साला दसैं !
आखिर के हो यो दसैं ?
हरेक वर्ष आइरहन्छ, आइरन्छ
आएपिच्छे मलाई जिस्काइरहन्छ ।
साला दसैं !
कति रोक्न खोज्छु
रोकिँदैन
हरेक वर्ष आइरहन्छ ।
(साला दसैं, यो आएको कुरा पनि
पत्रिका पढेर थाहा पाउनुपर्छ मैले)
तर यो आएर कहाँ जान्छ ?
कुकुर पालेर मान्छेलाई प्रवेश निषेध गरिएका
ठूला बंगालाहरूमा प्रवेश गर्छ,
ठूला महलहरूमा रात गुजार्छ,
गाडी चढेर बजार घुम्छ,
बाटोमा जम्काभेटै भए पनि
मलाईचाहिँ नचिने झैं गर्छ ।
साला दसैं !
खसी किन्ने त भन्नु मात्रै हो
काटिने त म आफैं हुँ,
एउटा खसी एउटा दसैंमा
एकचोटि काटिन्छ,
साला म खसी हुन सकिनँ
हरेक दसैंमा हरेकपटक काटिइरहेको हुन्छु ।
आफैंलाई बेचेर
खसी किन्नुपर्ने,
आफैंलाई नंग्याएर
कपडा किन्नुपर्ने,
आफैंलाई भोको राखेर
भोज खानुपर्ने,
आफैंलाई काटेर
सीकाःभू१ लिनुपर्ने ।
साला दसैं !
दसैं आयो कि
मानिसहरू भन्न थाल्छन्– दसैं आयो ! दसैं आयो !
ई, आउँछ दसैं ।
साला !
सुन, एउटा भरिया के भनिरहेछ–
सबैका घरघरमा
बोकेर दसैं पुर्याउने त म हुँ
तर आफ्नै घर जाँदा
बोकेर लैजान मसँग एक टुक्रो दसैं हुँदैन ।
सुन, एउटा मजदुर के भनिरहेछ–
सबैका लागि
रातरातभरि नसुतीकन
दसैं बनाउने त म हुँ
तर मेरो आफ्नै दसैं भने
आजसम्म बनाउन सकेको छैन ।
सुन, एउटा किसान के भनिरहेछ–
सबैका लागि
घामपानी नभनी दसैं फलाउने त म हुँ
तर मेरो दसैं फलाउन
आजसम्म बीउ पनि रोप्न सकेको छैन ।
साला दसैं !
हरेक वर्ष आएको-गएको
के म पत्रिका पढेरै मात्र थाहा पाइरहुँ ?
(नेपालभाषाबाट कवि स्वयंद्वारा अनूवादित)
सीकाःभू- नेवार समाजमा पशुबलि दिएर भोज खाने बेला बलिका विभिन्न अंगहरू परिवारका सदस्यहरूले ज्येष्ठता क्रमानुसार ग्रहण गरी सम्पन्न गरिने धार्मिक क्रिया ।