विद्युत् आपूर्ति नियमित नहुँदा अढाइ करोड घाटा

विद्युत् आपूर्ति नियमित नहुँदा अढाइ करोड घाटा

गाईघाट : विद्युत् प्राधिकरणको चरम लापरबाहीका कारण देशकै ठूलो उदयपुर सिमेन्ट उद्योगको नाफा एक साताको अढाई करोडका दरले कमी आएको छ। उत्पादन र बिक्रीका हिसाबले उद्योग नाफामा गए पनि विद्युत् प्राधिकरणले नियमित बिजुली आपूर्ति नगर्दा एक सातामै दुई करोड ५० लाख रुपैयाँ आम्दानी घटेको हो।

गत आर्थिक वर्षमा २५ करोड रुपैयाँ आम्दानी गरेको उद्योगले यस वर्ष विद्युत् समस्याका कारण सोचेअनुरूप नाफा आर्जन गर्न सक्ने अवस्था नरहेको नायव महाप्रबन्धक तथा प्लान्ट महाशाखा प्रमुख नवलकिशोर साहले बताए।

 

विद्युत् आपूर्तिका कारण मुनाफामा कमी आए पनि उद्योगको बैंक मौज्दाद अहिले पनि पाँच करोड रुपैयाँभन्दा बढी रहेको साहले बताए। प्राधिकरणले उद्योगलाई २४ घण्टा विद्युत् आपूर्ति उपलब्ध गराउने आश्वासन दिए पनि दैनिक सरदर १५ घण्टाभन्दा बढी उपलब्ध गराउन नसक्दा मुनाफामा कमी आएको साहले बताए।

‘जब उद्योगले गति लिन्छ, त्यहीबेला दैनिक १० देखि १२ पटक लाइन कट्छ। यो दैनिक सरदर पाँच घण्टा हुन आउँछ’, उनले भने, ‘एक घण्टा लाइन जाँदा उद्योगलाई ६ लाख रुपैयाँ घाटा हुन्छ। यस्तो घाटा दैनिक २५ देखि ३० लाख रुपैयाँ छ।’

कहिले दुई मिनेटमै आउने र कहिले दुई घण्टासम्म पनि नआउने उनले बताए। साहले भने, ‘पछिल्लो समय नाफामा गएको उद्योग विद्युत्कै कारण घाटा हुने अवस्थामा पुगेको छ।’ दैनिक ६ सय ५० टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले अहिले विद्युत् समस्याकै कारण चार सय टन मात्र उत्पादन गर्दै आएको उनको भनाइ छ।

२४ घण्टा बिजुली आउने हो भने दैनिक १६ हजार बोरा उत्पादन गर्ने उद्योगको क्षमता रहेको नायव महाप्रबन्धक साहले बताए। लाइनकै कारण उद्योग सरदर महिनामा २५ दिन चल्ने गरेको उनले बताए। बत्तीकै समस्याले सिमेन्ट उत्पादनको महत्वपूर्ण मेसिन मानिने ‘बिक्र’ बेला–बेलामा जाने गर्छ। बिक्रमा हिटिङ र कुलिङ हुँदा बिक्र खस्ने, फुट्ने र अन्य उपकरण जल्ने, टुटफुट हुने गर्छ। एकपटक बिक्र जाँदा बनाउन १५ दिन लाग्छ। १५ दिनसम्म उद्योग नचल्दा र बिग्रेको सामान फेर्दा उद्योगलाई झन्डै १० करोड घाटा हुने उद्योगका नायव महाप्रबन्धक तथा मर्मत तथा आपूर्ति महाशाखाका प्रमुख महेशप्रसाद काफ्लेले बताए।

विद्युत् नियमित हुँदा उत्पादन प्रतिघण्टा ३५ टन हुने उनको भनाइ छ। उनले भने, ‘यहीबेला सिमेन्टको माग छ, तर लाइनले गर्दा माग पूरा गर्ने सिमेन्ट उत्पादन गर्न सकिएको छैन।’ बजारमा दैनिक १५ हजार बोरा सिमेन्टको माग रहेको काफ्लेले बताए।

पटक–पटक विद्युत् काटिने समस्याले सिमेन्ट उत्पादन प्रभावित हुनुका साथै ठूला मेसिनमा समस्या आउने गरेको उनको भनाइ छ। लाइनका विषयमा लाहान सब स्टेसनको ०३३–५६०४०० नम्बरमा जानकारी लिन खोज्दा सबस्टेसन प्रमुखले फोन नै नउठाउने गरेको काफ्लेले गुनासो गरे।

पिक आवरमा चलाउने भन्दै २४ घण्टा विद्युत् उपलब्ध गराउने सर्तमा उद्योगले सामान्य ग्राहकभन्दा दोब्बर महसुल बुझाउने गरे पनि सर्तअनुसार काम नभएको उनले बताए। बेलुकी ५ देखि बिहान ६ बजेको समय ‘पिक आवर’ छ। यस्ता ग्राहकसँग प्राधिकरणले डेडिकेटेड फिडर भन्दै प्रतियुनिट १७ रुपैयाँ ५० पैसा लिने गर्छ। ‘उद्योगले प्राधिकरणलाई मासिक तीन करोड २० लाख रुपैयाँ महशुल बुझाउँछ। तर विद्युत् नियमित हुन सकेको छैन’, काफ्लेले भने।
२०४४ सालमा स्थापित उद्योग केही वर्ष राम्ररी सञ्चालनमा आए पनि त्यसपछि विभिन्न कारणले प्रभावकारी ढंगले चल्न सकेको छैन। मुलुकमा लोडसेडिङ सुरु भएपछि त्यसको मार उदयपुर सिमेन्टले खेप्दै आएको थियो।

विद्युत् आपूर्तिमा देखिएको समस्याबारे विद्युत् प्राधिकरणको उच्च तहमासमेत पटकपटक कुरा भएको तर समस्या समाधान नभएको साहले बताए। ‘दुई वर्षयता कुनै दिन पनि २४ घण्टा विद्युत् आपूर्ति हुन सकेको छैन’, नायव महाप्रबन्धक साहले भने, ‘लोडसेडिङबाहेक विद्युत् आपूर्ति भइरहेको बेला प्रत्येक दुई घण्टाको अन्तरालमा लाइन जान्छ, यसरी जाने लाइन दैनिक पाँच घण्टा बढी हुन आउँछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.