पहिलो किताबको कहानी

पहिलो किताबको कहानी

म तँलाई अच्छासित चिन्छु बे । तेरो नाम नयनराज पाण्डे हो । कथा-कहानीका झन्डै एक दर्जन किताब लेखिसकिस् । दुई-चार सयले चिन्छन् पनि होला तँलाई । तर, तँलाई मैले जति कसैले पनि चिन्दैन । एक दर्जन जति किताब छापियो भनेर तैंले जति नै गर्व गरे पनि तैंले आफ्नो पहिलो ‘नाबेल' छाप्ने बेलामा के कति लफडा गरेको छस्, त्यो मलाईबाहेक अरू कसलाई थाहा छ ? भन्दिऊँ सबैलाई तेरो बारेमा ? खोल्दिऊँ तेरो पोल ?

...
नेपालगन्जको सुर्खेत रोडमा तेरो हेडमास्टर पिताजीले बनाएको दुईतले पक्की घरको पहिलो तलामा बस्थिस् तँ । पूर्वतिर सडक भएकोले त्यतै फर्केको थियो तेरो घर र माथिल्लो तलाको सबैभन्दा पूर्वतिरकै कोठामा बस्थिस् तँ । वैशाख, जेठको गर्मीमा खल्खली पसिना बगाउँदै लेखेको होस् तैंले आफ्नो पहिलो उपन्यास ।

नाम राखिस्- ‘नांगो मान्छेको डायरी' । डायरी शैलीको यो उपन्यास काठमाडौंजस्तै महानगरमा बस्ने एउटा बेरोजगार मान्छेको बारेमा लेखेको थिइस् तैंले । तँलाई त अहिले सबैले तराई-मधेसको कथा-कहानी लेख्ने लेखक भन्छन् । तर, पहिलो उपन्यासमा तैंले आफ्नो गाउँ-ठाउँ या तराई-मधेसको कुरा किन लेखिनस् बे ? पहिलोमा मात्र किन ? दोस्रो र तेस्रो उपन्यासमा पनि तैंले मधेसलाई टच पनि गरिनस् । किनभने त्यतिखेर तेरो दिमागमा काठमाडौं या सहरको कथा लेख्यो भने मात्र राष्ट्रियस्तरको लेखक भइन्छ भन्ने तगडा भ्रम थियो । तँ त्यसैले भरमाई गएको थिइस् । तराई या गाउँठाउँको कहानी लेख्दा ‘आञ्चलिक लेखक' भनेर समालोचकहरूले अर्को कित्तामा राखिदेलान् भन्ने त्राही थियो तँ लठुवालाई । आञ्चलिकता पनि साहित्यको विशिष्ट स्वभाव हो भन्ने चेतना तेरो खोपडीमा घुसेकै थिएन । तँलाई त बस्, लेखक बन्नु थियो ।

‘नांगो मान्छेको डायरी' भन्ने किताब तैंले एउटा डिमाइ साइजको डायरीमै लेखेको थिइस् । त्यसको कभर हरियो रङको थियो भन्ने अहिले पनि याद छ तँलाई । नास्तिक हुँ भन्छस् अचेल । तर, तैंले त्यति बेला पाण्डुलिपिको पहिलो पानामा बडेमानको ‘ॐ' लेखेको थिइस् । साले, बाहुन भन्छस् आफूलाई । तर, जीवनमा तैंले के-के अभक्ष घिचिस् भन्दिऊँ सबलाई ? काठमाडौंको ठमेलको कोतो रेस्टुरेन्टमा गएर तैंले के-को मासु हसुरिस् भन्दिऊँ ? कुरा लगाइदिऊँ विश्व हिन्दू परिषद्मा गएर ? तँ त डाइरेक्ट रौरव नरकमा जान्छस् बे । एक दर्जन गाई दान गरे पनि तेरो पाप काटिनेवाला छैन ।
...
तैंले उपन्यासको पाण्डुलिपि गगनगन्जमा बस्ने सनत रेग्मीलाई देखाइस् । उनले ‘अच्छा छ' भनिदिए । तँ फुर्किहालिस् । त्यति बेलाका चर्चित कथाकार नन्दराम लम्सालले पनि ‘राम्रो छ' भनेपछि तँ आकाशमा उड्न थालिहालिस् । लगभग सात हजार शब्दको किताब थियो त्यो । त्यत्रो त कथा नै हुन्छ । तैंले लघु-उपन्यास भनिस् । त्यति सानो साइजको किताबमा पनि पच्चीस च्याप्टर छ । कुनै-कुनै च्याप्टर त सात-आठ लाइनको पनि छ । के तैंले उपन्यासकार हुने रहरले त्यत्रो पिद्दी साइजको किताबलाई उपन्यास भनेको होस् ? तर, तँलाई लाग्यो, कृशकाय भए पनि त्यो कथाको भित्री बनोट उपन्यासकै पाराको हो ।

त्यसैले तैंले उपन्यास भनिदिइस् । पछि उपन्यासको भूमिकामा डा. ध्रुवचन्द्र गौतमले लेखिदिनुभयो, ‘यस्तो प्रश्न उठ्न सक्छ, यो उपन्यास उपन्यासिका किन हो, एउटा लामो कथा किन होइन ? मलाई यसमा भन्नु के छ भने, यसको पृष्ठगत लम्बाइ जतिसुकै भए पनि यसको आन्तरिक विस्तार एउटा उपन्यासकै छ । त्यसैले यसलाई लामो कथा भन्न मिल्दैन ।'
बस्, धु्रवचन्द्र गौतमजस्ता स्रष्टाले यति लेखिदिएपछि तैंले निःसर्त उपन्यासकारको पगरी पाइहालिस् । मोज भो तँलाई ।

...
लेखक गोविन्द गिरी प्रेरणासित तेरो चिनजान थियो । उनले आफ्नो छोराको नाम राखेर अनुभव प्रकाशन पनि खोलेका थिए । अशेष मल्ल र किशोर पहाडीको ‘कथाकोण' शीर्षकको संयुक्त कथासंग्रह त्यही प्रकाशनबाट छापिइसकेको थियो । उनले तेरो लघु-उपन्यास छाप्ने रुचि देखाए । पहिलो उपन्यास नै काठमाडांैबाट छापिने भएपछि तँ भुइँमा न भाँडोमा भइहालिस् । तर, आर्थिक समस्या तेर्सियो । एक हजार प्रति उपन्यास छाप्न दुई हजार लाग्ने भयो । एक हजार गोविन्द गिरी प्रेरणाले बेहोर्ने र बाँकी एक हजार तैंले बेहोर्नुपर्ने भयो । यसअघि तैंले ‘सिर्जना' नामक पत्रिका निकाल्ने नाममा पिताजीको दुई तीन हजार रकम डुबाइदिइसकेको थिइस् । त्यसैले तैंले पिताजीसित पैसा माग्ने हिम्मतै गरिनस् ।

नगर पञ्चायतको चुनावको बेला थियो । एकजना मुस्लिम नेता तेरो घरमा आए । तेरो पिताजीसित उनको राम्रै चिनजान थियो । बडेमानको भुँडी, मध्यम उचाइको शरीर र आत्मीय अनुहार । नेपाली मीठो बोल्थे । त्यस भेगका पञ्चायत पक्षधर चर्चित नेता फत्तेसिंह थारूका खास मान्छे थिए तिनी । केही वर्षअघि फत्तेसिंह थारू नेपालगन्ज आएका बेला उनैले एक थान फोन तेरो घरमा जडान गराइदिएका थिए । फोन आएपछि तेरो फूर्तिफार्ती नै अर्कै भएको थियो ।

त्यस बखत सोझै नम्बर डायल गरेर बातचित गर्न पाइँदैनथ्यो । फोन उठाएपछि अपरेटरले नम्बर सोध्थे र त्यसपछि मात्र उनले कुरा गर्न चाहेको ठाउँमा फोन जोडिदिन्थे । तिनताक तेरै घरबाट तेरो एउटा बालसखाले अञ्चलाधीशको निवासमा फोन गरेर उनकी छोरीलाई ‘आई लभ यु' भनिदिएपछि सानोतिनो लफडा नै भएको अझै याद छ मलाई । मलाई तेरो सबै खुराफात थाहा छ ।

पछि उनी तेरो पिताजीको स्कुलको सञ्चालक समितिका सदस्य या अध्यक्ष पनि थिए । पिताजीमार्फत लेखनमा तेरो रुचि रहेको उनले थाहा पाए । तेरो उपन्यास छाप्न पैसाको आवश्यकता परेको पनि उनले चाल पाए । उनले भने, ‘चुनावका लागि मेरो घोषणापत्र लेखिदेऊ, म पैसा दिन्छु ।'

तैंले कुरो मानिहालिस् । क्याम्पसमा नेविसंघको राजनीतिमा लागेको थिइस् । तर, किताब छाप्ने रहरका लागि तँ मण्डलेको चुनावी घोषणापत्र लेख्न तयार भइस् । छपाइखर्च पाउने लोभमा तेरो आदर्शले सुसाइड गर्‍यो । त्यसैले लेखकहरू इमानदार, नैतिक र सच्चरित्र हुन्छन् भन्ने कुरामा तेरो ताल देखेरै विश्वास छैन मलाई । एकेडेमीमा प्राज्ञ बन्न विभिन्न पार्टी कार्यालय र नेताहरूको घरघरमा चहार्ने अवसरवादी लेखकहरूको बहुतै ठूलो जमान पनि देखेको छु मैले । पेन्सन पनि खाने र आजीवन प्राज्ञको भत्ता पनि हसुरेर दोहरो सुविधामा रजाइँ गर्ने लोभीपापी र चुतियाहरू प्रतिष्ठित लेखक भनेर पुजनीय हुने समाज न हो यो । तँ पनि कौन सा इमानदार होस् ।

तँ नेताजीको रानीतलाउनिरको घरमा गइस् । सडकसँगै जोडिएको घर थियो उनको । त्यो दिन तँ उनको घर पुग्दा आँगनमा दरी ओछ्याएर बिहानको नमाज पढिरहेका थिए उनी । नमाज सकेर उनले दरी पट्याएर कुनातिर राखे र तँलाई उत्साहसाथ अँगालो हालेर आफ्नो निजी शयनकक्षमा लगे । तँ उनको आत्मीयताबाट प्रसन्न भइस् ।

शयनकक्षमा तख्तामा उनको ओछ्यान लागेको थियो । नजिकै स्टुल थियो, जसमा स्टिलको जगमा पानी भरेर राखिएको थियो । माथि ओरिएन्ट कम्पनीको सिलिङ फ्यान ठूलो हल्लीखल्ली गर्दै फनफनी घुमिरहेको थियो । भित्तामा मक्का मदिनाको फोटोवाला क्यालेन्डर पनि झुन्डिएको थियो, जसमा ऊर्दुमा कुरानका केही पंक्ति लेखिएका थिए सायद ।

सडकतिरका झ्यालहरू पूरै बन्द थिए । पूर्वतिरका झ्यालका खापा पनि पूरै खोलिएका थिएनन्, त्यसैले कोठामा उज्यालो राम्ररी पस्न पाएको थिएन । कोठामा भित्री ढोका पनि थियो, जो अर्को कोठा या प्यासेजमा खुल्थ्यो । घर निकै पुरानो खालको थियो । भित्र लगाइएको हरियो रङ फिक्का भइसकेको थियो र भित्ताका प्लास्टरहरू उप्किन थालिसकेका थिए । सिलिङमा पनि प्लास्टर उप्किएर इँटा र फलामे छड देखिन थालेका थिए । एउटा अँध्यारो युगको साक्षीझैं देखिन्थ्यो त्यो घर, जो अब चाँडै ढल्ने तरखरमा छ । त्यो घर ढलेसँगै मानौं बदलिने छ त्यो अँध्यारो युग, फेरिनेछ नेपालको राजनीति । उज्यालो छाउनेछ नेपालमा ।

कवि रिमालले भनेकै थिए— एक युगमा एक दिन एक चोटि आउँछ । कवि रिमालले त बहुतै सपना देखाएका थिए कवितामा । तर, कविताले देखाउने सपना सजिलै कहाँ पूरा हुँदो रहेछ र ! हजारौंको त्याग र बलिदानपछि केही नेता र टाठाबाठाको सपना त पूरा हुने रहेछ । तर, आमजनताको सपना तिनको आँखाबाट हत्तपत्त बाहिर आउन सक्दो रहेनछ । आफ्नै सपनाबाट तर्सिन थालेका तिनै जनता जनार्दनतिर हेरेर रात्रि भोजनपश्चात् सुविधासम्पन्न घरको अध्ययनकक्षमा बसेर कर्ण शाक्यहरू लेखिरहन्छन्, ‘भैया, सकारात्मक सोच राख । एक दिन नेपाल सुन्दर हुनेछ ।'

तँ नेताजीको शयनकक्षमा पुगिस् । तर, त्यो उनको शयनकक्षमात्र थिएन, पाहुनाहरू बसाल्ने बैठक पनि थियो । किनभने कोठाको एउटा कुनामा प्लास्टिकको जाली बुनेर बनाइएको सोफा पनि थियो, जसमा चकटी राखिएको थिएन । सोफाअगाडि आकाशी रङको सनमाइकावाला टि-टेबल पनि थियो ।
उनले तँलाई साथीलाईझैं अँगाल्दै र पिठ्यूँतिर सुम्सुम्याउँदै सोफामा बसाले र तेरो गालामा चिमोट्दै भने, ‘मान्छे त यति लल्लु छौ । गाला यति मुलायम छ । ठीकसँग मुछ पनि आएको छैन । तर, तिमी त किताब लेख्ने भइसकेछौ ।'

तँ गमक्कै परिस् ।
‘कस्तो किताब लेखेको छौ ? ', उनी पनि तँसँगै सोफामा बसे र सोधे ।
‘उपन्यास', तैंले उत्साहसाथ जवाफ दिइस् ।
‘अच्छा, नाबेल लेखेको ? प्यार मुहब्बतको कहानी छ ? ', उनले फेरि तेरो ढाडतिर सुम्सुम्याए । तँ अलिक असहज भइस् ।
‘बेरोजगार मान्छेको कथा हो', तैंले उपन्यासको विषयतिर संकेत गर्दै भनिस् । नेताजी तेरो कुरा सुनेर एकछिन चुप लागे । तर, एकैछिनमा अनुहार उज्यालो पारेर भने, ‘नाबेल म पनि पढ्छु । रानु, गुलशन नन्दा र वेदप्रकाश शर्माको सबै पढेको छु ।'

अनि सोधे तँसित, ‘इब्ने सफीको पढेको छौ ? '
तैंले पढेको थिइनस् ।
‘पढ तिमीले पनि इब्ने सफी । तगडा जासुसी लेख्छ । दिमागको ढक्कन खोलिदिन्छ ।'
‘हस्, पढ्छु ।', तैंले आज्ञाकारी बालकले झैं जवाफ दिइस् । उनी झन् उत्साहित भए ।

‘नाबेलमा अलिक प्यारमोहब्बतको कुरा लेख्नुपर्छ । चुम्माचाटी पनि देखाउनुपर्छ । हिरोहिरोइनको बेडसिन पनि राख्नुपर्छ । अनि नाबेल हिट हुन्छ ।'
तँ केही बोलिनस् । उनको र तेरो साहित्यिक समझ फरक छ भन्ने कुरा तैंले बुझिसकेको थिइस् । तँ अब कुराकानीको विषय परिवर्तन होस् भन्ने चाहन्थिस् । उनी भने नाबेलकै कुरा गर्न चाहिरहेका थिए ।

‘बेडसिन राख्यो भने किन नाबेल हिट हुन्छ थाहा छ ? ', उनले प्रश्न गरे तँसित । तर, उनले तेरो जवाफ पर्खिएनन् । तेरो कम्मरमुनि इशारा गरेर आफैंले जवाफ दिए, ‘किनभने त्यस्तो सिनले लौन्डाहरूको नुनीमा असर गर्छ र लौन्डियाहरूलाई पनि त्यस्तो कुरा बहुत मजा लाग्छ । त्यसैले त्यस्तो नाबेल सबैले छुपछुपकर पढ्छन् ।'

तँ केही बोलिनस् । उनले प्रसंग फेरे ।
‘अच्छा, अब मेरो पर्चा लेखिदेऊ ।'

उनले अर्को कोठातिर टाउको फर्केर चिच्याए र कसैलाई बोलाए । एउटा केटो आयो । छोरो हो या काम गर्ने केटो, तैंले चिनिनस् । केटोलाई उनले कपी र डटपेन ल्याउने आदेश दिए । केटोले एकैछिनमा लिएर आयो । उनले आफ्नो चुनावी पर्चामा लेख्ने कुराहरू भने । तंैले भाषा मिलाएर लेख्न थालिस् । तर, उनको घोषणापत्र लेखिदिँदै गर्दा त्यो हरामी नेताका अश्लील हातहरू तेरो जीउमा सल्बालाउन थालेको तैंले अनुभव गर्न थालिस् । तँलाई उनको स्पर्शले दिगमिग भइरहेको थियो ।

‘तिमी त बहुत अच्छा लेख्दो रहेछौ । मान्छे पनि यस्तो पप्पु छौ । अब अर्को नाबेल बहुत सेक्सी लेख्नू । छाप्ने पैसा म मिलाइदिन्छु । त्यसमा केटा र केटीको बेडसिन पनि राख्नू ताकि सबैले आफ्नो आफ्नो नुनी यसरी समातेर तिम्रो नाबेल पढून् ।'

उनले पाइन्टमाथिबाटै तेरो जननेन्द्रिय च्याप्पै समाते । नेताजीको व्यवहार तेरो कल्पनाभन्दा बाहिरको कुरा थियो । तँ आत्तिइस् । पसिनापसिना भइस् । तैंले उसको नियत बुझिहालिस् । तैंले खै, के-के बहाना बनाइस् । जुरुक्क सोफाबाट उठिस् । घोषणापत्र र डटपेन उनको जिम्मा लगाएर तँ त्यहाँबाट टाप कसिस् । एकैपटक घरमा आएर सास फेरिस् ।

अब तैंले ती नेताबाट पैसा पाउने कुरै भएन । तेरो किताब छापेर उपन्यासकार हुने सपनाको महल गड्गडाएर ढल्यो । खुच्चिङ !

...
तर, चुनावको मौसम भएकोले तँलाई फलिफाप भयो । विविध परिस्थितिवश प्रधानपञ्चका पञ्चायत पक्षधर अर्का उम्मेदवार फेरिए । नयाँ उम्मेदवार पनि तेरो घरमा आए । उनले पनि तेरो साहित्यिक अभिरुचि थाहा पाए । उनी पहिलेदेखि नै नगरपञ्चायतमा कार्यवाहक प्रधानपञ्च थिए । उनले एक हजार दिने भए तँलाई । तर, सर्त राखे, ‘नयन बाबुले मेरो प्रचारप्रसार गरिदिनुपर्छ ।'

तैंले नाइँ भन्न सकिनस् । ‘हुन्छ' भनिदिइस् । तैंले आर्थिक सहायताको लागि निवेदन दिइस् । उनले तोक लगाइदिए । एक हजार पाइस् । मण्डले नेताले दिएको त्यो एक हजार तैंले प्रकाशकलाई पठाइदिइस् । तेरो उपन्यास छापिने भयो ।

तेरो वार्डको चुनावको बुथ तेरै घरपछाडिको आँपको बगंैचामा थियो । त्यो त्यही बगैंचा थियो, जहाँ बाल्यकालमा भूत लाग्छ भनेर तँ जान डराउँथिस् । तँ नेपाली कांग्रेसको तर्फबाट बुथमा खटिइस् । दिउँसोतिर तँलाई सहर्ष एक हजार दिलाइदिने ती नेता बुथ निरीक्षण गर्न आए । तँलाई अर्को पार्टीबाट खटेको देखेर उनले अँध्यारो अनुहार लगाए र भने, ‘तिमीले त तगडा धोका दियौ बे ।'

तेरो ‘बोल्ती बन्द' भयो । तैंले शिर उठाएर उनीतिर हेर्नै सकिनस् । उनले त्यसभन्दा बढ्ता केही बोलेनन् । तर, जति शब्द बोले, त्यति नै शब्द तेरो कानमा तातो फलाम भएर पसे । ती शब्दहरू कानमै मात्र पनि बसिरहेनन्, तेरो मुटुमा तीर बनेर पसे र तँलाई आहत बनाए । जति गफ लगा दोस्त ! तर, पहिलो किताब तैंले धोकाधडी गरेरै छापेको होस् । जीवनमा उन्नति गर्लास् । नाम पनि कमाउलास् । तर, यस्तो घटिया धोकाधडीको टिस तेरो मुटुमा रही नै रहनेछ ।

आफ्नो पहिला उपन्यासको भर्‍याङ उक्लिएर तँ साहित्यमा त लागिस् । तर, तेरो पहिलो उपन्यास प्रकाशनसित दुइटा अश्लील घटनाक्रमहरू जोडिएका छन् । नेताजीको अश्लीलता त लेखिस् । तर, एक हजारको लागि तैंले प्रतिगामी विचारको अर्को नेतासित जसरी साँठगाँठ गरिस्, तेरो त्यो व्यवहार पनि कम फोहोर होइन । कम अश्लील होइन । अब त्यस्तो नगर्नू !

अब तेरो पहिलो किताबको कहानीको क्लाइमेक्स सुन् दोस्त !
जुन नेताले तँलाई एक हजार दिए, तिनले चुनाव जितेनन् । अर्को नेता, जसले तँसित अश्लील हर्कत गरे, ती नेता तेरो उपन्यास छापिनुअघि नै हर्ट अट्याक भएर अल्लाहको प्यारा भए । तैंले सायद बिर्सिसकिस् । तर, मलाई याद छ, तँ तिनको ‘जनाजा'मा सामिल भएको थिइनस् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.