मेरा बाल्यकालीन खेल
बालापनमा संसारका सबैलाई दुइटा कुरा प्रीतिकर लाग्छन्- कथा र खेल । भाषा बुझ्न थाल्नेबित्तिकै संसारभरका केटाकेटी कथा सुन्न किन मन पराउँछन् ? नानाभाँतीका खेल खेल्न किन खोज्छन् ? के कथा र खेलप्रतिको प्रेम मान्छेको जिनभित्रै लुकेको हुन्छ ?
खैर, यी श्वेत प्रश्नहरू हुन् । केही प्रश्नहरू यस्ता हुन्छन् जसको उत्तर खोज्नुभन्दा प्रश्नमै रमाउनुमा ज्यादा मज्जा आउँछ । आज बिहानैदेखि म छोरीसँग अनेकन खेल खेलिरहेको छु । केटाकेटी छँदा मैले खेलेका केही खेल छोरीलाई पनि खेल्न सिकाउन खोजेँ । तर, खै किन हो, उसले मेरा बाल्यकालीन खेलहरूमा खास रुचि देखाइनँ । सायद सोची, यो बाको खेल हो, हामी केटाकेटीको होइन ।
साँझ बिस्तारमा पल्टिँदा सोचेँ, हाम्रो समय सकिँदै जाँदा हामीले खेलेका खेलहरू पनि मासिँदै गएछन् । खेल पनि एउटा कल्पना न हो । खेल पनि खासमा एउटा कथा हो । एउटा जेनेरेसनको कथा सकिँदा त्यो कल्पनाको त्यान्द्रो पनि सकिँदो रहेछ । खेल पनि सकिँदा रहेछन् । थिति बसेका
‘स्ट्यान्र्ड’ खेल त देश-परदेश सबैले खेलाउँछन् । तर, हामी आफैंले जेनतेन रचेका बालखी खेलहरूको सम्झना राख्ने कुनै संग्रहालय छ ? थाहा छ, यो पनि श्वेत प्रश्न हो । यसको उत्तरको पनि कुनै मूल्य छैन । आजको यो आलेख म छोरीलाई समर्पित गर्छु ।
आज छोरीसँग एकछिन नखेलेको भए, सायद मैले सुदूर बाल्यकालको सम्झनामा धुमिल भइसकेका ती प्रीतिकर खेलहरूको सम्झना कहिल्यै गर्ने थिइनँ । तिनका ‘नियमहरू’ सम्झिसम्झी टिप्ने थिइनँ । आज म बाल्यकालका खेलेका केही स्थानीय खेलहरूको चर्चा गर्छु । थोरै नोस्टाल्जिक हुने अनुमति पाऊँ!
पाना लुटी : घरबाट स्कुल जाँदा वा स्कुलबाट घर फर्किंदा खेलिने खेल हो पाना लुटी । हामी कापीका पानाहरू तोडेर पैसाजस्तो मुठा बनाउँथ्यौँ । ढ्याक वा कुनै गेडुलो ढुंगोलाई एउटाले ‘थाप्ने’ र अर्कोले ‘टोल्ने’ कोसिस गरिन्थ्यो । ढ्याक वा ढुंगो टोल्न सकियो भने एउटा पाना जितिन्थ्यो । यसरी जितिएका पानालाई धागोले बाँधेर हामी कापी बनाउँथ्यौ ।
चंगा : झिल्झिले कागज (प्लास्टिक) वा नेपाली कागजबाट हामी घरमै चंगा बनाउँथ्यौ । कतिपयले घरको मदुसमा लुकाएका नेपाली कागजले बनेका तमसुक, लालपुर्जा वा नागरिकतासमेतको चंगा बनाउँथे । केटाकेटीलाई कागजातको महत्व थाह भए पो ! चंगा बनिसकेपछि मात्रै बा-आमाले थाहा पाउँथे अनि त्यसपछि हुने रडाको कल्पना गरेतुल्य हुन्थ्यो । चंगाको धागोको लागि घरको सोठा उछुट्याउँथ्यौ । पुराना चप्पल काटेर त्यसमा बाँसको सिन्काहरू उनेर लट्टाईको घिर्नी बनाउँथ्यौ । चंगा वा लट्टाई किन्ने चलन थिएन । चंगाको खेलमा धागो काट्ने प्रतिस्पर्धा हुँदैनथ्यो; त्यस्तो पनि हुन सक्छ भन्ने हामीलाई कल्पनै थिएन । साथीसाथी मिलेर आलोपालो चंगा उडाउनुमा नै मजा थियो।
धनुबाँण : गौडी पूजाको दिन (जेठ र मंसिरको पूर्णिमा) घरमा विशेष पूजा हुन्थ्यो । खीर, पुवा, लाभा-रोटी पाक्थ्यो । त्यो दिन पातीको डाँठको धनुष र काँसको डाँठको काँड (तीर) बनाएर घरको धुरी कटाउने चलन थियो । आँगनमा बसेर धनुष तानेर तीर फ्याँक्ने र त्यसलाई धुरी कटाएर कर्सामा पुर्याउने यो चाड मनाउन सायद अब सम्भव पनि छैन । त्यस चाडकै छेकलमा हामी केटाकेटीहरू पातीको ठाँडसँगसँगै बाँसको आँखा काटेर धनुष बनाउँथ्यौं । खरको डाँठमा छाताको तार भाँचेर टुप्पामा छिराउँथ्यौँ । अलिक ठूलो सिमलको फेदमा चिनो लगाएर लक्ष्य भेदन गर्ने, कसले टाढा पुर्याउने जस्ता खेल हुन्थे । कहिलेकाहीँ चराको सिकार गर्न पनि बाँण लिएर हिँडिन्थ्यो । तर, बाँणले भन्दा गुलेलीले धेरै चरा मर्थे ।
सिन्का बगाई : यो खेल स्कुलबाट घर जाँदा वा घरबाट स्कुल जाँदा बाटोमा खेलिन्थ्यो । बाटोमा परेका सिँचाइको कुलोमा काठका टुक्राहरू बगाइन्थ्यो । तिनका पछाडि दौडिइन्थ्यो । कहिलेकाँही यस्ता सिन्काहरू कुलोको छेउमा उम्रिएका झारमा अड्किन्थे । यसरी अड्केको सिन्कोलाई खेलाडीले छुटाइदिन पाइने वा नपाइने भन्ने दुवै नियम चल्थे । अन्तिम बिन्दुमा सबैभन्दा पहिला पुगेको सिन्काको खेलाडीले सबैलाई पिट्टा हान्न पाउँथ्यो । दोस्रो हुनेले पहिलो हुनेबाहेक बाँकीलाई पिट्टा हान्थ्यो । एवम् रीतले सबैले पिट्न पाउँथे । जति अन्तिमतिर पर्यो उति धेरै पिट्टा खाइन्थ्यो ।
गुडुडु : अहिले जसलाई कबड्डी वा कपर्दी भनिन्छ, त्यसलाई हामी गुडुडु भन्थ्यौं । यो खेल्दा अचेलको जस्तो सीमारेखा खिचिएको कोर्ट हुँदैन्थ्यो । दुई पक्षको साँध राख्न चप्पलको धर्को लगाइन्थ्यो । भागेर जाति टाढा पनि जान पाइन्थ्यो ।
हाम्रो समय सकिँदै जाँदा हामीले खेलेका खेलहरू पनि मासिँदै गएछन् । खेल पनि एउटा कल्पना न हो । खेल पनि खासमा एउटा कथा हो । एउटा जेनेरेसनको कथा सकिँदा त्यो कल्पनाको त्यान्द्रो पनि सकिँदो रहेछ । खेल पनि सकिँदा रहेछन् ।
हुतुतुपञ्जा : त्यसो त हुतुतुपञ्जालाई पनि शब्दकोशले कपर्दी नै भन्छ । तर, यो खेल विशेषत: केटीहरू खेल्थे । कपर्दी खेल्दा ‘कपर्दी, कपर्दी’ भनेर भट्याएजस्तै यो खेल खेल्दा भने दुई वा तीनतले अनुप्रास मिलेका दुई हरफ गद्यांश जे भट्याए पनि पाइन्थ्यो । प्राय: गरेर ‘ऐंसेलुको पातैमा, तेरा बाऊ मर्यो जुनेली रातैमा ÷ हुतुतु पञ्जा बाघपञ्जा, कपर्दी खेल्दा झन् मज्जा ÷परेवाको मुटु, तेलमा भुटु, खाउ कुटुकुटु’ आदि प्रचलित थिए । यही गाउनुपर्छ भन्ने थिएन । नयाँ बनाउन पनि पाइन्थ्यो । कबड्डी र हुतुतुपञ्जाको फरक के थियो भने, कबड्डीमा लखेट्ने मान्छे (चेजर)लाई दपेटेर, छोपेर ‘मार्न’ पाइन्थ्यो तर हुतुतुपञ्जामा भनेँ पाइँदैनथ्यो । लखेट्दा भन्दा भाग्दा मजा हुने ठानिन्थ्यो।
घोडचढी : जाडोको याममा मुस्ताङबाट पोखरा झरेका भोटे र थकालीहरूको बसोबास प्राय: गरी मेरै गाउँतिर हुन्थ्यो । तिनीहरू हाम्रो गाउँलेका घरमा डेरा बस्थे । हाम्रा खोरी (चारैतिर पर्खालले घेरिएको सानो बारी) मा आफ्ना घोडा, खच्चड र गधाहरू थुन्थे । अहिले अन्तर्राष्ट्रिय एअरपोर्टको लागि तारबार गरिएको क्षेत्रमा हाम्रो गाउँ थियो । त्यहाँ धानबाली काटेपछि ‘छाडा’ हुन्थ्यो । त्यहाँ हजारौं घोडा, खच्चड र गधाहरू चरिरहेका हुन्थे । स्कुलबाट फर्किनेबित्तिकै या छुट्टीको दिनमा हामी समूह बनाएर घोडा चोरेर चढ्न जान्थ्यौँ । भोटे वा थकालीले थाहा पाए भने निक्कै बेरसम्म लखेट्थेँ । भेटे भने मारी गुम्स्याउँथे ।
औतारी/फ्यान्टा : अन्ततिर जसलाई ढ्याक भनिन्छ, हामी भने त्यसलाई औतारी वा फ्यान्टा भन्थ्यौँ । झार नभएको जमिनमा चारकोठे ‘खाल’ कोरिन्थ्यो । त्यसको चारपाँच फिट पर्तिर एउटा धर्को तानी ‘टुम’ बनाइन्थ्यो । टुमबाट खालभित्र पर्नेगरी ‘बोट’ फालेपछि प्रतिस्पर्धीले दिएको पैसा वा फ्यान्टालाई ढुंगाको ढ्याकले हानेर खालबाहिर पुर्याउन सके जितिन्थ्यो । पहिल्यै खालबाहिर छिर्किन गएको ‘टार्गेट’ छ भने ढ्याकलाई खालभित्र छुवाएर ‘गुडगुडे, दन्ते वा कोक्कान’ आदि तरिकाले हुत्याएर पैसा वा फ्यान्टा छुन सकेमा खाल खाइन्थ्यो ।
पैसाको बाजी खेलियो भने त्यसलाई औतारी भनिन्थ्यो । तर, बियर वा चियो पेयपदार्थका किनार खुम्चिएका बिर्कालाई फट्याएर बनाएका चक्कीलाई खेलियो भने त्यसलाई ‘फ्यान्टा खेल’ भनिन्थ्यो । पेयअनुसारले तिनको मोल फरक-फरक थियो । जस्तो कि फ्यान्टाको बिर्कोको मूल्य २० थियो । कोकको १० थियो । मिरिन्डाको पाँच थियो ।
तिनताका पाइने स्टार बियरको एक सय रुपैयाँ थियो । तर, कतिपय पेयका बिर्का भने चल्दैनथे । बिर्काको किनबेच पनि हुन्थ्यो । सय ‘पोइन्ट’ बराबर बिर्काको एक रुपैयाँसम्म लिन्थे । हामी छुट्टीको दिन यस्ता ‘फ्यान्टा’ खोज्न मझेरीपाटनबाट पृथ्वीचोकको बसपार्कसम्म पुग्थ्यौं । करिब १० किलोमिटरको यात्रा । चाउथेदेखि बसपार्कसम्म अन्यत्र कतै ‘फ्यान्टा’ पाइने पसल थिएनन् । बरु चाउथेकै चुँगी कर उठाउने ठाउँको पसलमा थियो । तर, त्यहाँ बिर्का पाइने सम्भावना कम हुन्थ्यो । किनकि त्यसको वरपर सबै नामुद औतारीबाजहरू थिए ।
गम्पच : गम्पच जाडो यामको खेल हो । जमिनमा बनाइएको एउटा सानो ‘प्वाल’मा गुच्चा छिराएपछि ‘भाले’ अर्थात् मार हान्न बालिग मानिन्थ्यो । भाले भएको गुच्चाले नजिकै परेको अर्को गुच्चालाई मारेर पैसा वा गुच्चाकै बाजी खेलिन्थ्यो । कहिलेकाहीँ कापीका पानाको बाजी पनि हुन्थ्यो।
छोइमारी : यो खेलाको नाम खासमा अर्कै भए पनि जातीय विभेद जनाउने शब्द भएकोले मैले ‘मारी’ लेखेको हुँ । समूहका सबै सदस्यहरू गोलाकार भएर हात समातेर ‘पट पट चिट’ गर्दै एउटा हत्केला माथि अर्को हत्केलालाई ओल्टे वा पोल्टे पारेर राखेपछि गिन्ती हुन्थ्यो । ओल्टे वा पोल्टेमा जसको संख्या कम हुन्छ ती बाहिरिँदै जाँदा अन्तिममा तीनजना मात्रै रहन्थे । जसमध्ये कुनै दुईजनाको एउटै पथ्र्यो, बाँकी एक्लिएको ‘मारी’ हुन्थ्यो ।
सबै खेलाडी भाग्ने र ‘मारी’ले तिनलाई लखेट्ने यो खेल हामी चौरमा मात्रै होइन खोलामा र रूखमा समेत खेल्थ्यौं । मेरो घरनजिकै गलैंचाका चार पाँचवटा मज्जाका रूखहरू लहरै थिए । हामी बाँदरझैं तिनका हाँगाहाँगामा नाचेर आफूलाई छुन आएको ‘मारी’देखि भाग्थ्यौं । कुनै एकजना खेलाडीलाई ‘नमारुन्जेल’ उसले लखेटिरहन्थ्यो । यो खेल खोलामा पौडिँदा पनि खेलिन्थ्यो । पानीमा खेल्दा पानीमा डुबेको बेलामा छुन पाइँदैन्थ्यो । अरू नियम रूख वा जमिनमा खेल्दाका जस्तै हुन्थ्यो ।
गोलीमार/तोप : विशेषगरी कात्तिकमा धान काटेपछि खेतबारीहरू खुल्ला देखिन्थे । बारीका काल्नाहरू लहरे झारहरूले झ्यापुल्ला हुन्थे । यिनै झाडीमा फलेका गिट्ठा वा भ्याकुरका स-साना गेडाहरू जम्मा गरेर गोलीमार खेलिन्थ्यो ।
हरियो बाँसको आँखा काटेर स-सानो ढुङ्ग्रो बनाइन्थ्यो । त्यो ढुङ्ग्रोको दुवै मुखमा टाइट गरेर गिट्ठाका गेडाहरू जबर्जस्ती कोचिन्थ्यो । अब अलिक चाक्लो देखिएको मुखतिरबाट एउटा डन्डीले अघि छिराएको गिट्ठालाई ठेल्दै लगिन्थ्यो र हुत्त पारिन्थ्यो । ढुङ्ग्रोभित्र दुइटा गिट्ठाबीचमा च्यापिएको हावाको चापले गर्दा साघुँरो मुखतिरको गेडो बन्दुकको गोली जसरी धुँवा निकाल्दै फुत्त बाहिर निस्कन्थ्यो । २०÷२५ फिटसम्म । यो खेल जितहारको लागि भन्दा पनि मनोरञ्जनका लागि खेलिन्थ्यो । सिपालु नभइकन गतिलो बन्दुक बनाउन सकिँदैन्थ्यो । राम्रा र पड्काउला बन्दुकको किनबेच पनि हुन्थ्यो ।
गाडा : हामीले आमाबाबुले किनिदिएका वा बनाइदिएका खेलौना, गुडिया आदि केही खेलेनौं । बनाइदिएको भए पो खेल्ने ! किनिदिने कुरा त सात हात परको भाग्य । पैसा भए पो किनिदिन्थे ! हाम्रा खेलौनाको जोहो हामी आफैंले गथ्र्यौं ।
गुँदरगानो भनिने एक प्रकारको कन्दमुल खोजेर त्यसलाई खुर्पाले ताछिताछी बाटुलो पाङ्ग्रा बनाउँथ्यौ । यस्तो पाङ्ग्रालाई बाँसको लौरीको एकापट्टिको चुचोलाई चिरेर बनाइएको कपेटाभित्र छिराइएर गाडा बनाइन्थ्यो । त्यसैलाई बस, ट्रक, ट्याक्सी आदि मानेर गुडाउँदै हिँडिन्थ्यो । त्यस्तो गुडाउने ‘हाइवे’ पनि बनाइएको हुन्थ्यो; जमिनको झार ताछेर, कुलोमा पुल हालेर । बीचबीचमा ‘चुंगीकर’ उठाउने ठाउँ पनि हुन्थे, जहाँ हामी धुर्सेलीको पातलाई पैसाको रूपमा बझाउँथ्यौ ।
किर्किरे : गाढाजस्तै गुडाउने भए पनि किर्किरे अलिक फरक खेल थियो । फलामको रडलाई गोलाकार बनाएर अर्को कुनै तारले बनाइएको ‘यू’ आकारले छडीले चलाउने खेल हो, किर्किरे । मैले अन्यत्र धेरै ठाउँमा यस्तै पाङ्ग्रा खेलेको देखेको छु । तर, हाम्रो जसरी ‘यू’ आकारको छडीले ‘किर्किरे’ चलाएको देखेको छैन । गाई, भैंसी खोज्न जाँदा होस् या खोलामा पौडिन जाँदा या होस् दिदीहरूसँग पधेँरामा ‘साथे’ जाँदा, हामी किर्किरे कुदाउँदै जान्थ्यौं । एउटामात्रै किर्किरे छ तर खेलाडी धेरै भएछन् भने हामी ‘मरी’ खेल्थ्यौं । बाटोमा मिल्केको कुनै ढुंगालाई छोएको खण्डमा खेलाडी ‘मथ्र्यो’ र अर्कोको पालो आउँथ्यो ।
पानलौरी : मेरो घरको अघिल्तिर उवडखावड परेको चौर थियो, जसको कतै टाप्रेको झाडी थियो, कतै धुर्सेली र पातीको झांग थियो । कतै ससाना ढुंगाका थुप्राहरू थिए । चौरको दुईतिर बर्खाको पानी बग्ने खोलेटो थियो । अहिले त्यसलाई सम्मो पारिएको छ । त्यो चौरमा खेल्थ्यौं हामी- पानलौरी । यो खेल खेल्दा एउटा अनौठो आकार भएको सानो ढुंगा रोजिन्थ्यो ।
त्यस्तो अनौठो नलागेमा ढुंगामा थुक लगाएर ‘पानलौरी’ पारिन्थ्यो । ‘खेलाउने’ले एक ठाउँमा बसेर सबै खेलाडीलाई जोडी-जोडी भएर एक अर्काको आँखा छोप्न लगाउँथ्यो । अनि त्यो ‘पानलौरी’लाई वरिपरिका झाडी, ढुंगाको थुप्रो वा त्यस्तै हराउने ठाउँमा फ्याँक्थ्यो । बाँकी खेलाडी ढं्गा खोज्न छिरलिन्थे, जसले भेट्याउँयो त्यो बालक ‘खेलाउने’ हुन पाउँथ्यो ।
ग्याम्बल : हामीले बनाएको शब्द ‘जुवा’को अर्थमा होइन सायद ‘गेम’ र ‘बल’ भन्ने शब्द मिलेर बनेको हुनुपर्छ । तर, तिनताका हामीलाई थाहा थिएन । यो खेल लगभग क्रिकेटजस्तो थियो । च्याप्टा परेका बाह्रवटा ढुंगालाई एक ठाउँमा ठूलोदेखि सानो चाङ मिलाएर उभ्याइन्थ्यो । त्यसदेखि करिब २० कदम पर टुम हुन्थ्यो । दुई समूहमा बाँडिएकामध्ये ‘सिलिमिली’ विजेता टिमले ग्याम्बल गर्न पाउँथ्यो । त्यो टिमको कुनै खेलाडीले टुममा उभिएर मोजाभित्र टालाटुली हालेर बनाइएका बलले चाङ मिलाएका ढुंगाको धरहरा भत्काएपछि खेल तत्काल सुरु हुन्थ्यो ।
अघि भत्काएको टिमले त्यसलाई फेरि जस्ताको तस्तै बनाउनुपथ्र्यो भने अर्को टिमले चाङ बनाउन नदिने कोसिस गथ्र्यो । उनीहरू एकले अर्कालाई बल पास गर्दै ग्याम्बलका टिम सदस्यलाई बलले हिर्काउन पाउँथे । यसरी बलले ‘लागेको’ खेलाडी टिमबाट बाहिरिन्थ्यो । सबै खेलाडी नबाहिरिँदै ढुंगाको चाङ दुरुस्त पारेमा ग्याम्बलवालाले जित्थ्यो । त्यसअघि सबैलाई बलले हानेर ‘मार्न’ सकेमा अर्को टोलीले जित्थ्यो ।
आमराजा : मैले यो खेल कास्कीबाहेक अन्यत्र कतै खेलेको देखेको छैन । मलाई योजस्तो रमाइलो खेल कुनै लाग्दैनथ्यो । कुनै सानो घाँसेचौरमा कोदालीले झार ताछेर करिब २० फुट लम्बाइ-चौडाइको वर्गाकार ‘खाल’ बनाइन्थ्यो । त्यसको बीचबाट चारकुनाको भन्दा मोटो (मान्छेको पैतालाको लम्बाइभन्दा अलिक धेरै चाक्लो) गरी ताछेर अन्दाजी १० फुट लम्बाइचौडाइका चार कोठा बनाइन्थ्यो । यसरी बनाइएको आमराजाको खाल चारकोठे वर्गागार घरको नक्साजस्तो देखिन्थ्यो ।
दुई समूहमा बाँडिएका खेलाडीमध्ये एउटा समूहले खेलअघि ‘आम राजा !’ भनेर सोध्थे । प्रतिस्पर्धीले ‘आइज’ भनेपछि दाहिनेतिरको एउटा कोठातिरबाट पसेर चारवटै कोठामा पुगी देब्रेतिरको कोठाबाट बाहिर निस्किँदा खेल सकिन्थ्यो । तर, यसरी चारैवटै कोठामा पुग्नु सजिलो थिएन । तिनीहरूलाई रोक्न ‘मोटो’ धर्को भएको ‘राज्य’मा अर्को समूह बस्थ्यो । तिनले छोएमा खेलाडी मथ्र्यो ।
खोलाको राज्य : खासमा यो खेलको नाम अर्कै थियो । ‘खोला’को सट्टामा लैंगिक विभेद जनाउने शब्द भएकोले मैले सच्याएको हुँ । हाल हिमालयन गल्फ कोर्सको मध्यभागतिरको विजयपुर खोलालाई हामी ‘तल्लो खोला’ भन्थ्यौं । हामीले पौडने ठाउँका अलगअलग नाम थिए, तल्लो खोला, माथिल्लो खोला, कानिबूढीको रह, सोलेको रह, छुराको रह, स्यान्डहरेको रह आदिजस्ता कति हुन् कति रह थिए ।
जसमध्ये ‘तल्लो खोला’मा यो खेल खेलिन्थ्यो । खोलाको बीच भागमा आधी डुबेको एउटा ठूलो ढुंगा थियो । खोलामा पौडँदै गएर त्यो ढुंगामा रोकिएर उभिन सकिन्थ्यो । तर, पानीको बहावविरुद्धमा उभिइरहन गाह्रो थियो । त्यही हाम्रो राज्य थियो । त्यसलाई जित्न ढुंगामा बस्ने र बस्न खोज्नेलाई तानेर लडाउने ठूलो घम्साघम्सी हुन्थ्यो । तान्नेको हात चिप्लियोस् र राज्य छोड्न नपरोस् भनेर केही साथीहरू त शरीरभरि तेल दलेरसमेत आउँथे ।
बग्गु : खोलामा वा सेतीको नहरमा बग्दैबग्दै निक्कै तलसम्म जाने खेललाई बग्गु भनिन्थ्यो । पानीमा खेल्दै करिब एक किलोमिटरसम्म बग्दै गइन्थ्यो । निश्चित ‘टुम’सम्म जो पहिला पुग्थ्यो, त्यसैले जित्थ्यो । तर, बग्गु खेल धेरैजसो जितहारका लागि भन्दा पनि रमाइलोका लागि गरिन्थ्यो । खोलामा बग्गु खेल्नु अति खतरनाक काम हुन्थ्यो । खुट्टाहरू चुच्चा ढुंगामा ठोक्किएर रक्तमुछेल हुन्थे । नङहरू उप्किन्थे । अहिलेको क्यानोइङ वा र्याफ्टिङजस्तो थियो खेल ।
बाह्रगट्टी/पाँचगट्टी : यी खासमा केटीहरूका खेल थिए । तर, दिदीहरूले खेलाडी नपाएको बेलामा हामी खेल्थ्यौं । पाँच गट्टीलाई टिप्ने धेरै तरिका थिए । तिनका नाम पनि युनिक थिए, अलग थिए । एकल, दुकल, कापे, खोप्पे, कैंची, छिम्के गरेर गोट्टी खेलका चरणहरू पार हुन्थ्यो । अन्तिम चरणमा पाँचै गोट्टीलाई छिम्के गर्न सक्नेले खेल जित्थ्यो । बाह्रगट्टी भने, अन्यत्र जसरी नै खेलिन्थ्यो । मैले पाँचगट्टी निक्कै खेलेँ । बाह्रगट्टी भने खेलिनँ ।
तङलङ : यो पनि खासमा केटीहरूको खेल हो । लामो डोरीलाई विभिन्न तरिकाले ‘स्विङ’ वा ‘रोटेट’ गरेर यो खेल खेलिन्थ्यो । हाम्रो घर मझेरीपाटनमा पानीको अति दु:ख थियो । गाउँको एकमात्रै धारोमा पानी कहिल्यै चुहिँदैनथ्यो । गाउँबाट करिब चार किलोमिटर टाढा खाल्टे भन्ने गाउँमा दिदीहरू पानी लिन जानुहुन्थ्यो । म साथे भएर जान्थेँ । पानी भर्ने पालो नआउँदासम्म हामीहरू डोरी खेलेर बस्थ्यौँ ।
दुलाहा दुलही : बर्खे बिदाका लामा दिनमा यो खेल खेलिन्थ्यो । यो खेलको खास नाम त ‘भात पकाई’ वा ‘भाँडाकुडीँ’ नै हो । तर, यो खेल खेल्दा-खेल्दै बन्ने परिवारमा दुईजनाको ‘रोल’ लोग्नेस्वास्नीको पनि हुन्थ्यो । बालखी नाटकमा न पर्दा खस्थ्यो न त्यसलाई हेर्ने कुनै दर्शक हुन्थे । त्यसैले त्यहाँ लाजको उपस्थिति हुँदैनथ्यो । ‘भात पकाई’को खेलमा हामीहरू यति बिघ्न लीन हुने गथ्र्यौं कि यसको उत्सर्गमा लोग्नेस्वास्नी बनेकाहरू कहिलेकाहीँ त विस्तारासम्म पुग्थे र सर्वाङ्ग भएर यौनसम्पर्कको अभिनयसमेत गर्थे ।