तनहुँमा कांग्रेसमा टिकटका लागि एक सय आठको नाम सिफारिस
दमौली: आसन्न प्रदेस तथा प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवार चयनका लागि नेपाली कांग्रेस तनहुँले पार्टी केन्द्रमा नाम सिफारिस गरेको छ। पार्टीका क्षेत्रीय समितिहरुले १० वटा स्थानीय तहबाट आएका नामका आधारमा प्राथमिकता तोकेर क्षेत्रीय समितिले नाम जिल्लामा सिफारिस गरे पनि जिल्ला समितिले भने आकांक्षी सबैको नाम केन्द्रमा पठाउने निर्णय गरेको छ।
यस आधारमा २ प्रतिनिधि सभा तथा ४ प्रदेस सभा सदस्यको सिट रहेको तनहुँमा प्रत्यक्ष तथा समानुपातिकतर्फ गरी १ सय ८ जनाको नाम पार्टी संसदीय बोर्डमा सिफारिस गरि पठाइएको पार्टी जिल्ला सचिव विश्व बाँस्तोलाले बताए।
पौडेलको क्षेत्रमा दर्जन आकांक्षी
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव लड्ने चाहना गरेको तनहुँ क्षेत्र नम्बर १ मा टिकट आकांक्षीको संख्या अत्यधिक देखिएको छ। पार्टीमा दोश्रो वरियताका नेता पौडेल साविक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य चुनाव लडेका थिए।
हाल उनको क्षेत्र गाभिएर क्षेत्र नम्बर १ बने पछि उनले सोही क्षेत्रबाट चुनाव लड्न पार्टीमा आवेदन दिएका थिए। पौडेलले उठ्ने क्षेत्रमा उनीसँगै आधा दर्जन आकांक्षी देखिए पछि कांग्रेसमा टिकट वितरणको विषय थप पेचिलो बन्न पुगेको छ।
केन्द्रीय राजनीतिमा सक्रिय हस्तीहरु सबै क्षेत्र नम्बर १ का भए पछि उनीहरुबीच टिकट लिनका लागि देखिएको कसरत सतहमा आएको छ। सो क्षेत्रबाट चुनाव लड्न आवेदन दिएका पौडेलसँगैका पूर्व सह महामन्त्री गोविन्दराज जोशी तथा केन्द्रीय सदस्यहरु शंकर भण्डारी र गोविन्द भट्टराई तथा सांसद रामचन्द्र पोख्रेलसँगै पार्टी जिल्लाले महिला संघ पूर्व सभापति शशि आचार्यसमेतको नाम पठाएको छ।
उता, क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका लागि केन्द्रीय सदस्य प्रदीप पौडेल, संसदीय दलका सचिव ध्रुव वाग्ले, उप सभापति जीतप्रकाश आले, महाधिवेशन प्रतिनिधि पुष्पराज पराजुली तथा नेतृ चन्द्रकला भट्टराईको नाम कांग्रेसले सिफारिस गरेको छ।
क्षेत्र नम्बर १ मा पर्ने दुई वटा प्रदेस क्षेत्र, क्षेत्र नम्बर २ मा पर्ने दुई क्षेत्र तथा समानुपातिकसमेतका आकांक्षी सबैको नाम पठाउँदा निकै ठूलो सूची पार्टी केन्द्रमा पुगेको छ।
यद्यपि क्षेत्रीय समितिले भने हरेक क्षेत्रबाट पाँच जनाका हाराहारीमा नाम पठाएको थियो। क्षेत्रबाट पठाएको नाममध्येबाटै टिकट वितरण हुने ठानिएको छ।
जोशीका पक्षमा प्रदर्शन
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका चिर राजनीतिक प्रतिष्पर्धी मानिएका पूर्व सह महामन्त्री गोविन्दराज जोशीका समर्थकले उनलाई टिकट दिनुपर्ने भन्दै दमौलीमा प्रदर्शन गरेर पार्टी नेतृत्वलाई दबाब दिएका छन्।
जिल्ला कार्य समितिको बैठक चलिरहेका बेला क्षेत्र नम्बर १ का जोशीका समर्थकले दमौली बजारमा र्याली तथा सभा गर्दै जोशीलाई प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि टिकट दिन नेतृत्वको ध्यानाकर्षण गरेका हुन्।
विगतमा सोही क्षेत्रबाट टिकट लिएर सांसद तथा प्रभावशाली मन्त्रीसमेत भैसकेका जोशी लडेको क्षेत्रमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत इच्छा देखाएपछि अहिले त्यहाँको टिकट वितरण पार्टीका लागि पेचिलो बन्दै गैरहेको छ। क्षेत्रले जोशीसहितको नाम सिफारिस गरे पनि उनको ठाउँबाट वरिष्ठ नेता पौडेल लड्न खोजेपछि जोशी समर्थक आक्रोशित बनेका छन्।
सभामा बोल्दै नेता जोशीले आफ्नो पालामा जे जति विकास भए पनि बीचमा विकास कम भएकाले जनताको विकासको चाहनाका लागि आफू चुनाव लड्न लागेको बताए। उनले आफूलाई टिकट नदिए कार्यकर्ताबाट हुने प्रतिरोधको सामना गर्न वरिष्ठ नेता पौडेललाई चेतावनी दिए।