स्मार्डकार्ड छपाइका लागि चार कम्पनीको आवेदन
काठमाडौं : सवारी अनुमतिपत्र (स्मार्ट लाइसेन्स कार्ड) छपाइका लागि चार कम्पनीले आवेदन दिएका छन् । यातायात व्यवस्था विभागले गत जेठ १५ गते आह्वान गरेको ग्लोबल टेन्डरमा दुई देशका चार कम्पनीले कार्ड छाप्न आवेदन दिएका छन् । विभागले अहिले सात लाख ५० हजार कार्ड छाप्ने तयारी गरेको छ । कार्ड छपाइका लागि गरिएको बोलपत्रमा भारत र फ्रान्सका कम्पनीले आवेदन दिएको विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिए । आवेदन दिएका कम्पनीको प्राविधिक र आर्थिक रूपमा टेन्डर मूल्यांकन भइरहेको छ । प्राविधिक रूपमा सक्षम र जसले थोरैको काम गर्ने गरी आवदेन दिएको छ उही कम्पनीलाई कार्ड छपाइको जिम्मा दिने भट्टराईले जानकारी दिए ।
कार्ड छाप्न अहिले काम गरिहरेको भारतीय मद्रास सक्युरिटी प्रिन्टर र फ्रान्सका ओभर थर्ड टेक्नोलोजी, पीडब्लू, सिल्पसाल्स कम्पनीले आवेदन दिएको उनले जानकारी दिए । भारतीय मद्रास सक्युरिटी प्रिन्टर कम्पनीकै लापरबाहीका कारण विभागले कार्ड वितरणका बारम्बार समस्या भोग्दै आएको छ । लाइसेन्स विभागले स्मार्ट कार्ड अभावकै कारण असारदेखि सेवा ग्राहीलाई कार्ड दिन सकेको छैन ।
विभागले २०७२ मंसिरमा पाँच वर्षभित्र देशभरका २५ लाख सवारी चालकलाई स्मार्ट लाइसेन्स वितरण गर्ने भन्दा बाग्मती अञ्चल यातायात कार्यालयबाट स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो ।
समयमै स्मार्टकाडको छपाइ हुन नसक्दा विभागले आर्थिक वर्ष २०७३÷७४ को अन्तिम महिनाबाट मात्रै कागजी लाइसेन्स वितरण रोक लगाएको थियो । विभागले उपत्यकाबाहिरबाट स्मार्ट लाइसेन्स वितरण सुरु गरे लगतै कार्ड वितरणका चरम अभाव भोग्दै आएको थियो ।
विभागका पूर्वमहानिर्देशक चन्द्रमान श्रेष्ठले गत आर्थिक वर्ष स्मार्टकार्ड छपाइका लागि विनियोजन भएको १६ करोड रुपैयाँ सदुपयोग हुन नसक्दा सेवाग्राहीले काड सहज रूपमा पाउन नसकेको भट्टराईले बताए । विभागले हाल भारतीय मद्रास सेकुरेटी कम्पनीसँग लिइएको करिब दुई लाख र एडीबीको सहयोगमा एक लाख ५० हजारभन्दा स्मार्ट कार्ड वितरण गरिसकेको छ ।