दसैंमा १५ अर्बका नयाँ नोट साटियो
काठमाडौं : दसैंमा करिब १५ अर्ब रुपैयाँको नयाँ नोट साटिएको छ। राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्मप्रसाद उप्रेतीले थानका हिसाबले पाँचका र मूल्यका हिसाबले एक सय दरका नोट बढी साटिएको जानकारी दिए। गत वर्ष राष्ट्र बैंकले १० अर्ब ३१ करोड रुपैयाँको नयाँ नोट साटेको थियो। यस वर्ष राष्ट्र बैंकबाहेक सरकारी स्वामित्वका अन्य तीनवटा बैंकका १६ शाखाबाट रकम सटही सुविधा उपलब्ध गराइएको थियो। सुविधा थपिएका कारण यस वर्ष करिब १६ अर्ब नोट साटिने अनुमान राष्ट्र बैंकले गरेको थियो।
यद्यपि, अहिले नोट कोष र राष्ट्र बैंकको क्षेत्रीय कार्यालयबाट साटिएका नोटको मिलान हुन बाँकी रहेकाले यथार्थ विवतरण आउन केही दिन लाग्ने निर्देशक उप्रेदीले बताए। ‘हामीले यस वर्षको दसैंअघिका १० दिनमा १५ अर्बको नयाँ नोट साटिएको अनुमान गरेका छौं’, उनले भने, ‘बैंकिङ कार्यालयबाट विवरण आउन केही समय लाग्छ।’ मूल्यका हिसाबले थोरै भए पनि संख्याको हिसाबले भने पाँच दरका नोट बाहुल्य बढी छ। पाँचका नोट सानो दरका भएकाले अन्य चलनचल्तीका नोटका तुलनामा यसको लोकप्रियता बढी छ।
एक रुपैयाँको नोट निष्कासन हुन छाडेपछि विशेष गरी दसैंमा दक्षिणा दिँदा बिजोर अंक पार्न यो नोटको प्रयोग बढी हुने गरेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले बताए। राष्ट्र बैंकले निष्कासन गर्ने अन्य नोट सबै जोर भएको र २५ को नोट चलनचल्तीमा नआएकाले पनि पाँच रुपैयाँको नोट बढी प्रयोगमा आएका हो।
दसैंको महिनासहित पहिलो त्रैमास (साउन, भदौ, असोज) मा ७० अर्बका नयाँ नोट साटिएको राष्ट्रको अनुमान छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार पाँच दरका नोटपछि दसंैका लागि १० रुपैयाँको नोट बढी सटही भएको छ। दसैंमा थानका हिसाबले पाँचपछि १० र त्यसपछि एक सय दरका नोट बढी सटही भएको छ।
‘अहिले चलनचल्तीमा रहेका कागजी मुद्रामध्ये मूल्यका हिसाबले सबैभन्दा सानो र चलनचल्तीका हिसाबले बढी प्रयोगमा आउने पाँच दरको नोट हो’, उनले भने, ‘दसैंमा ठूला नोटसँग बिजोर गराउन पाँचको नोट राख्ने प्रचलन र अन्य समयमा सटहीका हिसाबले यो नोट बढी प्रचलनमा छ।’
राष्ट्र बैंकले सर्वसाधारणको सहजताका लागि बैंकको आठवटा काउन्टरबाट नयाँ नोट वितरण गरेको थियो। काउन्टरमध्ये दुईवटा काउन्टर तोक लागेका अर्थात् सेना, प्रहरी, सरकारी निकाय, स्कुल, कलेज, बैंक तथा वित्तीय संस्था तथा विभिन्न सार्वजनिक निकायका लागि छुट्याइएको थियो। एउटा काउन्टर ज्येष्ठ नागरिक तथा अशक्त र अर्को पेन्सन होल्डरका लागि व्यवस्था गरिएको थियो।
यसका साथै राष्ट्र बैंकले सर्वसाधारणको सहजताका लागि यस वर्षदेखि सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका १६ वटा काउन्टरबाट नयाँ नोट साट्न सक्ने व्यवस्था मिलाएको थियो। यसका साथै राष्ट्र बैंकले उपत्यका बाहिरका सातै वटा क्षेत्रीय कार्यालयबाट नयाँ नोट सटही सुविधा प्रदान गरेको छ।
यस वर्षको दसैंमा राष्ट्र बैंकमै पैसा साट्न जाने एक जनाले २७ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाएका थिए भने सरकारी स्वामित्वका अन्य बैंकबाट प्रतिव्यक्ति २० हजारमात्र नयाँ नोट साट्न सकिने व्यवस्था मिलाइएको थयो। नयाँ नोट साट्न आउनेले बैंकले दिएभन्दा पनि आवश्यकता अनुसार नोट साट्ने गरेको पाइएको उप्रेतीले बताए। ‘कसैले २० हजारको मात्रै नयाँ नोट साट्ने गरेका छन् भने कसैले सोभन्दा बढी नोट साट्को उनले बताए।
यसपालिको दसंैमा सबैको हातहातमा नयाँ नोट पुगोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले भदौ २८ गतेदेखि फूलपातीको अघिल्लो दिनसम्म नयाँ नोट साट्ने व्यवस्था मिलाएको थियो।
दसैंको महिनासहित पहिलो त्रैमास (साउन, भदौ, असोज) मा ७० अर्बको नयाँ नोट साटिएको अनुमान राष्ट्र बैंकको छ। यसको हिसाब भने आउन बाँकी छ। गत वर्ष पहिलो त्रैमासमा ६६ अर्बका नयाँ नोट साटिएका थिए।