अपराधी समात्न प्रहरी कार्यालयबीच किन होडबाजी ?
काठमाडौं : भदौ १९ गते प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गर्यो। सुन ल्याएको सूचना पाएपछि तीनवटा प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटिएका थिए। तर, सुनसहितको गाडी महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लियो। महानगरीय प्रहरी वृत्त लैनचौर र महाराजगन्ज वृत्तबाट खटिएका प्रहरी टोली जिल्ल परे। यी दुई वृत्तका प्रमुखले सुनसहितको गाडी समात्न नसकेकोमा तालुक निकाय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकको खप्की खानुप¥यो। नेपाल प्रहरीकै यी निकायबीच समन्वय नहुँदा सुन समातेको जस महाशाखाले लियो। जस लिने होडबाजीले ८८ किलो सुनका मालिक उम्किए वा उम्काइए अझै ठोस निष्कर्ष बाहिर आएको छैन।
सीआईबीले समातेको ३३ किलो सुन बरामद घटनामा पनि गौशाला वृत्तले पछि मात्रै थाहा पाएको थियो। एसपी मीरा चौधरीको कमान्डमा खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै फलो गर्दै बाहिर सुनसहित दुई जना पक्राउ गरेको थियो। सुन बरामद भएपछि मात्र थप सुरक्षाका लागि गौशाला वृत्तलाई खबर गरिएको थियो।
तत्कालका यी दुई घटनामा मात्रै प्रहरी समन्वय नभएको होइन अन्य घटनामा पनि प्रहरी समन्वय अभाव देखिन्छ। गत वर्ष मंसिरमा गोकर्णेश्वरस्थित नयाँ बस्तीमा ट्याक्सी चालकको मृत्यु भएको आक्रोशमा प्रहरी बिट जलाइएको घटना अनुसन्धानका लागि दुई छुट्टाछुट्टै समिति गठन गरिएको थियो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले तत्कालीन एसएसपी सर्वेन्द्र खनाल र काठमाडौं प्रहरीले डीएसपी सिद्धिविक्रम मल्लको नेतृत्वमा दुई समिति गठन गरेको थियो। मातहत निकाय रानीपोखरी कार्यालयले समिति गठन गरेको जानकारी नपाएपछि अर्को समिति गठन गरेको थियो त्यतिबेला। यो घटनाले प्रहरी कार्यालयबीच मातहत निकायमा समेत समन्वय नहुने गरेको पुष्टि हुन्छ।
दुई वर्षअघि फागुनमा लागुऔषध मुद्दाका कैदी पासाङ शेर्पा त्रिपुरेश्वर आँखा अस्पतालमा उपचारको मौका छोपी प्रहरी सेटिङमै भागे। १५ वर्ष जेल सजाय तोकिएका शेर्पा उपचारका लागि लगिएको जानकारी महानगरीय प्रहरी परिसर काठमाडौं र डिल्लीबजार कारागारलाई मात्रै थियो। हवल्दार र जवानको जिम्मा लगाएर पठाइएका शेर्पाले प्रहरी समन्वय नभएको फाइदा उठाउँदै उनीहरूलाई पैसा दिने प्रलोभन दिएर भागे।
‘दुई कुराले समन्वय अभाव देख्छु, एउटा सूचना चुहिएर अपराधी फुत्कने आशंका र अर्को होडबाजीसँगै जस कसले लिने भनेर।’-नवराज ढकाल, पूर्व एआईजी
काठमाडौं परिसर मातहत प्रहरी नायब उपरीक्षक (डीएसपी) बस्ने कार्यालय जनसेवा, लैनचौर, कालिमाटी, थानकोट, बालाजु, कमलपोखरी, बानेश्वर, गौशाला, बौद्ध, महाराजगन्ज र कीर्तिपुर वृत्त छन् भने प्रहरी निरीक्षक र सईले कमान्ड गर्ने दुई दर्जन बढी कार्यालय छन्। त्यस्तै, प्रहरी मुख्यालयबाहेक डीआईजी बस्ने चार वटा र एआईजी बस्ने कार्यालय एउटा छ।
पूर्व एआईजी नवराज ढकाल भन्छन्, ‘दुई कुराले समन्वय अभाव देख्छु, एउटा सूचना चुहिएर अपराधी फुत्कने आशंका र अर्को होडबाजीसँगै जस कसले लिने भनेर।’ पूर्व कमिस्नरसमेत रहेका ढकालले महानगरीय प्रहरीलाई कानुनी रूपमा कमिस्नर पद्धतिमा लगिएन भने यसको दुर्गुणको पहिलो पक्ष समन्वय अभाव हुने बताउँछन्। ‘महानगरीय प्रहरी कार्यालय प्रमुख एआईजी जयबहादुर चन्द उपत्यकाको प्रहरीबीच समन्वय रहेको दाबी गर्छन्। ‘कुनै आकस्मिक घटनामा समन्वय गर्न थाल्दा अपराधी फुत्कन सक्छ तर अधिकांश कामकारबाहीमा समन्वय भइरहेको छ, प्रहरी कामकारबाहीमा मैले मेरो निर्देशन कुरिरहन नपर्ने निर्देशनसमेत दिइसकेको छु, रिजल्ट आएपछि रिपोर्टिङ स्वाभाविक नै छ,’ चन्दले भने, ‘काठमाडौं, ललितपुर र भक्तपुरले आपसी समन्वयमा काम गरेका धेरै उदाहरण छन्।’