रु. दस लाख
थोत्रो साइकलको ह्यान्डल समातेर मुकेश घरबाट निस्कियो। मधेस आन्दोलनको बेला उसलाई यो साइकल नेताजीले दिएको हो । आन्दोलनको क्रममा करिब ६ महिना बन्द भयो मधेस। अन्य सवारी साधन बन्द भए पनि उसको साइकल कहिल्यै बन्द भएन। पक्की सडक होस् वा कच्ची, हरेक दिन गुडिरह्यो उसको साइकल। मुकेशलाई लाग्छ— मधेस आन्दोलनमा यसको पनि ठूलो योगदान छ।
मुकेश दाहिने गोडा उचालेर साइकलमाथि चढ्यो। खुट्टाले पाइडल हान्यो। साइकल गाउँको कच्ची बाटोमा गुड्न थाल्यो।
आन्दोलन रोकिएको थियो। र, आन्दोलनको नेतृत्व गर्ने नेताहरू काठमाडौं गएका थिए। उसलाई कतै जाने कुनै हतार थिएन । बिस्तारै साइकल चलाउँदै ऊ मूल सडकमा आइपुग्यो।
आन्दोलन रोकिएको झन्डै दुई हप्ता हुन लागिसक्यो । सरकारसँगको वार्तामा कुनै प्रगति भएको छैन । हरेक दिन बिहान, दिउँसो र साँझ गरी तीनपटक ऊ रेडियोमा समाचार सुन्छ । बजारमा दैनिक अखबारका पन्नाहरू पल्टाउँछ । नयाँ खबर केही हुँदैन । वार्ता जारी रहेको समाचार मात्र दोहोरिइरहन्छ हरेकपटक।
मुकेश घन्टाघर पुग्यो । चोकमा सवारी साधनहरू ठेलमठेल हुइँकिइरहेका थिए । मान्छेहरू आफ्नै सुरमा थिए । पेटीमा नाङ्ले पसलेहरूको भीड उस्तै थियो । ठाउँठाउँमा पुलिसहरूले अझै पहरा दिइरहेका थिए।
‘मधेस आन्दोलनमा सबै पसल बन्द भए, बजार बन्द भयो तर यो सडक सधैं खुला रह्यो । सवारी साधनहरू एउटै चलेनन् तर आन्दोलनकारीले नारा घन्काउँदै सडक तताए । त्यस बेला सडक तिनीहरूकै थियो, तिनीहरू सडकका थिए । मदमत्त हात्तीभैmं सडकलाई हल्लाउँदै कुद्थ्यो आन्दोलनकारीको भीड ! उनीहरूको उत्साह, जोश र जाँगर हेर्दा लाग्थ्यो- अहिले नै मधेसको मुहार फेरिनेछ ।' मुकेशले सडक हेर्दै मधेस आन्दोलनका बेला आफूले गरेका काम सम्झियो।
मुकेशले हिजो मात्र नेताजीले मोबाइलमा दिएको निर्देशन सम्झियो- ‘सरकारसे वार्ता टुट भि सकि । हमनी सब अपन मागसे एक इन्च भि निचा नआएम । इसे भि बड्का आन्दोलन कके देशमे आँधीबेरी ल्यावके धम्की देहल बानि । तु भि त्यार होके रह।'
‘मधेस आन्दोलन होएलासे एकनि सबके कथि फरक परल बा ? नहोला से कथि फरक नपरइत? '
मुकेशले एकछिन गम खायो।
उसले आफ्नो जिज्ञासाको जवाफ पाउन सकेन । चोकमा हिँडडुल गरिरहेका मान्छेहरू आफ्नो दैनिक जीविकोपार्जनसँग बढी मतलब राखिरहेभैmँ लाग्थे ।
उसले तिनीहरूका आँखामा आफूले देख्ने गरेका कुनै सपना देख्न सकेन । भविष्यको सपनाको सट्टा ती आँखामा वर्तमानको चिन्ता थियो । केही डर थियो, केही अविश्वास थियो र बढीचाहिँ खालीपन थियो- जस्तो ऊ सधैं आफ्नी स्वास्नी फुलवाका आँखामा देख्ने गर्छ । ऊ आन्दोलनमा लागेदेखि फुलवाको निदहराम भएको छ । राति सपनामा पनि ऊ तर्सिन्छे । उसले फुलवालाई कति सम्झाउने प्रयास गर्यो, ‘यो आन्दोलन मधेसी जनताको भलाइका लागि हो । हाम्रा सन्ततीका लागि हो ।' फुलवा भन्थी, ‘मान्छे मर्वाएर पनि कहीँ भलाइ हुन्छ ? अरुलाई मर्वाएर आफ्नो भलाइ के गर्नु ? तिमी आन्दोलनमा लागेर दुःख पाएको कसले देख्छ?'
फुलवालाई आन्दोलनसँग कुनै सरोकार छैन । उसलाई चिन्ता छ त आफ्नो घरको, लोग्नेको, छोराछोरीको र बूढा सासूससुराको । उसलाई लोग्ने नेता भएर सांसद, मन्त्री बन्ला भन्ने आश छैन, बरु बिग्रेला कि भन्ने त्रास छ, जुन आम नेपाली महिलाहरूमा हुने चिन्ता हो।
घन्टाघर चोकलाई हेर्दै मुकेशले आन्दोलन सम्झियो-
‘यही चोक हो, जहाँबाट आन्दोलनको बिगुल बजेको थियो । तिनीहरूका हातहातमा पार्टीका झन्डा थिए, ब्यानर थिए । आकाश गुञ्जायमान पार्दै जोशिला नाराहरू घन्काएका थिए । आन्दोलन जति लम्बिँदै गयो, ब्यानर बोक्ने हातहरूमा जलिरहेको मसाल, लाठी, छुरी र भाला आयो । र, शान्तिपूर्ण आन्दोलन हिंसात्मक हुँदै गयो।
यही चोक हो, जहाँ हामीले छ महिना टायर बालेर सत्ताविरुद्ध विरोधका स्वर उराल्यौं ।
यही चोक हो, जहाँ हामीले वर्तमान सत्ताका सवारी साधनहरू जलायौं ।
चोक यही हो, जहाँ हामीले हाम्रा साथीहरू गुमायौं ।'
सोच्तासोच्तै मुकेश बोल्न थाल्यो एक्लै, “केकरा लागि कैलेरली हमनिके यी सारा बात ? आमनागरिक सबके लागि, सब लोगके खातिर त कैलेरहलि ! के यी सब बात आन्दोलनकारी सब बुझलासे होजाई ? आम मधेसी सब बुझेके जरुरी नैखे ? हमर फुलवाके बुझाबे के ना परी ? ”
जबजब ऊ आन्दोलनबारे फरक ढंगले सोच्ने गर्छ, तब उसलाई औडाहा हुन्छ । उसको मथिंगल हल्लिन्छ ।
मुकेशले आफ्नो वरिपरि हेर्यो।
‘सहर बन्द, गाँव बन्द, बाजार बन्द, गाडी बन्द, पुल बन्द, रस्ता बन्द । नाराबाजी, पोस्टरबाजी, हडताल, जुलुस, आखिर यी सब इहे लोगके खातिर त कैलगेल रहे, लेकिन अभि भि काहे न जागइता मधेस ? '
साइकल डोर्याउँदै ऊ नजिकैको ठेलावालकहाँ गयो । ठेलावाला चनाचटपटे र पानीपुरी बेचिरहेको थियो ।
“आन्दोलनमे कहाँ रले तु ? ”
“एने रलि, लेकिन हमर ठेला एने नारहे । ठेला आ हम घरेमे रहली ।” ठेलावाल बोल्यो ।
“छ महिना बन्दसे हमर सब धन्दा चौपट होगेल । जीवनके रेल पटरीमे दौडे लागल हि रहे लेकिन पटरीसे उतरगेल ।” उदास भावमा ठेलावाल बोल्यो ।
मुकेशले उसका आँखा हेर्यो । मरुस्थल बनेका ती आँखामा कुनै सपना देखिएनन्, रहरहरू थुप्रिएका थिएनन् । ठेलावालको जवाफले निराश भएको मुकेश आफ्नै सुरमा बोल्यो—, ‘काहेन कौनो नैखे कहत आन्दोलनसे हमनी सबके पहचान स्थापित होकेवाला बा । राज्यसत्ताके मूलधारमे हमनीके भि अस्तित्व महसुस कैल जाई । हमनी सब दुख भोगलासे हमनीके बालबच्चाके भविष्य सुन्दर होइ ।'
यी प्रश्नहरूको जवाफ मुकेशसँग थिएन । जोसँग थियो, तिनीहरू गलत जवाफ दिइरहेका थिए । आफ्ना प्रश्नहरूको जवाफ खोज्दै मुकेश आपैंm किंकर्तव्यविमूढ भइरहेको थियो ।
साइकल चलाउँदै मुकेश सब्जी मन्डीतिर लाग्यो । त्यो त्यही मन्डी हो, जहाँ प्रहरीको गोलीले झन्डै उसको टाउको छेडेको थियो !
‘नेताजी आउनुभो ।' मन्डीतिर जाने सडक किनारमा रहेको पसलबाट एक जना ऊतिर हेर्दै चिच्याइरहेको थियो ।
उसले साइकल रोक्यो र त्यतैतिर हेर्योे ।
पसलमा बसेका तीनचारजना उसलाई घुरेर हेरिरहेका थिए । तीमध्ये एउटा मुठी उजाउँदै बोल्यो—
‘ओ नेताजी, खै तिम्रो आन्दोलनले त केही लछारपाटो लाएन त ! ‘आन्दोलन मात्र सफल होस्, के के न हुन्छ' भन्थ्यौ ! खालि हाम्रा पसल बन्द गरेर, हाम्रो उद्योग, व्यापार ध्वस्त पारेर के पायौ तिमीहरूले ? सक्छौ भने काठमाडौं बन्द गर न— छ–छ महिनासम्म मान्छे घरभित्र थुनियो भने के हालत हुन्छ ? काठमाडौंको चेत खुलाऊ !'
मुकेशको मन कुँढियो । ‘तिमीले के पायौ' भनेर सोध्ने जनता ‘हामीले यस्तो पायौं' किन भन्दैन ?
‘आन्दोलनले रातारात कहाँ परिवर्तन आउँछ र दाइ ! समय लाग्छ, यो परिवर्तनको सुरुआत हो ।' मुकेशले सहज भावले आफ्ना कुरा राख्यो ।
‘केही दिनपछि आन्दोलनकारी नेताहरू मन्त्री भएको खबर आउने होला । त्यसपछि परिवर्तन आइहाल्छ नि— नेताहरूको लवाइखुवाइमा, बसउठमा, व्यवहारमा । त्योभन्दा ठूलो परिवर्तन हामीलाई के चाहियो हँ ? ', जनतामा आक्रोश चुलिँदै थियो ।
‘विश्वास गर्नुस्, एक दिन मधेसमा पनि परिवर्तन आउँछ । मधेसीका दिनहरू उज्याला हुनेछन्', मुकेश बोल्यो ।
‘कसरी ? के कारण परिवर्तन आउँछ ? आफ्नो निहित स्वार्थले गरेको बन्दले परिवर्तन ल्याउँछ कि कुनै विदेशीको गोटी बनेर गरेको नाकाबन्दीले परिवर्तन ल्याउँछ ? ', दोस्रो व्यक्ति बेन्चबाट जुरुक्क उठ्तै बोल्यो।
अगिदेखि नबोली बसिरहेको तेस्रो व्यक्ति मुकेश नजिक आयो । घाँटीमा गम्छा बेरेको उक्त व्यक्तिले कुर्ता, पाइजामा लाएको थियो ।
‘हमर नाम सुखल यादव बा । हम मधेसी मूलके आदमी बानी । लेकिन हम कहत बा कि मधेसमे पुर्खाके जवानासे रहेवाला पहाडी सबके लखेटके सारा मधेसके विकास होए नासकी । मधेस आदमीका रंग नह, मधेस आदमीके रुप भि नह । मधेस तो माटीके सुगन्ध ह, खुनमे मधेसके माटीके सुगन्ध लेके जन्मेवाला सब लोग मधेसी ह । यी सच्चाइके सोचविचार कके सब मधेसी दिलसे एक बन्धनमे न बनहलातक मधेसके नाममे हाकल यी सब आन्दोलन सफल होइ?'
मुकेश छक्क पर्यो । यो कुरा न उसका सर्वमान्य नेताले उसलाई भनेका थिए, न त कुनै मधेसी मूलको नागरिकबाटै सुन्ने मौका पाएको थियो । उसलाई किनकिन यो भनाइमा सत्यको सुगन्ध महसुस भयो।
आन्दोलनमा पुलिसको लाठी र राइफलसँग नडराएको मुकेश अहिले भयभीत थियो । त्रसित थियो । मान्छेका शब्दहरू बन्दुकबाट छुटेको तातो गोलीभैmं प्रतीत भइरहेका थिए, जसलाई निर्मलीकरण गर्नसक्ने ओजस्वी शब्दहरू ऊसँग थिएनन्।
मुकेशलाई त्यहाँबाट निस्कनु नै श्रेयस्कर लाग्यो । बाटोमा दृष्टिगोचर भइरहेका थिए— भत्किएका पर्खालहरू, भाँचिएका रेलिङहरू, खोस्रिएका पेटीहरू, आगोले ध्वस्त बनेका प्रहरी पोस्टहरू । बलेको टायरको रसायनले विरूप बनेको सडक र इँटाका चोटले कुरूप बनेका घरहरू।
‘यो विनाश सुन्दर भविष्यको सिर्जनाका लागि हो !'
मुकेशले विगतमा भएका क्रान्ति, आन्दोलन र सशस्त्र संघर्षहरू स्मरण गर्यो— कहिले विध्वंस भएन ? कहिले मान्छे मरेनन् ? हरेक क्रान्ति, आन्दोलन र सशस्त्र संघर्षले कुनै निकास दिए न र ? मधेस आन्दोलनले पनि निकास दिनेछ र हाम्रा सपनाहरू साकार हुनेछन् । हामी मधेसी भएकै कारण कहिल्यै हेपिनुपर्ने छैन।
मनमा यिनै कुराहरू खेलाउँदै मुकेश सब्जी मन्डी पुग्यो । व्यस्त मन्डी देखेर उसको स्मृतिमा विगत नाच्न थाल्यो—
सब्जी मन्डी त्यो ठाउँ हो, जहाँ आन्दोलनका बेला प्रहरी र आन्दोलनकारीबीच ठूलो भिडन्त भएको थियो । दुवैतर्पmका सयौं व्यक्ति घाइते भए । प्रहरीको गोली लागेर तीनजना आन्दोलनकारीले ज्यान गुमाए । आन्दोलनकारीले एकजना प्रहरीलाई कुटीकुटी मारेका थिए । कान छोलाभैmं गरेर गएको तातो गोलीले त्यो दिन ऊ पनि मर्दामर्दै बाँचेको थियो।
सब्जी मन्डीमा ग्राहकहरूको भीडभाड थियो । धेरै दिनदेखि ताजा तरकारी खान नपाएका नागरिकहरू मोलतोल गर्दै थिए । उसलाई पनि घरमा तरकारी लगिदिए फुलवा खुसी हुन्थी भन्ने लाग्यो।
मुकेश छेउमा साइकल अड्याएर एउटा पसलमा छिर्यो । एउटा काउली, आधा किलो आलु, अलिकति खुर्सानी, हरियो धनियाँ छान्यो र खल्ती छामछुम गर्यो तर एक रुपैयाँ पनि पाएन । नेताजीले आन्दोलनमा खर्च गर्न दिएको पैसाबाट दुई सय बँचाएर राखेको थियो । त्यो रकम कहाँ खर्च भयो ? उसले सम्झन सकेन।
मुकेशले उधारो माग्ने सोच्यो।
‘बिहान ल्यादेम पैसा', उसले अनुनय गर्यो ।
‘मन्डीके पिछे छ महिनातक नबिकल सब्जी बा । उहे लेके पकाके खाव', पसले आक्रोशित देखियो ।
मुकेशले निन्याउरो अनुहार लगायो ।
‘लाख घाटा होगेल हमनिके । कौन भरी हमनी के घाटा ? आन्दोलनसे ? न हमनीके खाली चाहि यी कुटाइमके आन्दोलन', पसले पड्किरहेको थियो ।
‘नेताहरूलाई चाहिएको हो आन्दोलन । सांसद, मन्त्री, प्रधानमन्त्री यिनीहरूलाई नै बन्नु छ । बाँचुन्जेल राजनीति गर्नु छ । ‘हाम्रा हातमा जनता छन्' भनेर देखाउन आन्दोलन गरेका हुन् । देश र जनताको विकास, सुखसुविधा कसले सोचेको छ यहाँ ! हामी मात्र पटमूर्ख हौं, जो कुकुरजस्तो पुच्छर हल्लाएर यिनीहरूको पछिपछि लागिरहन्छौं।'
आन्दोलनको कुरा निस्कनेबित्तिकै तरकारी किन्न छोडेर एकजना बुज्रुकले मुकेशतिर हेर्दै आफ्नो मनको भडास पोखे ।
‘उप्m ! यी कथि होता ? ', मुकेशले दुवै हातले टाउको समात्यो । उसलाई रिँगटा लाग्लाजस्तो भयो । ऊ बल्ल बुझ्न थालेको थियो— नेताजीहरू किन यहाँ नबसेर काठमाडौंमै डेरा जमाउँछन्!
‘कि नेता सबके पास होइ जनताके प्रश्न सबके जवाफ ? '
उसको मनमा भावनाको लहर उठ्यो । ऊ सोच्न विवश भयो । किन आमनागरिकमा यति धेरै आक्रोश ? यो आन्दोलनले तिनीहरूको आक्रोश किन सम्बोधन गर्न चुक्यो ? किन नागरिकको मनभित्र सल्किरहेको ज्वालालाई आन्दोलनको ऊर्जा बनाउन सकिएन ?
बिस्तारै उसलाई बोध हुन थाल्यो— कतै न कतै केही त्रुटि छ, कुनै न कुनै खोट अवश्य छ।
मुकेश साइकल चढेर नेपाल–भारत सीमामा रहेको पुलतिर हान्नियो।
पुलमा गाडी र मान्छेको संख्या उस्तैउस्तै थियो तर गाडीका बेसुरका हर्नले पैदल यात्रुका पाइतालाको गतिमा अवरोध पुर्याइरहेको थियो । लामो समयपछि भारतीय बजारबाट किनमेल गरेर फर्किएका स्थानीयवासीको अनुहारमा एक प्रकारको सन्तुष्टि देखिन्थ्यो।
आन्दोलनका बेला झन्डै ६ महिना बन्द रह्यो यो पुल । बन्दकर्ताले पुलमै डेरा जमाए । एक दिनमा हजारौं मान्छे र मालसामान लोड गरिएका गाडीहरू आवतजावत गर्ने यो पुल ६ महिना बन्द हुँदा नेपाली नागरिकलाई कति सकस भयो होला ? राष्ट्रलाई कति नोक्सान पुग्यो होला ? ऊ अहिले अनुमान पनि गर्न सक्तैन।
‘आफ्नो राष्ट्रलाई नै बन्धक बनाउने त्यो कार्य के उचित थियो ? ', उसको दिमागमा यस्तै प्रश्नहरू उब्जिन थालेका छन् ।
सीमाको पुल हेर्दै ऊ भावुक भयो । सो पुलमा भएको भिडन्तमा पनि उसका दुईजना साथी मारिएका थिए ।
‘अनाहकमा मारिए ती साथीहरू । उनीहरूको मृत्युमा कसैले दुःख प्रकट गर्न पनि आवश्यक ठानेन', बाँच्नेहरूले भने, ‘तिनीहरू हुलमुलमा मारिएका हुन् !' सोचमग्न भयो मुकेश।
घर पुग्दा मुकेश लखतरान भइसकेको थियो । फुलवा आँगन बढारिरहेकी थिई । छोराछोरी स्कुलबाट फर्किसकेका थिए । वृद्ध आमाबाबु ढोकाको सँघारमा बसेर उसकै बाटो हेरिरहेका थिए।
घर पुग्नेबित्तिकै कसैसँग केही नबोली ऊ रेडियो खोलेर समाचार सुन्न थाल्यो ।
अचानक फुलवाले उसको हातबाट रेडियो तानेर भुइँमा बजारी । रेडियोका पार्टपुर्जा छरपस्ट भए ।
उसले अवाक् भएर स्वास्नीतिर हेर्यो । फुलवा हातमा खरेटो समातेर उसका अगाडि उभिएकी थिई । रिसले उसको अनुहार तमतमाइरहेको थियो ।
‘घरमे रहलासे कानसे रेडिय ना छुट्टेला, घर बाहर गेला पर आवारा जैसन घुमत रली । कहियो ख्याल आएल कि घरमे बाबु, माई, मेहरारू और बालबच्चा भि बा ? छ महिना होगइल एक कौडी हातमे देल नैखे । कैसे चली घर ? ', फुलवा कड्की।
‘काठमान्डुमे नेताजी सब वार्ता कर रहल बानी । वार्ताके बाद कुछ न कुछ हो रहल फुल्वा । काहेला हडबडाइसे ? ', अनुनयको भावमा बोल्यो मुकेश ।
‘भाँडमे जाओ तोहर नेता कहलाएवाला सब । गरिबके बालबच्चाके गुमराह कके कथि पैवे ? अपन बालबच्चा सबेके भेजलासे होइत न आन्दोलनमे', फुलवाको स्वर झन् चर्को भयो।
‘सब ठीक हो जतइ फुल्वा । माथा फाटल लाखा काहे खिसि आइसे ? ', मुकेशले फुलवालाई सम्झाउन खोज्यो ।
‘काहे न खिसियाउँ ? घरमे अन्नके एगो दाना नैखे, न एक सुका पैसा बा । तु हम घर कैसे चलावत बानी कके ठानेत बा हँ ? मधेस बनाबेके नाममे तु अपन घरके समसान बनारहल बा । अगर गरिबके सब घर समसान बन्ते जाई त कैसे बनी तोहर सोचल मधेस? '
मुकेश केही बोलेन । ऊ शिर झुकाएर टुक्राटुक्रा बनेको रेडियो हेरिरहेको थियो । रेडियोभैmं उसका सपनाहरू पनि धुजाधुजा हुन लागेका थिए ।
उसले गम खायो— फुलवालाई त सम्झाउन सकेन भने अरूलाई झन् कसरी बुझाओस् उसका नेताजीहरूले भाषणमा भन्ने गरेको मधेस । ऊ कसरी देखाओस् उसले प्रायः सपनामा देख्ने गरेको मधेसको तस्बिर ! के उसका नेताजीले सोच्ने गरेको मधेस र उसले सपनामा देख्ने गरेको मधेसको रूपरेखा एउटै छ ? ‘मधेसको मूल मुद्दाका सवालमा कतै म आपंैm गुमराहमा परेको त छैन !' मुकेशको मुटु जोडले धड्किन थाल्यो।
‘तीन महिनातक तो तु मुहे न देखैले । तभिसे हि छठियासे कुछ पैसा मागके घर और बालबच्चाके खर्च चलावत बानी । छठियाके मार्दा आन्दोलनमे गोली लागके मर गेलई । ओकर परिवार दश लाख पलई । तु त बाँचके भि कुछ काम नलागले', फुलवा सुँकसुँकाउन थाली । आमा रोएको देखेर नाबालक छोराछोरी कोकोहोलो गर्न थाले।
मुकेशको मोबाइल बज्यो । काठमाडौंबाट नेताजी बोल्दै थिए ।
‘जी नेताजी !', ऊ बोल्यो।
‘सरकारसे वार्ता भंग होगेलई । पहिलासे जदा कडा और अनिश्चित काल तक आन्दोलन करेके निर्णय भेलई । अबके बारके आन्दोलनमे सारा मधेस ठप्प बनाके योजना हई । सब जन अपन अपन तयारी करत रहिहे।'
मोबाइलमा नेताजीको निर्देशन सुनिरहँदा मुकेश सोचिरहेको थियो, ‘अबको आन्दोलनमा प्रहरीको गोली लागेर ढल्ने पहिलो व्यक्ति म हुनेछु । कम से कम मेरो मृत्युबाट फुलवाले १० लाख त पाउँछे !'