प्लन्जर
सुपर फुड अमेरिकाभरिकै निकै चालु सुपर मार्केट हो । देशका प्रायः हरेक राज्यका प्रमुख सहरमा यसको उपस्थिति भेटिन्छ । म्यासाचुसेट त निकै सानो राज्य हो । तर, यहाँ पनि यसका पन्ध्र मार्केट छन् । त्यसमध्ये ऊ यसको चेम्सफोर्ड स्टोरमा मसँगै काम गथ्र्यो। प्रोड्युस थियो हाम्रो डिपार्टमेन्ट। तर, ऊ त्यसलाई प्रिडुस भन्थ्यो। उसको लागि असम्भव उच्चारणको शब्द थियो प्रोड्युस। मानिसहरू ऊसँग कुन डिपार्टमेन्टमा काम गर्छौ भनेर सोध्थे। ऊ भन्थ्यो, ‘प्रिडुस'।
सुन्नेले प्रिडुस बुझ्दैनथे। त्यसकारण सोध्थे, ‘ह्वाट? '
ऊ त्यही भन्थ्यो, ‘प्रिडुस ।'
नबुझेर ती फेरि सोध्थे, ‘ह्वाट ? '
उसको जिब्रोबाट फेरि त्यही झथ्र्यो, ‘प्रिडुस ।'
यस स्थितिमा त्यस्तो बेला ऊसँगै काम गर्ने कोही सहकर्मी उसको साथमा छ भने त्यसैले उसको उच्चारण सच्याइदिन्थ्यो, ‘प्रोड्युस ।'
अनि सोध्ने उसको प्रिडुस बुझ्थ्यो र मुस्काउँदै भन्थ्यो, ‘ओ ! गट यु ।'
लगभग दस महिना उसले सुपर फुडमा काम गर्यो । तर, गर्ने के ? छोड्दाको अन्तिम दिनसम्म पनि उसले प्रोड्युस भन्न सकेन । प्रिडुस, प्रिडुस नै भनिरह्यो । त्यसो त ऊ कोसिस पनि गथ्र्यो । म पनि सिकाउँथे । तर, उसको जिब्रो प्रिडुस नै फट्काथ्र्यो । मेरो पनि अंग्रेजी ज्ञान उसको भन्दा अलिक पनि बढीको थिएन । तर, मलाई प्रोड्युस भन्न गाह्रो लाग्दैनथ्यो । कसैले सोध्दा भनिहाल्थेँ, ‘प्रोड्युस ।'
तर, अरू कुरा बोल्न र बुझ्न मलाई पनि उसलाई झैं गाह्रै हुन्थ्यो । जानेको शब्दमात्र शुद्ध भन्ने कोसिसमा हुन्थेँ म । त्यत्ति हो । नत्र म पनि अंग्रेजी बुझ्ने, बोल्ने मामलामा उसकै ड्यागमा पर्छु । तथापि उसलाई बेला बेला हपार्थेँ, ‘कम से कम अहरु केही नजाने पनि आफू काम गर्ने डिपार्टमेन्टको नाम त भन्न सक्नुपर्छ ।'
हो, तर गर्ने केको भावमा ऊ लज्जित मुद्रा प्रकट गथ्र्यो । म बुज्रुक पल्टिएर भन्थेँ, ‘कोसिस गर, कोसिस ।'
यस्ता कम्पनीहरूको प्राथमिकतामा हामीजस्ता सोझा, सस्ता आप्रवासी कामदार पर्छन् । यस्ता कामदारहरूलाई भर्ना गर्नुको इकोनोमिक रिस्क फ्याक्टर अमेरिकी कामदारको दाँजोमा एकदम कम हुन्छ । यही कारण यी हरेक कोटिका आप्रवासी कामदारहरूलाई आफ्नो कम्पनीमा राख्छन्– चाहे ती अंग्रेजी राम्रो जानून् वा नजानून् । अंग्रेजी राम्रो नजान्नेहरूलाई ती कस्टमर डिल गर्नु नपर्ने ब्याक डिपार्टमेन्टमा राख्दा रहेछन् । हामीजस्ता अंग्रेजी राम्रो नजान्नेले सुपर फुड जस्तो कम्पनीमा काम पाउनुको भाइटल कारण यही हो ।
नत्र हामीले रेस्टुरेन्टको डिसवासिङतिर लस्कनुपथ्र्योे, वा ग्याँस स्टेसनको पम्प अर्थात् एटेन्टड्यान्ट हुनुथ्र्यो वा यस्तै केही । तर, हाफिजको कुरो बेग्लै थियो । ऊ सुपर फुडको अतिरिक्त रेस्टुरेन्टको डिसवासिङको काम पनि गथ्र्यो । यसका लागि ऊ साँझसाँझ अमेरिकन कुजिन नामको रेस्टुरेन्ट धाउँथ्यो । र, राति ११ बजेसम्म त्यसको जुठा काँटा, चम्चा, प्लेट, प्यान, डेक्ची माझ्ने, मस्काउने, धुनेमा लागिरहन्थ्यो । त्यसपछि मध्यरातको १२ बजे अपार्टमेन्ट फर्कन्थ्र्याे । भोलिपल्ट बिहान ७ बजे फेरि सुपर फुड आइपुग्थ्यो । सुपर फुडबाट दिउँसो ३ बजे छुटेपछि एक घन्टाको लागि ऊ अपार्टमेन्ट पस्थ्यो । खाना खान आधा घन्टा बिताएर अपार्टमेन्टबाट रेस्टुरेन्टको लागि निस्कन्थ्यो । रेस्टुरेन्ट पुग्न उसले मेट्रो ट्रेन चढ्नुपथ्र्यो । ५ बजे रेस्टुरेन्ट पुग्न उसले ४ः३० को मेट्रो समाउनु पथ्र्यो ।
त्यसकारण अपार्टमेन्टबाट निस्केपछि उसको लम्काइ स्वाँस्वाँ फ्वाँफ्वाँको हुन्थ्यो । दायाँ, बायाँको भीडभाड, चहलपहल, अँगालिएका जोडाजोडी आदि इत्यादि आकर्षण केही नहेरी ऊ बेतोडले स्टेसनतिर लम्किरहेको हुन्थ्यो । यो तोडमा हिँडेपछि ऊ ४ः३० को ट्रेन चढ्न भ्याउँथ्यो । ट्रेनभित्र छिरेपछि उसको सास फेराइको गति बिस्तार स्वाभाविक हुन थाल्थ्यो । वास्तवमा सक्दो तीव्र गतिले नलम्के ऊ रेस्टुरेन्टको कम्प्युटरमा ५ बजे लग इन गर्न पुग्न सक्दैनथ्यो । आधा मिनेटमात्र ढिलो भयो भने पनि उसको ट्रेनले स्टेसन छोडिसक्थ्यो । यो दुःखद परिस्थितिमा ऊ अपार्टमेन्ट फर्कन बाध्य हुन्थ्यो । किनभने त्यसपछिको ट्रेन चढ्दा ६ नबजी ऊ रेस्टुरेन्ट पुग्न सक्दैनथ्यो । त्यसकारण नभ्याउने स्थितिमा उसले कुद्नु पथ्र्यो । ऊ त्यो पनि गथ्र्यो ।
म सल्लाह दिन्थेँ, ‘यसरी कुद्ने काम छोड ।'
‘कोठामा टोलाएर डलर फल्दैन', ऊ भन्थ्यो ।
म चिढाउँथेँ, ‘फला खूब फला ।'
ऊ स्पष्टीकरण दिन्थ्यो, ‘मैले उताको पनि दुःख हेर्नुपर्छ, तँलाई भनेकै छु ।'
उता अर्थात् बंगलादेश । ऊ त्यतैको हो । सुपर फुडमा आएको पहिलो दिन नै ऊ मसँग नजिकिएको थियो । कारण थियो मेरो नाक, निधार, गाला, कपाल, छाला र तिनका रङ । आफ्नै भौगोलिक क्षेत्रको रङरोगनको नक्सासँग मिल्ने मान्छे मलाई देखेपछि उसको अनुहार मतिर पुलकित हुनु स्वाभाविक थियो । विशेषतः मलाई देखेर उसलाई यो मान्छे इन्डियन रहेछ भन्ने लागेको रहेछ । त्यसकारण ऊ म नजिक आएर पहिले मुस्काएको थियो । आफ्नु मुस्कानको प्रतिक्रियापछि ऊ मसँग बोल्ने विचारमा रहेछ । त्यसकारण ऊ मतिर हेरेर मुस्काएको थियो । जवाफमा म पनि मुस्काएको थिएँ । उसले खोजेको यही थियो । त्यसपछि अंग्रेजीमा कन्दै उसले सोधिहाल्यो, ‘यु इन्डियन ।'
‘नो ।'
मैले ‘यस्' भनूँला भन्ने थियो उसलाई । तर, मेरो नो सुन्नु परेपछि उसलाई अप्ठेरो महसुस भएछ । भनेको थियो, ‘सरी ।'
‘नो प्रोब्लेम ।' भन्दै म पनि अंग्रेजीमा कनेको थिएँ, ‘एन्ड ह्वेर यु फ्रम ? '
‘बंगलादेश ।'
मैले पनि त्यस्तै गतिको अंग्रेजीमा भनेँ, ‘मी फ्रम नेपाल ।'
‘नेपाल ? '
‘यस ।'
मेरो यसले उसलाई खुसी दिएको थियो । किनभने अनुहार यथावत् चम्काउँदै एकदम ढुक्कले उसले मसँग सोधेको थियो, ‘नो हिन्दी ? '
म हिन्दी जान्दछु कि भन्ने बुझ्न उसले स्वाभाविक जिज्ञासामा त्यस्तो पाराले सोधेको थियो । मैले भनेको थिएँ, ‘यस ।' र, उसलाई पनि त्यस्तै ढर्रामा सोधेको थिएँ, ‘यु ? '
उसले पनि जानेको रहेछ । भन्यो, ‘यस' । नजानेको भए मसँग सोध्ने पनि थिएन । उसको हिन्दी बुझ्ने, बुझाउन सक्नेसम्मको कामचलाउ थियो । मेरो पनि यस्तै हो । त्यसकारण हामी हिन्दीमा कम्युनिकेट हुन थाल्यौं । यो भाषा बोल्न पर्दा हामीलाई ग्लापन पनि हुन्थ्यो । तर, गर्ने के ? हाम्रो अंग्रेजी दुर्बल भइदियो । बिहान काममा हाम्रो भेट हुनासाथ ऊ नै पहिले मलाई सोध्थ्यो, ‘कैसे हो ? '
अंग्रेजीको एक शब्दमा मेरो जवाफ हुन्थ्यो, ‘गुड ।' र, म लगत्तै उसलाई पनि सोध्थेँ, ‘और तुम ? '
ऊ पनि अंग्रेजीको त्यी फुट्टो शब्दमा जवाफ दिन्थ्यो, ‘गुड ।'
हामीलाई अंग्रेजीको यो गुड सजिलो लाग्थ्यो– हिन्दीको ठीक हे भन्दा । त्यसपछि हुने हाम्रो सवाल, जवाफ कुराकानी जे जे हो हिन्दीमै हुन्थ्यो । त्यसमा बेलाबेला अंग्रेजीका सजिला शब्द पनि घुस्थे । हाम्रो वार्ताचाहिँ हिन्दीमै चलिरहन्थ्यो । ऊ बंगाली टोनमा हिन्दी बोल्थ्यो । म नेपाली टोनमा बोल्थेँ ।
तर, जाने नजानेको जेजस्तो भए पनि अरूसँग भलाकुसारी उसले बाध्य भएर अंग्रेजीमै गर्नुपथ्र्यो । त्यसकारण भेट हुनेसँग ऊ यस्तो अंग्रेजीमा सोध्थ्यो, ‘हाउ डुंग ? '
ऊ यसलाई शुद्ध उच्चारणमा ‘हाउ यु डुइंग ? ' भन्न जान्दैनथ्यो । त्यसकारण हाउ डुंग भन्थ्यो । सुन्नेले उसले यो हाउ डुंग भनेर के सोधेको हो भन्ने प्रसंगत अनुमान लगाएर बुझिहाल्थे । र, जवाफ दिन्थे, ‘गुड, गुड ।' र, ऊ दंग पथ्र्यो । तिनले उसलाई पनि सोधेका हुन्थे, ‘एन्ड यु ? '
गुडमा भेरी पनि लाउन खोज्दै ऊ यस्तो भन्थ्यो, ‘भेरी गुड ।'
उसले मलाई आफ्नू गाउँको नाउँ के हो त्यो भनेको थियो । तर, के थियो त्यो नाउँ अहिले मेरो सम्झनामा छैन । अप्ठेरो थियो त्यो नाउँ । त्यसकारण म खुब बिर्सन्थेँ । फेरि ऊसँग सोध्थेँ । ऊ फेरि भन्थ्यो । एकाध दिनपछि त्यो फेरि मेरो स्मृतिबाट हराउँथ्यो । र, मैले फेरि ऊसँग सोध्नुपथ्र्यो । यस्तो जत्ति गरे पनि परिणाम उही हुन्थ्यो । दुईचार दिनपछि उसले जे भनेको थियो, त्यो म बिर्सिसक्थेँ । तर, उसले आफ्नू गाउँबारे भनेका अरू सबै कुरा जस्तो त्यसको भूगोल, संस्कृति, भाषा, खानपान, भेषभूषा, खेतीपाती आदि–आदि मेरो सम्झनामा छन् । त्यसअनुसार उसको गाउँ राजधानी ढाकाबाट नब्बे किलोमिटर टाढा पर्दो रहेछ । भन्थ्यो, ‘बसले अढाई, तीन घन्टामा पुर्याइदिन्छ ।'
ऊ आफ्नू गाउँको प्रायः बाँझो नहुने खेतहरू, तिनको आलीआलीमा लस्कर लागेका ताड वृक्ष र तिनका भव्य पँखेटे पातहरू, नरिवल र सुपारीका सघन विस्तारका बगैंचाहरू, ठूलठूला माछा पोखरीहरू र त्यस्तै प्राकृतिक मनोरमका जलाशयहरूको खूब बखान गथ्र्यो । आफ्नू गाउँको प्रकृतितिर उडेरे नोस्टालजिक मुद्दामा ऊ निकै भावुक भइरहन्थ्यो । भन्थ्यो, ‘देशकै सबभन्दा धेरै धान फल्ने क्षेत्रमा पर्छ हाम्रो गाउँ ।'
तर, त्यस्तो गाउँमा उसको भने बस्ने घरबाहेक गुजारा चल्ने खासै जमिन रहनेछ । एकाध ठाउँमा टुक्राटाक्री केही खेत, बारी रहेछ । उनीहरूको परिवार पालिन ती टुक्रामा गरिने खेतीपातीको उब्जनी पर्याप्त हुँदैनथ्यो । त्यसकारण उनीहरू अरू नै काम गर्थे । अरू नै काम भन्नाले उसको बाउ दर्जीको काम गथ्र्यो । उसकी आमा पनि बेलामौका त्यही काम गर्थिन् । तर, सन्तान बढ्न थालेपछि उनी तिनको हेरचाहका लागि घरमै बस्न बाध्य भइछन् । काममा उसको बाउमात्र खटिन्थ्यो । आफ्नु दुःखका गाथा सुनाउँदै उसले भनेको थियो, ‘हामी आधा पेट खाँदै हुर्किएका हौं ।'
‘दाजुभाइ कत्ति छन् ? '
‘हामी दाजुभाइ दिदीबहिनी गरेर सातजना थियौं ।'
‘सातजना थियौंको मतलब ? '
यो बेला मेरो अनुहारमा आश्चर्य थियो । उसको अनुहारमा दुःख र भावुकताका मलीन रेसाहरू थिए । उसले भनेको थियो, ‘अब हामी तीन जनामात्र छौं ।'
‘अरू ? '
उसको भनाइ र अनुहारको भावबाट अरू चारजना बिते भन्ने सहज बुझिन्थ्यो । तथापि मैले त्यस्तो सोधेको थिएँ । उसले पूर्ववतः दुःखी मुद्रामा भनेको थियो, ‘सब डढे, सखाप भए ।'
यो भन्दाभन्दै एकाएक उसको आँखामा धूवाँ पर्न आएझैं उसको आँखालाई तप्कने स्थितिमा आँसुले ढाक्न थालेका थिए । आश्चर्य र असमन्जसबीच मैले सोधेको थिएँ, ‘हाउ ? '
उसले आँसु भित्रै पच्काउने कोसिस गर्दै भनेको थियो, ‘भरपेट खाने र जाडोमा न्याना लुगा किन्नसक्ने हाम्रा दिनहरू भर्खर सुरु हुन थालेका थिए तर... ।'
तर पछि घाँटी अवरुद्ध भएझैं उसको मुद्रा मौनमा अडिएको थियो । मैले सोधेको थिएँ, ‘अनि के भयो ? '
उसले भनेको थियो, ‘आगो लाग्यो ।'
मैले उसको जवाफमा प्रश्नचिह्न लगाएको थिएँ, ‘आगो लाग्यो ? '
उसले मन्द मुद्रामा स्पष्ट पारेको थियो, ‘आजभन्दा चार वर्षअगाडि राजधानी ढाकानजिकको एउटा ठूलो गार्मेन्ट कम्पनीमा भयानक आगो लागेको थियो, त्यसमै सिलाइको काम गर्थे मेरो बा, दुई दाजु, तीनवटी दिदीहरू र भिनाजु ।'
ढाकाको त्यस गार्मेन्ट फ्याक्ट्रीमा करिब डेढ सय कामदार आगोमा झोस्सिएर, धूवाँको मुस्लोमा निसास्सिएर मरेका थिए । तिनमा उसको बाउ, दाजु, भिनाजु र दिदीहरू पनि परेछन् ।
यस विह्वल परिस्थितिमा आफूमाथि बज्रिन आएको दुःख बुझाउन खोज्दै ऊ मलाई भन्दै थियो, ‘तिनकै कमाइले हाम्रो घर चलेको थियो, म भर्खर कलेजमा पढ्न थालेको थिएँ तर, ती सबमा आगो लाग्यो ।'
त्यसपछि उसले आमा, नाबालक भाइ, बहिनीको साथसाथै अनाथ भान्जो पनि पाल्नुपर्ने भयो । यी सबको जिम्मेवारी लिनुपर्ने भएपछि ऊ पढाइ छोडेर कामतिर लाग्यो । मैले सोधेको थिएँ, ‘के काम गर्थिस् ? '
‘उही बाउआमा जे गर्थे त्यही, मेरो गाउँबाट १० किलोटर मिटर पर एउटा नयाँ गार्मेन्ट कम्पनी खुलेको थियो, म त्यसैमा सिलाइको काम गर्थें ।'
‘सिलाइ, कटाइ ? '
‘हैन सिलाइमात्र, कटाइ अर्कै डिपार्टमेन्टमा हुन्थ्यो, त्यताबाट डिजाइन सहितको कटाइ भएर आएका कपडाहरू स्टिचमात्र गर्ने काम थियो मेरो ।'
‘ए !'
अगाडि ऊ थप्दै थियो, ‘अमेरिका नआउन्जेलसम्म म त्यसैमा काम गरिरहेको थिएँ, दिनको १२÷१२ घन्टा खट्थेँ, तैपनि घर थेग्ने कमाइ हुँदैनथ्यो ।'
यस्तो दुःखले थिचिएको यो मान्छे अमेरिका आउन पाएर निकै खुसी थियो । भन्थ्यो, ‘यहाँ आएपछि भाइबहिनी, भान्जालाई राम्रो स्कुलमा राखेर पढाउनसक्ने भएँ, ती भोकै होलान् भन्ने चिन्ता हट्यो ।' यसका लागि ऊ हरेक पन्ध्र, बीस दिनमा आमाको नाममा वेस्टर्न युनियन वा मनिग्रामबाट डलर ट्रान्सफर गथ्र्यो । यो खबर ऊ मलाई पनि सुनाउँथ्यो । मेरो आँखामा खुब पठापठै छस् भन्ने प्रश्न प्रकट हुन्थ्यो । त्यसको उत्तरमा ऊ भन्थ्यो, ‘के गर्ने नपठाए उता सब भोकै हुन्छन् ।'
प्रोड्युस डिपार्टमेन्ट सुपर फुड मार्केटको हरिया तरकारी, फलफूलहरू बिक्रीको लागि प्रदर्शनमा राखिने डिस्प्ले कक्ष हो । यस डिपार्टमेन्टमा काम गर्नेहरूले यस कक्षका सागपात, अन्य तरकारी र फलफूलहरू सफा र आकर्षक ढंगले सजाउने, तरकारीको कुनै प्रकार पनि घट्न नदिने, त्यसको हेरविचार गरिरहने, कुनै चीज घट्यो कि गोदामबाट ल्याएर त्यसको पूर्ति गरिदिहाल्ने जस्ता कामहरू गरिरहन पथ्र्यो । यो काम दुई सिफ्टमा हुन्थ्यो । हाफिज र म यसको बिहानको सिफ्टमा काम गथ्र्यौं । सुपर फुड ८ बजे खुल्थ्यो । तर, हामीलाई एक घन्टाअगाडि नै आइपुग्नुपथ्र्यो । हाजिरका लागि कम्प्युटरमा लग इन हुनासाथ हामी गोदामतिर लाग्थ्यौं ।
सुपर फुडको गोदाम स्टोरसँगै जोडिएको थियो । गोदामको एउटा खण्डमा प्रोड्युस डिपार्टमेन्टका सामानहरू राखिएका हुन्थे । हामी फटाफट त्यतै लाग्थ्यौं । गोदाममा राति आएका ट्रकहरूले झारेका कोरूगेट कागजका थुप्रै बक्साहरू हुन्थे । ती बक्साहरूमध्ये कुनै सागपातका हुन्थे । कुनै फलफूलले भरिएका हुन्थे । कुनैमा सागपातबाहेकका अन्य तरकारीहरू हुन्थे । गोदाममा पुग्नासाथ हामी आवश्यकताअनुसार ती बक्सामध्ये केही पिलेट्समा राखेर बिक्री कक्षतिर गुडाउँदै लैजान्थ्यौं । र, ती भित्र भएका ताजा तरकारीहरू र फलफूलहरू झिक्दै बिक्रीकक्षको डिस्प्ले क्षेत्रमा राख्न थाल्थ्यौं । त्यसपछि हामी सरसफाइ गर्ने, घटिबढीको रेखदेख गर्ने, घटेका फलफूल, सागपात, तरकारीहरू पूर्ति गरिदिहाल्ने, तिनलाई ओइलाउन, सुक्न नदिन तिनमा अलिअलि पानी छर्किरहनेजस्ता सावधानीका काममा निरन्तर लागिरहन्थ्यौं । म झैं हाफिज पनि यो काममा पोख्त भइसकेको थियो ।
तर, सुरुसुरुमा सिल्यान्ट्रो (धनियाँ) र पास्र्ले (ज्वानुको साग)ले गर्दा ऊ मैनेजरको झपारमा परिरहन्थ्यो । ऊ सिल्यान्ट्रो र पास्र्लेे छुट्याउन सक्दैनथ्यो । सिल्यान्ट्रो राख्नुपर्ने ठाउँमा पास्र्ले राखिदिन्थ्यो र पास्र्ले राख्नुपर्ने ठाउँमा सिल्यान्ट्रो राखिदिन्थ्यो । वास्तवमा धनियाँ र पास्र्ले ठ्याक्कै उस्तैउस्तै देखिन्छन् । यही कारण ऊ सिल्यान्ट्रो राख्नुपर्ने ठाउँमा पास्र्ले राखिदिन्थ्यो र पास्र्ले राख्नुपर्ने ठाउँमा सिल्यान्ट्रो राखिदिन्थ्यो । यसले गर्दा मैनेजर उसलाई झपारिरहन्थ्यो । तर, झपार्दा झपार्दा केही नलागेपछि एक बिहान सिल्यान्ट्रो र पास्र्लेको मुठो समाएर उसलाई देखाउँदै क्रुद्ध मुद्रामा मैनेजरले उसलाई भनेको थियो, ‘मिस्टर प्लन्जर लुक दिस इज पास्र्ले, दिस इज सिल्यान्ट्रो, दिस स्मेल स्ट्रगं, दिस डज नट, अन्डरस्टाण्ड प्लन्जर।'
‘यस सर ।'
‘नो मोर मिस्टेक ओके प्लन्जर।'
‘ओके सर।'
उसको पूरा नाम हाफिजुर्रहमान थियो। छोटोमा उसलाई सबैले हाफिज भन्थे । ऊ आफैं पनि कसैले ऊसँग उसको नाम सोध्दाा हाफिज नै भन्थ्यो। तर, त्यस बिहानदेखि ऊ हाफिजबाट प्लन्जर भनिन थालेको थियो । मैनेजर उसलाई देख्नासाथ भन्थ्यो, ‘हाउ इज गोइङ प्लन्जर ? '
ऊ सादर मुस्कान प्रेषित गर्दै भन्थ्यो, ‘गुड।'
मैनेजरले उसलाई प्लन्जर भन्न थालेदेखि एकाध अरू पनि उसलाई प्लन्जर भन्न थालेका थिए । हाफिजलाई लाग्थ्यो मैनेजर उसलाई मायाले प्लन्जर भन्छ । त्यसकारण ऊ मक्ख पथ्र्यो । मलाई पनि यस्तै लाग्थ्यो । किनभने, मलाई पनि के हो प्लन्जर भन्ने थाहा थिएन । युगान्डाको सिमोम्बाले भनेपछि थाहा भयो । सिमोम्बा सुपर फुडको डेली डिपार्टमेन्टमा काम गथ्र्यो ।
एक दिन सिमोम्बाले उसलाई प्लन्जरको अर्थ सुनाएर खœयाकखुत्रुक पारेको थियो । सिमोम्बाले उसलाई प्लन्जरको अर्थ यस्तो सुनाएको थियो, ‘घोप्टिएको कचौराको आकार भएको रबरको ठीक बीचमा डेढदुई फुट जति लामो काठको वा प्लास्टिकको बिँड घुसारेको एउटा डिभाइस हुन्छ । हरेक घरको ट्वाइलेटको कमोड जाम हुँदा जाम खुलाउन त्यसको प्रयोग गरिन्छ, त्यै हो प्लन्जर । हाम्रो स्टोरको रेस्टरुममा पनि त्यो राखेको छ, देखेकै होलास् ।'
यो सुन्नासाथ उसको मुड सखाप भएको थियो । एकाएक गलेको उसको अनुहार हेर्दै सिमोम्बाले उसलाई भनेको थियो, ‘सरी ।'
तर, ऊ बोलेन। क्रुद्ध चुप भइरह्यो।
वास्तवमा अन्यथा नभएर लगातारको प्लन्जर भनिनुको अपमानबाट जोगाउन र सचेत पार्न सिमोम्बाले उसलाई प्लन्जरको अर्थ सुनाएको थियो। उसको स्थिति एकाएक यत्ति रोशपूर्ण होला भन्ने के थाहा ?
ऊ सम्झाउन सकिने स्थितिमा थिएन। ऊ भित्रभित्र दन्किरहेको थियो। म उसको मनको गति र अनुहार पढिरहेको थिएँ। तर, केही भन्न सकिरहेको थिइनँ। काम सकेर निस्कँदा पनि ऊ हामी कसैसँग बोलेन। ऊ चुपचाप मेनगेटबाट बाहिर निस्किएको थियो।
म उसलाई सम्झाउन चाहन्थेँ, ‘हाफिज हेर् म पनि प्लन्जर हुँ, तँलाई प्रत्यक्ष भने, मलाई भित्रभित्र भनिरहेका होलान्, फरक यत्ति हो, सरी।'
तर, यो भन्ने मौका पाइएन।किनभने हाफिजुर्रहमान फेरि सुपरफुड फर्किएन।