देवनारायण पक्राउ प्रकरण: भारतीय प्रहरीद्वारा बाबुछोरालार्इ अपहरण मुद्दा
सप्तरी: 'भूमीरक्षक' का रुपमा चिनिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनको छोरा अजयलाई प्रहरीले अपहरणको मुद्दा चलाएको छ। देवनारायणका बाबुछोरालार्इ शनिबार भारतीय प्रहरीले पक्राउ गरेको थियो। उनीहरु दुबै जनाविरुद्द अपहरणको मुद्दा चलाएको बताइएको छ।
नेपालको सीमा नाका सुनौलीबाट देवनारायणका छोरा पक्राउ परेपछि छुटाउन भनि गएका देवनारायणलार्इ पनि प्रहरीले पक्राउ गरी सुपौल जिल्लाको बीरपुर थानामा राखेको छ।
तिलाठीबासीले घटनाको विरोध गर्दै देवनारायणका बाबुछोराको रिहार्इको पहल गर्न सरकारसंग माग गरेका छन्। गतबर्ष तिलाठीमा भारतीय पक्षले स्थानीय खाँडो खोलामा बाँध बाध्न आएका बेला नेपालीहरुले प्रतिकार गरेका थिए।
यादवकै नेतृत्वमा तिलाठीबासीले भारतीयको प्रतिकार गर्दै उनीहरुलार्इ लखेटेका थिए। उक्त घटनापछि देवनारायण निकै चर्चामा आएका थिए। उनलार्इ भूमी रक्षक भन्दै प्रशंसा पनि गरिएको थियो। तिलाठीबासीले उक्त घटनाको प्रतिकार गरेकै कारण देवनारायण र उनका छोरालार्इ भारतीय प्रहरीले पक्राउ गरी झुटा मुद्दा चलाएको दावी गरेका छन्।
उता भारतीय प्रहरीले भने देवनारायणका छोरा अजयले भारतीय युवतीसँग भागी विहे गरेको र केटी पक्षले अजय विरुद्द अपहरण गरेको उजुरी गरेका कारण अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ। अजयले हालै भारतीय युवतिसंग भागी विहे गरेका थिए।
देवनारायण पक्राउ परेको घटना यति बेला चर्चामा छ। गृहमन्त्रालयसम्बद्ध स्रोतका अनुसार सरकारले कुटनीतिक आधारमा उनको रिहार्इका लागि पहल गरिरहेको छ।