स्पेनबाट छुट्टिने पक्षमा अत्याधिक मत
बार्सिलोना : क्यातालोनिया सरकारले आइतबार गराएको जनमत संग्रहमा ९० प्रतिशत जनताले स्पेनबाट स्वतन्त्र हुने पक्षमा मतदान गरेका छन् । उनीहरूले स्पेनबाट छुट्टिएर अलग्गै र स्वतन्त्र राष्ट्रका रूपमा रहन पाउने अधिकार प्राप्त गरेको क्यातालोनियाका नेताहरूले जनाएका छन् ।
क्यातालोनियाका नेता चाल्र्स पुहमोनले आफूहरूले स्वतन्त्र राष्ट्र निर्माणका लागि जनमत प्राप्त गरेको दाबी गरेका छन् । उक्त जनमत संग्रहमा ४० प्रतिशत जनताले मत खसालेको पछिल्लो समाचारमा उल्लेख गरिएको छ ।
खसेको मतमध्येमा करिब ९० प्रतिशतले स्पेनबाट अलग्गिनुपर्ने पक्षमा मत दिएका थिए । सोमबार बार्सिलोनामा सम्बोधन गर्दै क्षेत्रीय सरकारका प्रमुख कारलस पुहमोनले यस्तो दाबी गरेका हुन् । उनले क्यातालोनियाली जनताले आफ्नो अलग्गै राष्ट्र बनाउने अधिकार प्राप्त गरेको स्पष्ट पारे । उनले जनमत संग्रहको नतिजा कानुन निर्माणका लागि अब संसद्लाई पठाइने पनि जानकारी दिए । उनले जनताको मतमाथि कानुन बमोजिम काम होस् भनी आग्रह पनि गरे ।
उक्त जनमत संग्रहलाई स्पेन सरकारले भने मान्यता दिएको छैन । जम्मा ४० प्रतिशतमात्र मत खसेको निर्वाचनलाई वैध नमान्ने सरकारले जनाएको छ ।आइतबार पनि स्पेनको प्रहरीले मतदान केन्द्रलाई नियन्त्रणमा लिई मतदान गर्न दिएको थिएन । त्यस क्रममा पनि भिडन्त भएको थियो ।