।

 

 

 

 

पहिलो- 'मरी लानु के छ र ।' यो उक्ति सायद धेरै प्रयोगमा आउने उक्तिमध्ये पर्छ । जीवन जति मात्रामा भौतिक बन्दै गएको छ, उति नै मात्रामा यस उक्तिको सान्दर्भिकता बढेको छ । हरेकपल्ट यो उक्ति सुन्दा, मनमा हाँसो उब्जन्छ । यो उक्तिलाई हामी चेतावनीको रूपमा प्रयोग गर्छौ । वार्निङ कलको दर्जामा राख्न सकिन्छ, यो कोटेसनलाई । कोही पैसा र पदको निम्ति मरिहत्ते गर्दैछ, महत्वाकांक्षाको दौडमा स्वास्थ्य, परिवार, इष्टमित्र केही नभनी बेलगाम कुदेको छ भने, सम्झाउने हेतुले, किन यतिविधि गरेको ? मरी लानु के छ र, भन्छौं । मरेर लग्न नसकिने भएपछि भागदौडको अर्थै छैन भन्न खोजेको हो । यसै उक्तिलाई बल प्रदान गर्न समान पेटबोलीको पूरक उक्ति पनि छ - कात्रोको गोजी हुँदैन क्यारे ।

महत्वाकांक्षा,सम्पत्तिआर्जन, व्यावसायिक सफलता, सत्ताको मोह, सपना, भागदौडतिर धेरै नलाग भन्ने निहितार्थ बोकेको छ यस उक्तिले । त्यस्तो व्यक्तिलाई यस उक्तिले मृत्युको स्मरण पनि गराउँछ । मृत्युको स्मरणले सुझाव प्रभावकारी हुन्छ भन्ने मनोविज्ञानले काम गरेको छ । सत्य हो, मृत्युभन्दा शक्तिशाली भय अर्को छैन । अवचेतनसम्म यति गडेको भय सायदै अन्य छ ।

तर, अलिक नियालेर सोच्ने हो भने यो पिराहा भएको थाहा लाग्छ । मुख्य प्रश्न मरेर केही लग्ने भन्ने होइन । बरु मरेर जाँदा आफ्नो पछाडि के छाड्ने भन्ने हो । हामीभन्दा अगाडि आएका धेरै व्यक्तिहरू हामी सम्झन सक्छौं जसले नास नहुने सिर्जनाहरू हामीमाझ छाडेर गएका छन् । चाहे पुस्तक होस् वा संगीत वा चित्रकला । धेरै असल व्यक्तिहरू हामी हाम्रै समाजमा भेट्छौं, जसले शिक्षा, जनस्वास्थ्य र जैविक विविधतामा आफ्नो जीवनको सम्पूर्णजसो ऊर्जा र क्षमता खन्याएका छन् । वैज्ञानिक आविष्कार र प्रविधिको सन्दर्भमा पनि अनेकन् नामहरू सम्झन सक्छौं । तर यस उक्तिले मरेपछि मान्छेले आफूसँग केही लग्न सक्दैन भन्नेसम्म मात्र सोच्छ ।

समाज उपयोगी कुराहरू छाडी जान सकिने सम्भावनाको संसारतिर त्यसको दृष्टि उघ्रिँदैन । स्वाभाविक हो, हरेक उक्तिको सीमा हुन्छ । तर, यो उक्तिको सीमा साँघुरो छ । मान्छेमा अन्तरनिहित असीमित सम्भावनालाई उधिन्न सघाउँदैन यसले । छाडी जाने के ? वा यस्तै आसयको कोटेसन हुन्थ्यो भने, के छाड्ने भन्ने विषयमा मानिसले पक्कै सोच्थ्यो । सोचेपछि मानव जातिले नभेटेको इतिहास कहीँ छैन । भलै मान्छेले प्राप्त गर्ने क्रममा भयंकर संघर्ष र मूल्यहरू चुकाएको किन नहोस् । आखिर इतिहास भनेकै समयको पृष्ठभूमिमा मान्छेले गरेको संघर्ष र चुकाएका मूल्यहरूको फेरिहस्त न हो ।

दोस्रो, 'नमरी स्वर्ग देखिन्न ।' यो उक्ति केही समयअघि कवि सरस्वती प्रतीक्षाको फेसबुक स्टाटसमा देखेथे । अचेल पत्यार लाग्न छाड्यो भन्दै उनले यो उक्ति उद्धृत गरेकी थिइन् । सहमतिमा लाइक गरँे । सरस्वती, अहिलेको समयको प्रतिभाशाली कवि । उत्तिकै बलियो गैरआख्यान पनि लेख्छिन् । तर प्रसंग यहाँ अर्कै छ । यो उक्ति पनि पिराहा छ । अघिल्लोभन्दा बेसी । कुन कन्टेक्स्टमा कसले यो कथन जन्माए होलान् ? पक्कै कुनै पीडक पुरोहित वा धार्मिक गुरुको दमित दिमागले काम गरेको होला । धर्मभिरु समाजमा मान्छेको मनोविज्ञानले यसलाई त्यसरी नै टिपे जसरी सुक्खा परालले आगोको झिल्का टिप्छ ।

उक्तिको सार छ, बाँचुञ्जेल स्वर्गको सम्भावना छैन । स्वर्ग प्राप्त गर्ने हो भने, मैले भनेबमोजिम गर । कस्तो मृत्योन्मुख उक्ति ! मृत्युलाई स्वस्थ्य दृष्टिले हेर्न सके त्यो जस्तो स्वस्थ्य जीवन कुनै हुँदैन नत्र फेरि त्यो जति रुग्ण जीवन पनि अर्को बन्दैन । अधिकांश धार्मिक गुरु, कल्ट, बाबा र माताहरू मलाई सिजोफ्रेनिक लाग्छ । मानसिकरूपले रुग्ण । आलोचनात्मक चेतको कसीमा नघोट्ने बहुधा समाजले उक्त उक्तिलाई सदर गर्दै गयो । संस्थागत हुँदै लोकोक्तिको स्तरमा पुग्यो । र, पत्तै नदिई सबैलाई पिरोल्न थाल्यो ।

स्वर्ग पनि यही छ, नर्क पनि यही छ भन्ने सत्यलाई यसले शतप्रतिशत निषेध गर्छ । मेटाफोरिक स्वर्ग र नर्क । यस उक्तिले बाचुञ्जेल स्वर्गलाई प्राप्त गर्न र अनुभव गर्न नसकिने रहस्यमयी र अप्राप्य बनाउँछ । धर्मगुरुलाई धर्मको व्यवसाय सुरु गर्न यस्तै रहस्यमयी धारणाको आवश्यकता हुन्छ । स्वर्ग भेटेको नभेटेको मृत्युपछि मान्छेले भन्न पनि नसकिने भयो । रिस्क फ्रि व्यवसाय । धर्मको कस्तो फुलप्रुफ बिजनेस मोडल ।

ब्रम्ह सत्य, जगत् मिथ्यामा विश्वास गर्नेलाई त 'नमरी स्वर्ग देखिन्न' परम सत्य नै लाग्छ । आफ्नो अस्तित्व भ्रम, परिवार भ्रम, समाज भ्रम, यावत् सम्बन्धहरू भ्रम, राजनैतिक परिवर्तनहरू भ्रम, विज्ञान र प्रविधि मिथ्या, जलवायु परिवर्तन मिथ्या । सोच्दै, सिरिंग हुन्छु । भ्रमको सगरमाथा ओढेर मानिस कस्तरी निर्धक्क बाँच्न सक्छन् ? निद्रामा हिँडिरहेको व्यक्ति झैं । इभलुसनरी जीवशास्त्री रिचार्ड डायकिन्सले 'एनेमी अफ रिजन' वृत्तचित्रमा स्कुलका शिक्षकलाई सोध्छन् 'के मान्छे ईश्वरको सृष्टि हुन् ? ' धेरैले स्विकारेपछि रिचार्डप्रति तर्क गर्छन् । उनीहरू नाजवाफ हुन्छ तर विश्वासबाट डेग चल्दैन । भीडको मानसिकता गज्जबको यथार्थ रहेछ । विस्मितै तुल्याउने । भौतिक यथार्थलाई मिथ्या देख्ने तर मृत्युपछिको अस्तित्वलाई सत्य देख्ने सडेगलेका र विज्ञानको विपरीत हिँडेका कति धेरै उक्तिहरू हुन्, हाम्रा वरपर ? परिवारमा । छिमेकमा । समाजमा ।

भीडको मानसिकताको थोक भण्डारण अचेल सामाजिक सञ्जालमा देख्न सकिन्छ । फेसबुक फेसबुकभन्दा बढी माइन्ड बुक भएको छ । मस्तिष्कीय पुस्तक । प्रयोगकर्ताको मस्तिष्कभित्र चियाउने आँखीझ्याल । शृंखला स्टाटस र कमेन्टहरू पढेर प्रयोगकर्ताको प्रवृत्ति, धारणा, रुझान र बौद्धिक स्तर मोटामोटी आंकलन गर्न सकिन्छ । माइन्ड बुक एकाउन्ट होल्डरले कहिलेकाहीँ आफ्नो स्वभावभन्दा विपरीत स्टटस लेख्ला । अपवादस्वरूप । तर, माइन्डबुकले थट् प्याटर्न भने देखाउँछ । दुई तीन वर्षदेखि फेसबुकमा कोटेसन, कथन वा स्ट्टास पढेपछि एउटा निष्कर्षमा पुगेँ । कोटेसन, उक्ति, सुक्ति, उखान टुक्का, कथनहरूप्रति हामी नेपालीको अदभुत् सम्मोहन रहेछ । मायावी सम्मोहन।

कुनै कोटेसनमा आँखा ठोक्कियो । मन परिहाल्यो । स्टाटसमा लेखिहाल्यो । कसैले लेखेको कोटेसन देख्यो, मन पर्‍यो, सेयर गरिहाल्यो । कुनै विज्ञानसम्मत् दृष्टिकोण निर्माण नगरिकन, जीवनको जटिलताहरूलाई केलाउने लेठो नगरिकन र मनमा उब्जेका विचारलाई परीक्षणकालमा नराखी तुरुन्तै धारणा बनाउने नेपाली बानी मौलिकै रहेछ क्यार ! सामाजिक सञ्जालमा त्यस्ता फेसबुके र ट्विट्रे दार्शनिकहरू बग्रेल्ती छ । मानौं फेसबुक र ट्विट्र दसंैताकाको काठमाडौंको खसी बजार हो र ती चिन्तकहरू भुइँमा असरल्ल छरिएका बड्कौला । त्यस्ता उक्तिहरूले सामाजिक सञ्जाललाई उदेकलाग्दो बनाइसके ।

तेस्रो, 'अजिंगरको आहारा दैवले पुर्‍याउँछ ।' कठै ! त्यसै नेपाल कहाँ अल्छेहरूको देश भएको रहेछ र ? विचारको स्रोतमै भोटे ताल्चाजस्तो सुक्ति रहेछ यो । सांस्कृतिक स्तरमा हामी नेपाली अझ अल्छ्याइबाट मुक्त हुन सकेका छैनौं । मानौं हाम्रो मस्तिष्कमा ढसमस्स अजिंगर बसेको छ । कुण्डली मारके । कस्ता थर्ड क्लास उखानटुक्काको अधिपत्य हउ ? पुख्र्यौली सम्पत्तिको भरमा बाँच्न रत्तिभर ग्लानी अनुभव हुन्न हाम्लाई ? श्रम अझै वर्गीकरणको चेपमा छ । समाजले आत्मनिर्भर भएका र नभएकालाई भिन्न व्यवहार गर्न बाँकी नै छ । त्यस्तोमा केही राजनैतिक पार्टी, बेरोजगार भत्ताको अवधारणामार्फत युवाहरूको मस्तिष्कलाई लठ्याउने राजनैतिक ड्रग निर्माण गर्दैछ । 
बेरोजगार भत्ता देशको युवा मस्तिष्कलाई पक्षघात गर्ने अवधारणा हो । केही सवाललाई राज्यले अर्थशास्त्रको दृष्टिले हेर्न सक्नुपर्छ । के लाई इन्सेन्टिभाइज गर्ने ? केलाई नगर्ने ? त्यसले बेरोजगार अवस्थालाई इन्सेन्टिभाइज गर्छ । रोजगारी सिर्जना गर्नेलाई पो इन्सेन्टिभाइज गर्ने । बरु विपन्न जेहेनदारलाई बिना धितो शिक्षा ऋणको व्यवस्था गर्नु उपयुक्त हुन्छ ।

नत्र कहिलेसम्म प्लेनमा खाडी जाने र काठको बाकसमा फर्कने ? बिदेसिने युवाहरूले दैवले आहारा नपुर्‍याउँदो रहेछ भन्ने छर्लंगै देखिसके । लथेब्रो उक्ति रहेछ यो । अजिंगरले पनि जोरजुलुम नगरी आहारा जुटाउन सक्दैन रहेछन् भन्ने मानिसले बल्ल इन्टरनेट हेरेर चाल पाउँदैछन् । नत्र नदेखे पनि विश्वास गर्ने हाम्रो मौलिक परम्पराले हामीलाई जहिल्यै थचारेको छ । पश्चिमी केही देशमा यस्तो अल्छे उक्ति छैन क्यार । बरु प्रोटेस्टेन्ट वर्क इथिक्स छ । यो इथिक्स्ले कर्म, अनुशासन र मितव्ययितालाई जोड दिन्छ । वर्क इज वरसिप । काम नै पूजा ।

चौथो, 'नजाने गाउँको बाटो नसोध्नु ।' यो पिराहा वर्गीकरणमा पर्छ, पर्दैन ? छलफल आवश्यक छ । आफ्नो काममा फोकस हुनुपर्छ । दत्तचित्त भएर आफ्नो मार्गमा लागिराख्नुपर्छ । दोस्रो महत्वको विषयहरूमा अल्मलिनु हँदैन, यस उक्तिको अभिप्राय छ । नजाने गाउँको बाटो व्यवधान हो । यो हिसाबले उक्ति उपयोगी नै लाग्छ । पिर्नेभन्दा पनि सघाउने । तर नपिर्ने हुन एउटा सर्त छ- पर्याप्त सोचविचार गरेर आफ्नो मार्ग तय गरेको हुनुपर्छ । अनि मात्र विश्वस्त भएर संकल्प गरेको मार्गमा हिँड्न सकिन्छ । तर, त्यस्तो निश्चितता जीवनमा कमै आउँछ । तीव्र गतिमा परिवर्तन हुँदै गएको संसारमा कोर्स करेक्सनको निम्ति वैकल्पिक बाटाहरू पनि सँगै सोच्ने हदसम्मको लचिलोपन पनि चाहिन्छ ।

आफू जाने गाउँ पनि प्रष्ट नहुने र अन्य गाउँको बाटो पनि नसोध्ने हो भने, मान्छे र कर्‍याङकुरुङमा भिन्नता रहँदैन । मान्छे कर्‍याङकुरुङ होइन । हजारौं वर्षदेखि कर्‍याङकुरुङ हिउँदमा दक्षिण दिशातर्फ नै उड्छन् । हरेक हिउँद त्यो लस्कर चीनबाट कालीगण्डकी उपत्यकामा धौलागिरि नीलगिरिमाथि उड्दै चितवन राष्ट्र निकुञ्ज र भारतका बर्ड सेन्चुरीसम्म पुग्छन् । कर्‍याङकुरुङले कहिल्यै भन्दैन, यो हिउँदमा पूर्वतिर जाउँ । चराले स्वतन्त्रतापूर्वक सोच्न सक्दैन । जे गर्छ, इन्सटिङक्टबाट निर्देशित भइगर्छ । तर, मान्छे स्यापियन्स हो । ऊ भिन्न छ । स्वतन्त्रतापूर्वक सोच्न सक्छ । कुनै गाउँको आधाउधि बाटो छिचोलेर पनि, यात्रालाई कारणवश बिट मारी अर्को दिशाको यात्रा थाल्न सक्छ । त्यस अर्थमा यस उक्तिले विकल्पको महत्वलाई न्यून मूल्यांकन गर्छ कि ? यस उक्तिको अर्थलाई हुबहु नसमात्दा राम्रो । नत्र यस उक्तिले पनि मान्छेलाई केही प्रतिशत कर्‍याङकुरुङ बनाइछाड्छ ।

मान्छेको शक्ति नै सोच्ने क्षमता हो । कुरै गर्ने हो भने, मान्छेका कतिपय क्षमता अल्पविकसित छन् । कुकुरको सामु मान्छेको घ्राणशक्ति छेउ पनि छैन । न त गिद्धको जस्तो देख्ने क्षमता । धेरै उचाइबाट फराकिलो ल्यान्डस्केपमा साना चिज देख्ने गिद्धको स्टेरियोस्कोपिक भिजनको अगाडि नाथे मान्छेको गणना नै छैन । दगुर्ने मामलामा त मान्छे औसत पनि छैन । उड्ने सामथ्र्य त मान्छेले जैविकरूपमा कहिल्यै प्राप्त गरेन । तर, यी सबका वाबजुद, सोच्ने क्षमताले अन्य शक्तिको अल्पतालाई छोपिदियो र मान्छेलाई श्रेष्ठ (अरु प्राणीमाथि नियन्त्रण गर्ने र आफ्नो बासस्थानलाई परिवर्तन गर्ने दृष्टिले) सिद्ध गर्‍यो । भलै यसो गर्दा, मान्छेले इकोसिस्टमलाई नै ध्वस्त बनाउँदै नलगेको किन नहोस् । सोच्ने क्षमतालाई यस उक्तिले पक्रन नसकेको अर्थमा पिराहा ।

दक्षिण अमेरिकामा माछाको एक प्रजाति पाइन्छ - पिरान्हा । अत्यन्त तिखा दाँत भएको । क्षणभरमै लुछिखाने । माथिका चार पिराहा उक्तिहरूले पनि मनाव मस्तिष्कलाई थाहै नदिई लुछिरहेका छन् । केहीले तीव्रगतिमा, केहीले सुस्त । ग्यारेन्टी भन्न सकिन्छ, सयौं त्यस्ता पिरान्हा उक्तिहरू हाम्रो समाजको समुद्रमा यत्रतत्र सल्बलाइरहेका छन् । र, फेसबुके र ट्विटरे विद्वानहरूले थाहै नपाई प्रवक्ताको भूमिका निभाउँदै अनेकन पीडक र पिराहा उक्तिहरू फैलाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.