करप्ट कविता
सम्पादकजी !
जब कविको रूपमा
दर्शकहरूले खोज्छन् विदूषक
वा भालु नचाउने मदारी
संकटमा पर्छ मेरो
कविता लेख्ने विचार
जबजब कविता माग्नुहुन्छ तपाईं
म कविताको नाम दिएर
चुट्किला लेखिने डरले आत्तिन्छु
कविताको सकल दिएर
खुसामद गरिने भयले तर्सिन्छु
कविता विनिर्माण भएर जब
बन्छ हाकिमको टेबलमा आइपुगेको सिफारिसजस्तो
वा बन्छ इन्द्रजालको मन्त्रजस्तो
वा बन्छ स्वस्थानी व्रतकथाको पंक्तिजस्तो
र दर्शकको स्वादअनुसार
कविताको छाँटदार परिष्कार गरिरहन्छ कवि
संकटमा पर्छ मेरो
कविता लेख्ने विचार
जति उच्चाटलाग्दो छ यो दृश्य
उति नै बढी बजिरहेको छ दर्शकदीर्घाको हुटिङ
उति नै बगिरहेको छ मानिसका आँखाको कमजोर किनार
र बन्द भएको छ उनीहरूका सोच्ने नली
त्यसैको मात्राअनुसार
उति नै बढिरहेको छ कविको इमोसनल करप्सन !
सम्पादकजी
बहुत गाह्रो छ दर्शकहरू विह्वल हुँदै रुने
भयंकर कविता लेख्न
माफ गर्नुहोस् !
घडीको निर्मम टिकटिक,
जुलुसमा छुटेको जुत्ता
विफला थारूका दाँत
र मतदाता नामावलीमा खै कसरी चढ्न नपाएको
उजेली परियारको नाम !
एकाएक आउँछन् याद
यीमध्ये कुनै पनि शीर्षकमा लेखिने कविता
सुपर फ्लप हुनेछन्, म जान्दछु
समयको ‘आदर्श’ कवि
देख्छ भुइँचालोको दुर्दशा !
देख्छ बाढीको उत्ताउलो नृत्य
र छाती पिटिपिटी रुनलाई
लेखिदिन्छ कविता
देशको नाममा !
तर देख्दैन
इतिहासको आँसु
देख्दैन जाति संहारको ‘ग्र्यान्ड आइडिया’
देख्दैन शासकहरूलाई सवार हुन
राजमार्ग झैं ओछ्याइएको बनिहाराहरूको हस्तीहाड !
कवि
कसरी हुन सक्छ
यी कुनै कुरा नदेख्ने एलिअन ?
अब
लोकप्रिय कविता लेख्ने काइदाभन्दा
बरू
केटाकेटीसँग खोइलाको घर बनाएर भुलिनु
उत्पादनपूर्ण उद्यम हो
बरु
खेतमा किसानसँगै नारिएर फरुवा चलाउनु
अर्थपूर्ण कर्म हो
तै, के लाग्छ तपाईंलाई
कवि ईश्वरको औतार हो ?
कविता ईश्वरको वाणी हो ?
सम्पादकजी,
कम्तीमा
ईश्वर बन्न त सक्दिनँ
हजारौं झूट र लीलाहरूले बनेको !
कम्तीमा
करप्ट कविता लेखेर
अखबारमा छाप्ने धन्धा गर्नुअघि
सोच्छु अलिबेर
र सोच्दासोच्दै निदाइदिन्छु मस्तले
बरु दोहोर्याउँछु धित मरुन्जेल
समयले सिकाएर छोडेका
सुन्दर नाराहरू !