प्रेमको आदिम मन्त्र
कहिलेकाहीँ मलाई
तिमीसँगै हुँदा पनि
तिमी नहुँदाको छटपटीमा म जस्तो हुन्थेँ
त्यस्तै हुन मन पर्छ !!
भ्यागुताको बिहे गराइदिएर
रसिलो पार्न खोजेजस्तै
किसानले खडेरीको मुटु
तिमीसाथ नहुँदा
म सुटुक्क
हावाको कानमा
प्रेमको एउटा आदिम मन्त्र गुनगुनाउँथेँ
अनि बाँधेर काला जादुले
फालेजस्तै तान्त्रिकले अक्षता
म हुत्याउँथेँ हावालाई त्यही दिशामा
जुन दिशाबाट मेरो नाकले
तिम्रो वासना पाइरहेको हुन्थ्यो ।
यी हेर त
तिम्रो कपालबाट उडिरहेको
काँचो सूर्यको वासनाको मोहबाट,
एक्कैछिन बाहिर निस्केर
अब म हावाका कानमा
प्रेमको आदिम गीतको पुछारमा तिम्रो नाम
मन्त्रजस्तै जडेर गुनगुनाउँछु
र हुत्याइदिन्छु हावालाई
किसानले मुलाको बीउ हुत्याएजस्तो खोस्रेको माटोमा
यी डाँडाकाँडा, भीर, जंगल, उपत्यका, टारी र भञ्ज्याङहरूमा
तिम्रो नाम सप्पैलाई भनिहिँडोस् यो हावा
जून, फूल, परेवा, कोदाको बाला, पुतली, गाइनेकीरा र जूनकीरीलाई
र घुम्दै फिर्दै त्यो नाम
तिम्रो कानमा परोस्, मेरो कानमा परोस् ।
कहिलेकाहीँ
हामी सँगै हुँदा पनि
तिम्रो नामको मन्त्र
हावाले कहिले मेरो कानमा गुनगुनाऊँला
कुरी बस्छु म !!