भक्तपुर कांग्रेसद्वारा उम्मेदवारमा २३ को नाम सिफारिस
भक्तपुर : नेपाली कांग्रेस भक्तपुरले प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि २३ नेताहरुको नाम उम्मेदवारमा सिफारिस गरेको छ । दुई क्षेत्र र चार प्रदेश क्षेत्र गरी ६ जना उम्मेदवारका लागि कांग्रेसले २३ जना नेताहरुको नाम उम्मेदवारमा सिफारिस गरेको हो ।
कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले प्रतिनिधिसभाका लागि दुई क्षेत्रबाट तीनतीन जना नेताहरुको नाम सिफारिस गरिएको जानकारी दिए । चार वटा प्रदेश क्षेत्रका लागि भने तीनवटाबाट ३÷३ र एउटाबाट ८ जनाको नाम सिफारिस गरिएको उनले बताए ।
उनका अनुसार क्षेत्रीय समितिबाट सिफारिस भएर आएकै नाउँमा केही सच्याएर केन्द्रमा सिफारिस गरिएको छ । भक्तपुर निर्वाचन क्षेत्र नं १ का लागि वरिष्ठ अधिवक्ता बाबुराजा जोशी, यादवप्रसाद अधिकारी र नवराज दाहालको नाम सिफारिस गरिएको छ । जसमध्ये वरिष्ठ अधिवक्ता जोशीले टिकट पाउने प्रवल सम्भावना रहेको कांग्रेस वृत्तमा चर्चा छ । निर्वाचन क्षेत्र नं १ मा भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका परेका छन् ।
निर्वाचन क्षेत्र नं १ मा परेका दुई प्रदेशमध्ये १ मा क्षेत्रीय सभापति जीवन खत्रीसहित आठ जनाको नाम सिफारिस गरिएको छ । उक्त प्रदेशमा सिंगो चाँगुनारायण नपा र भक्तपुर नपाको वडा नं १० का मतदाताले मतदान गर्नेछन् । उक्त प्रदेशमा खत्रीसँगै प्रवीण बन, कृष्णलाल भडेंल, किरण न्यौपाने, सुरेश श्रेष्ठ, धर्मराज थापामगर, मनोजकुमार थापा र यज्ञविक्रम थापाको नाम केन्द्रमा सिफारिस गरिएको जिल्ला सदस्य रवीन्द्र प्रधानले जानकारी दिए । यस प्रदेशमा क्षेत्रीय सभापति खत्रीले टिकट पाउने निश्चित जस्तै भएको बताइएको छ ।
भक्तपुर नपाको १ देखि ९ वडासम्मका मतदाताहरुले मतदान गर्ने दोस्रो प्रदेशका लागि रवीन्द्र प्रधान, नारायणप्रसाद तमखु र अनिल भुजूको नाम सिफारिस गरिएको छ । यस प्रदेशमा कांग्रेस भक्तपुरको नगर सभापति रहिसकेका प्रधानको सम्भावना बढी छ ।
त्यस्तै भक्तपुर निर्वाचन क्षेत्र २ को लागि भने वर्तमान सांसद रामेश्वरप्रसाद ढुंगेलसँगै जिल्ला सभापति दुर्लभ थापा र वरिष्ठ पत्रकार कविर राणाको नाम सिफारिस गरिएको छ । यहाँ जिल्ला सभापति थापा र वरिष्ठ पत्रकार राणाले टिकट पाउने प्रवल सम्भावना छ । कांग्रेसभित्रको गुटबन्दी मिलाउनुपर्ने भएकाले प्रदेशमा टिकट पाउने नेताको आधारमा कांग्रेसले जित्ने भक्तपुर क्षेत्र नं २ मा थापा र राणामध्ये एकले टिकट पाउने कांग्रेस नेताहरु बताउँछन् ।
उक्त निर्वाचन क्षेत्रअन्तर्गत मध्यपुर थिमि नपा र सूर्यविनायक नपा पर्छन् ।
जसमध्ये सिंगो मध्यपुर थिमि नगरपालिका परेको प्रदेशसभाको लागि निवर्तमान जिल्ला सभापति गणेशमान चक्रधर, मदनकृष्ण श्रेष्ठ र नगर सभापति सुरेन्द्र श्रेष्ठको नामलाई जिल्ला समितिले टुंग्याएर केन्द्रमा पठाएको छ ।
त्यस्तै सिंगो सूर्यविनायक नगरपालिका रहेको अर्को प्रदेशसभाका लागि क्षेत्रीय सभापति नारायणभक्त खायमलीसँगै सुशील बस्नेत र उद्धव सिलवालको नाम सिफारिस गरिएको छ ।
एमालेले तोक्यो संयोजक
यता एमाले भक्तपुरले भने प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवार छनोट गर्न संयोजक तोकेको छ । एमाले भक्तपुरको मंगलबार बसेको बैठकले ६ जना संयोजक तोकेको जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले जानकारी दिए ।
उनका अनुसार हरिशरण लामिछाने र बचन देउजालाई क्रमशः भक्तपुर निर्वाचन क्षेत्र नं १ र २ को संयोजक तोकिएको छ । प्रदेशसभाको लागि भक्तपुर नपाको लागि बालमुकुन्द सुवाल, मध्यपुर थिमि नपाको लागि नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, चाँगुनारायण नपाको लागि मोहनवीर श्रेष्ठ र सूर्यविनायक नपाको लागि नगर प्रमुख वासुदेव थापालाई संयोजक तोकिएको छ । ‘संयोजकहरुलाई असोज १९ गतेभित्र महिलासहित तीनजनाको नाम सिफारिस गर्ने समयावधि दिएका छौं’, जिल्ला अध्यक्ष राजथलाले भने, ‘उहाँहरुबाट सिफारिस भएर आएका नाम नकाटिकन आवश्यक परे थपेर असोज २० गतेभित्र प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नाम केन्द्रमा पठाउँछौं ।’उनले माओवादी केन्द्रसँग पार्टी एकताको प्रयास भइरहेकाले भक्तपुर एमालेले गरेको निर्णयमा फेरबदल पनि हुनसक्ने बताए ।
माओवादीसँगै अन्य दल छलफलमै
त्यस्तै भक्तपुरमा माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी, राप्रपालगायतका अन्य पार्टी भने छलफलमै रहेको छ । माओवादी केन्द्र भक्तपुरका नेता सुनिल गोथेले एमालेसँग पार्टी एकताको बहस अघि बढेकाले तत्काल नाम टुंग्याउने भन्दा सम्भावित उम्मेदवारहरुको बारेमा पार्टी छलफलमा रहेको बताए। उनले एमालेसँग एकता भए पनि नभए पनि माओवादी केन्द्रको तर्फबाट आफ्ना उम्मेदवारहरुको टुंगो लगाइने जानकारी दिए ।