वाम धु्रवीकरणको सन्देश
दसैं बिदाका दिनमा एमाले र माओवादी केन्द्रबीच बढेका छलफलको परिणामस्वरूप दुई दल चुनावी तालमेलमा जाने निक्र्यौलमा पुगेपछि एकाएक नेपाली राजनीति तरंगित हुन पुगेको छ । तालमेलमा नयाँ शक्तिका डा.बाबुराम भट्टराई पनि थपिएका छन् । चुनावपछि यी दलहरूबीच पार्टीक एकीकरणमै जाने सहमति भएको खुलासा भएपछि अनेक टीकाटिप्पणी हुन थालेका छन् । एउटा पंक्तिले यी पार्टी तालमेल हुँदै एकतातिर अग्रसर हुनुलाई सकारात्मक रूपमा लिएका छन् भने अर्को पंक्ति यसको वैचारिक राजनीतिक आधारमाथि प्रश्न उठाउँदै कतै राजनीतिक अस्थिरता थप बढ्ने पो हो कि भनेर आशंका गर्दैछन् । तर्क र टिप्पणी जे गरिए पनि चुनावको मुखमा कम्युुनिस्ट शक्तिबीच तालमेल हुनुले नेपाली राजनीतिमा सकारात्मक संकेत देखिएको छ । खासगरी लामो समयदेखि एउटै शक्तिको बहुमत आउन नसकेर सरकार सञ्चालनमा गठबन्धन संस्कृतिले परम्पराकै रूप लिँदै गरेको पृष्ठभूमिमा यसले नेपाली राजनीतिलाई स्थिरताउन्मुख गर्ने अपेक्षा गर्न सकिन्छ । त्यस अर्थमा यो तालमेल र एकताका प्रयास अर्थपूर्ण छन्, सकारात्मक छन् ।
तालमेलको घोषण जति सहज छ त्यसको व्यवस्थापन गर्न त्यत्ति नै कठिन हुने देखिन्छ । तालमेल, त्यसपछि एकताका चरणमा एमाले, माओवादीलगायतका पार्टीहरूको आन्तरिक व्यवस्थापन ठूलो चुनौतीका रूपमा आउने घोषणासँगै नेता-कार्यकर्ता पंक्ति तहबाट आएका क्रिया—प्रतिक्रियाबाट अनुमान लगाउन सकिन्छ । त्यसकारण शीर्ष नेतृत्वले तालमेल र त्यसपछि एकताका प्रक्रिया सुझबुझ ढंगले बढाउन आवश्यक छ ।
नेपाली कम्युनिस्ट पार्टीहरूमा जुट्ने भन्दा फुट्ने प्रवृत्ति बढी छ । अधिकांश मतदाता वामपन्थी दलको पक्षमा हुँदाहुँदै पनि गुटबन्दी र फुटपरस्त प्रवृत्तिले गर्दा यी दलले आफ्ना मुद्दा स्थापित गर्न सकेका छैनन् । व्यक्तिगत अहं, प्रतिष्ठाको लडाइँ, गुट र सत्ताकेन्द्रित मनोविज्ञानका कारण यी वामपन्थी नेताहरू एकअर्कालाई आरोप—प्रत्यारोपमै रमाउँदै आएका छन् । अहिले एकाएक नविन अभ्यास सुरु भएको छ, तालमेल र एकीकरणको जुन सकारात्मक अभ्यास हो । यद्यपि यी दलहरूले तालमेल र एकताको प्रक्रियामा बढ्दै गर्दा यसका राजनीतिक वैचारिक आधार के ? यो एकताबाट मुलुकले के पाउँछ ? त्यो प्रस्ट रूपमा भन्न सक्नुपर्छ । विगतमा टुट, फुट र गुटमा रमाउने कम्युनिस्टहरू अहिले किन र कसरी एउटै थलोमा आउन तयार भए ? हिजो किन एकै ठाउँमा अटाएनन् र आज पुनः एकै ठाउँमा आउने आवश्यकता किन पर्यो ? तालमेल र एकता गर्दै गर्दा यी प्रश्नको जवाफ पनि आउनु जरुरी छ ।
मुलुक लामो राजनीतिक संक्रमणबाट गुज्रेको छ । पटक–पटक भएका राजनीतिक आन्दोलनस्वरूप यतिबेला मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको चरणमा छ । नयाँ संविधान बनेको छ । स्थानीय तहको चुनावले संविधानको पूर्ण कार्यान्वयनको बाटो खोलेको छ । अब हुने प्रदेशसभा र केन्द्रका चुनावसँगै यसको संस्थागत विकासको प्रक्रिया प्रारम्भ हुन्छ । यतिबेला मुलुकको आवश्यकता संवैधानिक स्थायित्वसँगै राजनीतिक स्थायित्व पनि हो । पटक–पटक राजनीतिक संघर्षमा पोख्त नेपाली राजनीति र नेतृत्वले मुलुकलाई विकास र सम्मृद्धिको बाटोमा अग्रसर गराउन सकेको छैन । हामी वर्षौंदेखि नेपाल किन बनेन ? भनेर एउटै प्रश्नमै रुमल्लिइरहेका छौं । यो सन्दर्भ र पृष्ठभूमिमा राजनीतिक स्थिरता र स्थायित्वको अभिप्रायले एमाले, माओवादीलगायतका दलबीच सहमति, सहकार्य र एकता हुनु स्वागतयोग्य हो । तर यी प्रयास त्यतिबेला फलिभूत भएको मानिन्छन्, जब मुलुकले सही अर्थमा विकास र समृद्धिको यात्रा तय गर्न थाल्नेछ । त्यसकारण यो धु्रवीकरणबाट अहिले निश्चय पनि वामपन्थी रुझान भएका नेताकार्यकर्ता उत्साहित होलान्, आम जनता र नयाँ पुस्ता उत्साहित हुन धु्रवीकरणपछि मुलुकको समृद्धि सपनाले आकार लिनुपर्छ । अनि मात्रै धु्रवीकरणको अर्थ र औचित्य प्रमाणित हुन्छ ।