नागरिक उड्डयन मन्त्रालयले बुझायो स्पष्टीकरण
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्वाचन आयोगलाई २४ घन्टे स्पष्टीकरण पेस गरेको छ । निर्वाचन आचारसंहिता लागू भएपछि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई मन्त्रालयमा काज सरुवा गरिएको विषयमा निर्वाचन आयोगले मन्त्रालयलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।
यही असोज १० गते नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई मन्त्रालयले गठन गरेको कार्यदलको संयोजक भइ काम गर्ने भन्दै मन्त्रालयमा हाजिर हुन पत्राचार गरिएको थियो । मन्त्रालयले पत्र काटे लगतै निर्वाचन आयोगबाट आचारसंहिता लागू भइसकेको अवस्थामा महानिर्देशक गौतमलाई मन्त्रालयमा काज सरुवाबारे स्पष्टीकरण माग भएको मन्त्रालयका उपसचिव टेक नारायण पौडेले बताए।
आयोगले निर्वाचन आचारसंहिता विपरीत काजमा गौतमलाई बोलाउने कर्मचारीलाई किन कारबाही नहुने भन्दै स्पष्टीकरण सोधेको थियो । त्यसपछि लगतै दसैं बिदा भएको भन्दै मन्त्रालयल मंगलबार बेलुका निर्वाचन आयोगमा स्पष्टीकरण बुझाएको छ । हवाई नीति २०६३ पुनरावलोकन गरी नागरिक उड्डयन क्षेत्रको समग्र सुधारका लागि अवलम्बन गर्नु पर्ने नीति र गर्नु पर्ने कार्यहरूको सुझाव संकलन गरी नियमित रूपमा मन्त्रीलाई बुझाउन कार्यदल गठन गरी संयोजकको भूमिकामा गौतमलाई मन्त्रालयमा हाजिर गराइएको छ ।
योसँगै स्पष्टीकरणपत्रमा मन्त्रालयले गौतमलाई काज हाजिरबाट फिर्ता नबोलाइएको उल्लेख छ । मन्त्री देबले गठन गरेको कार्यदललाई यसबाहेक पनि अन्य काम दिएको भन्दै २४ घन्टे स्पष्टीकरण पेस गरिएको उनले जानकारी दिए ।
महानिर्देशक गौतम भने अहिले प्राधिकरणमै हाजिर भएका छन् । मन्त्री देबले गौतमलाई असोजको पहिलो साताका ११ बुँदे स्पष्टीकरण सोधेको थिए । गौतमको स्पष्टीकरण चितबुझ्दो नभएको भन्दै पुनः मन्त्रीदेबले २४ घन्टे स्पष्टीकरण सोध्दै मन्त्रालयमा हाजिर हुन पत्र काटेको थिए ।