उम्मेदवार र घोषणापत्रका लागि छुट्टाछुट्टै कार्यदल
काठमाडौं : चुनावी तालमेलपछि पार्टी एकता गर्ने सहमति गरेका एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले ६०/४० अनुपातमा उम्मेदवार निर्धारण र घोषणापत्र तयार पार्न दुईवटा कार्यदल गठन गरेका छन् । एमाले उपाध्यक्ष वामदेव गौतमको निवासमा बुधबार बसेको बैठकले उम्मेदवारको क्षेत्र निर्धारण गर्न ७ सदस्यीय कार्यदल गठन गरेको हो ।
नयाँ शक्तिलगायत एकतामा आउनेलाई भाग छुट्याएर बाँकी पदमा ६० प्रतिशत एमाले र ४० प्रतिशत माओवादी केन्द्रलाई दिने सहमति भए पनि कुन दलले कुन क्षेत्रमा उम्मेदवारी दिने टुंगो लागेको छैन । ‘क्षेत्र निर्धारण गर्न ७ सदस्यीय कार्यदल गठन भएको छ', माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने । कार्यदलमा एमाले महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रका रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव सदस्य छन् ।
कार्यदललाई ६० प्रतिशत एमाले र ४० प्रतिशत माओवादी केन्द्रको हुने गरी उम्मेदवार तय गर्ने श्रेष्ठले जानकारी दिए । एमाले र माओवादी केन्द्रले केन्द्रमा तालमेलको कुरा गरे पनि क्षेत्रीय कमिटिहरूले भने उम्मेदवारहरूको धमाधम सिफाारिस गरिरहेका छन् । ‘६०र ४० को भागबण्डा भनेको चुनाव जित्नका लागि हो', कार्यदलमा रहेका एमालेका एक नेताले भने, ‘जसले जुन क्षेत्रमा चुनाव जित्न सक्छ, उसलाई त्यस क्षेत्रमा छोडने गरी सहमतिको प्रयास हुनेछ ।' दुई दलबीच ६० र ४० को भागबण्डाका कारण प्रत्यक्षतर्फ सिफारिस भएका उम्मेदवार आ-आफ्नो चुनावी क्षेत्र असुरक्षित महसुस गरिरहेका छन् ।
यस्तै संयुक्त चुनावी घोषणापत्र तयार पार्न माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, एमाले उपाध्यक्षद्वय वामदेव गौतम, भीम रावल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रका देव गुरुङ, विश्वभक्त दुलाल (आहुति) र नयाँ शक्तिका डम्बर खतिवडा र लक्ष्मी देवकोटा सदस्य रहेको कार्यदल गठन गरिएको छ । तीनै दलले सूर्य चुनाव चिह्नमा चुनाव लड्ने सैद्धान्तिक सहमति गरे पनि माओवादी केन्द्रका कारण अन्तिममा आ-आफ्नै चुनाव चिह्नमा चुनावमा जाने बताएका छन् । नयाँ शक्तिले भने सूर्य चुनाव चिन्ह लिएरै चुनावमा प्रतिस्पर्धा गर्ने जनाइसकेको छ ।
राजपा छाडेका हृदयेश त्रिपाठीलगायत नेताले पनि सूर्य चिह्नमै चुनाव लड्ने भएका छन् । समानुपातिकतर्फ भने आ-आफ्नै दलका तर्फबाट निर्वाचन आयोगमा सूची बुझाउने समझदारी भएको नेताहरूले बताएका छन् ।