ब्रान्ड स्वदेशी, कच्चा पदार्थ विदेशी

ब्रान्ड स्वदेशी, कच्चा पदार्थ विदेशी

काठमाडौं : एक दशक अघिसम्म स्थानीय ब्रान्डका जुत्ता भनेपछि उपभोक्ता नाक खुम्च्याउँथे । स्वदेशी छाला जुत्ता लगाउने पनि बाँसबारी छाला जुत्ता कारखाना बन्द भएपछि आयातीत जुत्तातर्फ आकर्षित भएका थिए । व्यवसायीले स्वदेशी ब्रान्डका जुत्ताचप्पलको एक्स्पो गरी यसरी बजार प्रवद्र्धन गर्दिए कि नेपाली ब्रान्डका जुत्ताले घरेलु बजारमा सिक्का जमायो । जुत्ताचप्पल उत्पादक संघको आयोजनामा आर्थिक वर्ष २०५९/६० देखि जुत्ता मेला सुरु भएको थियो ।

रन सुजले दसैंका लागि एक सयभन्दा बढी थप मोडेलका जुत्ता बजारमा ल्याएको छ । ‘निम्नदेखि उच्च सबै वर्गका ग्राहक लक्ष्य गरी जुत्ता बजारमा पेस गरिएको छ', सञ्चालक रुद्र न्यौपाने भन्छन्, ‘७५ वटै जिल्लामा उत्पादन पुर्‍याएका छौं ।' दसैंमा नयाँ पहिरनमा जुत्ता पनि पर्ने भएकाले यो बेला फुटवेयरको बजार गर्माउँछ । बाँकी ११ महिनामा हुने कारोबारको बराबरी दसैंतिहारपर्ने एकै महिनामा हुन्छ । बेस फुटवेयर कम्पनीका प्रबन्ध निर्देशक होमनाथ दाहालले गोदावरीमा उत्पादन इकाइ विस्तार गरी ‘बीएफ डियर हिल' ब्रान्डका जुत्ता उत्पादन गरिरहेका छन् । देशैभरि एक हजारजति आउटलेटमार्फत फुटवेयर बिक्री भइरहेको छ ।

ब्रान्ड स्वदेशी भए पनि जुत्ताको अधिकांश कच्चा पदार्थ आयात गर्नुपर्छ । जुत्ताका सोल, लेस आदि धेरथोर बन्न थाले पनि आयातकै भरमा छ । सेना/पुलिसले लगाउने तथा स्कुले बालबालिका बाहेक फुटवेयरमा ‘भ्यालू एड' कम छ । भारत/चीनमै जुत्ता उत्पादन गर्न लाएर नेपाली ब्रान्डमा बिक्री गर्ने प्रवृत्ति पनि छ । अहिले मुलुकमा वार्षिक ६ करोड जोर जुत्ताचप्पल खपत हुन्छ, कारोबार झन्डै ३० अर्ब रुपैयाँको छ । कुल मागमा स्वदेशी ब्रान्डको ५० प्रतिशत योगदान छ ।

चीनको सहयोगमा २०२२ मा बाँसबारी छाला जुत्ता कारखाना खुलेपछि फुटवेयरको सफल व्यावसायिक उत्पादन सुरु भएको हो । उपाध्यायका अनुसार बाँसबारी कारखानामा काम गर्ने कर्मचारी, डिलर नै फुटवेयर उत्पादनमा लाग्न थालेपछि उद्योग फस्टाउन थाल्यो । त्यसपछि लेदर विङ्स, फिटराइट, कसमस, गोल्डस्टार आदि ब्रान्डमा फुटवेयर उत्पादन सुरु भयो । शिखर सुजले पनि २०५२ सालदेखि उत्पादन सुरु गर्‍यो । नेपाली जुत्ताचप्पलको बजार बढ्दै गयो, उद्योग पनि क्रमशः थपिँदै गए । अहिले दुई हजारभन्दा बढी उद्योग दर्ता भएर सञ्चालनमा छन्, उत्तिकै संख्यामा उद्योग दर्ता नगरी जुत्ताचप्पल उत्पादन गरिरहेको अनुमान छ । जुत्ताचप्पल उद्योगबाट एक लाखले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेको उपाध्याय बताउँछन् ।

फुटवेयर बजारको ५० प्रतिशत बजार अंश विदेशी ब्रान्डकै कब्जामा छ । स्वदेशी उत्पादनमैत्री नीति भैदिए विदेशी उत्पादनको बजार अंश स्वाट्टै घटाउन सकिने दाबी उपाध्याय गर्छन् । स्वदेशी उद्योगले कच्चा पदार्थको रूपमा आयात गर्ने सामान र आयातीत तयारी फुटवेयरको भन्सार दरमा खासै फरक छैन । यसबाहेक चोरी पैठारी, न्यून बिजकीकरणका समस्या यथावत छन । सरकारले उक्त तीन थोक नियन्त्रण गर्दिए चर्चित अन्तर्राष्ट्रिय ब्रान्डका फुटवेयरबाहेक बजारको सबै हिस्सा स्वदेशी ब्रान्डले ओगट्ने शिखर सूका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाई दाबी गर्छन् । ‘चीन/भारतको उत्पादनभन्दा यहाँ उत्पादन लागत निकै बढी छ', उनी भन्छन्, ‘केही समय संरक्षण नदिई कुनै पनि वस्तुमा आत्मनिर्भर हुन सकिन्न ।'

स्कुल, कलेजका युनिफर्म र पार्टी सूमा स्थानीय ब्रान्ड जमे पनि स्पोर्टस् सूले उपभोक्ताको मन जित्न सकेका छैनन् । लेडिज जुत्ता, स्यान्डलमा पनि स्थानीय ब्रान्ड फितलो देखिन्छ । चीनबाट सस्तो मूल्यमै चर्चित ब्रान्डको लोगो लगाएका फूटवेयर आयात हुने भएकाले पनि स्थानीय उत्पादनलाई प्रतिस्पर्धा गर्न धौधौ परेको छ ।

जुत्ता व्यवसायमार्फत स्वरोजगार बन्न सजिलो छ । २५/३० हजार लगानी गरेर एउटा कोठामा सिलाइ मेसिन राखेर पनि व्यवसाय सुरु गर्न सकिने भएकाले उद्यमी पनि बढेका छन् । परम्परागत रूपमा जुत्ताको व्यवसाय गर्नेहरू पनि केही लगानी बढाएर आधुनीकरणतर्फ हौसिएका छन् । अचेल चोक र गल्लीमा एउटा मेसिन राखेर जुत्ताचप्पल बनाउनेहरू प्रसस्तै देखिन्छन् । एक जनाले दिनमा तीन जोरसम्म जुत्ता उत्पादन गर्न सक्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.